विदेशीको भ्रमयुक्त आँखाबाट हेरिने मौलिक हिन्दू संस्कृति : दोषी चश्मा फुकाल्ने कि ?

वैदिक दर्शन रुढिवादीले ग्रसित छ, वैदिक संस्कृति नारी विरोधी छ, जातीय विभेदले ग्रसित छ भन्दै केही मान्छे वैदिक संस्कृतिको वैज्ञानिक व्याख्या गर्नुपर्छ भन्ने भ्रम पालेर बसेका छन् । के वैदिक धर्मको वैज्ञानिक व्याख्या गर्न सकिन्छ ? जबकि विज्ञान स्वयं वेदबाट जन्मेको छ । जब वेद नै विज्ञानको जन्मदाता जननी हो भने यसको वैज्ञानिक व्याख्या गर्छु भन्ने कुरा अहंकारबाहेक केही होइन ।

हाम्रो सनातन धर्म अथाह विज्ञानको क्षेत्रलाई समेत समेटेको महान् धर्म हो । यस धर्मलाई दूषित पार्ने र धमिल्याउने काम विभिन्न कालखण्डमा विभिन्न धार्मिक ठालुहरूबाट भए । बरु त्यसलाई हाम्रो वास्तविक वैदिक संस्कारबाट हटाउन जरुरी देखिन्छ । जस्तैः चाणक्य नीति विश्वमा पूर्वीय दर्शनका रुपमा अध्ययन गरिन्छ । जसमा नारीप्रति अत्यन्तै पूर्वाग्रह राखिएको छ । यो चाणक्य नीति विष्णु गुप्तको निजी विचार हो । हाम्रो धर्मको मूल स्रोत वेद नै हो । 
हाम्रो धर्ममा नारी शक्तिलाई पुजनीय मानेको छ ।


Advertisement

शक्तिका रुपमा महाकाली, धन तथा समृद्धिदात्रीका रुपमा महालक्ष्मी, ज्ञानको जननीका रुपमा सरस्वतीलाई पूजा गरिन्छ । नारी शक्तिलाई आदिशक्तिको रुपमा समेत पूजा गरिन्छ । स्वयं भगवान् नारायणले समेत अवतारका रुपमा जन्मिँदा नारीको कोखको सहारा लिनुपर्ने भएकाले नारीको स्थान आफूभन्दा उच्च रहेको बताउनुभएको छ ।

महाभारतको प्रसङ्ग उठाएर केवल द्रौपदी चिरहरण गरियो र नारीको अपमान भयो भन्ने उदाहरण मात्रै दिइन्छ । तर चिरहरण हुनबाट श्रीकृष्णले बचाएको र त्यससँगै द्रौपदीलाई न्याय दिलाउन ५ पाण्डवले कौरव वंशको नै अन्त्य गरेको प्रसङ्ग किन उठाइँदैन ? 

नेपालमा सनातन धर्ममाथि विभिन्न किसिमले प्रहार गर्ने गरिन्छ । जसमध्ये सबैभन्दा बढी महिलाको विषय उठाएर सनातन धर्ममा प्रहार गर्ने क्रम बढ्दै गइरहेको छ । काल्पनिक ग्रन्थ भनेर सम्बोधन गरिने रामायणको उदाहरण दिएर सीताको अग्निपरीक्षासँगै सीतालाई अग्निबाट फिर्ता मागेको प्रसङ्ग (सिताको सत्यताको शक्तिले सीतालाई छुँदा रावण भष्म हुने हुँदा रामले सीता र अग्निसँग सल्लाह गरेर रावण बध गरुन्जेलसम्मका लागि अग्निसँग रहने लिला) किन बेवास्ताझै गरिन्छ ? महाभारतको प्रसङ्ग उठाएर केवल द्रौपदी चिरहरण गरियो र नारीको अपमान भयो भन्ने उदाहरण मात्रै दिइन्छ । तर चिरहरण हुनबाट श्रीकृष्णले बचाएको र त्यससँगै द्रौपदीलाई न्याय दिलाउन ५ पाण्डवले कौरव वंशको नै अन्त्य गरेको प्रसङ्ग किन उठाइँदैन ? 

