सम्झना र बिर्सनामा भानुभक्त

बसन्त कंडेल
बसन्त कंडेल

कंडेल आदिकवि भानुभक्त क्याम्पस, तनहुँका उपप्राध्यापक हुन् । 

आज २०६औ भानुजयन्ती । नेपाली साहित्यफाँटका उज्जवल नक्षत्र आदिकवि तथा राष्ट्रिय विभूती भानुभक्त आचार्यको जन्मदिन । विक्रम सम्वत १८७१ साल असार २९ गते आजकै दिन तनहुँ जिल्लाको चुँदीरम्घा गाँउमा पण्डित श्रीकृष्ण आचार्यका नाति एवं पिता धनञ्जय आचार्य र माता धर्मावती देवीको सुपुत्रका रूपमा उनको जन्म भएको थियो । उनको न्वारनको नाम देवीभक्त भएतापनि पछि तिनै बालक देवीभक्तबाट रामको भक्त अनि नेपाली भाषाको भक्त हुँदै नेपाली साहित्यफाँटमा आदिकवि भानुभक्त बनेर परिचित हुन पुगे ।

भानुभक्तले आफ्ना हजुरबुवा श्रीकृष्ण आचार्यबाट नै घरायसी वातावरणमा संस्कृत भाषाको प्रारम्भिका ज्ञान लिएका थिए । भानुभक्त ५ वर्ष को भएपछि हजुरवुवा श्रीकृष्णले उनलाई मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः, अतिथिदेवो भवः जस्ता ज्ञान र नैतिक शिक्षा सम्बन्धि वोध गराउनुका साथै अक्षराम्भ गराएका थिए । विद्धान पण्डित हजुरवुवा श्रीकृष्ण आचार्यबातट अक्षराम्भ शुरु गरेका भानुभक्तलाई अमरकोशका तीनैकाण्ड,लघुकौमुदी लगायतका व्याकरण ग्रन्थहरुको स्वअध्यन गर्न लगाईएको थियो । कलिलो उमेरमानै संस्कृत भाषामा राम्रो दख्खल बनाएका भानुभक्तले १८ वर्ष को कलिलो उमेरमा नै साहित्य श्रृजनाको यात्रा प्रारम्भ गरेका थिए । यूवाकवि मोतीराम भट्टको जीवनी लेखहरुमा उल्लेख भएअनुसार वि. स. १८९१ मा भानुभक्त एकदिन मावलबाट फर्कदै गरेको क्रममा तनहँुको घाँसीकुवामा स्थानीय एक घाँसीबाट पाएको प्रेरणाबाट पे्ररित भई उनले साहित्यमा कलम चलाएका थिए । अर्काको घरमा गोठालो बसेको एक गरिव व्यक्तिले आफ्नो कमाईबाट लोकहितका लागि कुवा खनाएको  भन्ने भनाईबाट भानुभक्तको मनमा उत्साहको बाँध फुटेको थियो । र तत्कालै उनले घाँसीबाट प्रेरित भई एउटा कविता पनि रचना गरे ।
  
भरजन्म घाँसतिर मन् दिई धन कमायो 
नाम क्यै रहोस पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो 
म भानुभक्त धनी भै कन आज यस्तो ।।


Advertisement

मेरा इनार न त सत्तल पाटि क्यै छन्
जे र चीज धनहरु छन् घरभित्र नै छन् ।।
तेस घाँसीले कसरी आज दिएछ अर्ती 
धिक्कार होस् मकन बस्नु नराखी कीर्ति ।।

यसरी भानुभक्तको जीवनमा घाँसीले दिएको प्रेरणाबाट जीवनको मोडलाई नै परिवर्तन गरिदियो । त्यसपछि संस्कृतका बिद्धान भानुभक्तले काव्य रचनाबाटै लोकहित गर्ने र कीर्ति राख्ने निर्णय गरि संस्कृत भाषामा लेखिएको वाल्मीकी रामायणलाई सरल नेपाली भाषामा अनुवाद  गर्ने कामको थालनी गरे । जुन रचनाले प्रत्येक नेपालीको मन छोयो र घरघरमा रामायणका श्लोकहरु घन्किन थाल्यो । भानुभक्तले रामायणका साथै भक्तमाला, अमरकोष, प्रश्नोत्तरी, बधुशिक्षा, रामगीता लगायतका अमर कृतिहरु र कैयौं फुटकर रचना गरेर नेपाली साहित्यको भण्डार फराकिलो पारेका छन् । 


