विश्वविद्यालय नपढ्ने पशु अनुशासित, विद्वान् मान्छे चाहिँ अराजक ?

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

अद्भूत प्राणी हो मान्छे । यो जस्तो प्राणी अरु जन्माएको छैन प्रकृतिले । सम्भवतः उसको भण्डारमै छैन मान्छे जस्तो अन्य प्राणीको बिऊ ।

विश्व–ब्रह्माण्डमा मानिस मात्र यस्तो प्राणी हो, जो एक मुठी खरानीका लागि घर पोल्न पनि बेर लगाउन्न । आफैं बसेको रुखको फेदमा बञ्चरो चलाउन पनि पछि पर्दैन ।


Advertisement

ऊ एक्लै बस्न पनि सक्दैन सितिमिति मिलेर बस्न पनि रुचाउन्न । खुरापाती सोचप्रति राम्रै जानकार छ मानिस । उसलाई कसैले केही भन्छन् कि भन्ने डर हमेशा रहेको हुन्छ । सायद सभ्यताको मुकुण्डो यसै निम्ति आवश्यक परेको हुनुपर्छ उसलाई । यसले उसलाई सज्जन मात्र होइन दयालु र परोपकारी पनि देखाएको छ तर आफ्नो स्वभाव कुन सड्को फुत्किन्छ उसैलाई पत्तो हुँदैन ।

प्रकृतिमा मानिसबाहेक अन्य कुनै प्राणीले स्कूल, क्याम्पस खोलेका छैनन् । पशुहरूका न विद्यालय छन् न महाविद्यालय नै । पक्षीहरूको अवस्था पनि त्यस्तै हो । कीरा, कमिलाका अवस्था पनि त्यस्तै हो । न स्कूल, न क्याम्पस, न विद्यालय न विश्वविद्यालय । न पाठ्यक्रम न पाठ्यपुस्तक । उनीहरूलाई यसको आवश्यकता नै पर्दैन । उनीहरू भित्र जस्ता हुन्छन् बाहिर पनि त्यस्तै देखिन्छन् । किनकि उनीहरू प्रकृतिको पाठशालाबाट प्रशिक्षित छन् ।


Advertisement

जहाँ न बनावटी छ न अभिनय । भित्र बाहिर एउटै हुन्छ सोलोडोलो । उनीहरू स्वधर्ममा रहेका छन्, स्वअनुशासनमा आवद्ध हुन पुगेका छन् । उनीहरूलाई थुपार्नु पनि छैन, देखाउनु पनि छैन । चाहिने जति लिन्छन्, अरु जस्ताको त्यस्तै छाडिदिन्छन् । न चोरी, न डकैती, न हत्या, न बलात्कार । 

मानिस मात्र यस्तो प्राणी हो, जसका लागि स्कूल चाहिएको छ, क्याम्पस चाहिएको छ । विद्यालय, विश्वविद्यालय सबै आवश्यकता पर्छ उसलाई । पाठ्यक्रमको आवश्यकता,  पाठ्यपुस्तकको आवश्यकता, कपि, कलमको आवश्यकता यस्तै यस्तै । कानून पनि चाहिएको छ, व्याख्या र बहस पनि चाहिएको छ । धार्मिक पुस्तक पनि चाहिएको छ । धर्मगुरु पनि चाहिएको छ । कथा प्रवचन पनि भएकै छन् । भजन, कीर्तन पनि चलेकै छन् । नैतिक शिक्षा पनि चाहिएको छ, नीतिशास्त्रको आवश्यकता पनि परेकै छ । तैपनि उस भित्रको खलनायकीपन उदाङ्गो हुन छाडेको छैन । छोप्न खोज्दैमा टालेको कपडा किन पो छोपिन्थ्यो र ?

अनुहार राम्रो देखाउन मानिसले कानून पनि बनायो, न्यायालय पनि बनायो । धार्मिक पुस्तक पनि लेख्यो, कथा प्रवचन तथा भजन कीर्तनको व्यवस्था पनि गर्‍यो । तैपनि मानिस बाहिर जस्तो देखिन्छ भित्र त्यस्तो हुँदैन, हुन सकिरहेको छैन । बाहिर सद्धे देखिए पनि भित्र कतै न कतै कीरा लागेकै हुन्छ । 

थोरै गनाउने पनि छन् । धेरै गनाउने पनि छन् । गन्ध हटाउन केमिकल छर्कने पनि छन् । तथापि गन्धले उपस्थिति जनाएकै हुन्छ कुनै न कुनै रूपमा । यसमा कानून लेख्ने पनि जानकार छन्  । कानूनको व्याख्या र बहस गर्नेहरू पनि जानकार छन् । धार्मिक पुस्तक लेख्ने तथा व्याख्या गर्दै हिँड्नेहरू पनि जानकार छन् । किनकि सबै एउटै पाठशालाबाट आएका हुन् । एउटै कारखानाका उत्पादन हुन् ।

यिनै शिक्षा, शैक्षिक निकाय, कानून, कानूनी निकाय, धार्मिक पुस्तक तथा व्याख्या विश्लेषण नै अभिशाप बन्न पुगेको छ मानिसका लागि । यिनैले प्रतिस्पर्धा गर्न सिकाएका छन् । मेरो र उसको भन्न लगाएका छन् ।

अरुलाई उछिनेर अघि बढ्नुपर्छ भन्ने पनि यिनीहरू नै हुन् । वीरभोग्या वसुन्धरा भन्ने र भन्न लगाउने पनि यिनै हुन् । प्रतिस्पर्धाको दौडमा जो–जो अगाडि आए, आउन सके उनीहरू मालामाल भए । जो–जो आउन सकेनन्, उनीहरूले त्यसैलाई खोस्न अकै बाटो समाए । यसैले नै मानिसलाई चोर बनायो, डाकु बनायो । लुच्चा, फटाहा, बलात्कारी, हत्यारा के–के बनायो के–के । 

जतिबेलासम्म उपरोक्तानुसारको व्यवस्था भएको थिएन त्यतिबेलसम्म चोरी, डकैती, हत्या, बलात्कार, तस्करी, लुटपाट आदि पनि थिएन । मानिस घर विना पनि बस्न सक्थे घरका ढोका पनि खुलै हुन्थे ।

जतिबेलादेखि प्रतिस्पर्धा गर्न सिके, सिकाए त्यतिबेलादेखि सबै चाहियो । तैपनि मानिसको खलनायकीपन हट्नुको बदला झन्–झन् बढ्दै गएको छ ।

कमेन्ट गर्नुहोस्