कांग्रेसको आन्दोलनः मुर्च्छित कार्यकर्तालाई रोजगारी !

विष्णु रिजाल
विष्णु रिजाल

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल लोकान्तर डट् कमका नियमित स्तम्भकार हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार सरकारविरुद्ध देशका ७७ जिल्लाका साथै आफ्ना समर्थकहरू रहेका विदेशका ३० स्थानमा विरोध प्रदर्शन गरेको छ । लोकतन्त्रमा आफ्ना मतहरू राख्नु र शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्नु कुनै अस्वाभाविक वा आश्चर्यको कुरा होइन । तर सरकार गठन भएको पाँच महिनामै यसअघिसम्मको सदाबहार सत्तारुढ दलले जुन रूपमा विरोध प्रदर्शन गरेको छ, यो चाहिँ आश्चर्यको कुरा छ । कुनै ठोस एजेन्डा, कार्यक्रम र कारणबिना नै सरकारमाथि आरोप थोपरेर सडक प्रदर्शन गरेर नेपाली कांग्रेसले एकपटक फेरि आफूलाई असान्दर्भिक सावित गरेको छ ।

नेपाली कांग्रेस यतिबेला आन्तरिक र बाह्य दुबै रूपमा संकटबाट गुज्रिरहेको छ र निर्वाचनमा प्राप्त असफलताको घाउमा लगाउने मल्हमको खोजीमा भौँतारिरहेको छ । यसक्रमा सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसके र उनी असक्षम प्रमाणित भएको आरोप कांग्रेसकै माथिल्लो तहका नेताहरूले लगाइरहेका छन् । यतिसम्म कि यसबीच भएका कांग्रेसका भातृ संगठनहरूका सबै निर्वाचनमा सभापति देउवा पक्ष नराम्ररी बढारिएको छ र उनी थप कमजोर बनेका छन् । यस्तो बेलामा आफ्नो संकट टार्नका लागि देउवा नयाँ नयाँ उपायको खोजीमा छन् ।


Advertisement

गोविन्द केसीले बैतरणी तार्न नसकेपछि अहिले अधिनायकवादको काल्पनिक र हावादारी मुद्दा अघि सारेर उनले आफ्ना मुर्छित कार्यकर्तालाई रोजगारी दिने कोसिस गरेका छन् ।

यतिबेला कांग्रेसभित्र आन्तरिक लोकतन्त्रमाथि बहस भइरहेको छ । कांग्रेसकै नेताहरू सभापति देउवाले निरंकुशता देखाएको खुलेआम अभिव्यक्ति दिइरहेका छन् । यतिसम्म कि उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्दा समेत देउवाले एकलौटी गरेपछि उनीमाथिको आक्रोश चुलिएको छ । शायद यसकै प्रभावका कारण होला, आन्तरिक निर्वाचनहरूमा उनका समर्थकहरूले हार बेहोरिरहेका छन् ।

आफूविरुद्ध केन्द्रित भएका नेता–कार्यकर्ताको ध्यान अन्यत्र मोड्नका लागि समेत देउवालाई आन्दोलन चाहिएको छ ।

बाह्य रूपमा पनि कांग्रेसको छवि झन् धूमिल हुँदै गएको छ । उसले उठाएका कुनै पनि मुद्दा जनतासँग सरोकार राख्ने खालका छैनन् । गोविन्द केसीलाई हतियार बनाएकोमा सरकारले नै त्यो हतियार खोसेपछि उसलाई एजेन्डाको सर्वथा खडेरी परेको छ । भ्रष्टाचार, कुशासन, महंगी जस्ता कुरामा कांग्रेसले आवाज उठाउँदा स्वयम् कांग्रेसकै नेता–कार्यकर्ताले नपत्याउने अवस्था छ । राष्ट्रिय मुद्दाहरूमा कांग्रेस क्रमशः अप्रासांगिक बन्दै गइरहेको छ । यस संकटले कांग्रेसलाई अस्तित्वको संकटतर्फ धकेलिरहेको छ ।

खासमा चाहिँ नेपाली कांग्रेस सत्ताबाट बाहिर बस्नुपर्दा छट्पटाएको छ । कांग्रेसका नेताहरूको नजरमा सत्ताबाहेक अरु केही पनि घुमिरहेको छैन । वाम सरकार बनेको पाँच महिनामै उनीहरूमा देखा परेको छटपटी हेर्दा लाग्छ, पाँच वर्ष यिनीहरूले कसरी बिताउलान् ? जनताले कांग्रेसको योग्यता राम्ररी देख्न÷भोग्न पाएका छन् । एकपटक होइन, चारपटक प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले गरेका कामहरू जनजनका मनमा ताजै छन् ।

