कथा : मृत्यु उत्सव

-रमेश भट्टराई ‘सहृदयी’ 

‘छोरा तँ किन सधैं निन्याउरो देखिन्छस् ?’ रघुकी आमाले दिक्क मान्दै छोरालाई मनको वह पोख्नुभयो । रघुको चेहरामा शङ्का, आक्रोश र एकोहोर्‍याइँदो भावको दुखद् मिश्रण छ । घरको सिकुवामा गुन्द्रीमा बसेर अगाडिका बाख्राको पाठो नाचेको देखेर ऊ पनि नाच्न चाहन्छ । निकै बेरको मौनताका कारण रघुकी आमा आखिर छेउमै आएर बस्न विवस बनिन् । दुई हात टेकेर बसेको छ । उसका खुट्टा सिकुवादेखि तल झारेको छ । छोरोको मौनता, त्यसमा पनि अनुहारको अलिअलि आक्रोशले रेखा देखिन्छन् । रघुकी आमालाई ममताको एउटा मुटु प्रेमसागरमा हालेर पस्कने चाहनाले दौडाइरह्यो । 


Advertisement

एक्कासी रघुको लामो मौनता बाहिर निस्कियो, ‘आमा ! मलाई त तपाईं किन निन्याउरो नदेखिनुभएको होला भन्ने पो चिन्ता छ । म तपाईंको निधारमा हेर्छु । वास्तवमा फुस्रो, अँध्यारो मात्र देख्छु । कपडा हेर्छु । सबै विरक्तका प्रतीक लाग्छन् । आमा तपाईंलाई देखेर म निन्याउरो छु । तर तपाईंमा आजको दिनमा पीडा किन झल्किएन ?’ 

रघुकी आमा एकाएक मौन बन्छिन् । आमाको मन कहाँ पत्थर बन्ला ? आखिर खहरेझैं बग्ने थियो होला तर सेती नदी झैं भास्सिएर प्रकटित भयो । माछापुच्छ्रेले मुस्काउनुमा आनन्द देख्न नसक्ने । मात्र सेतो हिउँको सेताम्मे कपडाको शरीरमा । मानौं अलङ्कारको विद्रोहले चुरा सजाएर सजिन्न । आखिर उनको मनले दुनियाँसँग विधवाले विद्रोह गर्नुको अर्थ पनि रहेन । आखिर मन नै विधवा छ, बाहिर रङ्गिएर कसका लागि विद्रोह । मनले विधवाको आडमै पतिको आत्माले शान्ति पाउला भन्ने ठान्छ । शताब्दी जे आओस्, ‘मेरो इच्छा’ तर छोराको रायमा उनको मन बालक झैं असन्तोषी बन्यो ।

‘हो छोरा, मलाई थाहा छ । म एक्ली नारी हुँ । तँ भर्खरै चौध वर्षको बालख होस् । तैंले जे सोच्दैछस्, मेरो आत्माले आमाको नाताले बुझ्दै छु । हो, आज तेरो बाबाको जन्मदिन हो । मलाई थाहा छ– तँ पेटमा हुँदा मलाई लात्तले हान्थिस्, तेरा बा मेरो पेटमा कान थापेर सुन्नुहुन्थ्यो । तँ लात्तीले हान्थिस्, तेरा बाबाले पेटमा हुँदै तँलाई म्वाइँ खानुहुन्थ्यो । यो संसार कति निष्ठुर छ, तँ अभागी, म अभागी । मेरो देश अभागी । तँ सोझो बालक । म अबला हेपिएकी एक्ली विधवा नारी । भयो मलाई अब रोएर विद्रोह गर्ने आँशु सुकिसके । तँसँग अलिकति जोस बढेर के गर्छस्, रगत बगाएरै शान्ति हुने भए महाभारतको युद्धले युद्धको तुष मर्न सकेन । रावण मारेर के गरेर रामले सीता त्यागे । भयो छोरा तँ अभागी ।’

आमाको धारा प्रवाह वेदनाको खहरेमा रघुको कलेजी फाटिरह्यो । उता बाख्राको पाठो यसो घाँस खेलाउँदै खान सिक्दै छ । रघुको मन एक तमासले एकोहोरिनुमै आनन्दित थियो– विद्रोहमा । विना उपाय, बिना अर्थ । को हो बाबा ? कस्तो हुनुहुन्थ्यो ? अहँ– भयो आखिर चिन्ताले जन्मदिनमा मृत्यु उत्सव बुझेर कसरी मेल गराउँछ । न त बाबाको हत्यारालाई ऊ सजाय दिएर शान्ति महसूस गर्छ । बाबाको जन्मदिन रघुका लागि के अर्थको भयो र ?

