फिल्म समीक्षा : बेस्वादको 'दाल भात तरकारी'

सुशील नेपाल
सुशील नेपाल

नेपाल कला, साहित्य र मनोरञ्जनमा कलम चलाउँछन् ।

काठमाडौं- यस वर्षकै प्रतीक्षित फिल्ममध्येको एक थियो– दाल भात तरकारी । मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको फिल्म भएकाले दर्शक मात्र नभएर समीक्षक र फिल्मकर्मी ‘दाल भात तरकारी’ हेर्न आतुर थिए । गत शुक्रवारबाट फिल्म सिनेमा घरमा प्रदर्शनरत छ । 

मह सञ्चारको प्रस्तुति, किरण केसीको निर्माण, सुदन केसीको डेब्यू निर्देशन रहेको फिल्म कस्तो छ त ?


Advertisement

अमेरिका जान लालायित परिवार

एक परिवार छ, जो अमेरिका जान लालायित छ । रामहरि र उर्मिला (हरिवंश आचार्य र निरुता सिंह) श्रीमान–श्रीमती हुन् । उर्मिलाको चाहना छ, जसरी हुन्छ रामहरि अमेरिका जाउन् । आफू र परिवारलाई उतै लैजाउन् । 


Advertisement

तर अमेरिका जान त्यति सहज छैन । डीभीले अमेरिकाको ढोका नखुलेपछि रामहरि गायक स्वामी (शिशिर वाङ्देल)को शरणमा पर्छन् । जो स्वामीको भेषमा नेपालीलाई कलाकार बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दा चलाउँछन् । 

उनले अमेरिका जान प्रतिव्यक्ति २० लाख रुपैयाँ लाग्ने बताउँछन् । रामहरि–उर्मिलाले घर धितो राखेर ऋण लिन्छन् र स्वामीलाई १ करोड रुपैयाँ बुझाउँछन् । उनीहरूमात्र होइन, छोरा राहु (पुष्प खड्का), राहुकी गर्लफ्रेण्ड पिंकी (आँचल शर्मा) र ससुरा (राजाराम पौडेल) पनि अमेरिका उड्न चाहन्छन् । स्वामीलाई पैसा बुझाएपछिको कथा कता मोडिन्छ ? उनीहरूको अमेरिका मोह पूरा हुन्छ कि हुँदैन ? २ घण्टा १० मिनेट लामो फिल्मले त्यसैको जवाफ दिन्छ । 

फिल्ममा कलाकारहरूको भीड छ । वर्षा राउत, रविन तामाङ, शिवहरी पौडेल, विल्सनविक्रम राई, बसुन्धरा भुसाललगायतले फिल्ममा अभिनय गरेका छन् । प्रियंका कार्की भने एउटा आइटम गीतमा मात्र अभिनय गरेकी छन् । 

के छ राम्रो ?

फिल्मले रामहरिको परिवारको धरातलमा अमेरिका जान लालायित हुने हजारौं मध्यमवर्गीय परिवारको कथा भनेको छ । त्यस्तै फिल्मभित्र दादागिरी, धर्मका नाममा हुने ठगी, राजनीति र नेताहरूलाई तिखो प्रहार गरिएको छ । 

अहिले नेपालमा कलाकार बनेर अमेरिका जाने परिपाटी व्याप्त छ । फिल्मले नक्कली कलाकार बनेर पनि अमेरिका जान्छन् भन्ने पाटोलाई व्यङ्ग्य गरेको छ । 

त्यस्तै नबुझी दलाललाई पैसा बुझाउँदा फसिन्छ भन्ने सन्देश पनि फिल्मले दिएको छ । यसका गीतसंगीत बलिया भएपनि स्थान मिलेका छैनन् । कलाकारको अभिनय औसत लाग्छ । छायांकन र सम्पादन राम्रै छ । 

कमजोरी के ? 

भनिन्छ, चिनी बढी खाए तितो हुन्छ । दूध उम्लियो भने पोखिन्छ । त्यस्तै भएको छ- दाल भात तरकारी । कमेडी भन्नासाथ पात्र र घटनाक्रमले स्वभाविक दर्शक हसाउने हुनुपर्छ । तर फिल्मभित्रका हरेक संवाद हसाउनकै लागि बोलिएको छनक हुन्छ । अर्थात् ‘दाल भात तरकारी’ पुरापूर अतिरञ्जित कमेडीबाट शिथिल छ । 

न फिल्मको कथा सशक्त छ न प्रस्तुतीकरण । निर्देशकीय कौशल पनि कमजोर देखिन्छ । शुरूआतदेखि नै रामहरि–उर्मिलाको झगडाले दर्शकलाई विरक्तै बनाउँछ । अन्य पात्रको संवादले पनि दर्शकको मन जित्न सक्दैन । फिल्ममा अधिकांश पात्रले बोल्ने संवादले रंगमञ्चको छनक दिएको छ । 

अर्को फिल्मको नाम दाल भात तरकारी भएपनि कथाले भने विलासितामा जोड दिएको छ । अमेरिका जान १ करोड बुझाउने परिवारको कथा उठाइएको फिल्मको नाम ‘दाल भात तरकारी’ नाम नसुहाएको भान हुन्छ । कथामा चित्रित रामहरि–उर्मिला स्तरको परिवार ‘दाल भात तरकारी’को जोहो भन्दा पनि सुख सयल, राम्रो कमाइका लागि अमेरिका जान लालायित हुन्छन् । 

अन्त्यमा ...

रंगमञ्चदेखि फिल्मसम्म राम्रो प्रभाव पारेका कलाकार हुन् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । 

उनीहरूबाट दर्शकहरुले सस्ता कमेडीको अपेक्षा गर्दैनन् । स्तरको हिसाबले ‘दाल भात तरकारी’ उनीहरूको अघिल्लो फिल्म ‘शत्रु गते’ भन्दा कमजोर लाग्छ । मह जोडी र अन्य कलाकारका फ्यानलाई फिल्म राम्रो लाग्न सक्छ तर अरूलाई फिल्मले सन्तुष्टि दिन सक्दैन । फिल्मले व्यापार त गर्ला तर मह जोडीको स्तरलाई माथि उकास्दैन । अन्त्यमा फिल्मबारे भनौं, ‘दाल भात तरकारी’मा व्यङ्ग्यको वर्षा भएपनि यसको स्वादमा भने शंका गर्न सकिन्छ ।
 

सुशील नेपाल
सुशील नेपाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्