Advertisement

आदिकवि भानुभक्त आचार्य नेपाली भाषा साहित्यको फाँटमा बौद्धिक उर्जा प्रदान गर्ने एक सहज कवि हुन् । उनले अत्यन्तै विषम परिस्थितिमा रहेर पनि अनेक सुन्दर मौलिक रचनाहरुको सृजनाद्धारा नेपाली भाषीहरुलाई एकीकरण गरेका थिए । जसरी आधुनिक नेपालका जन्मदाता पृथ्वीनारायण शाहले साना राज्यहरुमा विश्रृङ्खलित अवस्थामा रहेको तत्कालीन नेपाललाई एकीकरण अभियानद्धारा एउटै सुत्रमा आवद्ध गरे त्यसरी नै भूराजनैतिक सिमाना फराकिलो र अक्षुण हुन पुगेको नेपाली समाजको भाषिक, साहित्यिक,सांस्कृतिक र सामाजिक एकीकरण स्वरूपमा राष्ट्र र समाजलाई एउटै मालामा गाँस्ने सुयोग्य कार्य भानुभक्त आचार्यले गरे । तसर्थ भानुभक्त आचार्य नेपाली भाषा, साहित्य र संस्कृतिका आदिकवि हुन् । 

प्राचीन संस्कृत वाङ्मय साहित्यको ऐतिहासिक मोडमा उभिँदा संस्कृत साहित्यमा वाल्मिकीको जुन स्थान छ, हिन्दी साहित्यमा सन्त तुल्सीदासको जो गौरवगाथा छ, त्यस्तै नेपाली भाषा, साहित्य र साँस्कृतिक उर्वरताभित्र भानुभक्तको त्यही गौरवशाली स्थान छ । यसकारण भानुभक्तलाई नेपालीहरुले राष्ट्रिय विभूति र एकताका महानायक मानेका छन् भने प्रवासीहरुका लागि उनी जातीय प्रतीक मानिएका छन् । 

भानुभक्तको रचनात्मक योगदानबाट नेपाली साहित्यिक भण्डार रसिलो, स्वादिलो खँदिलो हुन पुगेको हो । भानुभक्तको दार्शनिक अध्ययन , तिखारिएको कलम र महान प्रतिभाको जगमा नेपाली भाषा र साहित्य आज यति मौलाउन सकेको हो । भगवान रामचन्द्रको पवित्र चरित्र व्याख्यान भएको अध्यात्म रामायणलाई सरल नेपाली भाषामा श्लोकवद्ध गरी भानुभक्तले नेपालीहरुका घरघरमा झुपडीहरुमा रामचरित्रको धार्मिक सन्देश गायनको रूपमा पुर्‍याए । यसभन्दा अगाडि नेपाली भाषामा कुनै त्यस्तो प्रख्यात ग्रन्थ रचना भएको थिएन । भानुभक्तको यही योगदान र कृतिलाई कदर गर्दै नेपालमा वि.स. २००९ सालदेखि भानुजयन्ती मनाउन थालिएको हो । उनलाई नेपालमा आदिकवि, राष्ट्रिय विभूति,जातीय कवि लगायतका नामले चिनिन्छ । तर तिनै महान् व्यक्ति जन्मेको जन्मस्थल अहिले अलपत्र र सुनसान छ । हरेक वर्ष असार २९ गते उनको सम्झनामा भानुजयन्ती मनाइएतापनि उनी जन्मेको गाउँ चुँदीरम्घा पुग्ने जो सुकै नेपालीको मन पनि कुडिन्छ । उनी जन्मेको गाँउ जहाँ बसेर उनले काव्य रचना गरेका थिए, त्यही गाँउ ठाँउ अहिले बिर्साइको पीडा र विकासको पर्खाइमा छ ।

