महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

एउटा मोटरसाइकल चोरियो, बाँकी ३ वटा लिलामीको प्रक्रियामा

काठमाडौं –महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले आफ्नो प्रयोजनका लागि ३ वटा गाडी प्रयोग गर्दै आएको पाइएको छ । त्यसमध्ये एउटा गाडी उनको सचिवालयले प्रयोग गर्छ, बाँकी दुई गाडी उनी आफैं चढ्छिन् ।

लोकान्तर डटकमलाई मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मन्त्री थापाले बा २ झ ७६७ नम्बरको निसान जीप चढ्दै आएकी छन् । उनकै प्रयोजनका लागि भनेर गृह मन्त्रालयबाट हस्तान्तरण भइआएको बा २ झ १०७४ नम्बरको ह्युण्डाइ सोनाटा कार पनि छुट्याइएको छ ।


Advertisement

मन्त्रीको दुई गाडीबारे जिज्ञासा राख्दा मन्त्रालयकी सूचना अधिकारी सुनिता नेपालले यसबारे आफूहरूलाई थाहा नहुने बताइन् । ‘मन्त्रीज्यूको गाडीमा झण्डा हुन्छ, अरूले चढ्न मिल्दैन, यसबारे हामीलाई थाहा हुँदैन,’ नेपालले लोकान्तरसँग भनिन् ।

मन्त्री थापाका स्वकीय सचिव गमबहादुर पुनले मन्त्रीले एउटा गाडी राजधानी बाहिर जान र अर्को गाडी राजधानीमा रहँदा चढ्ने गरेको बताए । ‘मन्त्रीज्यूले एउटा गाडी राजधानी बाहिर जान प्रयोग गर्नुहुन्छ, अर्को गाडी उपत्यकाभित्र प्रयोग हुन्छ,’ उनले लोकान्तरसँग भने ।

मन्त्रीको सचिवालयका लागि भनेर अर्को गाडी छ । बा २ झ २६१५ नम्बरको स्कोर्पियो मन्त्रीको सचिवालयका लागि मन्त्रालयले उपलब्ध गराएको छ ।

निसान जीप र सचिवालयको स्कोर्पियोका लागि मासिक १२० लिटरका दरले इन्धन उपलब्ध हुने गरेको छ भने ह्युण्डाइ सोनाटाका लागि १०० लिटर इन्धन मासिक खर्च हुने गरेको देखिन्छ । यसरी हेर्दा मन्त्रीकै प्रयोजनका लागि प्रयोग हुने ३ गाडीले मासिक ३४० लिटर इन्धन खर्च गर्दैआएका छन् ।

उपसचिवलाई पनि मन्त्रीसरह इन्धन ?

उक्त मन्त्रालय सचिवविहीन छ । सह–सचिव वीरबहादुर राईले कायममुकायम सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । सचिवले प्रयोग गर्ने बा २ झ ९५९ नम्बरको स्कोर्पियो जीप प्रयोग भएको देखिँदैन भने कामु सचिव वीरबहादुर राईले बा १ झ ९८०७ नम्बरको फोर्ड फिगो कार चढ्दै आएका छन् ।

सह–सचिव रुद्रादेवी शर्माले बा २ झ ३०४९ नम्बरको ग्राण्ड आई टेन, उपसचिव पशुपति शर्माले बा १ झ ८६२२ नम्बरको टाटा सफारी जीप, उपसचिव पृथबहादुर केसीले बा २ झ ७५४ नम्बरको निसान जीप, लेखातर्फकी उपसचिव मिठू थापाले बा २ झ २०२२ नम्बरको ह्युण्डाइ कार चढ्दै आएका छन् । सचिवालय सहित मन्त्रीको प्रयोजनमा रहेका दुईवटा गाडी र माथि उल्लेखित सह–सचिव तथा उपसचिवले प्रति सवारी साधन १२० लिटर इन्धन मासिक लिँदै आएका छन् ।

उपसचिवले समेत मन्त्रीसरह इन्धन लिँदै आएकोबारे जिज्ञासा राख्दा सूचना अधिकारी नेपालले घर टाढा हुनेले बढी तेल लिने गरेको बताइन् । ‘एक जना त कलंकीभन्दा अलि परसम्म पुग्नुहुन्छ,’ उनले लोकान्तरसँग भनिन् ।

लेखातर्फकी उपसचिव मीठू थापा उपसचिवहरूलाई १०० लिटरसम्म तेल दिने गरिएको र बढी गएको इन्धन आगामी महिनामा दिने इन्धनबाट मिलान गरिने बताउँछिन् ।

थापा र नेपाल दुवैले उपसचिवहरूले चढ्ने गाडी पूलमा रहने र एकभन्दा बढीले चढ्ने हुँदा तेल पनि बढी खर्च हुने दाबी गरे । तर मन्त्रालयले उपलब्ध गराएको विवरणमा उपसचिवहरू पृथबहादुर केसी, पशुपति शर्मा र मिठू थापाले प्रयोग गर्ने गाडी अरूले प्रयोग गर्ने गरेको देखिँदैन ।

उपसचिवहरू सुनिता नेपाल र निर्मला न्यौपानेले बा ०४८८ नम्बरको निसान जीप (२० वर्षभन्दा पुरानो) तथा उपसचिवहरू कृष्ण भुसाल तथा अञ्जु ढुंगानाले बा १ झ ९८०७ नम्बरको निसान कार संयुक्त रूपमा चढ्दै आएको देखिन्छ । उनीहरूले प्रति गाडी सय/सय लिटर इन्धन प्रयोग गर्दै आएका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव राजेन्द्र पौडेलले बा १ झ ९८११ नम्बरको कार चढ्ने गरेका छन् । उनले पनि मासिक एक सय लिटर इन्धन लिन्छन् ।

हेर्नुहोस्, महिला मन्त्रालयमा चारपांग्रे सवारी प्रयोग गर्नेहरू विवरण

उपसचिवदेखि कार्यालय सहायकसम्मले चढ्छन् मोटरसाइकल

यस मन्त्रालयमा २७ वटा मोटरसाइकल कर्मचारीहरूले चढ्दै आएका छन् । यसरी मोटरसाइकल चढ्नेमा कानूनतर्फकी उपसचिव सरिता रायमाझीदेखि कार्यालय सहायकहरूसम्म छन् । मन्त्रालयले उपलब्ध गराएको विवरणमा सबै कर्मचारीको पद उल्लेख नभएपनि मन्त्रालयको वेबसाइटमा हेर्दा उक्त कुरा पुष्टि हुन्छ ।

हेर्नुहोस्, मोटरसाइकल चढ्नेहरूको विवरण :

एउटा मोटरसाइकल चोरियो, ३ वटा लिलामीको पर्खाइमा

उक्त मन्त्रालयलाई एक्सन इन्टरनेसनलले दिएको बा १ ब ९९१३ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी भएको देखिन्छ । यस्तै ३ वटा मोटरसाइकल बिग्रिएर थन्किएका छन् । ती मोटरसाइकल लिलामीको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

पढ्नुहोस्, भाग– १ :  खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

(हामीले सूचनाकाे हक प्रयोग गरेर लिएको विवरणअनुसार मन्त्री तथा कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधन, लिने इन्धनलगायतमा एकरूपता नरहेको पाइएको छ, यसबारेका समाचार आगामी अंकहरूमा प्रकाशित गर्दै जानेछौं - सम्पादक )

कमेन्ट गर्नुहोस्