बाल-चिकित्सकको सन्देश बूढापाका सबैलाई

ध्रुवहरि अधिकारी
ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

डा. मणीन्द्ररञ्जन बराल ८० वर्षको उमेर नाघेर पनि कृयाशील रहेका थोरै बाल-चिकित्सकहरूको लहरमा भेटिने नाम हो। साविकको सप्तरी ४ प्रगन्नाभित्रको तर पछि सिरहा जिल्लामा परेको बस्तीपुरका बराल परिवारका यी सदस्यको ख्याति देश-देशावर फैलिन पुग्यो। प्राज्ञिक क्षेत्रमा टड्कारो नाम ईश्वर बराल। उहाँको सहोदर एक भाइ हुन पाउनु मणीन्द्रको लागि गर्वको कुरो। कवि सिद्धिचरणलाई ओखलढुङ्गा प्यारो लागे झैं बाल-चिकित्सक बराललाई जन्मथलो बस्तीपुर प्रिय लाग्नु सर्वथआ स्वाभाविक। कलिलो वयमा बस्तीपुरमै बीपी कोइरालाको सामीप्य पाउनु बरालको लागि अर्को अविस्मरणीय क्षण हुन गयो ।

लामो कालखण्ड विरामीको सेवामा बिताएका डाक्टरको ‘आत्मकथा’ भनेपछि पाठकले यस पुस्तकलाई मीठा खानेकुराहरूको कोसेलीले भरिएको डोको वा सोली ठानेर मुख मिठ्याउनु अनौठो हुनेछैन । हुन पनि ३५० भन्दा बढी पृष्ठको ‘ नियति र अनुभूति ’ मा थरी-थरीका स्वाद भएका रसीला परिकार भेटिन्छन् । कतै गुलिया, कतै नुनिला। कतै स्थानको वर्णन त कतै व्यक्तित्वको विस्तृत चिनारी। कतै राजनीतिक व्यवस्थाभित्रको अव्यवस्थित प्रशासनको कार्यशैली। कतै डाक्टरी पेशाका चुनौती त फेरि कतै नातावाद-कृपावादको परिणति। सक्रीय राजतन्त्रको छाप र छाया यत्रतत्र । २०४६ सालको परिवर्तनपछिको पहिलो निर्वाचनबाट शक्तिशाली प्रधानमन्त्री बनेकाको हर्कत, अनि तिनको कोपभाजनमा परेका कर्मचारीहरूको हविगत पुस्तकका विषयमा परेका छन् ।


Advertisement

पुस्तक: नियति र अनुभूति
लेखक: डा.मणीन्द्र रञ्जन बराल
प्रकाशक: कुलचन्द्र गौतम स्मृति संस्था
प्रकाशन वर्ष : वि.सं. २०७५
पृष्ठ : ३५२ + मूल्य : रु १०००/

सर्वसङ्ग्रही भन्न सकिने डा.बरालको यस कृतिउपर मन्तव्य दिँदा राजनीतिज्ञ प्रदीप गिरिले यसो भनेको भेटिन्छ:--‘ डा.बरालले तन्मयका साथ आफ्नो कथा लेख्नुभएको छ । त्यसैले यो पुस्तक मेरा निमित्त विशिष्ट भएको छ।‘ वास्तवमा यो रचना जुनसुकै फाँटका पाठकलाई पनि विशिष्ट लाग्ने सामग्रीले भरिएको छ । डा. बरालले आफूले देखेका, भोगेका र आधिकारिक स्रोतबाट जानकारीमा आएका विषय र अन्तर्वस्तु मात्र समावेश गरेको हुनाले यो पुस्तक गहकिलो हुन गएको छ । यसको अर्को कारण पनि छ। र त्यसलाई लेखककै शब्दावलीमा बुझ्नु बेश हुन्छ:--“लुकुवा लेखक (घोष्ट राइटर) ले गरेको आत्मकथा लेखिदिने अनुरोधलाई लत्याएर आफ्नै कलमबाट यो पुस्तक लेख्ने जमर्को गरेको छु।“ 