बिर्साइको पीडामा भानु र जन्मस्थल

भानुभक्तको जन्मस्थल चुँदीरम्घा पुग्न पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रे बजारबाट यात्रा प्रारम्भ हुन्छ । डुम्रे बजारदेखि उत्तरतर्फ रहेको चुँदीखोला माथिको पुल तर्ने वित्तिकै सडकको दाँयापट्टि ढिकमा राखिएको भानुजन्मस्थल विकास समितिको साइनबोर्डको दुर्दशा र अवस्थाले एकपटक सबैलाई सोच्न बाध्य बनाउँछ । डुम्रे बजारबाट करीब १० किलोमिटरको दुरीमा अवस्थित चुँदीरम्घा फाँट पुग्न केही वर्ष पहिलासम्म निकै हैरानी बेहोर्नु पर्दथ्यो भने आजकल कालोपत्रे गरिएको छ । आधाघण्टाको सवारी यात्रापश्चात चुँदीरम्घा फाँटमा पुगेपछि भने त्यहाँको प्राकृतिक र वातावरणीय सुन्दरताले सवैको मन लोभ्याउँछ । 

तर विकासका अन्य दृष्टिले भने चुँदीरम्घा निकै पछि परेको छ । धेरै पढेलेखेका र देशको उच्च ओहोदामा पुगेका चुँदीवासीहरु सम्पन्न र शक्तिशाली भएर पनि आफ्नो गाँउलाई नसम्झिएकोमा स्थानीय बासिन्दा निराश छन् । उनीहरु आफ्नो निजी स्वार्थभन्दा माथि उठ्न सकेका छैनन् जसले गर्दा चुँदीरम्घाको सेरोफेरोमा खासै विकास हुन सकेको छैन । त्यसकै ज्वलन्त उदाहरण हो डुम्रे—चन्द्रावती भानु मार्ग । विगत ३२ वर्ष देखि निर्माणाधीन अर्थात तनहुँकै सवैभन्दा पुरानो मार्ग डुम्रे बजारदेखि भन्सार, सेपाबगैंचा हुँदै भानु नगरपालिका र चन्द्रावती पुग्ने कच्ची मोटरमार्ग आजसम्म पनि अलपत्र परेको छ । चुँदीरम्घाको प्राकृतिक सौन्दर्य दिनप्रतिदिन नष्ट भैरहेको छ । भानुभक्त सम्बन्धी विवाद, महत्व,र गरिमाको निरन्तर घट्दो क्रमभित्र नेपाली भाषाको दयनीय बवर्तमान अवस्था, बढ्दो विदेशी संस्कृनिको हस्तक्षेपको विकास भैरहेको अवस्थामा चुँदीरम्घा र भानुभक्तको कुरा उठाउनु पनि बेकार जस्तो भैसकेको छ । चुँदीरम्घामा आजकल काव्य लेख्ने कलमजीविहरु छैनन् भने पनि हुन्छ । आजकलका बिधार्थीहरु पनि अंग्रेजी माध्यमका बोर्डिङ स्कूलहरूमा पढ्न जाने हुनाले उनीहरू भानुभक्तलाई कमै चिन्ने गर्छन् र उनका योगदान, कृति र श्लोकहरू बारे कमैलाई मात्र जानकारी छ । 

चुँदीरम्घाका मानिसहरु भानुभक्तको नाम र योगदानलाई भँजाएर आफूहरू भर्‍याङ उक्लिरहेका छन् । नेपाली भाषा र साहित्यका मूर्धन्य स्रष्टा आदिकवि भानुभक्त आचार्यको जन्मथलो र कर्मथलो भएकै कारणबाट मात्र चुँदीरम्घाको परिचय आज सार्वजनिक रूपमा आएको हो । शायद भानुभक्त चँुदीरम्घामा नजन्मेको भए यो ठाउँ आज यति धेरै हुने थिएन होला । पृथ्वीनारायण शाहले गोर्खाको परिचय ,गौतम बुद्धले लुम्विनीको परिचय र राजा जनकले जनकपुरको परिचय गराएजस्तै भानुभक्तले चुँदीरम्घाको परिचय गराएका हुन् । यस कुरालाई पनि चुँदीबाासीले सम्झनु जरुरी छ । 

