एउटा उद्योगले फेरेको नवलपुरको कथा : घरैपिच्छे रोजगारी, शिक्षा-स्वास्थ्यमा अब्बल !

फेरिँदै बस्तीको मुहार, स्थानीयको जनजीवनमा समेत उल्लेख्य सुधार

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

नवलपुर – अल्पायुमै पतिको निधन भएपछि देवचुली नगरपालिका वडा नम्बर ४ झाँक्रेकी हरिमाया थापाको काँधमा ५ जना छोरीको लालनपालन र पढाइको जिम्मेवारी आइपर्‍यो । 

चार छोरी जन्मिने बेलासम्म घर नभएर माइतीमै बसिरहेकी हरिमायाले आफ्नै कमाइले ३० हजारमा एक कठ्ठा जमिन जोडिन् । पाँचौं सन्तानको जन्मपछि उनका पतिको निधन भयो ।


Advertisement

केही वर्षको अन्तरालमा आफ्नै पौरखले सानो घर बनाइन् र आफ्ना छोरीहरूलाई स्तरीय स्कूलमा शिक्षा दिइरहेकी छिन् ।


Advertisement

अन्य आम्दानीको स्रोत र पुर्ख्यौली जमिन समेत नभएकी हरिमायाको जीवन जिउने आधार बनेको छ, चौधरी ग्रुपमा पाएको जागिर ।

एक जनाको कमाइले ५ छोरी पढिरहेका छन् । जेठी छोरी लक्ष्मीले कावासोतीमा रहेको गण्डकी कलेजबाट ल्याब टेक्निसियनको पढाई पूरा गरेर अहिले इन्टनशीप गरिरहेकी छिन् ।

माइली छोरी सीता विश्वज्योती बोर्डिङमा कक्षा १० मा पढ्दैछिन् । सिर्जना, सृष्टि र जुनिका प्रगतिनगरको विश्वज्वोति बोर्डिङमा क्रमश ९, ५ र ४ कक्षामा अध्यनरत छन् ।

सिर्जनाको फेसन डिजाइनर बन्ने सपना छ भने सृष्टिको बिजनेस म्यान बन्ने धोको ।

उद्योगमा काम गरिरहेको समयमा माइली छोरीको जन्म भयो । सीजीआईपीमा काम गर्ने कर्मचारीहरूबीच ‘सीउजी छोरी’को नामबाट परिचित उनलाई सीजीले आवासीय पूर्ण छात्रवृत्तिमा पढाइरहेको छ ।

हरिमाया र उनका छोरीहरू

चौधरी उद्योग ग्रामको नामबाट उनको उपनाम जोडिएको हो । चौधरी ग्रुप इन्डस्टियल पार्कमा काम गर्दागर्दै बच्चा जन्मिएको यो पहिलो घटना थियो । चार छोरीको पढाइका लागि चौधरी ग्रुपले पनि सहयोग गरिरहेको छ ।

‘एकपटक श्रीमानले गोरखामा रहेको गाउँ जाउँ भनेर जिद्दी गरेका थिए, बरु म तिम्लाई छाड्न सक्छु जागिर छाड्न सक्दिनँ भनेर यहीँ काम गरें,’ हरिमाया सम्झिन्छिन्, ‘म गाउँमा गएको भए छोरीहरूले कहाँ पढ्न पाउँथे ?’

विवाह नगर्दै काम शुरू गरेकी हरिमायालाई स्वाथ्यले साथ दिएसम्म बुढेसकालमा लौरो टेकेर पनि काममा जाने रहर छ । 

***

२०५१ सालसम्म रजहरकी सबिता रेग्मीको जीवन राम्रै चलिरहेको थियो ।

श्रीमान अधिकृत स्तरको जागिर गर्दथे । सबिताले घरको व्यवहार धानेकी थिइन् । दुर्घटनामा श्रीमानको मृत्यु भएपछि उनको जीवनमा बज्रपात आइपर्‍यो ।

श्रीमानको मृत्यु भएपछि बिचल्लीमा परेकी सबिताले २०५२ सालमा चौधरी ग्रुपमा दैनिक ज्यालादारी काम शुरू गरिन् । जागिर गरेरै सबिताले बालबच्चालाई स्तरीय शिक्षा दिइन् ।

सबिता रेग्मी

जेठो छोरा सञ्जय रेग्मी अध्ययनका लागि अमेरिका छन् भने कान्छो छोरा सबल सुवेदीले सरकारी छात्रवृत्तिमा चितवनको पुरानो मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका छन् ।

पहिलो पतिको निधनपछि उनले दोस्रो बिहे गरिन् । दुई छोरीले पनि स्नातकोत्तर पूरा गरिसकेका छन् ।