आधुनिक मानिने आजका नारीहरू बलात्कारको शिकार समेत भइरहँदा न्यायको लागि त्यतिबेलाको जसरी कोही लडाइँ लड्न हिम्मत गर्दैनन् । एकापट्टि काल्पनिक ग्रन्थ हुन्, यिनमा सत्यता छैन भनिन्छ । अर्कोपट्टि तिनै ग्रन्थका प्रसङ्ग उठाएर हिन्दू धर्ममा प्रहार गरिन्छ । यदि रामायण र महाभारतको इतिहासलाई काल्पनिक ग्रन्थ नै भन्ने हो भने फेरि किन तिनको प्रसङ्ग उठाएर हिन्दू धर्मलाई अवैज्ञानिक भनेर व्याख्या गर्न खोजिन्छ ? काल्पनिक कथा त अहिलेको समयमा कैयौं लेखिएका छन् । अझ दुःख लाग्दो कुरा के छ भने चर्चित र ठूला मानिएका लेखक वर्गबाट सबैभन्दा बढी हिन्दूशास्त्रमा आक्रमण भइरहेको छ ।

मौलिक पहिचानको वास्तविकता नै नबुझी, मौलिक संस्कृतिको गहन अध्ययन नै नगरी आयातीत संस्कृतिमा मोहित भएकै भरमा यस्ता निराधार लान्छना लगाउन विद्वत वर्गलाई शोभा दिँदैन । समाज विकासका क्रममा विकसित हुन गएका शास्त्रका भ्रमपूर्ण व्याख्याको आधारमा सम्पूर्ण सनातन धर्ममाथि नै प्रहार गरिनु सांस्कृतिक पहिचानमाथि घात हो । किनकि नेपालका अधिकांश धार्मिक सम्प्रदाय हिन्दू धर्मसँग नै सम्बन्धित छन् । समाजले विकास गरेका मान्यता र कुप्रथाको बोझ बेकारमा हिन्दूधर्मलाई बोकाइनु हुँदैन । 

समाजमा हुने उत्पीडन मान्छेले नै मान्छेमाथि गरिरहेका हुन्छन् । यो धर्मभन्दा व्यक्तिमा रहेको मानवतामा बढी निर्भर गर्छ । यसरी शास्त्रका प्रसङ्ग उठाएर सनातन धर्ममा औला ठड्याउँदैमा समाज सुन्दर बन्दैन । बरु वास्तविकता बुझेर कुरीति र जबर्जस्ती हिन्दू धर्ममा घुसाइएका गलत मान्यतालाई सुधार्न आवश्यक छ । हिन्दू संस्कार हाम्रो मौलिकता हो । मौलिकता नै हाम्रो पहिचान र अस्तित्व हो । न्यायको लागि आवाज उठाउँदा–उठाउँदै अन्जानमै आफैं अन्यायमा परिने खतराप्रति सचेत बनौं । देशलाई धार्मिक उपनिवेशको शिकार हुन नदिऔं ।

पाश्चात्य मुलुकमा काला जाति र गोरा जातिबीच ठूलो विभेद थियो । जुन आजसम्म पनि मेटिएको छैन । त्यहाँ पनि हिन्दू धर्मको प्रभावले त्यस्तो विभेद भएको हो र ?

हिन्दू परम्परामा ४ वर्ण छुट्याइएका छन् । ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र । जस्तै अहिले डाक्टर, इन्जिनियर, पाइलट, मजदुर, किसान आदि फरक–फरक पेशालाई फरक–फरक नाम दिइएको छ । अहिले सबैभन्दा बढी धनआर्जन गर्ने पेशालाई समाजले उच्च वर्गका रुपमा स्वीकार गरेको छ । यो सत्य हो । प्राचीनकालमा व्यक्तिको कार्यको आधारमा यी वर्ण छुट्याइएका हुन् । न कि जन्मको आधारमा । छुवाछुत गर्ने हेतुले वर्ण छुट्याइएका होइनन् । त्यतिबेला ज्ञान प्राप्तिको क्षेत्रलाई उच्च मानिएको छ ।

ब्रह्म ज्ञान प्राप्त गर्ने व्यक्ति ब्राह्मण हो । जुन सबैभन्दा श्रेष्ठ हुन्थ्यो । तर अहिलेसम्म आइपुग्दा नाम पछाडि झुन्डिएको थरको आधारमा अथवा जन्मको आधारमा व्यक्तिको वर्ण विकास भएको छ ।

