सुख दिलाउने सूत्र !

ध्रुवहरि अधिकारी
ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका फुटकर कवितामध्ये ‘प्रश्नोत्तर’लाई यस कवितामा परेका अनेक शाश्वत वचनका कारण लेखक/समीक्षकहरूले ठाउँ-ठाउँमा उद्धृत गरिरहेका हुन्छन् । यस्तै एउटा उद्धरण यो हो : ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ? आफू मिटाई अरूलाई दिनु जहाँ छ’। यहाँ, उत्तरमा परेको विचार गहन छ: यसमा मानिसलाई परोपकारतर्फ प्रेरित हुने सन्देश छ,आफ्नो जरुरतभन्दा अर्को मानिसको आवश्यकता प्राथमिकतामा पर्ने प्रकृतिको हुनसक्छ भनेर सबललाई निर्बलबारे सजग गराइएको छ ।

तर सुखको खोजीमा भौंतारिएका आजका मानिसलाई देवकोटाका यस्तो आदर्श चिन्तनले चित्त बुझाउन गाह्रो छ । भौतिक वस्तु-सेवा-सुविधाहरूको सङ्ग्रह अनि तिनको उपभोग र सेवनबाट नै इच्छित सुख-सन्तुष्टि पाइने सोच नै आजभोलिको व्यापक सोच हो । युवापुस्ता यसैको प्राप्तिको लागि संघर्षरत देखिन्छ - तर यस प्रवृत्तिलाई मलेसिया र खाडीका देशहरूमा श्रम बेच्न पुगेका नेपालीमा सीमित गर्न भने हुँदैन । जीवनवृत्ति त एउटा पाटो हो; मीठो खाना र राम्रो नानाले मात्र मानिसलाई सुखी गराउन सक्दैन यद्यपि यिनै वस्तु जुटाउने क्रममा यस कालखण्डका मानिसले अनेक दु:ख कष्ट बेहोर्नु परिरहेको छ । 


Advertisement

व्यस्तताको दैनिकीमा अल्झेकै बखतमा पनि मानिसले मानवीय इच्छा अनुकूलका सुखको अनुभूति गर्न सक्छ; पाउँछ । यसका लागि केही निश्चित सूत्रहरू छन् जसको पालनाले जीवन रसीलो र सार्थक हुन जान्छ --- ‘सुखसूत्र’ नामक पुस्तकका माध्यमबाट लेखक आचार्य राजन शर्माले पाठकहरूलाई उपलब्ध गराउने निचोड यही हो । सुखसूत्रको मूल पूर्वशर्त चाहिँ हो सकारात्मक सोच । काँचको गिलासमा देखिने पानी हेरेर गिलास आधा भरिएको छ भन्ने मान्यता नै यसको आधार हो ।


Advertisement

आचार्य राजन शर्मा भीमसेन सापकोटाको दीक्षित नाम हो ।

निबन्धको शैलीमा लेखिएका २४ वटा संक्षिप्त लेखोटहरूको सङ्ग्रह हो ‘सुखसूत्र’। लेखकले हरेक निबन्धलाई वेद,पुराण,गीता जस्ता ग्रन्थद्वारा सम्बर्द्धित मान्यताहरूलाई व्यावहारिक साँचोमा ढालेका छन् ; गृहस्थहरूलाई समेत उपयोगी हुने बनाएका छन् । हरेक निबन्धका शीर्षकमुनि विशिष्ट उद्‌गार (उद्धरण) छन् जसमा पश्चिमी जगत्‌का परिचित लेखक,कवि एवं वैज्ञानिकहरूका जीवन-दर्शन सम्बन्धी धारणालाई समेटिएको छ : एरिस्टोटल, आइनस्टाइन, रबर्ट फ्रोस्ट, सिग्मण्ड फ्रायड,मार्क ट्वेन,हेलेन केलर प्रभृत्ति । किताबका हरेक प्रस्तुतिलाई समन्वयात्मक तुल्याइएको छ । कथा, कथाका पात्र तथा प्रेरक प्रसङ्गहरूले गर्दा सबैजसो निबन्ध पठनीय छन् । त्यसैगरी, देश विदेशमा भएका अनेक अध्ययन र सर्वेक्षणका आँकडा औ निष्कर्षका आधार, प्रमाणहरू दिइनाले सबैजसो प्रस्तुति खँदिला र रसीला बन्न पुगेका छन् । लेखकको नेपाली, अंग्रेजी र हिन्दी भाषामा राम्रो दखल नहुँदो हो त यो सम्भव थिएन । अर्को कुरो, मानिसले दिनदिनै बेहोरेका तर हेक्का नराखेका पक्षहरूलाई उजिल्याई दिनाले यस पुस्तकमा प्रत्येक पाठकले अपनत्व भेट्टाउँछ । अनि, लेखकको पत्रकारिताको पृष्ठभूमिले काम गरेकैले हुनुपर्छ, ‘सुखसूत्र’को भाषा-शैली एकैसाथ सरल र आकर्षक हुन पुगेको छ । पढ्न थालेपछि हत्पति छोड्न मन नलाग्ने गुण भएका किताब धेरै पाइँदैनन् ।   

