चैत १४, २०७४
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक, सामाजिक, शैक्षिक लगायतका उद्देश्य पूरा हुन्छन् भन्ने हाम्रो दुईसय वर्ष पहिलेदेखिको मानसिकता हो । यो मानसिकताले अहिले पनि हरेक नेपालीको मनमस्तिष्कमा सुन्दर घर बनाएको छ ।
सुन्दर सपना सजाउन विदेशिने नेपालीका आआफ्नै कथा र व्यथा पनि छन् । अनेकौं चाहना बोकेर दैनिक अठार सय नेपाली परदेशी बन्दछन् । सुनौला सपना पूरा गर्ने उद्देश्य लिएर हिँड्दै गर्दा म पनि कुनै दिन हवाईजहाजको यात्रु बन्न पुगें ।
कथा सेप्टेम्बर ३, २०१८ को हो । सेप्टेम्बर ३ गते राति दुई बजे मेरो शैक्षिक उपलब्धिको हजार माइलभन्दा लामो रंगीन यात्रा थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंदेखि भेनिसको मार्को पोलो विमानस्थल इटालीसम्म मेरो गन्तव्यस्थल रहेको थियो । जीवनमा पहिलोपटक युरोपको यात्रा गर्न पाएकोमा त म फुरुङ्ग भएँ तर एयरपोर्ट पुग्दा भने झसङ्ग थिएँ । एयरपोर्टको लामो लाइन, लगेजको इन्ट्रीपछि इमिग्रेसन पुग्ने सिँढी चढ्नुअघिको बाइले मेराजस्तै हरेकका आँखा रसिला देखिन्थे । मन कुँडाएर इमिग्रेसन चेकिङ पार गर्नेहरूको ताँती नै थियो । त्यही ताँतीमा म पनि पंक्तिबद्ध थिएँ । अर्कातर्फ जहाजमा बाइबाइ गर्न आएका आफन्तजन पनि मलिन अनुहारमा बाइबाइ गर्दै थिए ।
हवाईजहाज चढ्नुभन्दा एक घण्टाअघिको पर्खाइमा सबैका आँखाबाट बर्बर आँसु झरिरहेका थिए । यही समयमा मैले आफ्ना बाबुआमा, घरपरिवार र छरछिमेकीलाई सम्झें । सपना सजाउन परदेशिनेहरूका ती बूढा बुवाआमा, श्रीमती अनि कलिला बालबच्चा परदेशीलाई सम्झी कति रुँदा हुन् ? कहिलेसम्म यो लामो लश्कर परदेशी भूमिमा भक्कानिँदै पुग्ने होलान् । स्कूल पढ्दा अखबारका पानामा कतै पढेको थिएँ ‘विगतमा हाम्रो जस्तै कोरिया, फिलिपिन्सले विकासको कति धेरै फड्को मारिसके अरे’ । समयको गतिले हामीलाई मात्र किन कत्ति पनि नचिनेको होला । हाम्रोे यो जहाजी यात्राको जात्राले कहिलेसम्म निरन्तरता पाइरहने होला ?
इतिहासको त्यो सुगौली सन्धिपछि बलभद्र कुवँरको लाहोरको लाहुरे यात्रा थालनीपश्चात् आजका दिनसम्म परदेश यात्राको गति झन् बढ्दो क्रममा छ । राजनीतिक खिँचातानी, बाह्य हस्तक्षेप र राजनीतिक संक्रमणकालको अन्त्य विगतदेखि वर्तमानसम्म पनि किन नभएको होला ? यी यात्रुको विदेशिनुपर्ने रहर मात्र नभएर बाध्यता पनि होलान् । यिनै विषयमा सोचेर म जहाजको प्रतीक्षामा थिएँ ।
मनमा अनेक कुरा खेलाइबस्दै गर्दा छेउमा रहेका एक चिटिक्क परेका अर्धबैंसे पुरुष उभिएर कोहीसँग कुरा गर्दै थिए । अनेक सोच्दै बसेको म, दोहा कतारको ट्रान्जिटबाट भेनिस भनेको सुन्दाबित्तिकै हौसिएर उनीसँग कुरा गर्न पुगेछु । चिनाजानी गर्दा थाहा भयो उनी भारतबाट विद्यावारिधि गर्ने नेपालको एक विश्वविद्यालयका प्राध्यापक रहेछन् । उनी भिजिटिङ प्रोफेसरका रूपमा इटालीको पादोभा विश्वविद्यालयमा जाँदै रहेछन् । विदेशी भूमिमा ज्ञान बाँड्न जान लागेको कुरा सुन्दा म छक्क परें । अधिकांशको मानसपटलमा नेपालीहरू विदेशमा थ्री डी (डर्टी, डेन्जरस र डिफिकल्ट) मात्र काम गर्छन् भन्ने सोचका लागि उनी एक भिन्न व्यक्ति थिए ।
