पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
‘शंखघोष सुनेपछि मेरो दिनचर्या शुरु हुने गर्छ,’ प्राध्यापक दिवाकर प्रधानको यस उद्गारले रेडियो नेपालको बिहानी सेवाको आरम्भ गर्ने मङ्गल ध्वनिलाई इङ्गित गरेको हो । उद्बोधनको यो समय प्रात: ४/५५ बजेतिर हुने गर्छ ।
प्राध्यापकको बसाइ छ काशीमा, रेडियो प्रसारणको उद्गमस्थल हो काठमाडौं । स्पष्टै छ, सूचना प्रविधिको क्रमिक विकासले काशीलाई काठमाडौंबाट टाढा हुन दिँदैन । समयमा चाहिँ थोरै अन्तर छ- नेपालमा सबेर ४/५५ बज्दा भारतमा त्यस्तै ४/४० मात्र बजेको हुन्छ । प्राध्यापक प्रधानको यस दैनिकीलाई नियाल्न अभ्यस्त भएकी छोरीले नजिकै बसेर ‘सयौं थुङ्गा फूल...’ को लय पनि राम्रैसित टिपिसकेकी छिन् ।
काशी हिन्दू विश्वविद्यालय (बी.एच्.यू.) को प्रोफेसर अर्थात् प्राध्यापक आफैंमा विशिष्ट परिचय हो । पण्डित मदन मोहन मालवीयको अथक प्रयासबाट इस्वी संवत् १९१६ मा स्थापित यो विश्वविद्यालयको रहरलाग्दो प्रसिद्धि छ । फराकिलो चौगिर्दामा रहेको विश्वविद्यालयको कला संकाय मातहतको ‘भारतीय भाषा विभाग’ (Department of Indian Languages)को विभागाध्यक्षको जिम्मेवारी प्राध्यापक प्रधानको काँधमा छ । उहाँका सहयोगी सहकर्मी हुनुहुन्छ प्राध्यापक शिवप्रसाद पौड्याल । नेपाली अध्ययनमा संलग्न छात्र-छात्राको समूहलाई उहाँहरूले निरन्तर दिशा-निर्देश गर्नुहुन्छ । उच्च शिक्षाको लागि भेला भएका विद्यार्थी हुन्, तसर्थ गुरुजनको आदर र अनुशासनमा चुक्दैनन्; चुकेको देखिन पनि चाहँदैनन् । गुरुका अतिथिलाई गुरुकै जस्तो सम्मान गर्न पाउँदा तिनलाई गौरवको अनुभूति भएको छर्लङ्ग देखिँदो रहेछ । भनौं, यस्तै अनुभव भयो मलाई र भाइ दिनेश (कवि दिनेश अधिकारी) लाई जो चैत्र १६ गते शनिवार तदनुसार ३० मार्च २०१९ का दिन विभागको सभाकक्षमा आमन्त्रित भएका थियौं । आकस्मिक रूपमै भन्नुप-यो, ‘अभिनन्दन-पत्र’ प्राप्त गर्ने पात्र समेत बन्न पुग्यौं । किनभने प्रोफेसर प्रधानसँगको छोटो भेटको मात्र चाँजो मिलाएर त्यहाँ पुगेका दुई नेपाली तीर्थयात्री तीन घण्टाभन्दा बढी समय चलेको आकर्षक कार्यक्रममा सामेल हुन पुगे !
कार्यक्रमको अध्यक्षको आसनमा बसे तापनि प्राध्यापक प्रधान यथार्थमा विद्यार्थीको अभिभावकको भूमिकामा देखिनु भयो । सञ्चालनमा खटिएका छात्रलाई त्यसबाट काम गर्न सजिलो भएको देखिन्थ्यो । प्रस्तोता छात्र-छात्राको जोश,जाँगर र उत्साह अब्बल दर्जाको हुन पुग्यो किनभने त्यस बखत वाचन गरिएका कविता, सुनाइएका गीत र देखाइएका नृत्य सबै नै स्मरणीय प्रसङ्ग बनेका छन् । ठम्याउन गाह्रो थिएन, तह-तहका परीक्षा र परीक्षणको तयारीमा रहेका विद्यार्थीहरूलाई गुरुजनबाट सन्तानले पाउने सरहको स्नेह मिलेको छ, अनि लगातार मार्गदर्शन पाइरहेका छन् । ती विद्यार्थीलाई भाग्यमानी मान्नुपर्छ ।
प्राध्यापक शिवप्रसाद पौड्यालले नेपाल पीठ (चेयर)को जिम्मेवारी सम्हाल्दै प्राध्यापक प्रधानलाई सघाउन लागेको थालेको पाँचवर्ष भएछ । जुध्दशम्शेरको शासनकालमा स्थापित नेपाल पीठको परम्परा त आजसम्म अटुट छ , परन्तु त्यससित गाँसिएका साविकका आकर्षण र सम्मान आज भेटिँदैन; पाइँदैन । शास्त्र हराए काशी जानू भन्ने लोकोक्ति अचेल निरर्थकजस्तै भएको छ । युगौंदेखि वैदिक सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको काशीमा खुलेका, सञ्चालनमा रहेका नेपाली