असोज ३, २०८०
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
“प्रकाश ए.राज चिनाइरहनुपर्ने नाम होइन”---संस्मरणमाला भाग-१ को प्रकाशकीयमा परेको मोहन दुवालको यो कथन सोह्रैआना साँचो हो । तर २०३३ सालमा भए यो भनाइ आठआना बराबर पनि थिएन । किनभने त्यस बखत प्रकाशको लेखन अनुभव १० वर्षको मात्र भएको थियो ।
बरु त्यसै वर्ष पौषको एकदिन भने प्रकाश ए. राजको लागि अविस्मरणीय हुन पुगेछ । पटनाबाट काठमाडौंको लागि उडेको शाही नेपाल वायुसेवा निगमको विमानका एक यात्री प्रकाश ए. राजले आफूलाई एक्कासि एक विशिष्ट यात्रीको बीचमा पाउनुभयो : बी पी कोइराला । उहाँ गणेशमान सिंह,शैलजा आचार्य खुमबहादुर खड्का र सी.के. प्रसाञीका साथ ठूलै जोखिम उठाएर नेपाल फर्किँदै हुनुहुन्थ्यो । लेखकले गणेशमानजीलाई त चिन्नु भएछ, तर यात्रा राष्ट्रिय मेलमिलापको नियोगसित गाँसिएको कुरो ज्ञात भएनछ ।
त्यो पौष १६ गतेको दिन थियो ।
हवाईजहाज काठमाडौं ओर्लिने बेलामा प्रकाशले आफूले लेखेको पथप्रदर्शक अङ्ग्रेजी पुस्तक ‘काठमाण्डू एण्ड किङ्डम् अफ् नेपाल’ एकप्रति उपहार दिन उपयुक्त ठान्नु भएछ । त्यस क्रममा आफ्नी पत्नीको नाम उल्लेख गर्दा बीपीले ‘पहिले नै किन नभन्नु भएको त?’ भनेर सस्नेह सोधेको प्रसङ्गको लेखकलाई पूरा हेक्का छ । पारिवारिक निकटताको सन्दर्भ थियो ।
वि.सं. १९४०—२००४ सम्ममा जन्म भएका ३० जना नेपाली व्यक्ति र व्यक्तित्वलाई मात्र लेखकले यस पुस्तकमा चर्चाका पात्र बनाउनु भएको छ । यसैमा राजा वीरेन्द्र,पूर्वराजा ज्ञानेन्द्र,बीपी,बालकृष्ण सम,तारानाथ शर्मा,वैरागी काइँला,सत्यमोहन जोशी,हृषीकेश शाह,हर्क गुरुङ,ऋध्दिबहादुर मल्ल,स्वामी प्रपन्नाचार्य र राममणि रिसाल समेतका नामहरू आउँछन् । लेखकले व्यक्तिगत चिनाजानी,भेटघाट भएको अथवा कुनै रचनाबाट आफू प्रभावित भएको वा आफू शिष्य भएको अथवा समाजका सम्मानित व्यक्तिहरूबाट असल नेपाली भनेर उल्लेख गरिएका सज्जनबारे आफ्नो अवधारणा प्रकट गर्नुभएको देखिन्छ । अर्थात् पुस्तकमा प्रविष्टि पाएका व्यक्तित्वबारेका मूल्याङ्कन एक स्थापित लेखकका निजी अनुभूति हुन्; पाठकले यसमा वस्तुनिष्ठता खोज्नु अनुचित हुन्छ ।
चौरान्नब्बे पृष्ठको यस सानो पुस्तकमा यस्ता जानकारी धेरै-धेरै पाइन्छन् जसको प्रकाशन पहिले भएको थिएन; भएकै भए पनि पर्याप्त वा विस्तृत थिएनन् । इतिहासका लेखकहरूलाई कामलाग्ने सन्दर्भ-सामग्री पुस्तकैभरि नै पाइन्छन् । किंवदन्तीकै रूपमा भएपनि नेपाली समाजले थाहा पाइराख्नुपर्ने विषय र प्रसङ्ग यत्रतत्र भेटिन्छन् ।
पूर्वराजा ज्ञानेन्द्रसँग लेखकले दुई पटक ‘दर्शन-भेट’ को मौका पाउनु भएको रहेछ—पहिलो चोटि २०२८ साल माघमा अधिराजकुमार छँदा (राजा महेन्द्रको निधनभन्दा केही दिनअघि) र दोस्रो पटक २०५८ सालमा राजाको रूपमा । युवराज वीरेन्द्रका माहिला भाइ अधिराजकुमार ज्ञानेन्द्र दाजुसित मेची अञ्चलको भ्रमणमा छँदाको घटनाको वर्णन छ,एक ठाउँमा । हेलिकोप्टरबाट ताप्लेजुङको ओलाङचुङ गोला पुगेर आएको दिन बेलुकी इलामको शिविरमा दिनभरिका घटनाको समीक्षा भ्रमणदलको सदस्य प्रकाश ए. राजले पनि सुन्न पाउनुभयो । दुर्गम जिल्लामा पुग्दा दिउँसो स्वागत गर्नेमध्ये एक स्थानीय युवतीले वीरेन्द्रलाई अङ्ग्रेजीमा ‘माई लर्ड’ बाट सम्बोधन गरेकी कुराको पनि चर्चा भएको थियो । कालान्तरमा, आफू राजा भएपछि ज्ञानेन्द्रले ती महिला याङ्किलालाई मन्त्री नियुक्ति गरेको प्रसङ्ग पनि पुस्तकमा उल्लेख छ ।