अब कल्पना गरौं कि यसरी नै समाज विकासको क्रममा भोलि डाक्टरको कार्यलाई फोहोरी कार्य मानेर समाजले डाक्टरलाई निच जातिको उपाधि दिन्छ र छुवाछुत गर्न थाल्दछ भने त्यतिबेला पनि के हिन्दू धर्मलाई दोषी मानिरहने ? अनि अर्को कुरा के भने पाश्चात्य मुलुकमा काला जाति र गोरा जातिबीच ठूलो विभेद थियो । जुन आजसम्म पनि मेटिएको छैन । त्यहाँ पनि हिन्दू धर्मको प्रभावले त्यस्तो विभेद भएको हो र ?

हाम्रो धर्म कति खुला छ । कहिल्यै गहिरिएर सोचिएको छ कि छैन ? एउटा उदाहरण हिन्दू धर्ममा पुरुषले मात्रै आफ्ना आमाबुवाको काजकिरीया गर्ने प्रचलन रहिआएकोमा अहिले महिलाले पनि किरीया बस्न शुरू गरेका छन् । यसमा किरीया बस्ने महिलालाई कसैले सामाजिक बहिस्कार गरेका छैनन् । बरु स्वागत जरुर गरेका छन् । वास्तवमा किरीया बस्ने कार्य कठिन कार्य हुन्छ । महिलाहरुलाई सबै समयमा त्यो कार्य गर्न प्राकृतिक रुपमा पनि असहजता उत्पन्न हुन सक्ने हुन्छ । जस्तै महिनावारी भएको बेला, गर्भवति अवस्था, सुत्केरी अवस्था लगायत समयमा आमाबुवाको देहावसान भएमा किरीया बस्न नसकिने हुन्छ ।

सायद हिन्दूधर्म शास्त्रमा महिलाका यस्ता संवेदनशील अवस्थालाई मध्यनजर गर्दै किरीया बस्नु नपर्ने नियम बनाइएको हुनसक्छ । तर हामीले सधैं हाम्रो धर्ममा नकारात्मक कुराको मात्रै खोजी गर्यौं । खराब नजरले मात्रै हेर्न थाल्यौं । त्यसकारण हाम्रो हेर्ने दृष्टिकोणमा पनि भ्रम छ कि ! एकपटक गहिरिएर सोच्ने बेला आएको छ ।

मुस्लिम धर्ममा हेर्ने हो भने महिलाका लागि कति प्रतिबन्ध छन् । त्यसविरुद्ध कदम चाल्न त्यस समुदायका महिलाका लागि अत्यन्त मुस्किल छ । कसैले नियम भंग गरेमा कडा सजाय भोग्नुपर्छ । यसको अर्थ मुस्लिम धर्म नराम्रो हो भन्न खोजिएको होइन । त्यसमा समेत केही अपव्याख्या भएका हुन सक्छन् । सबै धर्मको अभिप्राय नै अनुशासित समाज नै हो । त्यसका लागि फरक–फरक तरिका अवलम्बन गरिएका मात्रै हुन् । 

धर्मका नाममा हाम्रो संस्कृतिमा सिधा प्रहार भइरहेको यथार्थबोध गरी राज्यको तर्फबाट कडा कदम चाल्नुपर्ने आवश्यकता खड्किरहेको छ । 

अहिले नेपाल धर्मनिरपेक्ष मुलुक भएको छ । नेपाल धर्म निरपेक्ष नहुँदा पनि यहाँको धार्मिक सहिष्णुता गौरवमय नै थियो । नेपाललाई धर्मनिरपेक्ष भनेर संविधानमा लेख्न आवश्यक थियो कि थिएन ? यसबारे धर्ममा नाममा राजनीति गर्नेले नै बढी तर्क गर्न सक्छन् । तर एउटा अकाट्य सत्य के हो भने धर्मनिरपेक्षताले वास्तविक नेपालीलाई खासै केही गुण लगाएको होइन । बरु धर्मको पनि प्रचार गर्न विवश पाश्चात्य धर्मका अनुयायीलाई भने विभिन्न प्रलोभनका आधारमा जबर्जस्ती धर्मप्रति आकर्षित गर्ने वातावरण खुला भएको हुँदा कुनै न कुनै कमजोरीमा टेकेर विदेशी धर्म भित्र्याउने काम भइरहेको छ । सनातन धर्म त आफैंमा निरपेक्ष छ, यसका लागि कुनै अर्को निरपेक्षताको कुनै आवश्यकता छैन । 

