अमेरिकामा शृंखलाबद्ध गोलीकाण्ड : बन्दूक सम्बन्धी खुकुलो कानून र जातिवादको दुष्परिणाम

विन्देश दहाल
विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

तस्वीर स्रोत : allthatsinteresting.com

अमेरिकामा बितेको २४ घन्टामा दुई बेग्लाबेग्लै ठाउँमा भएका गोलीकाण्डमा लगभग ३० जनाको मृत्यु भएको छ । 

मेक्सिकोसँग सीमा जोडिएको टेक्सस राज्यको एल पासोमा २० जनाको ज्यान जाने गरी भएको आक्रमणको केही घन्टा  नबित्दै ओहायो राज्यको डेटनमा नौजनाको ज्यान जाने गरी अर्को आक्रमण भएको छ । 


Advertisement

एक हप्ताअघि मात्र क्यालिफोर्नियाको गिलरोयमा एक व्यक्तिले गोलीकाण्ड मच्चाउँदा तीनजनाले ज्यान गुमाउनुपरेको थियो । 

अमेरिकामा गोलीकाण्डको लामै इतिहास छ । सन् २०१९ मा मात्र १७ वटा गोलीकाण्ड भइसकेका छन् । 

अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले तीन वा त्यसभन्दा बढी मानिसको एकै ठाउँमा हत्या गरिएमा त्यसलाई गोलीकाण्ड (मास शूटिङ) भनी परिभाषित गर्ने गरेको छ । 

अमेरिकामा यति धेरै गोलीकाण्ड हुनुमा सजिलै बन्दूक बोक्न पाइने कानून नै सबभन्दा ठूलो कारण हो । जसले पनि सजिलै बन्दूक र गोली किन्न पाउनाले अतिवादी विचार बोक्ने वा मानसिक समस्या भएका मानिसले पनि बन्दूक चलाउने र निहत्था मानिसको सामूहिक हत्या गर्ने गरेका छन् । 

बन्दूकमा रोक लगाउनका लागि अमेरिकामा विभिन्न पहल भएका छन् तर बन्दूकको पैरवी गर्ने संगठन नेसनल राइफल एसोसिएसन अत्यन्तै शक्तिशाली छ र उसले देशका दुवै मुख्य दल रिपब्लिकन र डेमोक्रटलाई चन्दा दिने गरेको छ । त्यसैले बन्दूक बोक्न प्रतिबन्ध वा नियन्त्रण अत्यन्तै गाह्रो छ । बन्दूकमा नियन्त्रण गर्न नसकेपनि कम्तीमा खरिदकर्ताको पृष्ठभूमि परीक्षण गर्नुपर्ने कानून ब्रेडी याक्टमा अनेकौं छिद्रहरू रहेकाले जोकोहीले पनि बन्दूक किन्न सक्छ । 

अमेरिकामा कुनै पनि गोलीकाण्ड भएको केही दिनसम्म बन्दूक नियन्त्रण सम्बन्धी कुरा उठ्ने तर पछि गएर सामसुम हुने अनि जिन्दगी सामान्य गतिमा अघि बढ्ने गरेको छ । पछि अर्को गोलीकाण्ड मच्चिन्छ र फेरि कुरा उठ्छ र सामसुम हुन्छ । यो शृंखला अनन्तसम्म चलिरहन्छ । बरू न्युजील्यान्डको क्राइस्टचर्चमा ४९ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि सरकारले बन्दूकमाथि नियन्त्रण लगाएर सर्वसाधारणलाई बन्दूक राज्यलाई हस्तान्तरण गर्न भनेको थियो र जनताले त्यो कुरा माने । तर अमेरिकाको शक्तिशाली बन्दूक समूहले यसो हुन दिँदैन । बन्दूकमाथि नियन्त्रण गर्न खोज्दा अमेरिकी संविधानको दोस्रो संशोधनको हवाला दिँदै त्यसमा रोक लगाउन नमिल्ने तर्क बन्दूकपैरवी समूहले दिन्छ ।

अमेरिकाको यही कानूनको फाइदा अहिले जातिघृणाको विचारधारा राख्नेहरूले उठाउन थालेका छन् । श्वेत राष्ट्रवाद अर्थात् अमेरिका गोराहरूको मात्र हो भन्ने सोच पाल्नेहरूले अश्वेतहरूमाथि आक्रमण गर्ने गरेका छन् । टेक्ससमा हिजो भएको आक्रमण गर्ने व्यक्तिले हिस्प्यानी समुदायका मानिसले अमेरिकामा अतिक्रमण गर्न थालेको भन्दै जातिवादी घोषणापत्र इन्टरनेटमा अप्लोड गरेका थिए । त्यसपछि उनले हिस्प्यानी समुदायहरूलाई लक्षित गरी गोलीकाण्ड मच्चाएका थिए ।

