महिनावारीको बेला शिक्षिका नै जाँदैनन् विद्यालय

सन्दर्भ तस्वीर

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीदेखि नजिकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरू महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएको छ । विद्यालय नजिकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरू विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताए । 

ऐडीका अनुसार पुराना पुस्ताका बूढापाकाले यो कुरालाई प्रोत्साहित गरे पनि युवाहरूले यसको समयसमयमा विरोध गरेपनि स्वयम् शिक्षिकाहरूले नै यो कुरालाई नमानेको पाइएको छ । स्थापनाकालदेखि नै यो प्रथा चलिआएकाले विद्यार्थीहरू यसबाट प्रत्यक्ष मारमा परेको प्रधानाध्यापक प्रकाश ऐडीले जानकारी दिए । कहिलेकाहिँ आफू तालिम, गोष्ठीलगायतका काममा गएको समयमा दुवै जना शिक्षिका एकै पटक महिनावारी हुँदा विद्यालयको पढाइ नै ठप्प रहने गरेको प्रधानाध्यापक ऐडीको भनाइ छ । 


Advertisement

आफूले यो प्रथा गलत रहेको भन्दै महिनावारी भएको समयमा शिक्षिकाहरुलाई विद्यालयले बिदा नदिने निर्णय गरेको भए पनि शिक्षिकाहरूले नै नमान्ने गरेको विद्यालयको भनाइ छ । एक पुरुष र दुई महिला शिक्षक रहेको यो विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा ३ सम्म पढाइ भइरहेको छ ।

हाल १८ जनाको सङ्ख्यामा विद्यार्थीहरू अध्ययन गरिरहेका छ्न् । शिक्षिका किन स्कूल आउनु भएन भनेर विद्यार्थीलाई सोध्दा छाउ (महिनावारी) भएर नआएको कक्षा ३ मा अध्ययनरत् छात्र अर्जुन ऐडीले बताए । 

कमेन्ट गर्नुहोस्