मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ३ दिनदेखि तालाबन्दी

फाइल फोटो

सुर्खेत – ३ दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन्  ।

विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।


Advertisement

विभिन्न माग राख्दै ३ दिनयता स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी संगठनले ताला लगाएका छन् ।

उपकुलपतिको कार्यालय, रजिस्ट्रारको कार्यालय र लेखा शाखामा तालाबन्दी गरिएको स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अध्यक्ष झक्क शाहीले जानकारी दिए । आफ्ना माग पूरा नगरेसम्मका लागि तालाबन्दी गरिने उनले बताए ।


Advertisement

विद्यार्थी संगठनले विश्वविद्यालयको हरेक वर्ष वृद्धि हँुदै आएको १० प्रतिशत शिक्षण शुल्क तत्काल खारेज गर्नुपर्ने, तत्काल स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकको दोहोरो सुविधा खारेज गर्नुपर्ने, यसअघि स्ववियू विद्यार्थी संगठन र इञ्जिनीयरिङ संकायका विद्यार्थीसँग गरिएका सहमतिहरु तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै साउन १ गते रजिस्ट्रारलाई ज्ञापनपत्र बुझाएका थिए ।

आफ्ना माग पूरा नभए मंगलवारदेखि विश्वविद्यालयका पदाधिकारीको सवारीसाधन अनिश्चितकालका लागि बन्द गर्ने तथा अन्य आन्दोलनका कार्यक्रम अहिलेलाई स्थगित गरेको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष शाहीले बताए । ‘विश्वविद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाले विद्यार्थीका मागलाई लिएर वार्तामा बस्ने भनिसकेपछि आन्दोलनका थप कार्यक्रम रोकेका छौं,’ शाहीले भने, ‘विश्वविद्यालयमा तालाबन्दी भने यथावत राखेका छौं ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्