‘आमा ! आखिर मेरा बाबाको के दोष थियो ? के गर्नुभयो र तिनको ? मैले मेरा बाबाको हत्याराको रगत कसरी पिऊँ ?’ 

‘हेर् छोरा ! यो संसार तेरा र मेरा लागि सधैं अन्यायको आगोमा पिल्स्याउन अभ्यस्त छ । तर युद्ध गरेर कहिल्यै शत्रुता अन्त्य हुँदैन छोरा । रगतको खोलो बगाए, रगतले त पुस्तौँपुस्ता रुवाइरहन्छ । संसारमा निर्धोलाई हेप्नेको होड छ । प्रकृतिमा बाघले मृगलाई खाने नियम कसले तोड्छ । बाध्यताको हिंसात्मक सृष्टिचक्र । मलाई मार्क्सको सिद्धान्त थाहा छ तर अत्याचारको अर्थ थाहा भएन । तर तैँले यस्ता कुरा कसरी बुझ्न सक्लास् र ! तेरो रगत पनि मेरै रगत हो । तर, तेरा बाको रगत पनि त हो ।’

रघुको अबोध मन बोधगम्यझैं बन्दै थियो । उमेर र परिस्थितिले पढाउँदै थियो । सभ्य र शिक्षित, बौद्धिक बनाउँदै थियो । 'आमा ! मेरो बाबालाई किन मारे माओवादीहरूले ? आखिर मेरो बाबा आर्मी पनि त हुुनुहुन्नथ्यो ?' 

छोराको आवाजले आमाको मन एकतमासले विखण्डित भयो । आखिर विभत्स घटनाको स्मरण गर्न नचाहने मुटुलाई छियाछिया हुने गरी इतिहासतिर धकेलिदियो । 'छोरा तँलाई म कसरी तेरा बाबाको विभत्स हत्यालाई यो मुखले ओकलेर पाप प्रकट गरुँ । म मनमा स्तब्ध छु । तेरा अघि पीडा लुकाएर तेरो अनुहारमा हाँसोको बिउ रोप्ने आशामा बाँचेकी हुँ । तेरो रूप जीवित नभएको भए म पनि बाँच्ने आशा देख्दिनथेँ । अर्थात् तँ गर्भमै तुहिएको भए म यतिखेर कुहिएकी हुन्थेँ । कमसेकम माटो भइसक्थेँ । तर बाँच्न पाउनु नै एउटा जीत रहेछ । आज कमसेकम तँसँग तेरो बाबाको पीडामा भाव पोख्न त पाउँछु ।'

तेरा बाबा खहरे पारीको नवजीवन माविमा गणित शिक्षक हुनुहुन्थ्यो । उहाँलाई पढाउन, शिक्षामा योगदान गर्न बाहेक अन्यत्र ध्यान थिएन । अरू मान्छे बाहिरफेर हिँड्दाओर्दा डराउँदै, आत्तिँदै निस्कन्थे । मैले पनि उहाँलाई सचेत रहन भन्थेँ । जमाना खराब छ, विचार पुर्‍याएर बोल्नुपर्छ है । जोगिन गाह्रो छ भन्थेँ । तेरा बाबा गाउँका दुई चार जना कमजोर केटाकेटीलाई तल्तिर पालीको कोठामा बिनाशुल्क पढाउने गर्नुहुन्थ्यो । आफू शिक्षा र शान्तिका पक्षमा योगदान दिइरहेको सम्झनुहुन्थ्यो । उहाँमा पूर्व र पश्चिमका ज्ञान थियो । उहाँ रोगी पनि हुनुभएकाले पढिरहेको देखेपछि मलाई खुशी लाग्थ्यो । म घरको काममै व्यस्त हुन्थेँ । तेरा बाले त एउटा पार्टीको सदस्यतासम्म लिनुभएको थिएन । उहाँका वचनमा म जीवन देख्थेँ, आफूलाई भाग्यमानी सम्झन्थेँ– संसारको उत्तम कर्म शिक्षा प्रदान गर्नु हो । 

