दिल्लीको बीचमा 'मिनी नेपाल' : सीए पढ्ने नेपाली विद्यार्थीले बदलेको लक्ष्मीनगरको कथा

दिलिप भुसाल
दिलिप भुसाल

भुसाल लोकान्तर डटकमका दिल्ली प्रतिनिधि हुन् ।

नयाँदिल्ली- भारतको राजधानी नयाँ दिल्लीको बीचमा नेपाली विधार्थीले भरिएको एउटा ठाउँ हो, लक्ष्मीनगर । झट्ट हेर्दा मिनी नेपालको झल्को दिने यो ठाउँलाई नेपाली विद्यार्थीले सीए नगरको रूपमा परिचित गराए ।

पाँच वर्षको कठोर मेहेनत र परिश्रमबाट चार्टर्ड अकाउन्टेन्ट बन्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट आएर अध्ययन गर्दै गरेका करीब १० हजार नेपाली विद्यार्थी यो संगममा आउने जाने जो कोहीलाई पनि नेपालीपनको झल्को मिल्छ ।


Advertisement

थकाली खानाका होटलदेखि कोठा खोज्दिने ब्रोकरसम्म यहाँ नेपाली नागरिक नै भेटिन्छन् । हिन्दी बोल्न नजान्ने नयाँ विद्यार्थीलाई पनि शुरूवाती दिनमा यहाँ खासै असर पर्दैन । नेपाली विद्यार्थीले खोलेका स्वतन्त्र विधार्थी समूह अनि राजनीति दलका विद्यार्थी समूहले विधार्थीहरूलाई अप्ठ्यारो परेको बेला सहजकर्ताको भूमिका निर्वाह गर्छन् ।

चाडपर्व तथा नयाँ सालमा हुने सांस्कृतिक समारोह अनि दु:ख पर्दा एकअर्कालाई गर्ने सहयोगी भावनाले भरिएका नेपाली विधार्थीहरूको यो शहरले नेपालीलाई आफ्नो घरबाट टाढा भएको याद बिर्साइदिन्छ ।


Advertisement

राजनीतिक दलका च्याउसरह भ्रातृ संगठन

नेपालका क्याम्पसहरूमा जस्तै लक्ष्मीनगरमा पनि हरेक राजनीतिक दलका विद्यार्थी संगठन छन् ।  नेविसंघदेखि नयाँ शक्ति अनि मधेशवादी दलसम्बद्ध विद्यार्थी संगठन यहाँ नेपाली विद्यार्थीको हितमा काम गर्न तत्पर रहेको बताउँछन् ।

नेविसंले समय-समयमा नेपालबाट युवा नेतालाई ल्याएर अन्तक्रिया कार्यक्रम गर्छ अनि पास भएका विद्यार्थीलाई सम्मान पनि गर्छ । जाडोको बेला पुरानो कपडाहरू जम्मा गरेर बाटोमा बस्ने मान्छेलाई वितरण गर्ने, चाडपर्वका बेला सामूहिक भेला गरेर रमाइलो गर्ने जस्ता कार्य यहाँ विद्यार्थी संगठनहरूले गर्छन् ।

विद्यार्थीको कोठाकोठामा पानीको जारदेखि खाना

नेपाली विधार्थीको पढाइलाई ध्यानमा राखेर यहाँ नेपालीले नै खोलेका होटेलले कोठा-कोठामै खाजा, खाना तथा पानीको जार पुर्‍याइदिन्छन् ।

विशेष गरी परीक्षाका बेला यो सेवा धेरै चल्छ । यस्तै मध्येका एक हुन्, विगत ७/८ वर्षदेखि ललिता पार्क लक्ष्मीनगरमा 'राजेश फूड कर्नर' चलाउँदै आएका बाग्लुङका राजेश भण्डारी । 'नेपाली विद्यार्थीको चाप धेरै छ, आफ्नै देशका विद्यार्थीलाई सेवा दिन पाउँदा सेवासँगै सन्तुष्टि पनि मिलेको छ,' उनी भन्छन् ।