‘अहिलेसम्मको कमाइ बालबच्चा पढाउनमै खर्च भयो, भर्खरै मात्र घर बनाएर घरमा सरेकी छु,’ मजदूर हुँदै ट्रेड युनियनको नेतृत्व तहमा पुगेकी सबिता भन्छिन्, ‘मेरो मात्र होइन, मसँग काम गर्ने धेरै मानिसको जीवनमा परिवर्तन आएको प्रत्यक्ष देखेकी छु । हिजो खेतबारीमा काम गर्दा म्याक्सी लगाएर काममा आउने महिलाहरू अहिले कार चढेर हिँड्न थालेका छन् ।’  

यी दुई प्रतिनिधि पात्र मात्र हुन् । आफ्नै ठाउँमा उपलब्ध रोजगारीका कारण नवलपुरका विपन्न महिलाहरूले घरपरिवार सम्हाल्नेदेखि छोराछोरीलाई स्तरीय शिक्षा दिलाउन सफल भएका छन् ।

२०५२ सालमा चौधरी ग्रुपको स्थापना भएपछि देवचुली आसपासका क्षेत्र आर्थिक रूपमा कोल्टे फेर्दैछ ।

‘चौधरी उद्योग स्थापना हुनुभन्दा पहिले यहाँ मानिसहरू हिँडडुल गर्न डराउँथे, अहिले विकास भएर यहाँको जग्गा छोइसक्नु छैन,’ स्थानीय ८० वर्षीय बोधराज पौडेलले भने । 

स्थानीयका अनुसार दुई दशक अगाडिसम्म ५० हजारमा पाइने एक कट्ठा जमिनको मूल्य अहिले करोड नाघेको छ।

चौधरी ग्रुप इन्डस्ट्रियल पार्क (सीजीआईपी) स्थापनासँगै स्थानीय २ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्, ६ सय त महिला मात्र छन् । यसका अतिरिक्त सयौंले अप्रत्यक्ष रोजगारी पाएका छन् । ‘रोजगारी नपाएको घर नै छैन होला, चौधरी ग्रुपमा रोजगारी पाइन्छ भनेर मानिसहरू यस क्षेत्रमा बसाइँ सरेर समेत आउने गरेका छन्,’ स्थानीय किसन अधिकारी भन्छन् ।

सीजी शाश्वतधाम

सीजीको स्थापनापछि यस क्षेत्रको आर्थिक सामाजिक विकासमा ठूलो टेवा पुगेको देवचुली– ४ का स्थानीय बासिन्दा विद्या विश्वकर्माको अनुभव छ ।

‘हिजोको परिवेश र सिजी स्थापना भइसकेपछि समाजिक जीवनस्तरमा धेरै भिन्नता छ, जनताको जीवनस्तर र समृद्धिको सबालमा धेरै ठूलो परिवर्तन आयो,’ विश्वकर्मा भन्छन्, ‘जीनव निर्वाहको सबाल र अर्थिक सशक्तिकरणमा सकारात्मक प्रभाव पारेको छ । शैक्षिक प्रभावहरू परेको छ । मानिसमा चौतर्फी विकास भयो । मानिसमा आर्थिक कारणले चौतर्फी प्रभाव पर्दोरहेछ ।’

नेपालमा सशस्त्र जनयुद्ध शुरू हुने बेलामा खुलेको सीजीआईपी दशक लामो सशस्त्र द्वन्द्वको समयमा पनि खुम्चिएन, बरु फस्टायो । त्यसैले त अहिले पनि नेपालकै अग्रणी उद्योगका रूपमा स्थापित छ ।

महिलाको कमाइले राम्रोसँग चल्छ परिवार

कावासोतीकी जानुका पाठकको परिवार दश वर्षसम्म काठमाडौंको बालाजु बाइपास क्षेत्रमा किराना पसल सञ्चालन गरेर बस्यो । तर अपेक्षित कमाइ नभएपछि पाठक परिवार नवलपरासी फर्कियो ।

गाउँ फर्केपछि जानुकाले सीजीमा काम पाइँन् । ‘व्यापारबाट कमाइ नभएपछि हामी यतै आयौं, म जागिर गर्न थालें, श्रीमान घर चलाउनुहुन्छ । व्यापारबाट भर थिएन, जागिर खाएपछि छोराहरूलाई पढाउन सक्यौं,’ जानुकाले भनिन्। 

जानुका जस्तै लक्ष्मीपुरकी सरस्वती शाही र रजहरकी मायादेवी पाण्डेका पनि श्रीमान घरमा काम गर्छन्, श्रीमतीले जागिर गरेर घरको आर्थिक कारोबार चलाएका छन् ।

‘पहिला श्रीमानले इन्डियामा काम गर्नुभयो, अहिले उहाँले काम गर्न सक्नुहुन्न, मैले जागिर गरेकी छु,’ पाण्डेले भनिन् ।