तेरा बाबाका हरेक भावनामा आज म बुद्धको बुद्धत्व भाव देख्छु । उहाँ भन्नुहुन्थ्यो– युद्धले युद्धलाई नै डाक्छ । रगतले शान्ति होइन, युद्धविराम मात्र हुन्छ तर तुष बचाइरहन्छ । मान्छेको गुण भनेकै नयाँ मान्छेलाई भेट्नासाथ नमस्कार गर्ने हो तर पशुको गुण बल प्रदर्शन गरेर जुध्ने हो । बल देखाउने हो । बलले हातमा लिएर आफू हैकमवादी बन्ने हो । यसबाट शत्रुको जन्म भइरहन्छ । युद्ध मच्चिरहन्छ ।

आमाका कुराले रघुको मनमा आफूले भित्तामा झुण्ड्याएको बाबाको धमिलो सादा तस्वीरलाई नचाइदिन्थ्यो । 

रघुलाई बाबाको काखमा बसेर, धन्य बाबा– हजुर महान् विचारको मान्छे हुनुहुँदोरहेछ भन्ने मन हुन्थ्यो । उस्तै धमिलो चित्रमा आमाको कुरालाई मूर्तिझैं केवल सुनिरह्यो । बीचमा यसो अँ, हो ...सम्म पनि भनेन । एकातिर ऊ गर्व गर्दै थियो । अर्कातर बाबाआमाको साथको अपेक्षाले पिरोल्थ्यो । दशैंमा बाबाआमाको संयुक्त आशीर्वादले जमरा सिउरिएको आशा । रघु पीडाकै सागरमा एक तमासले हराइरह्यो ।

आमाका पीडादायी भावभित्र कुण्ठित बाबाका मृत्यु कथामा रघुले वयस्क बोध गर्दै थियो । प्रतिवाद र प्रतिकारको योजना तुन्दै थियो । 

आमाले भन्नुभयो– देशमा त्यसताका माओवादी द्वन्द्वकालको भयले प्रायः सबै जनताको मन अछुतो थिएन । ठिटाठिटीले समेत रेडियो कानमा राखेर समाचार सुन्ने आदत बसाएका थिए । समाचारमा भीडन्त र आज कहाँ कति मरे, कति घाइते भए भन्ने विषय बाहेक अन्य कुरा चिन्ता र चासोभित्र पर्दैनथे । मानिसहरू मान्छे मरेका बाहेकका समाचारलाई समाचार नै मान्दैनथे । 

थलामा बूढ्यौलीले चाउरिएको गाईलाई देखाउँदै आमाले भनिन्– एकदिन सदाझैं म यही सेती गाईलाई पानी खुवाउन के लागेको थिएँ । एक जना १५–१६ वर्षको विद्यार्थी स्कूलकै पोसाकमा घरमा आयो । त्यसदिन तेरा बाबा निकैबेरसम्म घरमा नआउँदा मनमा के–के, के–के अनेकथरि विचारले अशान्त बनाएको थियो । देशको अवस्था राम्रो छैन । मन डरायो । भयभित भयो । त्यो विद्यार्थी अपरिचित नै भन्ने पनि थिएन । कहिलेकाहिँ तेरा बाबासँग पढ्न आउने गरेकाले सामान्य मात्र परिचित लाग्थ्यो– 'वृहस्पति गुरुलाई माथि बर झ्याङको चौतारीमा आँखा घोचीघोची माओवादीले ... गुरुमा । मैले रुखको आडबाट घारीमा बसेर देखेको । माओवादीहरूले पहिला गुरुलाई दुई हातमा समातेको देखेँ । बन्दुक तेर्‍स्याएर खै के–के भन्दै हप्काउँदै थिए । गाउँका मान्छे डरले जानै सकेका छैनन् । माओवादीहरू त्यतैतिर छन् भनेर होला । सायद गुरु......अब बाँच्नुभएको छैन होला ।'