आफू डाक्टरी पढ्न बसेका ठाउँ भारतको ग्वालियर र बेलाइतको स्कटल्याण्ड सम्बन्धी अनुभव त हुने नै भए त्यसका अतिरिक्त यस किताबमा हत्पति जो कोही नेपाली जान नसक्ने उत्तर कोरिया, भुटान, इण्डोनेसियाको बाली टापूका दृश्य, चलन र आकर्षणका घतलाग्दा बयान परेका छन् । तीर्थाटनमा रुचि राख्नेहरूका लागि दक्षिणको छिमेकका धेरै रमणीय र पवित्र हिन्दूस्थलहरूको विस्तृत चर्चा पाइन्छ । “म आस्तिक हुँ’ भनेर भूमिकामै दाबी गर्ने लेखकले कसरी बाल्यकालमा संस्कृतको पढाइ छोडेर इसाईधर्मको येशु-वन्दना रट्न पुगियो त्यसको जानकारी पनि पाठकहरूलाई गराएका छन् ।

यस हरफको लेखकले बाल-चिकित्सक बराललाई उहाँ कान्ति बाल अस्पतालको निर्देशक हुँदा भेटेको हो। त्यस बखत म गोरखापत्रको संवाददाता थिएँ । अस्पतालको अवस्था दयनीय देखियो, अनि जस्तो देखियो त्यस्तै लेखियो---कोठाबाहिर चोटामा विरामी बाल-बालिकाको पसारो । खबर छापिएपछि निर्देशकलाई स्वास्थ्य मन्त्रालयबाट खप्की आयो होला, डाक्टर मसँग रिसाए होलान् भन्ने तर्क गरें । भरे त्यस्तो केही भएनछ; उल्टो निर्देशकले त्यस खबरलाई आधार बनाई बजेट बढाउनु पर्‍यो नत्र यस्ता खबर आइरहने भयो भनेर मन्त्रालयका हाकिमहरूसित जिकीर गरेको बुझियो। यसलाई उहाँको सकारात्मक सोच नै मान्नुप-यो ।

शुरुमा रूसको सहयोगमा सञ्चालित कान्ति अस्पताल कालान्तरमा कसरी ‘कान्ति बाल-अस्पताल’ मा परिणत भयो त्यसको कथा पढ्दा जापानका रियुतारो हासिमोतोको योगदान प्रशंसनीय स्तरको रहेको थाहा पाइन्छ । जापानका अर्थमन्त्री हासिमोतो पछि प्रधानमन्त्री नै भए । “ नेपाललाई असाध्यै मन पराउने र नेपाललाई दोस्रो घरका रूपमा लिने व्यक्तित्व “। तर विडम्बना, बाल अस्पतालको स्थापनामा दिलोज्यान दिएर लागेका डा. बराललाई २०४८-५१ को काँग्रेसी सरकारले “अमर्यादित रूपमा” अस्पताल र मेडिकल काउन्सिलबाट विदा ग-यो । डाक्टरलाई झोंक चल्यो, चुनाव लडेर संसद्‌-सदस्य हुने लहड बोकेर २०५६ सालमा सिरहा-२ बाट स्वतन्त्र उम्मेदवार हुनुभयो । तर पार लागेन । यता पछुतो पनि भयो : “कुनै दिन आफ्नो पेशाप्रति गद्दारी गरी मैले राजनीतिमा पनि हाम्फालें ” ( भूमिका ) । राजनीतिको रहर त्यागेपछि  फेरि डाक्टरीमा फर्केको यथार्थ लेखकले इमान्दारीसाथ प्रस्तुत गर्नुभएको छ । चिकित्सक संघ र नेतृत्वका प्रतिस्पर्धाको पाटो अलग्गै छ । सहकर्मी डाक्टरहरूको चिनारी, नालीबेली रोचक-घोचक शैलीमा प्रस्तुत गर्ने सीप डा. बराललाई सम्भवत: ‘यति परिवार डाइजेष्ट’ प्रकाशनकालमा पत्रकारहरूको सङ्गतका क्रममा प्राप्त भएको हुनुपर्छ ।

