युरोप लान्छु भनी अवैध अन्तर्वार्ता, वैदेशिक रोजगार विभागको छापा

काठमाडौँ - राजधानीस्थित एलायन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागी विज्ञापन गरी अन्तरवार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले आकस्मिक अनुगमन गरेको छ ।

अवैध वैदेशिक रोजगारसम्बन्धी कार्य गरिरहेको भन्ने उजुरीको आधारमा आइतवार विभागवाट खटिगएको आकस्मिक टोलीले गौशला प्रहरीको सहयोगमा उक्त कन्सल्टेन्सीमा आकस्मिक अनुगमन गरेको महानिर्देशक भिष्मकुमार भुसालले जानकारी दिए ।


Advertisement

अनुगमनको क्रममा उक्त कन्सल्टेन्सीबाट साइप्रसमा वैदेशिक रोजगारमा जानअवेदन दिएका व्यक्तिहरूको आवेदन फाइल तथा राहदानीको स्क्यान कपी, कामदार भिषा र युरोपका विभिन्न मुलुकमा कामदार भिषामा पठाएका व्यक्तिहरूको विवरण समेत अनुगमन टोलीले फेला पारेको थियो ।


Advertisement

टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगार सम्वन्धी कागजात र कम्प्युटर सीपीयु जफत गरी ल्याएको छ भने संचालक सुजित कुमार श्रेष्ठलाई  आवश्यक बयानका लागि विभागमा उपस्थित हुन पत्र थमौती गरेको छ ।

पछिल्ला दिनहरुमा शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर विभिन व्यक्तिहरूसँग मोटो रकम लिई नियमविपरीत विभिन्न मुलुकमा वैदेशिक रोजगारको लागि पठाउने गरेको उजुरी विभागमा प्राप्त भैरहेको भुसालले बताए । यस सम्बन्धमा विभागले शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी अनुगमनको कार्यलाई तिव्रता दिने नीति लिएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्