तुलसीपुरमा ‘स्मार्ट छोरी’ कार्यक्रम : २० वर्षसम्म मासिक १ सय भत्ता

दाङ – तुलसीपुर उपमहानगरपालिकाले ‘स्मार्ट छोरी, बिहेवारी २० वर्ष पारि’ कार्यक्रम ल्याएको छ ।

नगर प्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याइएको बताए ।


Advertisement

आगामी आवदेखि जन्मिएका हरेक छोरीलाई स्मार्ट छोरी कार्यक्रमअन्तर्गत प्रत्येक छोरीलाई जन्मेदेखि मासिक १ सय रुपैयाँका दरले वार्षिक रुपमा एकमुष्ट १ हजार २ सय रुपैयाँ उपलब्ध गराउने नगर प्रमुख पाण्डेले जानकारी दिए । उनका अनुसार उनीहरूलाई दिइएका पैसा बैंक खातामा जम्मा गरेर २० वर्ष पुगेपछि एकमुष्ट उपलब्ध गराइने छ ।

यदि कसैले २० वर्ष नपुग्दै अगाडि बिहे गरेपछि भने सो रकम उपमहानगरपालिकाको कोषमा फिर्ता हुने बताइएको छ । कार्यक्रमले बालविवाह न्यूनीकरण गर्ने र छोरीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने नगर प्रमुख पाण्डेले बताए ।

यसैबीच उपमहानगरपालिकाले उपप्रमुख महिला सुरक्षा कार्यक्रम पनि लागू गरेको छ । लैंगिक हिंसामा परेका महिलाको उपचार, पुनस्र्थापना र सुरक्षाका लागि सो कार्यक्रम सञ्चालन गरी महिला सुरक्षामा जोड दिने नीति ल्याएको हो ।  

त्यसैगरी सक्षम महिला, विकासमा पहिला अभियानका लागि महिलाहरुको सशक्तीकरण, नेतृत्व विकास उद्यमशीलता र सीप विकास गरी महिलालाई  विकास तथा निर्णय, योजना निर्माण, योजना कार्यान्वयन र अनुगमनमा  सहभागिता सुनिश्चित गर्ने नीति ल्याइएको छ । 

उपमहानगरले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर आगामी वर्ष महानगरभित्र, दाङ र प्रदेश नम्बर ५ का धार्मिक तथा पर्यटकीयस्थलमा भ्रमण गराउने भएको छ । 

कमेन्ट गर्नुहोस्