बिहानको दुई बज्नै लाग्दा, जहाज चढ्नेको लामो लश्कर लाग्यो । उनीसँगै खासखुस गर्दै म पनि लाइनमा थिएँ । कतार हुँदै भेनिससम्म म उनैसँगै जाने भएँ । हाम्रो सीट पूर्व र पश्चिम झैं टाढा रहेछ । पहिलोचोटि हवाईजाहज चढेको म, एयरहोस्टेसको सहायताले २७ नम्बरको सीटमा बसें । छेउमा पोल्यान्ड जाने म्याग्दीतिरका अर्धबैंसे पुरुषहरू रहेछन् । उनका ग्रूपका पाँचजना हाम्रो पछाडिको सिटमा बसेका । सबै उतैतिरैका । अहिले पोल्यान्डको खुब भिसा लागेको छ भन्दैबेला बखत खासखुस गर्दै थिए । दलाललाई १२ लाख रुपैयाँ तिरेर युरोपको यात्रा तय गरेका रे । एग्रो फर्ममा मासिक एक लाख जति दिने शर्त छ भन्दैथिए ।
संयोग होला, कतारसम्म त हवाईजहाजमा सबै नेपालीहरू मात्र पो रहेछन् । कस्तो एकजना विदेशी पनि नभएका । यसले दैनिक १८ सय नेपाली विदेशिन्छन् भन्ने कथनलाई पुष्टि गरिरहेको थियो ।
हवाईजहाजमा बसेको एकछिनमै जहाज घरघर आवाज निकाल्दै दगुर्न थाल्यो । जति जहाज दगुर्थ्यो घरदेशको सम्झनाले मेरो मन फुलेर आउँथ्यो । केहीबेरमा ‘बाइ नेपाल’ भन्दै सबै चिच्याए । मैले पनि त्यही स्वरमा रुन्चे स्वर मिलाएँ । जहाजले जमीन छोडी आकाश छोएको थियो । आकाशबाट झलमल काठमाडौं उपत्यका चिहाएँ । कति धपक्कै बलेको मेरो देशको राजधानी यो रात्रिकालीन समयमा । जहाज जतिजति माथि उड्थ्यो, उति मातृभूमिको याद बढ्थ्यो । गाउँघरका डाँडापाखा खोलापारिको पालेवनको सम्झनाले सताउँथ्यो । साथीसङ्गीसँग बर्खेझरी र हिउँदको मेलापात गरेको झझल्कोले झस्काउँथ्यो । पारिवारिक यादले क्षणक्षणमा सताउँथ्यो । खोई, मलाई मात्र हो कि अरूलाई पनि गाउँघर, डाँडापाखा, मेलापात, पालेवन, न्याउली र कोइलीको स्वरको सम्झनाले सतायो होला ।
सीटअगाडिको सुईले जहाजको दिशा देखाइराखेको थियो । बीचबीचमा एयर होस्टेसले खानेकुरा लिनका लागि अर्डर लान्थे र ल्याउँथे पनि । कतारसम्म आएका केही नेपालीले त बेहाल नै हुने गरी पिउने रहेछन् । होस्टेस पनि ड्रिंक्स ल्याउँदा ल्याउँदा वाक्क । मुखले नबोलेपनि ती एयर होस्टेस पिएर मात्नेप्रति रिसाएको प्रस्ट देखिन्थ्यो । मैले भने पहिलोपटकको यात्रामा एक पेग लगाइनँ । उही गाउँघरको सम्झनाले सताइराखेको थियो । घरपरिवार, साथीभाइ र आफन्तबाट टाढा हुँदा के पो खान र पिउन मन लाग्नु र ।
करीब पाँच घण्टाको उडानमा कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थल देखियो । कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल कति विशाल रहेछ । म लगेज र ह्यान्ड क्यारी लतार्दै भेनिस लाग्ने प्लेन खोज्न थालें । १५ मिनेट लगाएर खोजेपछि भेनिस जाने जहाजकोे स्थान भेटें । घरतिर म कतारसम्म पुगेको थाहा पाउन भनेर फेसबूकमा हमाद इन्टरनेसनल एयरपोर्ट कतार भनी चेकइन गरें । करीब चार घण्टाको ट्रान्जिट बस्नुपर्ने थियो । यत्तिकैमा अघि सँगै जाने प्राध्यापक आइपुगे । काठमाडौंबाट सँगै उडेको र भेनिससम्म सँगै जाने भएकाले उनी पनि मेरो खोजीमा लागेका रहेछन् । चार घण्टाको ट्रान्जिट कटाउन पनि धेरै मुश्किल हुने थियो । धन्न उनी भेटेर समय गएको पत्तो नै भएन ।