घरधन्दा र चुलोचौकोमा सीमित महिलाहरू जागिरमा गएपछि जीवनस्तरमा सुधार आएको मात्र नभई छोराछोरीको अध्ययनमा समेत टेवा पुगेको छ । देवचुलीकी दुर्गा भट्टराई त्यसको उदाहरण हुन्, २०६२ सालदेखि उनी सीजीमा कार्यरत छिन् । 

‘जागिर नहुँदासम्म गुजारा चलाउन धेरै कठिन थियो । यसको बयान कहाँबाट शुरू गरौं ? गुजारा चलाउन घाँस दाउरा गर्ने र बाख्रा पाठा पाल्ने काम गरेकी थिएँ । तर पनि मलाई धौधौ परेको थियो । जागिर गरेपछि छोरीलाई पढाउन सकें । छोरीले अहिले कमर्सबाट ब्याच्लर पूरा गरिन्,’ उनले भावुक हुँदै भनिन् । 

सीजीको 'वाइ वाइ प्याक्ट्री'मा काम गर्दै मजदूरहरू

महिला आत्मनिर्भर बन्दा घट्यो घरेलु हिंसा !

देवचुली नगरपालिका वडा नम्बर २ की वडा सदस्य दुर्गा पौडेल रोजगारीले महिलाहरूको आत्मबल बढेको अनुभव सुनाउँछिन् । ‘घर झगडा र विवादमा आर्थिक विषय जोडिएको हुन्छ । आर्थिक रूपमा सक्षम भएपछि महिलामाथि घरेलु हिंसा र झगडा पनि घट्दो रहेछ,’ पौडेल भन्छिन् । 

प्रत्यक्ष रोजगारी नपाएका महिलाहरू पनि आफ्नै व्यवसाय मार्फत् आत्मनिर्भर बन्ने बाटोमा लागेको उनको बुझाइ छ । 

‘यहाँ हाम्रो क्षेत्रमा केही समस्या होलान् तर सीजीका कारण महिलाहरूले पाएको अवसर अतुलनीय छ,’ पौडेलले भनिन् । पुरुषको तुलनामा महिलाले जागिर गरेको घर व्यवस्थित रहेको उनको मूल्यांकन छ ।

बा–आमाको रोजगारीले बालबालिकाको मनोविज्ञानमा प्रभाव

देवचुली ४ मा रहेको शान्ति सिर्जना निम्न माध्यमिक विद्यालय झाँक्रेका कयौं विद्यार्थीका बुवा अथवा आमा जागिरे छन् । पूर्व–पश्चिम राजमार्गबाट करीब ३ किलोमिटर उत्तरमा रहेको यो स्कूलमा विपन्न बर्गका बालबालिका अध्ययनतर छन् । यो स्कूलमा चौधरी ग्रुपले कम्प्युटर सहितको डिजिटल क्लास रूम र खानेपानीको फिल्टर समेत उपलब्ध गराइदिएको छ । ३ कक्षाभन्दा माथिका विद्यार्थीले कम्युटर कक्षा पनि लिइरहेका छन् । 

कम्प्युटर कक्षामा छात्राहरू

विद्यालयकी शिक्षिका निर्मला वली लम्साल आमाबुवाको जागिरसँग बालबालिकाको मनोविज्ञान जोडिने गरेको बताउँछिन् । ‘जागिरे बुवाआमा छोराछोरी सफा भएर स्कूल आउँछन्, उनीहरूलाई कापीकलमको अभाव हुँदैन ।

महिलाका लागि रोजगारी ठूलो कुरा रहेछ,’ वली भन्छिन्, ‘त्यसमा पनि आमाले जागिर गरेका बच्चालाई त विशेष ख्याल गरेको देख्छु ।’ महिला आर्थिक रूपमा सक्षम हुँदा घर झगडा र समाजमा महिला हिंसाका घटना समेत कम सुनिने गरेको अनुभव उनले सुनाइन् । 

शान्ति सिर्जना निम्न माध्यमिक विद्यालय

निर्मला वलीको भनाइमा नेपाल नमूना मावि देवचुलीकी शिक्षिका निर्मला कंडेल पनि सहमत छिन् ।

‘जागिरे आमाबुवाले छोराछोरीको बढी केयर गरेको देखिन्छ, विद्यार्थीका लागि न्युनतम आवश्यकता पूर्ति गरिदिँदा अध्ययनमा समेत सकारात्मक प्रभाव पर्दोरहेछ,’ कंडेलले भनिन् । गैडाकोटदेखि कावासोतीसम्मको राजमार्ग आसपासका धेरै घरका महिलाहरू रोजगारीमा छन् ।

शिक्षिकाद्वय र वडा सदस्य

‘घरमा समेत टेर्नुहुन्थेन, समाजमै सम्मानित भएँ’

