आदित्य झाले काठमाडौंमा कन्सर्ट गर्ने

काठमाडौं- पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माझ प्रस्तुत गर्ने गरिन्छ । नेपालमा रुचाइने गायक नेपाल आउने क्रममा आदित्य नारायण झा थपिने भएका छन् । 

केही वर्ष अगाडि पोखरामा कन्सर्टका लागि आएका आदित्यको काठमाडौंका संगीतप्रेमी माझ गुन्जिने भएका छन् । जुलाईको पहिलो साता राजधानीको ठमेलस्थित क्लब फरेनहाइटमा आदित्यको लाइभ प्रस्तुत हुनेछन् ।


Advertisement

‘आदित्य नारायण झा लाइभ इन नेपाल’नाम दिइएको उक्त कार्यक्रममा उनले आफ्ना बलिउडसँगै नेपालको हिट गीत समेत गाउनेछन् । गायकसँगै अभिनेतासमेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाका छोरा हुन् ।

सारेगमपा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीत संगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रूपमा डेब्यू गरेका थिए । रंगीला फिल्म मार्फत अभिनय शुरू गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बालकलाकारको रूपमा काम गरिसकेका छन् भने उनले एक्टरको रूपमा शापित मार्फत डेब्यू गरेका थिए ।


Advertisement

क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भीआईपी १५ सयको राखिएको छ । 

आदित्यको ताल फिल्मको जंगलमे बोले कोयल कुकू, आशिर्वादको पानी घट्ट, रामलीलाको इश्क्याउ धिस्क्याउसँगै शापित र कुसुमे रुमालका गीत चर्चित छन् भने उनले धेरै कभर गीत पनि गाएका छन् । 

कमेन्ट गर्नुहोस्