त्यतिमात्र होइन, भानुभक्तको जन्मघर जुन साहित्यिक तीर्थस्थलको केन्द्र हुनुपर्ने हो, त्यो नै अहिले खण्डहर र भग्नावशेष मा परिणत भएको छ । सुनसान डाँडाको सालघारी बीचमा रहेको उनको खण्डहर घर देख्ने जो सुकैको मन कल्पिन्छ । चुँदीफाँटबाट माथिको डाँडामा सालघारी विचमा रहेको उनको खण्डहर घरले नेपाल सरकार, साहित्यपे्रमी र स्थानिय बासिन्दालाई धिक्कारीरहेको छ । 

आदिकविको अलपत्र खण्डहर घर र भग्नावशेष

चुँदीफाँटबाट उत्तरतर्फ रहेको सालघारीको डाँडामा आदिकवि भानुभक्तको भग्नावशेष घर अझै पनि रहेको छ । सो भग्नावशेष घरसम्म पुग्नका लागि चुँदीफाँटबाट करिव १ घण्टाको ठाडो उकालो र सालघारी छिचोल्दै हिड्नुपर्ने सो बाटो निकै अप्ठ्यारो रहेको छ । भानुजन्मस्थललाई भाषिक र साहित्यिक तीर्थस्थलको रुपमा बिकास गर्ने उद्देश्यले नेपाली कथानक चलचित्र ‘आदिकवि भानुभक्त‘ निर्माण गर्ने क्रममा भानुभक्तको ऐतिहासिक घर रहेको ठाँउमा सो घरको पुरानै शैलीमा पुनःनिर्माण गरेको थियो । २०५५ सालमा चलचित्र छायाँकनका क्रममा पुनः निर्मित सो घर २०६० बैशाख १० गते जंगलमा लागेको आगलागीका कारण जलेर ध्वस्त भएको थियो । यसबीचमा कैयौ पटक भानुजयन्ती मनाइएतापनि सो घरको पुन: निर्माणका लागि कसैले चासो दिएका छैनन् । तर हालै केही गैर सरकारी संस्था र भानु जन्मस्थल विकास समितिको पहलमा खण्डहर घरको पुनः निर्माण गरिने भनिएतापनि सो कार्य अधुरै छ । 

चलचित्र निर्माणका क्रममा भानुजन्मस्थल बिकास समितिको सक्रियता र डा. राजाराम सुवेदीको नेतृत्वमा सो ठाँउ र घरको उत्खनन् गरिएको थियो । उत्खनन्का क्रममा घडेरीको जगसम्मको अवशेष, मूलढोकाको संघार, ढुँगाको छपनीले पुरिएको अगेना, तुलसीको मठ लगायत भानुभक्त कालिन बिभिन्न बस्तुहरु फेला परेको थियो । सोको आधारमा नै त्यस ठाँउलाई आदिकविको जन्मथलोको रुपमा निक्र्यौल गरिएको थियो । भानुभक्तका बाजे पण्डित श्रीकृष्ण आचार्यले बनाएको सो घरमा भानुभक्त आफ्नो जन्मदेखि नै बस्दै आएको र पछि भानुभक्तका छोरा रमानाथ वि स १९४३ सालसम्म सोही घरमा बस्दै आएको कुरा इतिहासमा उल्लेख छ । भानुभक्तका कान्छा छोरा शिवशंकर को १३ वर्षको उमेरमानै अकालमा मृत्यु भएको साथै औलो रोगको महामारी जस्ता  कारणले त्यहाँको बसोवास छोडी भानुभक्तका सन्ततिहरु चुँदीफाँटमा बसाई सरेका थिए । भानुभक्तकालीन समयको बास्तुशैली र खाकामा निर्मित सो घरको छाना र पाली खरले छाइएको थियो । चारवटा कोठा रहेको सो घरको झ्यालढोका कलात्मक थियो । त्यसबेला स्थानीय वासिन्दाले सो घरलाई शिखर कटेरी भनेर भन्ने गर्थे । भानु गाविस वडा न. ३ स्थित शिखरमा रहेकोले सो घरलाई शिखर कटेरी भनिएको हो । 

