वामनपुराणको क्षेत्र र विशेषता

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

वामनपुराण वैष्णव पुराण हो । अठार पुराणमा यसको स्थान चौधौमा पर्छ । यसमा भगवान् वामनको विशेषता व्याख्यान भएको छ । खासगरी यहाँ शुरूमा सूत्रात्मक रूपले र पछि गएर व्याख्यानात्मक रूपले विवेचन भएको पाइन्छ । यसैको आधारमा पुराणको नाम वामनपुराण रहेको हो । 

राजसिक वर्गमा पर्ने यो पुराणको स्थान पुराणपुरुषोत्तम भगवानको श्रीविग्रहमा छालामा पर्छ । पुराणको प्रकृति वैष्णव भएपनि यसले शैव र शाक्त सम्प्रदायप्रति पनि उत्तिकै सम्मान देखाएको छ ।  कुनै सम्प्रदायप्रति झुकाव नभएकै कारण यस पुराणलाई विद्वानहरूले विशिष्ट प्रकारको पुराण भनेका छन् । 


Advertisement

पुराणले शिव, विष्णु, दुर्गा आदि सबैलाई उत्तिकै सम्मान गरेको छ । खासगरी यसमा उल्लेख २५ वटा स्तोत्र विशेष महत्त्वका छन् । तिनमा १२ वटा विष्णु, आठवटा शिव, चारवटा दुर्गा र बाँकी एक सुदर्शनचक्रसित सम्बन्धित छन् ।   

यस पुराणका आदिम वक्ता महर्षि पुलस्त्य र आदिम प्रश्नकर्ता र श्रोता दुवै देवर्षि नारद रहेका छन् । नारदबाट व्यासजी र व्यासजीबाट सूतजी हुँदै नैमिषारण्यवासी शौनकादिसम्म पुगेको छ यो पुराण । पछि त्यहीँबाट सर्वत्र फैलिन पुगेको देखिन्छ । पवित्रताको दृष्टिले पनि उत्तिकै महत्त्वको मानिएको छ यो पुराण । भगवान् विष्णुका अवतार वामनको मात्र नभई भगवानकै अर्का अवतार नरनारायण तथा उनका विशेष किसिमका भक्तहरू प्रह्लाद, बलि आदिको चर्चा भएकैले यसलाई पवित्रतम पुराण मानिएको हो । 


Advertisement

श्रीमद्भागवतमा उल्लेख भएअनुसार राजा बलिले नर्मदा नदीनिकट रहेको भृगुकच्छ पर्वतमा यज्ञ गरेका थिए ।  उनले. त्यहींबाट भगवान वामनलाई सर्र्वस्व  दान गरेका हुन् तर यसबारे यस वामनपुराणको भनाइ भने बेग्लै छ । यस पुराणले राजा बलिको यज्ञस्थल भृगुकच्छ पर्वत नभई कुरुक्षेत्र हो भनेको छ ।  त्यस्तै अन्य केही पुराणमा पनि मत बाझेको पाइन्छ । पद्मपुराणले उनको यज्ञस्थललाई पुष्करतीर्थ भनेको छ भने अग्निपुराणले हरिद्वार र स्कन्दपुराणले प्रभासक्षेत्र उल्लेख गरेका छन् । त्यसैले यसबारे थप अध्ययनविना निष्कर्ष निकाल्न गाह्रो छ । 

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार पूर्व र उत्तर गरी दुई भागमा विभाजित यस पुराणको श्लोकसंख्या कुल १० हजार रहेको छ तर हाल माहेश्वरी संहिता, भगवती संहिता, सौरी संहिता र गणेश्वरी संहिताले युक्त बृहद्वामन संज्ञक उत्तरभाग अप्राप्य रहेको कुरो कल्याण पुराणकथाङ्कबाट थाहा हुन्छ । 

हाल प्राप्त वामन पुराण यसको पूर्वभाग मात्र हो, जसमा ९७ अध्याय र श्लोक संख्या लगभग छ हजार रहेको छ । कलेवरको हिसाबले यो पुराण सबैभन्दा सानो छ तर महत्त्वका हिसाबले कुरा गर्ने हो भने कुनै पनि पुराणभन्दा कम छैन, बरू बढी नै रहेको तर्क पौराणिकहरूको छ । यसमा पुराणमा हुनुपर्ने पाँच लक्षण त यसै पनि छँदैछ साथै यसबाहेक अन्य धार्मिक, सामाजिक, नैतिक र अनुशासनपरक  आदि विविध विषयको समेत रसास्वादन गर्न पाइन्छ ।