अमेरिकामा आप्रवासीहरूको संख्या बढ्दै जाँदा जातिघृणाका अपराध पनि बढ्दै गएका छन् । अमेरिकाको सान्ता बारबरामा रहेको क्यालिफोर्निया स्टेट विश्वविद्यालयमा मुख्यालय भएको द सेन्टर फर द स्टडी अफ हेट यान्ड एक्सट्रिमिजमले गरेको अनुसन्धान अनुसार, सन् २०१८ मा अमेरिकाका ३० प्रमुख शहरमा जातिघृणाको अपराध विगतको तुलनामा ९ प्रतिशतले बढेको छ । श्वेत क्रिस्चियन मूल्यमान्यतालाई आप्रवासीहरूले खतरामा पारेको भन्दै केही अतिवादी युवकहरूले इतर जातिका मानिसलाई सामूहिक गोलीकाण्डमा हत्या गर्ने गरेका छन् ।

जातिघृणाको यो आगोमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले घिउ थप्ने काम गरेका छन् । काला जातिका मानिस र मुसलमानहरूलाई ट्रम्पले स्पष्ट रूपमा मन नपराएको देखाउने गरेका छन् । उनले इतर जातीय तथा इतर धार्मिक समुदायका व्यक्तिहरूविरुद्ध अपमानजनक भाषाको समेत प्रयोग गर्ने गरेका छन् । देशका सर्वोच्च नेताको यस्तो व्यवहारबाट देशका अतिवादी युवकहरू प्रेरित हुनु अनौठो पनि छैन । 

एल पासोका सांसद बेटो ओ रूर्कले त प्रस्ट रूपमा ट्रम्प जातिवादी भएको र उनले अमेरिकीहरूलाई आप्रवासीसँग डराउन उत्प्रेरित गरेको आरोप लगाए । ट्रम्पले मुसलमान, आप्रवासी र काला जातिका मानिसविरुद्ध शत्रुतापूर्ण टिप्पणी गर्ने गरेकाले जातिघृणाले प्रेरित भएर गरिने आक्रमण बढेको स्पष्ट पारे ।

गोलीकाण्डमा पुरुषहरू मात्र संलग्न हुनु पनि उल्लेख्य पक्ष हो । पश्चिमी संस्कृतिलाई आधुनिकताले भित्रैबाट खोक्रो पार्दै लगेकाले यसप्रति एक किसिमको विरक्ति युवावर्गमा आउन थालेको विश्लेषण पनि हुने गर्छ । त्यस्तो विरक्तिले जन्माएको शून्यताको अनुभव र आक्रोशलाई श्वेत युवकहरूले इतर जातीय मानिसको आप्रवाससँग जोडेर आफ्नो आक्रोश पोखेका हुनसक्छन् । अनि उनीहरूको आक्रामकतालाई अभिव्यक्ति दिनका लागि बन्दूक बोक्न पाउने खुकुलो कानून अमेरिकामा छँदैछ । अमेरिकन मेडिकल एसोसिएसनले बन्दूकमार्फत गरिने हिंसालाई महामारीकै रूपमा वर्णन गरे पनि अमेरिकाको बन्दूकपैरवी समूहले बन्दूकमा नियन्त्रण गर्न रोक लगाइरहेको छ । 

अमेरिकाको जनसंख्या कुल विश्वको जनसंख्याको ५ प्रतिशत पनि छैन तर सामूहिक हत्या गर्ने बन्दूकधारीहरूको विश्वव्यापी संख्यामा अमेरिकीहरू ३१ प्र्रतिशतमा पर्छन् । बन्दूकमाथि नियन्त्रण नगर्ने हो भने अमेरिकामा सामूहिक हत्याको शृंखला रोकिनै सक्दैन । धेरैवटा गोली राखेर चलाउन मिल्ने बन्दूकमा त प्रतिबन्ध लगाउनैपर्छ । अनि बन्दूक किन्ने मानिसको पृष्ठभूमि परीक्षणमा निकै कडाइ गर्नुपर्छ । आप्रवासनलाई व्यवस्थित गर्ने अनि अन्तर्जातीय संवादमा जोड दिने कामले जातिघृणालाई घटाउन सक्छ । तर यी सब कुरालाई दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने हुन्छ । गोलीकाण्डको बेलामा मात्र यी कुराहरू उठाउने अनि अरू बेलामा यसलाई बेवास्ता गर्ने कामले अमेरिकामा बन्दूकबाट हुने हिंसाको शृंखलालाई कायम राख्नेछ ।   
 

कमेन्ट गर्नुहोस्