आदिकविको जन्मस्थल र भग्नावशेष घरका बारेमा रिर्पोटिङ गर्न र अवलोकन गर्न वर्ष ेनी तनहुँका पत्रकार र अवलोकनकर्ताहरु त्यहाँ जाने गरेका छन् तर सबैले खण्डहर घरको अवस्था देखेर खिन्न मान्दै फर्कने गरेका छन् । घरको पुनः निर्माणका लागि सरकार देखि स्थानीय बासिन्दाहरु सक्रिय भएर लाग्नुपर्ने सबैको भनाई छ । भानु नगरपालिका र भानुजन्मस्थल विकास समितिले भने बजेट अभावका कारणले नै सो घरको पुनः निर्माण र संरक्षण गर्न नसकिएको बताउँदै आएका छन् । 

वास्तवमा , आदिकविको अलपत्र घर भाषा, संस्कृति र ऐतिहासिक सम्पदाप्रति नेपाली समाजको चरम उदासीनताको कुरुप प्रतीक हो । नेपाली भाषाका यी महत्वपूर्ण कविको ऐतिहासिका घरको बेहाल बास्तवमै राष्ट्रिय लज्जाको विषय हो । भानुभक्तको घर नेपालीको भाषिक र साँस्कृतिक सम्पदा हो । यसको संरक्षणको मूल दायित्व सरकारकै हो भन्नेमा शंका छैन्, तर त्यो स्थानीय वासिन्दा र आदिकविका वंशजको पनि कर्तव्य हो । भानुभक्तको नामसँग जोडेर आफ्नो स्थानमा गौरव गर्ने स्थानीय बासिन्दाले भानुभक्तको घरको जीर्णोद्धार र पुनः निर्माण गरेर एउटा ज्वलन्त उदाहरण प्रस्तुत गर्न सक्थे । तर सबै कुरामा सरकारकै मुख ताक्ने प्रवृति र आफू पन्छिने बानी चुँदीबासीमा पनि देखिएको थियो । यस विषयमा भानुभक्तका सन्ततिहरुले भानुभक्त राष्ट्रका निधी भएकाले यसको जिम्मा राष्ट्रको भएको बताउँदै आएका छन् । 

भानुभक्त संसारभरिका नेपालीभाषीका लागि एउटा प्रतिकका रुपमा स्थापित छन् । दार्जिलिङदेखि लण्डन र वासिङटनसम्म नेपालीले उत्साहपूर्वक भानुजयन्ती मनाउँछन् । यस अर्थमा पनि उनको घर स्वभाविक रूपमा राष्टिय संग्रहको सूचीमा पर्छ । तर दुखको कुरा त्यहीघर आज खण्डहर भग्नावशेषमा परिणत भएको छ । अंग्रेजहरुले पन्ध्रौं शताब्दीका कवि एवं नाटककार सेक्सपियरको घरलाई पुरानै स्वरुपमा सुरक्षित राखेका छन् । त्यो घर अहिले अन्तर्राष्ट्रिय संग्रहालय र संसारभरिका साहित्यप्रेमीका लागि तीर्थाटन भएको छ । त्यहाँ सेक्सपियरको जीवनका सम्भव भएसम्मका सबै अभिलेखहरु सुरक्षित राखिएका छन् । र त्यो संग्रहालयबाट बेलायतले सांस्कृतिक, भाषिक र आर्थिक लाभ समेत प्राप्त गरेको छ । अरु देशमा पनि प्रतिष्ठित साहित्यकारहरुका स्मृतिलाई यसैगरि संरक्षण गरिएको छ । तर नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्तको घरको यो बेहाल स्थितिले सबैलाई गिज्याइरहेको छ । बास्तबमा, यो समग्रमा नेपाली भाषा र साहित्यप्रतिको नै उपहास हो ।

खण्डहर घरदेखि आधा घण्टाको उकालो चढेपछि डाँडाको सिरानमा भानुभक्तको सम्झनामा निर्माण गरिएको शालिक रहेको छ । जसको अवस्था पनि नाजुक र जीर्ण बन्दै छ । शालिकका भागहरुमा क्षति पुगेको छ भने अन्य भौतिक पक्षहरुको पनि हालत उस्तै छ , संरक्षण र मर्मत सम्भारको पहल भएकै छैन् । यतिमात्र होइन कि, चुँदीरम्घामा भानुभक्तको स्मृतिमा बनाइएका सम्पदा र तनहँुकै घाँसीकुवामा निर्माण गरिएको भानुघाँसी स्मारक पार्क लगायत अन्य पूर्वाधारहरुको अवस्था पनि निकै दयनीय छन् । 