बेरोजगार कार्यकर्तालाई रोजगारी दिन र आफूप्रतिको आलोचना कम गराउनका लागि सभापति शेबरहादुर देउवाले आन्दोलनको तुरूप फ्याँकेका छन् । त्यसबाहेक कांग्रेसको आन्दोलनको कुनै एजेन्डा र उद्देश्य छैन ।

अहिले नेपाली कांग्रेसलाई सबभन्दा बढी खतरा कसैबाट छ भने शेरबहादुर देउवाबाटै छ । प्रधानमन्त्रीको समय लिएर बालुवाटार पुगेर आफ्नी सासूलाई जापानको राजदूतबाट फिर्ता नबोलाइदिनू भनेर अनुरोध गरेको समाचार पढ्दा–सुन्दा कांग्रेसका नेता–कार्यकर्तालाई कस्तो लाग्दो होला ? कम्युनिस्टमाथि अधिनायकवादको आरोप लगाउने शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीबाट हट्ने बेलामा आफ्नी श्रीमती र छोराका लागि समेत राज्यबाट सुरक्षा दिलाउने निर्णय कांग्रेसका नेता–कार्यकर्तालाई कस्तो लाग्दो हो ? नेपाली कांग्रेस पार्टी, त्यसको विधान, सिद्धान्त र नीति त वीपी कोइरालाले बनाइदिनुभएकै छ, त्यसबारेमा कांग्रेसीहरूले छलफल गर्न छाडेको धेरै भइसकेको छ । तत्कालीन अवस्थाका बारेमा पनि कांगेस दिनप्रतिदिन चुक्दै गएको छ ।

लोकमानसिंह कार्कीको समर्थन र सुशीला कार्कीको विरोध, प्रहरीमा अगाडि रहेकाहरूलाई फालेर पछाडि रहेकालाई जिम्मेवारी जस्ता कुरा ससाना उदाहरण मात्र हुन् ।

विदेशमा समेत प्लेकार्ड बोकेर कांग्रेसले नेपालका कम्युनिस्टहरूले अधिनायकवाद ल्याउन लागेको प्रचार गरेको छ । सारा विश्वलाई थाहा छ, नेपालका कम्युनिस्टहरू बन्दुकबाट सत्तामा आएका होइनन् । स्वयम् शेरबहादुर देउवाको नेतृत्वमा आयोजित निर्वाचनबाट बहुमत ल्याएर सरकारमा बनाएका कम्युनिस्टहरूलाई देउवाले अधिनायकवादी देख्न आकाशतिर फर्केर थुक्नु जस्तै मात्र हुन्छ । किनभने, नेपालमा लोकतन्त्रलाई कसैबाट सबभन्दा बढी खतरा छ भने शेरबहादुर देउवाबाटै छ भन्ने कुरा इतिहासमा पटकपटक प्रमाणित भइसकेको छ । असोज १८ र माघ १९ जस्ता घटनाका सूत्राधारले अरुको लोकतन्त्रमाथिको निष्ठामाथि प्रश्न उठाउनु हास्यापदबाहेक केही पनि हुँदैन ।

नेपाली कांग्रेसले अधिनायकवादको जोक सुनाइरहँदा सानोमा पढेको ‘झुटो बोल्यो कि पोल्यो’ भन्ने कथाको सम्झना भइरहेको छ । कुनै गाउँमा कालु नामको गोठालो बाख्रा चराउन बन जाँदा सधैँ बाघ आयो भनेर गाउँलेलाई झुक्याउँदोरहेछ । एक दिन साँच्चै बाघ आएर ऊ कराउँदा कोही पनि मद्दत गर्न नआए जस्तै कांग्रेसले उड्दा, बस्दा, आकाशमा गड्याङगुडुङ हुँदा, सानोतिना भूकम्प आउँदा, रेडियो नेपालबाट एउटा कर्मचारीको करार नथप्दा पनि अधिनायकवाद नै देख्न थाल्यो भने भोलि कुनै दिन साँच्चै अधिनायकवादकै लक्षण देखियो भने पनि उसका साथमा जनता नआउने खतरा रहन्छ ।

कांग्रेसका सबै नाराहरू असान्दर्भिक भइरहेका छन् । उदाहरणका लागि मेडिकल कलेजकै कुरालाई लिन सकिन्छ । आफू सत्तामा हुँदा अन्धाधुन्ध सम्बन्धन दिने अनि आफूबाहेक अरु कसैले त्यही प्रक्रिया अपनाएर अनुमति माग्दा दिन हुँदैन भन्न कांग्रेसले मात्र सक्छ । तर पनि, कांग्रेसलाई अप्ठेरो लाग्दैन र सरकारका विरुद्धमा लाग्न गाह्रो मान्दैन ।