धनी मुलुकले विभिन्न आर्थिक प्रलोभन देखाएर गरीब समुदायमा विदेशी धर्म संस्कृतिको विस्तार गर्दैछन् । नेपालमा विभिन्न एनजीओ र आईएनजीओमार्फत् प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विदेशी धर्म संस्कृतिको प्रचार गरी गरीब जनतालाई विभिन्न प्रलोभनमा पारेर धर्म परिवर्तन गराइँदैछ । जुन हाम्रो मौलिक पहिचानको संरक्षणका लागि ठूलो चुनौतीका रुपमा देखिन सक्छ ।

धर्म परिवर्तन हुँदा केवल जनताको आस्था मात्रै होइन, संस्कृति र पहिचान समेत लोप भइरहेको छ । कुनै पनि देशको संस्कृति र पहिचान त्यस देशका लागि ठूलो सम्पत्ति हो । धर्मका नाममा हाम्रो संस्कृतिमा सिधा प्रहार भइरहेको यथार्थबोध गरी राज्यको तर्फबाट कडा कदम चाल्नुपर्ने आवश्यकता खड्किरहेको छ । 

महिला हिंसाको एउटा कारण हिन्दूधर्म र संस्कृति हो भनेर गलत आरोप लगाइएको छ । नराम्रो कुरा र  अपवाह जसले पनि फैलाउन सक्छ । तर वेदको गहनता र वास्तविक सन्देश फैलाउन गहन अध्ययन आवश्यक हुन्छ ।

त्यसकारण त्यस्तो आरोपसँग एउटा शब्द थप्नु आवश्यक छ अपब्याख्या । हिन्दूधर्म र संस्कृतिको अपव्याख्याले नेपाली समाजमा नारी उत्पीडनमा छन् । त्यसैले हिन्दूधर्म र संस्कृतिको विरोधको सट्टा यथार्थ व्याख्या गरी जनमानसमा रहेको भ्रमलाई हटाउनु जरुरी छ ।

हल्लाको पछि लागेर आफ्नो मौलिक परम्पराबारे कुतर्क गर्नुभन्दा एक पटक वेद, उपनिषद् र शास्त्रको गहन अध्ययन गरौं । किनकि धर्मको विरोधले केवल हाम्रो मौलिक संस्कृति हराइरहेको छ, न कि धर्मशास्त्रप्रतिको भ्रम ।

संस्कार र संस्कृतिका नाममा महिलामाथि लामो समयदेखि अन्याय हुँदै आएको छ, यो सत्य हो । त्यसको प्रत्यक्ष अप्रत्यक्ष भोक्ता म पनि हुँ । तर यस्तो उत्पीडन किन भयो ? कसरी वेद, उपनिषद् र विभिन्न शास्त्रले औंल्याएका विषयवस्तुको अपव्याख्या भयो ? कसरी त्यसमा धार्मिक तथा सामाजिक ठालुहरूले राज गर्दै आए ? त्यसबारे बरु सूक्ष्म अध्ययन बाँकी छ । उदाहरणका लागि सति प्रथा, कमलरी प्रथा, झुमा प्रथा, दाइजो प्रथा, देउकी प्रथा, छाउपडी प्रथा आदि । यिनीहरू प्रथा हुन्, कुनै समाज र समुदाय विशेषले चलाएका प्रथा । यसमा सनातन धर्मको कुनै भूमिका छैन । यस्ता प्रथाको कारण हिन्दूधर्म नै हो भन्ने आशय जबर्जस्ती लाद्न खोजिएको छ ।

त्यसैले हल्लाको पछि लागेर आफ्नो मौलिक परम्पराबारे कुतर्क गर्नुभन्दा एक पटक वेद, उपनिषद् र शास्त्रको गहन अध्ययन गरौं । किनकि धर्मको विरोधले केवल हाम्रो मौलिक संस्कृति हराइरहेको छ, न कि धर्मशास्त्रप्रतिको भ्रम ।

कमेन्ट गर्नुहोस्