मैले तँलाई त्यसैदिन उकालो दगुर्न नसक्दा जन्माएँ । तेरा बाको प्राणपखेरुले त्यसैदिन मलाई फुस्रोधुस्रो बनायो । 

आँखाभरि आँशुले भरिएर रघुकी आमा भक्कानिएर बोल्नै सकिनन् । रघुले आमाको शीर थाम्यो । आमाको शीरलाई आफ्नो काँधमा अड्याएर एकोहोरो टोल्हाइरह्यो । आँखा हलचल नगरी एकटकले एकैस्थानमा हेरेर गमिरह्यो । 

आँशुका खहरेसँग आमाको आवाजमा घुँक्कघुँक्क थपियो । पीडाका धारा बहे । 

आजसम्म म त्यो चिन्नै नसक्ने गरी तेरो बाबाको शरीर सम्झँदा छोरा ... ! मलाई बाँच्न मन लाग्दैन । तर म कसरी विद्रोह गरेर जित्छु र ? म आफू त सबै मान्छेका आफन्त, आमाबाबा, परिवारको सम्बन्ध भएको देख्छु । हरेक मान्छे आमाकै गर्भबाट जन्मिन्छ, बाँच्नका लागि । अब मैले कसलाई मारेर के पाउने ? म प्रतिकारको प्रतिशोधबाट माथि उठेकी छु । 

टाउको सुम्सुम्याएर, अलि होशमा आएपछि रघुकी आमाले भनिन्– तँ जन्मेकै दिन तँ टुहुरो भइस्, बाबै । यो निष्ठुरी दैवले मेरो एउटा आड भत्कायो । हैन हैन म दैवलाई कुनै दोष दिन सक्दिनँ । उसले तेरो बाबालाई मारेन । दैवले त तँलाई उपहार दियो । म जति पागल भएँ तर बौलाउने आँट गरिनँ । बाँच्ने मन थिएन तर मर्न सकिनँ । तँ मेरो मृत्युबाधक थिइस् ।

छोरा, भो ती विरक्तका दिनलाई कसरी यो कलेजीमा राखौं । म भक्षक शासनबाट शान्तिको उद्घोष गरेको देख्दा वितृष्ण बन्छु । बुद्धको देशभित्र बुद्धलाई बलि चढाएर अर्चना गर्नेहरू एक हातमा तरबार बोकिरहेको देख्छु । लाग्छ– यदि म बेहोसी हुँदो हुँ त कमसेकम ती भयग्रस्त पापी दिनतिर स्मरण त जाने थिएन । कमसेकम स्मरण शक्ति गुमेको भए जाति हुन्थ्यो । 

'आमा, कतै मेरा बाबाको कसैसँग दुस्मनी त थिएन ?' 

रघु टोल्हाएर विद्रोही शैलीमा बोल्यो । उसको आवाजले विद्रोही बन्न खोज्दै गरेको आभास गराउँछ । 

बाबु, कारण नसोध । यो संसारले आँखामा हाल्दा नबिझाउने तेरा बाले कहिल्यै कसैका लागि अनुचित सोच्नुभएन । न त गफ पिटेर हल्ला गर्दै कतै हिँड्नुभयो । चिया खान चोकमा मान्छेको भीड हुन्छ, तेरा बालाई म यसो बाहिर जानुस् न भन्थेँ । तर उहाँसँग प्राज्ञिक गफ गर्ने समुदायको अभाव थियो– म अहिले सम्झन्छु । मास्तिरका काइँला बा सधैँ भन्नुहुन्छ– 'बैकुण्ठ सर देउता हुन् । कति निष्ठुर भयो यो संसार । अब कसरी बाँच्ने, कसरी बस्ने ? बेकसुर सेवा गर्ने यस्ता श्रमप्रेमीलाई यो अन्धो समाजले अत्याचार गर्‍यो ।'