कांग्रेसले कतिसम्म गर्न सक्छ भन्ने एउटा उदाहरण संसद्मा हेर्दा हुन्छ । कांग्रेसको हठ र जिम्मेवारी प्राप्त गरेका सत्तापक्षका नेताको तत्परताको कमीका कारण संसदीय समितिहरू बन्न सकिरहेका छैनन् । कांग्रेसले संसदीय समितिहरूमा पनि भागबन्डा खोजेको छ । जब प्रक्रियाले पाइँदैन, उसको संख्या पुग्दैन भने सत्तापक्षले सदासयतापूर्वक दिएको सार्वजनिक लेखा समिति स्वीकार गरेर अरुमा सहयोग गर्नुपर्नेमा कांग्रेसले झन् किचलो उठाइरहेको छ । यतिसम्मकि, कांग्रेस आफैँले चाहिँ ०४८ सालमा एमाले प्रतिपक्षमा हुँदा राधाकृष्ण मैनालीको नामै तोकेर सार्वजनिक लेखा समिति मात्र दिएको इतिहास नै छ । यति कुरा सम्झिने पनि कांग्रेसलाई फुर्सत् छैन ।

नेपाली कांग्रेस आफूलाई लोकतन्त्रको मसिहा र अरुलाई ठिमाहा ठान्छ । तर सबैभन्दा बढी लोकतन्त्र र लोकतान्त्रिक संस्कारको अभाव कांग्रेसमै छ ।

सरकारको विरोध गर्नु प्रतिपक्षको अधिकार रहन्छ । बैकल्पिक सरकार मानिने प्रतिपक्षले सरकारका गलत कामहरूको खबरदारी गर्दा त्यसबाट जनतालाई फाइदा नै हुन्छ । तर, हाम्रो प्रतिपक्ष चाहिँ सत्ताबाट बाहिर बस्नुपरेकोमा यति आतंकित भएको छ, जेमा पनि विरोध र अवरोध मात्रै गरिरहेको छ । बैधानिक तरिकाले आफ्नै नेतृत्वमा आयोजित निर्वाचनबाट आएको जनमतलाई स्वीकार गर्न पनि उसलाई निकै सकस परेको छ ।

यसका पछाडि मूलतः कांग्रेसमा रहेको संस्थापन–धारणाले काम गरेको छ । कांग्रेसलाई खासमा के लागेको छ भने आफूहरू दिने ठाउँमा र कम्युनिस्टहरू माग्ने ठाउँमा बस्नुपर्छ । अहिले परिस्थिति बदलिएको छ, कांग्रेस माग गर्ने ठाउँमा धकेलिएको छ । यसको पीडाबाट मुक्ति पाउन कांग्रेसले आफूलाई पाँच वर्ष ‘रिह्याबिलिटेसन सेन्टर’ भर्ना गर्नैपर्छ । अन्यथा, जति सत्ता सम्झिन्छ, त्यति छटपटी बढ्छ ।

नेपाली कांग्रेस आफूलाई लोकतन्त्रको मसिहा ठान्छ, अरुलाई ठिमाहा ठान्छ । तर, सबभन्दा बढी लोकतन्त्र र लोकतान्त्रिक संस्कारको अभाव कांग्रेसमै छ । सामान्यतः सय दिन सरकारलाई काम गर्न दिने अभ्यास संसदीय लोकतन्त्रमा हुन्छ । तर, कांग्रेसले सय दिन पनि पर्खिन सकेन र सरकारको विरोध गर्‍यो । कांग्रेसलाई पनि थाहा हुनुपर्ने हो, अहिलेको सरकार ०५१ मा जस्तो फू गरेर ढाल्छौँ भन्ने सपना नदेखे हुन्छ । दुई तिहाई मतसहितको बलियो र स्थिर सरकारलाई सडकमा प्रदर्शन गरेर कमजोर पार्छौं वा ढाल्छौँ भन्ने सपना छ भने त्यसले कांग्रेसलाई सताउने मात्र छ ।

कांग्रेसका कार्यकर्ता यतिबेला बेरोजगार छन्, नेतृत्व आन्तरिक विवाद र समीकरणमा रुमल्लिएको छ । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको समीकारणले देउवालाई थप चुनौती दिइरहेको छ ।

यस्तो बेलामा बेरोजगार कार्यकर्तालाई रोजगारी दिन र आफूप्रतिको आलोचना कम गराउनका लागि सभापति शेबरहादुर देउवाले आन्दोलनको तुरूप फ्याँकेका छन् । त्यसबाहेक कांग्रेसको आन्दोलनको कुनै एजेन्डा र उद्देश्य छैन ।

कमेन्ट गर्नुहोस्