आश्रम, घाट र शिक्षालयहरू हिजोआज कृयाशील छैनन् । कतिपय त लोप भइसके । नेपालको ‘हिन्दूराष्ट्र’ को चिनारी संविधानत: मेटिएपछि यहाँका सांस्कृतिक निधि र भौतिक वैभव जीर्ण, बेवारिसे भएका छन् । अतिक्रमण बढेको छ, रोकथामको लागि कतैबाट प्रयत्न भएको देखिँदैन । मन फाट्छ,चित्त काटिन्छ । आगामी वर्ष आफ्नो स्थायी कार्यस्थल नेपालको बुटवल बहुमुखी क्याम्पस फर्किनुअघि परिस्थितिमा थोरै सुधार हुने सङ्केत मात्र पाए पनि प्राध्यापक पौड्याललाई सान्त्वना हुने बुझिन्छ ।
तर नेपाल सरकार र दिल्लीस्थित नेपाली दूतावास काशीबारे बेखबर छ । चासो, चिन्ता कत्ति पनि देखिँदैन । अहिलेका सत्ताधारी दलका प्राथमिकता त झन् अन्यत्रै होलान् ।
प्राध्यापक प्रधानका भावना पनि उस्तै छन् जुन पारिवारिक पृष्ठभूमिबाट अनुप्राणित भएका हुन् । सम्झिनु हुन्छ, युवाकालमा स्थायी थलो दार्जीलिङबाट नेपाल छिर्दा पशुपतिनगर प्रवेशविन्दु हुनेगर्थ्यो अर्थात् काठमाडौंमा अवस्थित पशुपतिनाथको संस्मरण प्रवेशद्वारबाटै हुन थाल्दथ्यो । अनि हजुरआमाले अह्राउनु हुन्थ्यो --- बाबु, पशुपतिनगर टेक्ने बेलामै नेपालको पवित्र माटोमा ढोगेर पाइला अघि बढाएस् है भनेर । सोच, समझ र रुचिमा भएको हेरफेरले यसबीचको परिस्थितिमा उल्लेख्य परिवर्तन गराएको छ । प्राध्यापक प्रधानले यी सबै घटना-विकास नियाल्नु भएको छ । र, मार्च ३० को उहाँको मन्तव्य हामी दाजुभाइप्रति सद्भाव, शुभकामना प्रकट गर्नमा सीमित रहेन । नेपालसँग गाँसिएका अन्य सन्दर्भहरू पनि कोट्याउनु भयो ।
यतिखेरको उहाँको चिन्ता नेपालमै नेपाली भाषा दुरुह भएकोमा केन्द्रित छ । नेपालबाहिर रहे-बसेका १० औं लाख नेपालीभाषीको सम्पर्क माध्यम बिटुलिँदा, विरूप हुँदा विद्वान् विदुषीहरू क्षुब्ध हुनु आश्चर्य पनि होइन । मुहान धमिलो भएपछि तलतिर बहने नदी प्रदूषित हुने नै भयो । तर नेपालका प्रज्ञा-प्रतिष्ठान जस्ता संस्थाहरू भने यसतर्फ जागरुक छैनन् ।
युवा समुदायमा देखिएको चर्को अंग्रेजीको मोहका साथ भित्रिएका विकृति हामीले झेलिरहेको अवस्था त छ नै । बाबजूद, महसूस जस्ता पदावलीको बढ्दो प्रयोगले नेपाली भाषालाई अर्कोतर्फबाट आक्रमण भइरहेको काशीको अनुभव रहेछ । त्यहाँ नेपालीलाई सहयोग गर्ने पहिलो भाषा संस्कृत हुनुपर्छ भन्ने मान्यता रहेछ जुन सर्वथा तर्कसम्मत हो । शब्द खोज्दा पहिले वरिपरिका भाषाबाट रोज्ने त्यसपछि आवश्यकता अनुसार संस्कृतकै आधार लिने हो ।
नेपालका सञ्चारमाध्यमहरूले भाषालाई सरलीकरणको साटो ‘अरबीकरण’ पो गरिरहेका छन् कि ? ‘सजिलै बुझिने कुरो,भाषा सरल भएको हुनाले नै मुना-मदन धेरैले पढिने कृति भएको हो नि’ प्राध्यापक प्रधान दृष्टान्त दिनुहुन्छ । मुख्य बुँदा हो, भाषालाई भाँडिन दिनु भएन । उहाँको यो सुझाउ नेपालको प्रेस जगत्मा म मार्फत पनि पुगोस् भन्ने त्यस घडी उहाँको अपेक्षा रह्यो । र, प्राध्यापक प्रधानले ३० मार्चको काशीको कार्यक्रममा उठाएको यसबारेको प्रश्न केही दिनपछि फेसबूकको बाटो उहाँले नै यी शब्दहरूमा प्रस्तुत गरेको पाइयो:---
अरबीकरणले नेपाली भाषा आक्रान्त छ ।
कनिकनी अरबी-उर्दू चलाउनमा लाग्नाले
नेपाली शब्द चलाउनै नजान्ने बन्दैछन् ।
नेपाली भाषालाई अरबीको खाडलमा
हाल्नुपर्ने कि संस्कृतको शिखरमा राख्नुपर्ने
कि नेपाली प्रकृतिमै हुर्कन दिनुपर्ने?विमर्श गरौं ।।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...