तैँले सधैं मान्नुपर्ने मान्छे हुन्, काइँला बा । तँलाई पीडाका यी पाना कसरी खोलौं । तेरो बाबाको तेह्रौं क्रियाकर्मको दिन थियो । गाउँका मान्छे र आफन्त डरले हाम्रा घरमा आउँदैनथे । आफू सुत्केरी । आफन्त कोही आइहाले पनि फर्कनै हतार गर्थे । गाईलाई पानी दिनेसम्म कोही भएन । मैले फुकाएर बारीतिर छोडिदिएँ । गाईले घाँस खान मानेन । चर्न मानेन । मैले ढिलो मात्र बुझेँ– ऊ पनि तेरो बाबाकै शोकमा रहेछ । मैले उसैलाई काँध हालेर रुन सकेजति डाँको छोडेर रोएँ । म रुँदा आश्वासन दिने मेरी प्यारी गाई । मैले मायाको डोरो सोचेभन्दा फरक पाएँ । 

भोलिपल्ट बिहानै मास्तिरकी सानी नानी रुँदैरुँदै दगुरेर आई– 'काइँला बालाई, अनि माओवादीले रगतैरगत बनाइदिएर ...।' यत्ति सुनिसक्दा म हत्त न पत्त तँलाई काखमा च्यापेर उकालो दगुरेँ, काइँला बाकातिर । तँ कोहोलो गर्दै रुँदै थिइस् । उकालो दगुर्न खोज्छु, खुट्टा झनै तलतिर खस्छन् । नातागत भएर चिटचिट पसिना आएको छ । पाँच मिनेटको बाटो मलाई झन्डै बीस मिनेट लाग्यो । 

नभन्दै, काइँला बाको खुट्टामा गोली हानिएको रहेछ । बन्दुकको फेदपट्टिबाट हानेर देब्रेतिरको गाला ख्वाप्प भित्रतिर पसेको छ । बिचरा बूढा मान्छे रगतले मुछिएका छन् । गाउँका मान्छे भयले आतङ्कित । चाइँचुइँ, सबैका ढोका बन्द भए ।

मैले तल्लाघरे सुदीप वि.क. लाई चिच्याएर बोलाएँ । बल्लबल्ल डराउँदै आएपछि भनेँ– ‘बाबु अब के कसरी सकिन्छ छिटो स्टेचर मगाएर सदरमुकाम लैजाऊँ । अत्याचारीले अत्याचार गर्‍यो तर यो बिजोगलाई हेरेर नबसौँ । मारे भने सबै सँगै मरौँला । एकातिर म बोक्छु । हैन भने डोकोमा हालेर भए पनि म एक्लैले लैजान्छु । मेरो छोरोलाई हेरिदिनु ।’ 

म त जोस्सिएर तयार भइसकेकी थिएँ ।

एकछिनपछि सुदीपले भन्यो– भाउजू, तपाईँ सुत्केरी मान्छे । दाजुको शोकको आलो घाउ छ । बच्चाको यस्तो हालत । भयो जे पर्छ, बालाई म लैजाने प्रबन्ध मिलाउँछु । 

उसले आधा घण्टामा ३०–३५ जना आईमाई र लोग्ने मान्छे भेला गरेछ । सबैलाई उक्साएछ । तबसम्म मैले तन्नाले घाउमा साइँला बाको घाउ बेरिरहेकै थिएँ । बाको अवस्था असचेत थियो । मलाई त बाँच्लान् भन्ने लागेकै थिएन । बाँचेछन्, तैँले मान्नुपर्छ । ती गाउँका बुज्रुक हुन् । 

तेरा बाबाको आदत र ज्ञानका बारेमा तिनलाई थाहा छ । तिनलाई धेरै कुरा थाहा छ । आर्मीले पल्ला गाउँकी माहिलीलाई माओवादी भन्दै पक्रेर लेगेका थिए रे । धरै समय गायब बनाए । पछि सुन्नमा आएको– बलात्कार गरेर मारे रे । अहिले तिनको नाम बेपत्ताको सूचीमा छ भन्ने सुनिन्छ, भन्थे । तेरा बाबा मात्रै होइन छोरा, हजारौं मान्छे निर्मम पीडा ब्यहोरेर मरे । गोठाला मरे, खेताला मरे, घाँसी मरे, कलिला बालबच्चा मरे, महिला मरे, वृद्धवृद्धा सबै मरे– अकालमा मरे । मारिए । मर्न विवस पारिए । यातनाको सिकार बनाइए । कतिपय आर्मीहरूको आँखा निकालिएर, काटेर नुनखोर्सानी छरेर, तड्पाइतड्पाइ मारिए । करेन्ट लगाइएर मारिए । मार्नुमा ठूलो उपलब्धि । पढ्ने र कलम बोक्ने कलिला हातलाई जङ्गल जङ्गल घुमाएर बन्दुक बोक्न बाध्य तुल्याइए छोरा । 

