अबको २ सातापछि सबै कर्मचारीको हातमा समायोजनको पत्र, २१ दिनमा हाजिर नभए सेवाबाट बर्खास्त !

प्रशान्त ओझा
प्रशान्त ओझा

लोकान्तरका विशेष संवाददाता प्रशान्त ओझा अदालत, प्रशासन र संवैधानिक निकायको रिपोर्टिङ गर्छन् ।

काठमाडौं –संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि ७७ हजार ३४ कर्मचारीले आबेदन दिएका छन । कर्मचारीले बुधवार राति १२ बजेसम्म अनलाइनबाट आवेदन दिएका हुन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७७ हजार ३४ कर्मचारीले समायोजनको आवेदन भरेर आफूले समायोजन हुन चाहेको तह रोजिसकेका छन् । जसमध्ये निजामती कर्मचारीको संख्या ७५ हजार ३ सय ६७ छ । 


Advertisement

समायोजनका लागि आवेदन दिएकामध्ये ४६ हजार २ सय ७० जनाले संघ (केन्द्र) रोजेका छन् । सरकारले केन्द्रका लागि ५७ हजार ९ सय २० कर्मचारीको दरबन्दी निर्धारण गरेको थियो । 

यस्तै प्रदेश रोज्ने कर्मचारीको संख्या ५८ हजार ६ सय २३ छ । सरकारले प्रदेशका लागि २२ हजार ७ सय ५५ कर्मचारीको दरबन्दी तोकेको छ । 


Advertisement

समायोजनका परेका आवेदनमध्ये ३ लाख ४५ हजार २ सय २५ आवेदन स्थानीय तहका लागि परेका छन् । स्थानीय तह रोज्ने एउटा कर्मचारीले प्राथमिकताका आधारमा १ भन्दा बढी १५ वटासम्म स्थानीय तह रोज्न पाउने व्यवस्था भएकाले स्थानीय तहमा परेको आवेदनको संख्या समायोजनका लागि आवेदन दिएका कर्मचारीको संख्या भन्दा बढी देखिएको हो । सरकारले स्थानीय तहका लागि ६७ हजार ५ सय ३ कर्मचारीको दरबन्दी निर्धारण गरेको छ । 

समायोजन नरोज्ने कर्मचारीलाई के हुन्छ ? 

सरकारले १ लाख ३८ हजार १ सय ७८ कर्मचारी समायोजन प्रक्रियामा सहभागी हुने जनाएको छ । ७१ हजार ५ सय ९८  कर्मचारीले अनलाइनबाट आवेदन भरेर समायोजन प्रक्रिया रोजे भने ६६ हजार ५ सय ८० कर्मचारीले समायोजनका लागि फारम भरेनन् ।  तर, समायोजन नरोज्ने कर्मचारीलाई पनि कर्मचारी समायोजन अध्यादेशअनुसार बाध्यकारी बनाइएको छ । 

समायोजन नरोज्ने कर्मचारीलाई समायोजन रोजेर आवेदन दिएका कर्मचारीले छाडेको ठाउँमा खटाइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन तथा संगठन विकास शाखाका प्रमुख सहसचिव केदार प्रसाद पनेरुले जानकारी दिए । 

‘समायोजनका लागि आवेदन दिएका कर्मचारीलाई सफ्टवेयरले नै सबै आधारहरू केलाएर समायोजन हुने तह निर्धारण गर्नेछ,’ सहसचिव पनेरुले भने, ‘समायोजन नरोज्ने कर्मचारीलाई पनि सफ्टवेयरले नै समायोजन गर्ने छ । तर उनीहरूले आवेदन दिएका कर्मचारीले छाडेको ठाउँमा जानुपर्ने बाध्यता हुनेछ ।’

समायोजन नरोजेका कर्मचारीको विवरण समेत कर्मचारी समायोजनका लागि निर्माण गरिएको सफ्टवेयरमा समावेश गरिनेछ । निजामती कितावखानामा उपलब्ध रेकर्डका आधारमा उनीहरूको विवरण सफ्टवेयरमा राखिने छ । 

कर्मचारी समायोजन तथा संगठन विकास शाखाकी उपसचिव अनिता निरौलाका अनुसार समायोजनका लागि आवेदन नभरेका कर्मचारीको पनि सफ्टवेयरबाटै समायोजन गरिने छ । ‘पहिले समायोजनका लागि आवेदन दिएका कर्मचारीको समायोजन प्रक्रिया टुंग्याएर आवेदन नदिएका कर्मचारीको विवरण सफ्टवेयरमा अपलोड गरिने छ,’ निरौलाले भनिन् । 

अबको २ हप्तापछि हातमा पत्र

कमर्मचारी समायोजनका लागि अनलाइनबाट आवेदन भर्ने समय सकिएपछि बिहीवारदेखि कर्मचारीको विवरण रुजु गर्ने काम शुरू भएको छ । समायोजन रोजेका कर्मचारीले अनलाइनबाट आवेदन भर्दा पेश गरेको विवरण र निजामती किताबखानामा भएको विवरण भिडाएर कर्मचारीको विवरण रुजु गरिने छ । 

अनलाइनमा भरेको विवरण र निजामती कितावखानामा रहेको विवरण मेल नखाएमा किताबखानामा भएको विवरणलाई आधार मानेर विवरण रुजु गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीको भनाइ छ । 

अनलाइनबाट आवेदन दिएका कर्मचारीको विवरण रुजु भएपछि आवेदन नभरेका कर्मचारीको विवरण रुजु गर्न शुरू गरिने छ । यो सबै काम सक्न कम्तिमा २ हप्ताको समय लाग्ने उपसचिव निरौला बताउँछिन् । 

यी सबै काम सकिएपछि समायोजन प्रक्रियामा सहभागी हुने कर्मचारीलाई पत्र दिन शुरू गरिनेछ । प्रदेश र स्थानीय तहमा समायोजन हुनु नपर्ने कर्मचारीलाई भने सबैभन्दा पहिले पत्र प्रदान गरिने छ । 

राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) र राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)लाई वरिष्ठताका आधारमा पहिलो नम्बरमा संघमा समायोजन भएको पत्र दिइने छ । 

न्याय सेवा, परराष्ट्र र महालेखा परीक्षक समूहका कर्मचारी पनि संघमा नै समायोजन हुनेछन् । 

त्यसपछि संघ, प्रदेश र स्थानीय तह गरी ३ वटै तहमा समायोजन हुने सेवा र समूहका कर्मचारीलाई पत्र प्रदान गरिने छ ।   

समायोजनमा नगए पदबाट बर्खास्त !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अबको २ हप्तापछि सबै कर्मचारीको हातमा समायोजन भएको पत्र प्राप्त भइसक्ने छ । यसरी पत्र प्राप्त भएको २१ दिनपछि समायोजन भएका कर्मचारीले समायोजन भएको प्रदेश वा स्थानीय तहको सेवामा अनिवार्य रूपमा हाजिर हुनुपर्ने छ । 

कर्मचारी समायोजन अध्यादेशको दफा (१६) अनुसार समायोजनको पत्र बुझेको २१ दिनभित्र (बाटो म्याद बाहेक)मा हाजिर नहुने कर्मचारीलाई पदबाट अवकाश दिइने छ । 

समायोजनअनुसार हाजिर नहुने कर्मचारीलाई बर्खास्त गरिनु अगाडि कानून बमोजिम सफाइ र स्पष्टीकरण पेश गर्ने मौका भने दिइने छ ।

प्रशान्त ओझा
प्रशान्त ओझा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्