मलाई भने कतारको हमाद एयरपोर्टमा जता हेर्यो त्यहीँ नेपाली दाजुभाइ देखेजस्तै लाग्यो । सँगैका प्राध्यापकलाई सोध्दा धेरै नै नेपाली रोजगारीका लागि यहाँ रहेको भन्ने जानकारी पाइयो । कतार त धेरै नै नेपालीहरूको रोजगारस्थल रहेछ । यहाँका हरेक क्षेत्रमा काम गर्नेहरूमा नेपाली नै बढी हुँदा रहेछन् । चाहे त्यो एयरपोर्ट र विविध कम्पनीदेखि रेस्टुरेन्ट नै किन नहोस् । प्राध्यापकको कुरा सुन्दा देश यिनै परदेशीका पसिना र खियाइएका हड्डीको करले चलेको जस्तै लाग्यो । उता घरदेशमा भने यिनै पसिनाबाट छाएको विलासीपन र भद्रगोलका समाचार सुनिन्छन् । परदेशीका पसिना र घरदेशको हालत सम्झेर आफैंमा विरक्त लागेर आयो । सोह्र हजार जनताका आत्माहरू रन्थनिएर छटपटाइरहेको आभास भयो ।
नेपालमा जन्मनु र जहाजी यात्राको बाध्यतालाई बुझ्दै जाँदा दोष कसको ? जहाजी यात्रीको ? राज्य सञ्चालकको ? वा प्राकृतिक साधन र स्रोतको ? स्रोत व्यवस्थापनको ? म कसैलाई केही भन्न सकिनँ ।
साथमा रहेका प्राध्यापकले यी सब कुरा गरिरहँदा राजनीति र पलायनलाई सँगै जोडेर विश्लेषण गरे । मैले पनि आफैंमा हाम्रो इतिहास घोत्लिएर सोचें । उहीलेको सुगौली सन्धिपश्चात् देश खुम्चियो, भाइभारदारबीच रक्ताम्मे कोत पर्वहरू भए, जंगे उदाए, राणाहरूको अन्त्य भयो, प्रजातन्त्रको प्रादुर्भाव भयो, पञ्चायत बन्यो अनि ढल्यो, बहुदलीय व्यवस्था आयो र गयो र गणतन्त्र उठ्यो तर पनि लाहोर नगई गाँसबासको जोहो भएन । परदेशका कुनाकाप्चामा हिजोदेखि आजसम्म वीर गोर्खाको रूपमा त विविध रोजगारीको भेषमा परिश्रमका पसिनाहरू समृद्धिका दानामा साटिन्छन् । अझै यिनै पसिना बगाउन कहिलेसम्म नेपालीले अनेक हन्डर ठक्कर खान्छन्् । पहिलो र दोस्रो विश्वयुद्धदेखि जम्मु कश्मीरका युद्धमोर्चा र अहिले विदेशका थ्रीडीहरूमा नेपालीकै पसिना पोखिएका छन् ।
हरेक समयमा उही परदेशी व्यथा र गाथा अविरल कालीगंगा झैं बगिरहेछन् । खोई, बाजेहरूबाट चलेको यो नटुंगिने यात्रा कतिन्जेल चल्ने हो, अझ कति पुस्तामा यस्तै मानसिकतामा बस्ने हो ? यस्तै यस्तै विरहका लहडहरू मनमा खेलिरहे । प्राध्यापकले देशका समस्या र सम्भावनाहरू बताउँदै जान्थे, मेरो मनले विदेशलाई चाहिने श्रम, सीप र ज्ञान आप्mनै देशलाई किन आवश्यक छैन भन्ने प्रश्नको उत्तर खोजिरहन्थ्यो ।
कुराकानी गर्दा गर्दै चार घण्टा बितेको पत्तो नै भएन । दोहाबाट भेनिस जाने प्लेनमा त हामी दुई नेपाली मात्र रहेछौं । फेरि पनि फरक फरक सिटमा । घरबाट निस्किएपछि ननिदाएको म, यो फ्लाइटमा त मजैले निदाएछु । ब्युझिँदा आकाशबाट सुन्दर समुद्रमाथिको शहर भेनिस देखियो । गन्तव्य आएछ भन्ने लाग्यो । भेनिसवरिपरिको समुद्र देख्दा उही धौलागिरी हिमालको कालीगंगा मिसिएको जल होला भन्ने आभास भयो । घरघर गर्ने प्लेनको आवाज आउँदा आउँदै भेनिस मार्कोपोलो विमानस्थल नै आइपुगेछ ।
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...