बेवास्ता र अलपत्र स्मृति सम्पदा 

चुँदीरम्घामा आदिकविको सम्झना र स्मृतिमा बनाइएका दर्जनौं सम्पदाहरू संरक्षणको अभावमा  अलपत्र परेका छन् । उनकै स्मृतिमा भानु गाविस हुँदै हाल भानु नगरपालिकाको नामाकरण पनि गरिएको छ । यस क्षेत्रक विधालय, क्याम्पस देखि आमा समूह,युवा क्लव, र गैरसरकारी संस्थाहरुले पनि भानुकै नाम प्रयोग गरेर अनुचित फाईदा लिइरहेका छन् चुँदीरम्घाकै कुरा गर्ने हो भने पनि हाल त्यहाँ अहिले भानु स्मारक संग्रहालय, भानु देवकोटा प्रतिमा स्थल, भानु संस्कृत मावि, भानु संस्कृत क्याम्पस, भानु यूवा क्लव, भानु आमा समूह, भानु मार्ग, भानु जन्मस्थल विकास समिति, भानु शसस्त्र प्रहरी गण लगायतका करिव २ दर्जन बढी संघसंस्था रहेका छन् । तर पनि कुनै संघसंस्थाले भानुको जन्मस्थलमा उल्लेख्य काम गर्न सकेका छैनन् । सबैसबै भानुको नामको प्रयोग वा दुरुपयोग गरेर आफ्नै स्वार्थ पूरा गर्नमा तल्लीन छन् । 

त्यसैगरि भानुभक्त र उनका पे्ररणा श्रोत घाँसीको सम्झनामा तनहुँको घासीकुवामा निर्माण गरिएको भानुघाँसी स्मारक पार्कको अवस्था पनि निकै दयनीय छ । विस २०५४ सालमा विभिन्न संघसंस्था र स्थानीय बासिन्दाको सहयोगमा १० लाख रुपैयाको लागतमा निर्माण  गरिएको यो पार्कको उचित संरक्षण नहुँदा यहाँका भौतिक संरचनाहरूको अस्तित्व संकटमा परेको छ । पार्क परिसर अहिले  फोहरमैला फाल्ने ,केटाकेटीहरू खेल्ने र युवायुवतीहरूको डेटिङ स्थलमा परिणत भएको छ । सदरमुकाम दमौलीदेखि माात्र ४ किलोमिटर पूर्वमा पृथ्वीराजमार्गसंगै जोडिएर रहेको यो पार्कको दुरावस्थाले पनि सबैलाई खिन्न बनाउँछ । तर पनि यस पार्कको संरक्षण र संवर्धन गर्ने निकाय कुन हो र कहाँ छ ,त्यसको अत्तोपत्तो         छैन । प्रत्येक भानुजयन्तीको पूर्वसन्ध्यामा सो  पार्कमा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख, नागरिक समाज र सर्वसाधारणको सहभागिता हुुने गरेको छ । कार्यक्रममा कवि, कलाकार, साहित्यकारहरुलाई भन्दा पनि विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूको जमघट गराएर भाषण गर्न लगाइन्छ । यसैबीच, वि.सं १९२५ मा भानुभक्तको मृत्यु पश्चात अन्त्येष्टि गरिएको ठाउँ मस्र्याङदी नदीको किनार सतिघाटको पनि संरक्षण हुन सकेको छैन । 