यस सिलसिलामा दृष्टान्तको रूपमा ‘गरिबी मिनेटमै मेट्न सकिन्छ’ शीर्षकको प्रस्तुतिलाई लिन सकिन्छ । निबन्धको थालनी चाणक्यको यस कथनबाट भएको छ : ‘...तिमी आफ्नो गल्ती स्वीकार्न सक्दैनौ वा स्वीकार्ने प्रयास गर्दैनौ भने यो नै तिम्रो ठूलो गल्ती हो । यसले तिमीमा परिवर्तन ल्याउन दिंदैन’। धन सुखको पर्याय हुँदो हो त धनी दर्बारियाहरू किन दु:खी हुन्थे भन्ने तर्क अघि सार्दै लेखक बुद्धयुगको एक प्रसङ्गमा पुग्छन् : बोधगयामा प्राप्त ज्ञान बाँड्न हिंडेका बुद्धलाई एउटा गाउँको भीड्बाट एक दीनहीनले प्रश्न ग-यो ‘भगवान् म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए:--‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरिब छौ’। त्यस दरिद्रले लाचारी प्रकट ग-यो: मसँग के छ र दिनु ? बुद्धको शालीन उत्तर आयो: तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रशंसा गर्न र मीठो बोल्न सक्छौ । तिमीसँग दुई हात छन्, आवश्यक पर्दा जो कोहीलाई सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरिब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देऊ, तिम्रो गरिबी आफैं हटेर जानेछ ।

‘सुखसूत्र’ को दोष वा कैफियत भनेको कताकति भेटिने पुनरुक्ति हुन् । रचनाकार शर्मा योग शिक्षक/प्रशिक्षक अनि आध्यात्मिक विषयका प्रवचनकर्ता पनि । सम्भवत: कतिपय शाश्वत प्रसङ्ग प्रवचनका क्रममा दोहोरिंदा-तेहरिँदा  हुन् । पुस्तकमा चाहिं यस्ता पुनरुक्तिलाई सम्पादनको विधिद्वारा हटाउन सकिन्छ । यस पुस्तकका एक हैन अनेक संस्करण आउने सम्भावना भएको हुनाले लेखकले परिमार्जनको पक्षमा बेलैमा ध्यान पुर्‍याउनु उचित हुनेछ ।  छपाइको क्रमका त्रुटिहरूलाई सच्याउने काम पनि साथसाथै गरे बेश होला ।

लेखक आचार्य राजन शर्माको हालको ठेगाना सिड्नी,अष्ट्रेलिया लेखिएको छ । तर उनको यस कृतिलाई अष्ट्रेलियामा सीमित पार्नु  वा फराकिलो प्रवास (डायस्पोरा) का नेपाली र नेपालीभाषीहरूको सेरोफेरोमा मात्र हेर्नु न्यायोचित नहोला । सिन्धुपाल्चोकमा जन्मथलो भएका राजन शर्माको यस रचनालाई नेपालको साथसाथै लेखपढमा पहुँच भएका विश्वभर छरिएका नेपालीले उपयोगी पाउने छन् । छरितो आकारको र १५० भन्दा कम पृष्ठको हुनाले भ्रमणशील नेपालीले त यसलाई हरेक पटक झोला खोल्नासाथ भेटिने पुस्तकहरूको बीचमा राख्न रुचाउलान् । किनभने यो एक पटक पढेर पुग्ने पुस्तक होइन । यसै पुस्तकमा तर फरक सन्दर्भमा लेखकले श्रीमद्‌भगवद्‌गीताको छैटौं अध्यायको ३५ औं श्लोकको आधार भनेको यो कुरा निजकै कृतिबारे पनि सान्दर्भिक हुने देखिन्छ: ‘ एक पटक सुनिएको पढिएको ज्ञान त ज्ञान हुन सक्दैन, त्यो केवल जानकारी र शब्दज्ञान मात्र हुन्छ । तत्वज्ञान र आत्मिक सुख त केवल निरन्तर अभ्यास र साधनामा नीहित छ’।                       

कृति : सुखसूत्र
लेखक : आचार्य राजन शर्मा
प्रकाशक : ग्लोबल सोसाइटी फर पिस एण्ड स्पिरिट्यूल साइन्स इन्क
संस्करण : पहिलो, २०७४
मूल्य : चारशय रुपिञा ( १० डलर )

(२०७६/३/२७/६ हरिशयनी एकादशी)

 

कमेन्ट गर्नुहोस्