आमा जोसमा बोलिरहिन् । रघु एकोहोरिइरह्यो । आमाले फेरि भन्दै गइन्– जो मरे पनि आखिर आरोपित नै भए– कोही माओवादीका सेना भनिए । कोही पनि होइन या निर्दोष रहेछ भन्ने भए सुराकी भनेर मारे । सेनाले माओवादी मारेका दिन मृत्युत्सव हुन्थ्यो । अहिले पनि औंलामा सुइरो रोपेर यातना बिहोरेकाले रिट्ठे दाइको हातमा क्यान्सर हुनुको कारण त्यतिखेरको सैनिकको कर्तुत हो । करेन्ट जोडेको पानीमा जबर्जस्ती पिसाब फेराउने । महिलालाई कति गायब पारिए, बलात्कृत भएका घटना सबै कहाँ आए होलान् र ! आजसम्म तेरी सानीमाकी दुई जना भदैनीहरू भारतमा बेचेको भन्ने मात्र सुनिएको छ, छोरा कहालीलाग्दा यी कथामा तँ विद्रोही बन्लास् । अनि अर्को प्रतिक्रान्ति नजन्मोस् । तँ विद्रोहको आगो नबाल् छोरा बरू शान्ति र सद्भावले कसैले ल्याउन नसकेको विशाल परिवर्तनलाई विना रक्तपात, सप्रेम सम्भव छ । हो, छोरा । तैँले बुद्धको जस्तो, आजको युगको बुद्ध बनेर देशको बागडोर सम्हाल्नुपर्छ । तर अरु अत्याचारको पराकाष्ठा र प्रताडना पनि सुन्छस् छोरा ? तर म सम्झन्छु–

द्वन्द्वकालमा माओवादीले हैरान पारेपछि घरमा बसेर पढ्न नपाएकाले सुवेदी माइलाको छोरो सुदीप त्यतिखेरै इन्डिया भागेर गएको आजसम्म फर्केको छैन । कैयौं बालबच्चा अपहरित भए, विद्यालयका कलिला विद्यार्थी अपहरित भएपछि विद्यालय जानै मान्दैनथे । आफूतिर तान्न चाहेर घण्टौं हिँडाउँदा मन एकोहोर्‍याउने प्रपञ्च रचियो । हो, साह्रै हैरानी ब्यहोरे । । कत्तिले गाउँ छोडेर शहरतिर, सुरक्षा खोज्दै बिल्लीबाठ हुनुपर्‍यो । पढ्न पाएनन्, उद्योग व्यवसाय चौपट भयो, घरबार छोड्नुपर्‍यो । त्रासले मनोविज्ञानमा पारेको असरबारे त कसरी मूल्याङ्कन होला ? आज उपलब्धिका कुरा छन् बाबै । घाँस काट्न गएकी एम्बुसबाट बँच्न पाइछन । बाबाआमा घरमा कति रोए, तिनमा पत्तो थिएन । आमाको अनुहार सोहोरियो, दुवै ओठ बटारेर मुखभित्र पारिन् । छोरो कुरो बुझ्दैछ किनकि ऊ पीडित परिवारको दुःखी मान्छे हो । 

आजभोलि शहरीकरण बढ्नुको एउटा ठूलो कारण द्वन्द्वकाल पनि त रहेछ छोरा । इतिहास गोरो भनौं कि कालो म मान्छेको रगतको आलो घाउ मात्रको उपलब्धी देख्छु । सभ्यता मास्ने सोचका घटिया जर्जरता नियाल्छु । अधिकारका नाममा अन्धो बनाएर भोट बटुलेपछि कर्तव्य कुल्चेको देख्छु । हो बाबै हो– यो झुटो होइन । तर युद्ध रक्तपातको ज्यादती हो । हाम्रो देशमा युद्ध होइन असल शासन चाहिएको छ । के तँ बुझ्छस् त ? सायद बुझ्लास् ।  