अन्य कतिपय संस्मरणभन्दा डा.बरालको आत्मकथा बेग्लै छ, किनभने लेखकले यसमा आफूलाई प्रभावित पार्ने व्यक्ति र व्यक्तित्वबारे सचित्र र उदार लेखाजोखा दिनुभएको छ । जस्तो जापानका रियुतारो हासिमोतो सम्बन्धमा लेखकको अवधारणा । वरिष्ठ अधिवक्ता गणेशराज शर्मालाई सम्झनामा आइरहने व्यक्तिहरूको चर्चा गर्दा सिरानमै उल्लेख भएको छ । विदेशमा रहने नेपालीको टोपीप्रतिको आकर्षणको सन्दर्भ आउँदा लेखकले ‘नटराज’ रेष्टुराँका सञ्चालक राजविराज-निवासी ईश्वर मानन्धरलाई सम्झिनु भएको छ । यस हरफको लेखकलाई जानकारी छ, कुनै समय मानन्धरलाई नेपालका अनौपचारिक राजदूत नै मानिन्थ्यो । सन् १९८० दशकमा राजा वीरेन्द्रको बेलाइतको राजकीय भ्रमणका बखत प्रधानमन्त्री मार्गारेथ थ्याचरले आयोजना गरेको दिवाभोजमा सरकारी ओहोदाधारी मात्र आमन्त्रित थिए। ईश्वर मानन्धर (जसको निधन भइसकेको छ) अपवाद भए किनभने कुनै पद र दर्जा नभएको व्यक्ति भए तापनि १० डाउनिङ, अस्पताल स्ट्रिटले निजलाई डाक्यो।

डा.बरालका घनिष्ट मित्र तथा अर्का ख्यातिप्राप्त बाल-चिकित्सक डा. हेमाङ्ग दीक्षितका पिता डा.सिद्धिमणि नेपालका प्रथम राणाकालका जल्दाबल्दा चिकित्सक । उहाँलाई राणाहरूले गरेको व्यवहार कस्तो हुन्थ्यो त्यो कथा पनि पठनीय छ । मेरो आकलन हो, डाक्टरले फीस लिएको देख्ने तर सेवा दिने क्रममा उसले बेहोर्ने कठिनाइ र चुनौतीबारे कुनै समझदारी नदेखाउने प्रचलित सामाजिक परिपाटी निराशालाग्दो छ। कालगतिले मर्ने विरामीको बारेमा पनि अनेक भ्रामक हल्ला फिँजाएर चिकित्सकउपर आक्रमण गर्ने र अस्पतालमा ढुङ्गा हान्नेजस्ता अवाञ्छित कृयाकलाप घट्नुको साटो बढेर गएको छ। जताततै अराजकता...    

विवेच्य कृति गहन भएकोमा सन्देह रहेन । “आउने पुस्ताका लागि समेत यो एउटा महत्वपूर्ण दस्तावेज बनेको छ “ भन्ने पुस्तकका सम्पादक विमल भौकाजीको भनाइ पनि यसको प्रमाण हो । कागज, छपाइ, छायाचित्र सबैको संयोजन राम्रो छ । तथापि सम्पादन र मुद्रणमा पर्याप्त ध्यान नपुगेको चाहिँ पक्कै हो; यसमा लेखक र सम्पादक भौकाजी दुबैले सामूहिक समीक्षा गर्नु जाती होला। जस्तो रियुतारो हासिमोतो कतै ‘रिपुतारो’ हुन पुगेका छन् । कतिपय ठाउँमा तिथिमितिमा गोलमाल भएको छ। जस्तो, ग्वालियरबाट एम्‌बीबीएस् गरेको वर्षबारे लेखक नै अलमल परेको देखिन्छ । बीपीको निधन २०३९ सालमा भएको हो, पुस्तकमा २०३५ भएको छ । डा.तुल्सी गिरिले आफ्नो राजीनामाको समाचार रेडियोबाट सुनेको २०३४ सालमा हो भने त्यस बेला नेपालका राजा वीरेन्द्र थिए, महेन्द्र होइन (जसको देहावसान २०२८ साल माघमा भएको थियो)। कृष्णप्रसाद भट्टराई पहिलो पटक प्रधानमन्त्री भएको २०४७ साल (सन् १९९०) मा हो, त्यसअघि होइन।

पुस्तकको अर्को संस्करण निस्कने भयो भने मुद्रण/सम्पादनका यी र यस्ता त्रुटि रहन दिनु भएन ।

कमेन्ट गर्नुहोस्