नुवाकोट–हेटाैंडा वैकल्पिक सडकको अन्योल हट्यो

फाइल तस्बिर

काठमाडौँ-विगतमा प्रदेशमा गएको लोकसञ्चार मार्ग (जिलिङ्ग सिमखेत—केउरिनी–कुमरी झ्याङ्लीपोखरी, आचार्य पोखरी–धार्के–नुवाकोट धादिङ) सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने भएको छ ।

 उक्त सडक दुई लेनमा विस्तार गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भए पनि चालू आव २०७५÷७६ मा भौतिक मन्त्रालयको बजेट शीर्षक नं ३३७–३३५ प्रदेशमा हस्तान्तरण गर्ने निर्णयसँगै प्रदेशमा गएको थियो ।


Advertisement

दुई लेनमा विस्तार हुने उक्त सडक प्रदेशमा गए पनि तत्काल कार्यान्वयन गर्न जनशक्तिलगायत समस्या भएको भन्दै पूर्वाधार विकास कार्यालय नुवाकोटले गत फागुन १३ गते ३ नं प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडामा पत्राचार गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत चैत १० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडालाई उक्त सडक सङ्घीय सरकारबाट कार्यान्वयन गर्ने निर्णय गर्दै पत्राचार गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत ११ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गर्दै उक्त सडक केन्द्र सरकारले कार्यान्वयन गर्नका लागि पठाएको थियो ।

भौतिक मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएर यही  वैशाख ६ गते उक्त सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने गरी निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव  पठाएको थियो । यही वैशाख २३ गतेको मन्त्रिपरिषद् बैठक सो सडकलाई केन्द्र मातहत ल्याएर कार्यान्वयन गर्ने निर्णय गरेको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिP ।

सो सडक गल्छी–रसुवागढी सडकको जिलिङबाट धादिङको धार्केमा जोडिनेछ । उक्त सडकले त्रिभुवन राजपथलाई सिधै रसुगाढी जोड्न लिङ्क सडकका रुपमा काम गर्नेछ भने यसले नुवाकोटको बेलकोटगढी नगरपालिका, धादिङको धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकालाई प्रत्यक्ष फाइदा पु¥याउने छ । रसुवा, नुवाकोट तथा धादिङको पूर्वी भेगका बासिन्दालाई हेटाँैडा जान उक्त सडकले सहजता प्रदान गर्नेछ । रसुवागढीबाट हेटौँडा जोड्न वैकल्पिक मार्गका रुपमा हेरिएको उक्त लोकसञ्चार मार्गको काम प्रदेशमा गएपछि रोकिएको थियो । केन्द्रमा फिर्ता भएसँगै काम सञ्चालन हुने सडक डिभिजन नुवाकोटका प्रमुख निरज शाक्यले जानकारी दिए ।

सो सडक दुई लेनमा विस्तार गर्ने गरी सडक विभागले डिपिआर पूरा गरेको छ । सो सडक डिपिआरअनुसार नै निर्माण गरी पाऊँ भनेर निवेदन परेपछि पूर्वाधार विकास कार्यालयले प्रदेश मन्त्रालयसँग सोधेको थियो । कार्यान्वयनमा तत्काल जनशक्ति अभाव भएपछि प्रदेश मन्त्रालयले फिर्ता गर्ने निर्णय लिएको थियो ।

उक्त लोकसञ्चार मार्गको पहिलो दश किलोमिटरको निर्माण कार्य जिलिङबाट शुरु गरिए पनि गत कात्तिकबाट रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयका कारण तत्काल काम थालिने प्रमुख शाक्यले बताए । ४० किलोमिटर लामो उक्त सडक निर्माण पूरा हुन झण्डै रु दुई अर्ब रुपैयाँ लाग्ने डिपिआरमा उल्लेख छ । जिलिङको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने उक्त सडक तीन खण्डमा निर्माण हुनेछ । सडक कार्यालयका अनुसार पहिलो खण्ड जिलिङको सिमखेत बालुवाखानीदेखि केउरिनीसम्म हुनेछ । दोस्रो खण्डको काम केउरिनीदेखि धार्केसम्म हुनेछ ।

राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रममा आव २०७३÷७४ देखि समावेश भएको उक्त आयोजना सम्भावित रणनीतिक सडक शीर्षकमा समावेश थियो । लोकसञ्चार मार्गको पहिलो चरणको कालोपत्रमा स्तरोन्नति गर्ने काम स्वच्छन्द÷वल्र्डवाइड÷अमृत जेभी नामको काठमाडौँमा दर्ता भएका तीन ठेकेदार कम्पनीले गरिरहेका छन् । अर्थ मन्त्रालयले पहिलो खण्डलाई रु ५० करोड ८५ लाखको काम बहुवर्षीय ठेक्काबाट गर्न २०७३ साल मङ्सिर २७ गते सहमति दिएको थियो ।रासस

कमेन्ट गर्नुहोस्