सृष्टिकर्ता ब्रह्माजीका शिरच्छेदन, कपालमोचन आख्यान, कामदेव दहन, प्रह्लाद नारायण युद्ध, भुवनकोष वर्णन, कुरुक्षेत्र वर्णन, गौरी आख्यान, स्कन्द चरित्र, अन्धक वध, मरुत्गणको उत्पत्ति, लक्ष्मीचरित, त्रिविक्रमचरित, नक्षत्र पुरुषाख्यान आदि यस पुराणको केही महत्त्वपूर्ण विषय हुन् । यसबाहेक अन्य पुराणमा प्रायः नभेटिने कदाचित् भेटिइहाले पनि अत्यन्त सूक्ष्मरूपमा मात्र भेटिने केही विषय समेत आएका छन् । यिनमा खासगरी भगवान् शिवको गहनाको रूपमा रहेको नागका नामहरूको उल्लेख, बदरीवनमा नारायणका साथ उनकै भक्त प्रह्लादले गरेका युद्ध, सुर असुरका वाहनहरूको अलग अलग वर्णन, गङ्गा मानसिक स्नान, दधिवामन स्तोत्र, प्रह्लादको तीर्थयात्रा वर्णन, वामन भगवानका विविधरूप तथा उनका निवासस्थानका व्याख्यान आदि केही मुख्य हुन् ।   

भगवान वामनको चर्चा वैदिक ग्रन्थहरूमा पनि भेटिन्छ । खासगरी ऋग्वेदीय विष्णुसूक्त यिनैसित सम्बन्धित छन् । दीर्घतमा ऋषिद्वारा देखिएका यस सूक्तमा कुल सातवटा मन्त्र छन् । 

इदं विष्णुर्वि चक्रमे त्रेधा नि दधे पदम् । 
समूढमस्य पागुँसुरे स्वाहा :।

यो यस सूक्तको पहिलो मन्त्र हो । यो मन्त्र विशुद्धरूपमा वामन भगवानले राजा वलिसित दान लिएको बेला तीन पाउले सारा संसार मापन गरेका प्रसङ्गसित सम्बन्धित छ । यसबाहेक अन्य मन्त्रले उनका थप विशेषता वर्णन गरेका छन् ।

सूक्तको दोस्रो मन्त्रमा उनै विष्णुसित माता पृथिवीलाई सरस बनाई गोधन र खाद्यान्नले पुष्ट पारिदेऊ भन्ने प्रार्थना गरिएको छ भने तेस्रो मन्त्रमा मानव समुदायको नजिक रहेर उनीहरूको सबै किसिमको आवश्यकता पूरा गर्ने काम गर भन्ने किसिमको प्रार्थना भेटिन्छ । त्यसैगरी चौथो मन्त्रमा जुन परमात्मा भगवान् विष्णुले पृथिवीसहित अन्तरिक्ष र द्युलोकको निर्माण गरे त्यस्ता समर्थशाली भगवानको यश वर्णन गर्न गाह्रो छ अर्थात् उनको यश वर्णन गर्नै नसकिने खालको छ भन्ने आशय व्यक्त गरिएको छ । बाँकी तीन मन्त्रले उनको स्तुति गर्दै उनीसँग चराचर जगतको पालन, संरक्षण तथा संवर्धनका लागि आग्रह गरिएको छ । 

यसबाहेक शतपथ ब्राह्मणसम्बन्धी केही चर्चा समेत भेटिएको छ । शतपथ ब्राह्मण भनेको वैदिक सनातनधर्मीहरूको यज्ञानुष्ठान तथा कर्मसंस्कारसित सम्बन्धित ग्रन्थ हो । खासगरी यो शुक्लयजुर्वेदीय ब्राह्मण गन्थ हो । शुक्लयजुर्वेद नेपाल र उत्तर भारतमा बढी प्रचलित छ । त्यसैले शतपथ ब्राह्मण ग्रन्थको प्रयोग पनि यसै क्षेत्रमा बढी हुने गरेको छ ।  यिनै विविध विशेषताले गर्दा वामनपुराण कलेवरको हिसाबले सानो भएपनि महत्त्वको हिसाबले  अरू कोहीभन्दा कम नभएको हो  । 
 

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्