कसरी बन्ने त सीए

सीए बन्न तीन लेभलको पढाई पास गर्नुपर्ने हुन्छ ।  धेरै नेपाली विधार्थी पहिलो चरणको पढाई नेपालमै पूरा गरेर आउँछन् भने कोही विद्यार्थी शुरूदेखि नै अध्ययन गर्न यहीँ आउँछन् । दोस्रो लेभल पास गरेर तीन वर्षको इन्टर्नसीप अनि अन्तिम लेभलको परीक्षा पास गरेपछि सीए बनिन्छ ।

बिहान क्लास, दिउँसो इन्टर्नसीप अनि साँझ फेरि क्लास यहाँ अन्तिम लेभलका विद्यार्थीको ३ सालको दैनिकी नै बन्छ । 'करीब ३/४ घण्टा लामो क्लास शुरूवाती दिनमा पटट्यार लाग्दो भएपनि बिस्तारै बानी पर्छ,' आफ्नो अन्तिम लेभलको परीक्षा परीक्षाको नतिजा कुर्दै बसेका नवलपरासी बर्धघाटका रेसुराज पाण्डे भन्छन् । काठमाडौं तथा त्यस आसपास घर हुने विद्यार्थीलाई भारतीय चार्टर्ड अकाउन्टेन्ट संस्थाले काठमाडौंमै परीक्षा दिने व्यवस्था मिलाएको छ ।

नेपाली कोचिङ इन्स्टिच्यूट अनि नेपाली शिक्षक

सीएको पहिलो अनि दोस्रो लेभलको पढाइको लागि यहाँ नेपाली कोचिङ इन्स्टिच्यूटहरू पनि खुलेका छन् । काठमाडौंको बानेश्वरमा कोचिङ सेवा दिँदै आएको प्राइम सीएले विगत केही वर्षदेखि लक्ष्मीनगरमा पनि सेवा दिँदै आएको छ । त्यस्तै नेपाली शिक्षक नगेन्द्र साहको एस एकेडेमी, फोनिक सीए चर्चित छन् । भारतीय कोचिङ इन्स्टिच्यूटहरूले पनि नेपाली विद्यार्थीका लागि अनेक अफर तथा छूट दिने गरेका छन् ।

किन अप्ठारो हुन्छ त् सीए?

'वर्षमा दुईपटक परीक्षा दिन मिले पनि एउटा विषय फेल भए सबैको परीक्षा दिनुपर्ने, एक-एक दिनको अन्तरालमा परीक्षा हुने अनि धेरै कोर्श कन्टेन्टले गर्दा जो कोहीलाई सीए पास गर्न मुस्किल पर्छ ।

विषयगत शिक्षकको छनोट राम्रोसँग नहुने अनि पढाइसम्बन्धी उचित परामर्शको अभावले गर्दा विद्यार्थीलाई सीए पास गर्न धेरै समय लाग्छ,' भन्छन् गतवर्ष सीए बनेका अर्घाखाँची ठाडाका राजन बञ्जाडे ।

उनको जस्तै भनाइ चितवनका अनिल पौडेलको पनि छ । 'सीए ८० प्रतिशत मेहेनत अनि २० प्रतिशत भाग्यको खेल हो, जे पनि हुनसक्छ,' उनी भन्छन् ।

करसम्बन्धी विषय पढाउने शिक्षक अजय जैनको कुरालाई मान्ने हो भने सीए यस्तो विषय हो जो जवानीको  ४/५ वर्ष खर्चिएर बाँकी जिन्दगीको ४०/५० साल आरामदायी जीवन व्यतित गर्न सकिन्छ ।

कतिपय विद्यार्थीले ४/५ वर्षमै पनि सीए पास गर्छन् भने कसैलाई सीए पास गर्न ८/१० वर्ष पनि लाग्छ । शायद सोही कारण भनिएको होला सीए पढ्दा पैसा मात्र होइन जवानी पनि खर्च हुन्छ । 

दिलिप भुसाल
दिलिप भुसाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्