रघुले बुझेको भावमा भावात्मक प्रतिक्रिया जनायो । 

मलाई याद छ, छोरा– मैले आफूले पढेको बाल सुबोधिनी संस्कृत मा.वि.को संस्कृत विशेष पुस्तकालय जलाएर खरानी बनाइदिए । त्यहाँका रघुवंश, वेद, उपनिषद् जलाएर खरानी बनाए अनि जलाइएको पुस्तकालयको छेवैमा एउटा हातले लेखिएको पत्तो भित्तामा टाँसिएको थियो : 

संस्कृत पुरातन मुर्दावाद !
बुर्जुवा शिक्षा खारेज गर !
मार्क्सवाद , लेनिनवाद जिन्दावाद !

ध्यान दिनोस् : आजैदेखि यो स्कुलमा संस्कृत पढाउन बन्द नगरिए अर्को कारवाही गरिनेछ ।

के गर्छस् बाबै ! माओवादीले एम्बुसमा पारेर सैनिक धेरै मारेका दिन, ब्यारेक–थाना कब्जा गरेका दिन मृत्यु उत्सव हुन्थ्यो । 

हो, द्वन्द्वकालपछि मानिसमा अलिकति चेतना जाग्यो । अधिकारको भोक लगायो । बाठो त बनायो तर निराशाको आगो निभेन । उपलब्धी के भयो, त्यो विषयको जिम्मेवार नै को हो ? अब जिम्मेवारी बुझेर या जानेर पनि त अर्थ रहेन । 

रघुले धेरै बुझ्यो तर अलिकति नबुझेको भावमा टोल्हायो । आमाको गतिमा भावुकताको आवाजले उत्कर्ष भर्दै थियो । मानौं वक्तृता कार्यक्रममा बोल्दै छिन् । 

बन्दुक बोक्नेसँग त हतियार थियो, एउटै लक्ष्य थियो तर बन्दुकै नदेख्नेले अत्यन्तै चरम यातनाको शिकार खेप्नुपर्‍यो । अभिमन्युको मृत्यु पनि कमसेकम युद्धमा भयो– मात्र निहत्था, बालक, बाबाको नाम लिँदै गर्दा । हो छोरा तँलाई निर्ममताको उत्कर्षसम्मका कथा कति जर्जर थिए, म भन्नै सक्दिनँ ।

काइँला बाले भन्थे, काठमाडौं पुग्न साह्रै गाह्रो । नेपालगञ्जबाट हिँडेको, गाडीबाट ओरालेर बन्दुक कन्सटमा तेर्‍स्याएर धम्क्याउँदै बाटैपिच्छेका ब्यारेकमा चेक हुने, साह्रै हैरान । 

एकदिन त एक जना यात्रुले रोडमा थुकेछ । ब्यारेक अलि पर रहेछ तर त्यहाँ खटिएको एउटा आर्मीले देखेछ । 

‘कसले थुकेको हँ, यो गाडीमा सबै माओवादी हालेर बोक्छस्,’ ड्राइभरतिर फर्केर त्यसले हप्काएछ, 'सबैलाई गाडिबाट ओराल् ।’

‘हेइ ! सबै जना लाइन लाग् ।’  

उसको छुद्रता र अत्याचारले सीमा नाघिसकेको रहेछ । सबै जना लाइन लागेछन् । त्यसपछि थुक्नेले भनेछ– ‘हजुर गल्ती भयो हजुर ! माफी चाहन्छु । म सोहोर्छु, पुसेर सफा गर्छु ।’

लाइनमै बसिरहँदा त्यो आर्मीले त्यसलाई बुटैबुटले सकेजति हिर्काएछ ।

यत्तिकैमा पाँच सात जना आर्मीले हतियार तेर्‍स्याउँदै सबैलाई कान समातेर टुक्रुक्क बस्न  लगाएछ ।  

थुक्ने चाहिँले फेरि भनेछ– मबाट ठूलो गल्ती भयो हजुर, म पुस्छु । कृपया एकपटक माफी दिनुहोस् हजुर ! 