निरीह भानुजन्मस्थल विकास समिति

सरकारले २०५२ चैत्रमा भानु जन्मस्थल विकास समिति गठन गरेपनि डेढ दशक बितिसक्दा भानुभक्त आचार्यसँग सम्बन्धित धेरैजसो महत्वपूर्ण विषयमा समिति निष्क्रिय र निरिह बनेको छ । आदिकविको प्रचार प्रसार एवं उनको जन्मस्थललाई भाषिक र साहित्यिक तीर्थस्थल बनाउन सहयोग गर्ने उद्देश्यले सरकारले भानुजन्मस्थल बिकास समिति गठन गरेको हो ,तर समितिले खासै प्रभावकारी काम गर्न नसकेको सर्वत्र गुनासो छ । समितिको पहिलो काम भानुभक्तको भग्नावशेष घरलाई त्यही खाका, शैली र स्वरुपमा समितिले कार्यालय परिसरमा भानुभक्तको पूर्णकदको प्रतिमा र संग्रहालय निर्माण गरेको छ, त्यसबाहेक खासै उल्लेख्य भएको छैन । बजेट अभावका कारण खासै काम हुन नसकेको समितिका पदाधिकारीहरुले स्वीकार गरेपनि सरकार परिवर्तनसंगै हुने कार्यकारी निर्देशक परिवर्तन हुने प्रचलनले समिति सरकारको भर्तीकेन्द्र बन्न पुगेको छ । आदिकविको सम्मान गरौं ।

आदिकवि भानुभक्त आचार्य नेपाली जनजीवनमा युगयुगान्तरसम्म साहित्य आकाशको क्षितिजमा चम्कने एक ज्योतिपुञ्ज हुन् । यस्ता महापुरुषको बारेमा खोज तथा अनुसन्धान गर्नु हाम्रो दायित्व हो । भानुभक्तसंगै हाम्रो भाषा, साहित्य, संस्कृति जोडिएको छ,र यी सबैलाई जीवन्त राख्न पनि भानुभक्तको जीवनी र उनका रचना र कृतिहरु विधालय र विश्वविधालयको पाठ्यक्रममा समावेश गर्नु जरुरी छ । साहित्यकार प्रतिको सवैभन्दा ठूलो सम्मान भनेको उनका कृति र योगदानलाई अमर राख्नु हो । नेपाली भाषा र साहित्यका जगपुरुष भानुभक्तलाई नेपाल सरकार, स्थानीय सरकार वा जनप्रतिनिधी, भानुजन्मस्थल विकास समिति, स्थानीय बासिन्दा, उनका वंशजहरूले नै उचित सम्मान गर्न सकेका छैनन् । विडम्बना, आदिकविको जन्मथलो चुँदीरम्घामा मात्र होइन, देश विदेशमा समेत उनलाई एउटा सफल र आर्थिक लाभदायक एन.जी.ओ.बनाएर व्यक्तिहरु मोटाइरहेका छन् र आदिकविको नामलाई दुरुपयोग र लिलाम गरेर कैयौ व्यक्तिले आर्थिक, सामाजिक र पदीय लाभ लिइरहेका छन् । नेपाली भाषाका प्रणेता भानुभक्तलाई उनको जन्मस्थल देखि राजधानी काठमाण्डौं लगायत अन्य केही ठाउँहरुमा उनको शालिकमा फूल, अबिर अर्पण गरेर खोक्रो औपचारिकतामा हरेक वर्ष असार २९ गते भानुजयन्ती मनाइने गरिन्छ ।

वास्तवमा, यसले मात्र भानुभक्त प्रति सच्चा सम्मान भएको ठहर्दैन । भानुभक्तका सम्झनामा निर्माण गरिएका शालिक, स्मारक र पार्कहरूको पनि उचित संरक्षण र सम्वर्द्धन गरिनुपर्छ । उनका कृति र रचनाहरूको वाचन, प्रकाशन र संरक्षण गर्नुपर्छ । साथै उनको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक, भाषिक तीर्थस्थल र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुपर्छ अनि मात्रै आदिकविप्रति प्रति सच्चा सम्मान र श्रद्धाञ्जली गरेको ठहर्छ । भानुभक्तको योगदानलाई हामी र हाम्रा पुस्ताले जीवन्त राख्नु हाम्रो कर्तव्य र जिम्मेवारी हो । नत्र भने इतिहासको कालखण्डले हामीलाई धिक्कार्ने छ । सबैलाई चेतना भया । 

(लेखक आदिकवि भानुभक्त क्याम्पस, तनहुँका उपप्राध्यापक हुन् ) 

                       
 

कमेन्ट गर्नुहोस्