राष्ट्रिय योजना आयोगबाट ‘काज’ मा दरबारको जाँचबुझ केन्द्रमा झिकाइएका प्रकाश ए. राजले त्यसैताका निर्मल निवासमा अधिराजकुमारसित भेट पाउनु भयो । दोस्रो पटक राजा भएपछिको दर्शन-भेटमा लेखकले साविकमा राजतन्त्र भएका देश कम्बोडिया,अफगानिस्तान र इथियोपियाहरूको इतिहास कोट्याउँदै माओवादी विद्रोहको सन्दर्भमा नेपालमा पनि गणतन्त्रको आवाज उठ्न थालेकोतर्फ ध्यानाकर्षण गर्नुभयो । तर राजा ज्ञानेन्द्र ‘केही रिसाएको जस्तो लाग्यो’। भरे, २०६३ सालपछि के भयो जग-जाहेर छ ।
संयोग हो, २००७ सालमा बालक राजा ज्ञानेन्द्रलाई राजमुकुट पहि-याउने काम बडागुरुज्यू हेरम्बराजले गरे तापनि शिरमा हल्लिएको श्रीपेच मिलाइदिने काम लेखकका हजुरबा नायव बडागुरुज्यू हेमराज पाण्डेले गर्नुभएको थियो । २०५८ सालमा फेरि राजा हुँदा ज्ञानेन्द्रलाई श्रीपेच पहि-याउने भूमिका लेखककै पिता बडागुरुज्यू केशरीराज पाण्डेले निर्वाह गर्नुभयो ।
सम्मानित पाण्डे परिवारमा जन्म भए तापनि प्रकाशले आफ्नो नाम फेर्नुको कारण डा. रामदयाल राकेशबारेको अध्यायमा खुलाउनु भएको छ । तराईको कलवार परिवारमा जन्म भएको हिसाबले थर ‘साह’ हुनुपर्थ्यो, तर रामदयालले थरको ठाउँमा उपनाम ‘राकेश’ प्रयोग गर्नुभएछ जसको अर्थ हो चन्द्रमा । ‘म आफैं जातिसूचक नाम नलेख्ने व्यक्ति हुनाले’ भनेर लेखकले आफू र राकेशमा भएका समानताको उल्लेख गर्नुभएको छ । समानता अरू केही पक्षमा पनि रहेछन् ।
संस्मरणमाला भाग-१ मा समावेश भएका अन्य केही नाम हुन् : केशवराज पिंडाली,ज्ञानमणि नेपाल,नयराज पन्त,कीर्तिनिधि बिष्ट,कमलमणि दीक्षित र रोचक घिमिरे । लेखक एक समय अङ्ग्रेजी छापा ‘राइजिङ नेपाल’ मा कार्यरत पत्रकार भएकोले थोरै शब्दमा धेरै सूचना,जानकारी दिने कलामा सिपालु देखिनु हुन्छ । हो,सम्पादन र छपाइको क्रममा हुने त्रुटिबाट भने यो पुस्तक पनि मुक्त छैन । जस्तो,बीपी पटनाबाट नेपाल फर्केको मिति मिलेको छैन । अन्यत्र पनि कताकति पाठक अल्मलिने ठाउँ देखिन्छन् । तथापि प्रकाशकीय खण्डको बेहोरा पढदा स्पष्ट हुन्छ : ५२ वर्षको लेखन अवधिमा प्रकाश ए. राजका साना-ठूला गरेर ५४ वटा कृति प्रकाशित भैसके;वि.सं. २००० सालमा जन्मेका लेखक अहिले पनि थाक्नु भएको छैन ।
आशा गरौं,संस्मरणमाला भाग-२ छिटै पाठकसमक्ष आइपुग्नेछ ।
---------------------------------------------------------------------------------------
कृति : संस्मरणमाला भाग-१
लेखक: प्रकाश ए. राज
प्रकाशक : जनमत प्रकाशन नेपाल
संस्करण: प्रथम,२०७४ चैत्र
पृष्ठसंख्या : ९४+
मूल्य : १५० रुपिञा
------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...