‘अझ के भनिस् रे, खुरुक्क निहुरेर त्यो चाट् । चाट्छस् कि यो बन्दुकको पासोले तेरो गिदीमा हान्दिऊँ ।’ 

त्यो आर्मीको व्यवहार देखेपछि विचरा एकजना लाइनमा लागिरहेका बूढा यात्रुले त, सुरुवालमै सु–सु गरेछन् ।

‘हैन यो माओवादीलाई कहाँदेखि ल्याइस्’ – ड्राइभरपट्टि फर्केर कड्केछ । ड्राइभरले पनि विचरा चुपचाप काम्दै बस्नै पर्‍यो ।

आखिरमा त्यो थुक्नेवालालाई भुइँको सुकिसकेको ठाउँमा जबर्जस्ती चाट्न लगाएछ । त्यहाँबाट दुई घण्टासम्म सबैलाई कान समात्न लाएपछि मात्रै गाडी छोडेछ । – काइँला बाले भन्थे छोरो । 

रघुको अनुहार क्रोध र पीडाले विक्षिप्त भयो । आमाको रोदनमा एक–एक आँशुको मूल्य बोध गर्दै थियो । रेडियोमा समाचार बोल्दै गर्दा नेताजीको आवाज घन्किएको सुन्थ्यो– युद्धमा सबै दोषी मरेनन् तर जो मरे देशका लागि शहीद भए, आज तिनको उपलब्धीमा हामीले नयाँ नेपाल पाएका छौं ।

रघु आक्रोशमा जोस्सियो । मुट्ठी पार्‍यो । तर...आमाकै कुराप्रतिको ध्यानाकर्षणले घिसारिरह्यो ।

'आमा त्यसो भए मेरा बाले देशका लागि लड्नुभयो ? हामी द्वन्द्वपीडित हौं ?'

हैन छोरा, तेरा बाले त अज्ञानताका लागि लड्नुभयो । हामी द्वन्द्व नै नचाहने किन अर्काले भनिएका द्वन्द्वमा पीडित बन्ने ? हाम्रो सानो सुखी परिवारको अपेक्षाको कुनै पनि कुनामा द्वन्द्व कहिल्यै अटाएन । कलमवीरले कतै पनि अलिकति पनि रगत बगाउँदैन । कलमको मसी खन्याउँछ । बरू मसीको बट्टै लडाउँछ, पोत्छ, कोर्छ । कापीभरि घिनलाग्दा अक्षरले असरल्ल बनाउँछ । मात्रै चेतना र भावनालाई बदल्छ । रगतको तुजुकमा बन्दुकको धम्कीबाट होइन बरू प्रेमको वाणलाई धारिलो बनाएर सर्वसाधारण जनताको ओठमा मुस्कान भरी–भरी चम्काउँछ । 

परिवारमा चारपुस्ते आनन्द (पनातिनी, नातिनी, छोरा–बुहारी, हजुरबा–हजुरामा)मा प्राकृतिक मरण हुन्छ । नयाँले तोते बोल्छ । पुरानोले संसार छोड्छ । मात्र प्रकृतिकै इच्छा । मानिसरूपी यमराज को-किन बन्ने ? हामी मृत्यु उत्सवमा रम्न सक्दैनौं । आज हरेक कुर्सीको लालचीपनमा मृत्यु उत्सवको नगरा घन्किरहेछ । यो समाज, यो देश, यो पृथ्वीमा को चाहिँ सधैंका लागि बाँचिरहन्छ ? 

कमसेकम बाँचुन्जेल यो ओठमा दुई आनाको हाँसो भर्ने अतित मार्गबोधी व्यक्ति हुन्– तेरा बाबा । तेरो बाबासँग प्रतिशोध र शत्रुताको भाव कहीँ कतै पनि थिएन । भो अब मृत्यु उत्सवमा रमाउनेहरूसँग प्रतिशोध नगर् बरू प्रेम गर्ने कोशिश गरेस्, बाबै । शान्तिदूत बुद्धको मार्गमा बाँच्न सिकेस् !
 

कमेन्ट गर्नुहोस्