स्मरणशक्ति नगुमाउनका लागि दिनको नौ हजार पाइला हिँड्नुस् !

काठमाडौं – दिनदिनै हल्काफुल्का व्यायाम गर्दा स्मरणशक्तिको ह्रास र व्यवहार परिवर्तन रोक्न सहायता गर्छ । 

हार्वर्ड मेडिकल स्कूलका अनुसन्धानकर्ताहरूले दिनको ९ हजार पाइला (लगभग ८ किलोमिटर) हिँड्दा अल्जाइमरको समस्या कम गर्न सकिने बताएका छन् । कुल १८२ मानिसमाथि गरिएको अनुसन्धानबाट यो कुरा सार्वजनिक भएको हो । 


Advertisement

न्युरोलोजी जर्नलमा प्रकाशित अनुसन्धान निष्कर्षका अनुुसार, स्मरणशक्ति कम हुँदै गएका मानिसका लागि दिनदिनैको हिँडाइ लाभदायक हुन्छ । स्मरणशक्ति गुमाउने रोग अल्जाइमर उमेर बढ्दै जाँदा चर्किन्छ । मस्तिष्कमा एमिलोयड बीटा नामक प्रोटीनको स्तर बढ्दा यस्तो स्थिति आउने वैज्ञानिकहरूको भनाइ छ । 

शारीरिक गतिविधिबाट स्मरणशक्ति सुधार्न अनि रक्तचाप, मोटोपन र मधुमेहको जोखिमलाई घटाउन सकिन्छ । 


Advertisement

अनुसन्धानमा सहभागी १८२ मानिसको सोच्ने बुझ्ने क्षमता र स्मरणशक्तिलाई विगत सात वर्षमा दुईपटक जाँचिएको थियो । उनीहरूको कदममा नजर राख्ने पेडोमिटर लगाइयो र सात दिनसम्म पैदल हिँडेको प्रभाव हेरियो । 

अनुसन्धानमा सहभागीहरूको मस्तिष्कको स्क्यान गरेर एमिलोयड प्रोटीनको स्तर हेरियो । अनुसन्धानकर्ताहरूका अनुसार, विगतका अनुसन्धानहरूले पनि व्यायामबाट यस प्रोटीनको स्तर बढ्न रोक्ने देखाएका छन् । सक्रिय जीवनशैली भएका मानिसका दिमागका कोशिकामा कमी आउन पाउँदैन र एमिलोयड बीटा प्रोटीन नियन्त्रणमा रहेको पाइयो ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्