सीजीमै काम गरेका केही कामदार ट्रेड युनियनको राजनीति गर्दै केन्द्रीय तहसम्म पुगिसकेका छन्, ती मध्येकी एक हुन् पवित्रा शर्मा । १९ वर्षअघि दैनिक ज्यालादारीमा काम शुरू गरेकी शर्मा ट्रेड युनियन कांग्रेसको केन्द्रीय स्तरको नेता बनिन् । ‘घरधन्दामा सीमित रहेको व्यक्ति यहाँ काम गरेर आत्मबल बढेको छ । घर परिवारमा सम्माननित नभएको व्यक्ति अहिले समाजमा सम्मानित भइयो,’ शर्माले भनिन् । 

शारीरिक रूपमा असक्त देवचुली छिपेनीकी हिमा थनेत ९ वर्षदेखि सीजीमा काम गरिरहेकी छिन् । घरमै बसेर काममा जाने/आउने गर्ने हिमा जागिरले आफूलाई आत्मबल बढेको बताउँछिन् ।

‘अरूको भरमा बाँच्नुपरेको छैन, बरू कमाएर घर परिवारलाई सहयोग गर्न सकेकी छु, म सन्तुष्ट छु,’ उनले भनिन् । उनी उद्योगमा अपांगमैत्री संरचना बनेको खण्डमा आफूजस्तै अपांगता भएका अन्य व्यक्तिहरूले पनि आत्मनिर्भर बन्ने असवर पाउने बताउँछिन् । 

‘फेरिएको बोटे गाउँ, घरैपिच्छे रोजगार’

नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १ को राजमार्गबाट एक किलोमिटर दक्षिणमा बोटे गाउँ छ ।

केही वर्ष अघिसम्म पनि यहाँका स्थानीयहरू माछा मारेर जीवन गुजारा गरिरहेका थिए । त्यसले उनीहरूको जीविका चल्न मुस्किल थियो । अहिले बोटेगाउँका अधिकाशं युवा माछा मार्न होइन जागिर गर्न मोटरसाइकल र साइकलमा हिँड्छन् । रोजगारीका कारण बोटे गाउँको मुहार नै फेरिएको छ । प्रत्येक घरबाट एक जनाले रोजगारी पाएका छन् । खरको छानोको झुप्रोबाट उनीहरू पक्की घरमा सरेका छन् ।

‘हाम्रो बाउबाजेको पेशा त माछा मार्ने, साग सिस्नु टिप्ने थियो । अहिले हामी सीजीमा बीजी भएपछि माछा टिप्न जान कहाँ भ्याउनु ?’ स्थानीय दुर्गा बोटेले भने । 

उनी सीजीआईपीभित्र रहेको गल्फ क्लबमा कार्यरत छन् । काठमाडौंको गोकर्णस्थित गल्फ क्लबमा तालिम लिएर दुर्गाले यहाँको गल्फ क्लबमा काम गरिरहेका हुन् । लस्करै जोडिएको यो टोलका टेकबहादुर बोटे, सुनिल बोटे, कुलबहादुर बोटे, चेतबहादुर बोटे र सुमित्रा बोटे अहिले जागिरमा जान्छन् । 

केही वर्ष अघिसम्म कच्ची घर रहेको यो गाउँका अधिकाशं घर अहिले पक्की बनेका छन् । बालबालिका स्कूल जान थालेका छन् । 

बोटे बस्ती

५४ वर्षअघि स्याङ्जाबाट बसाइँ सरेर आएका धनबहादुर केसी यो क्षेत्रमा भएको विकास देखेर छक्क परेको बताउँछन् । ‘बन्दिपुर पहाड –नवलपारसीकै) मा पढाउन जाँदा यो क्षेत्रमा हिँड्न डर लाग्थ्यो, २ दशकमा धेरै परिवर्तन देखियो,’ सामुदायिक वनको अध्यक्ष समेत रहेका केसीले भने, ‘आफ्नो ठाउँनजिक उद्योग धन्दा खुल्दा त्यसको असर गाउँमा परेको देखियो ।’

बोटेगाउँ भन्दा केही परको महतो टोलका पनि अधिकाशंले रोजगारी पाएका छन् । 

रोजगारीले बसाइँसराइ, घरका सबैलाई रोजगारी 

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका कमलकुमार श्रेष्ठको परिवारको स्थायी बसोबास अहिले नवलपुरमा छ ।

जागिरको सिलसिलामा कमल २०५२ सालमा नवलपरासी आएका हुन् । त्यसअघि कमल चौधरी ग्रुपको काठमाडौं कार्यालयमा काम गर्दथे । जागिरका लागि आएका श्रेष्ठ दम्पत्तीले नवलपरासीमै जग्गा किनेर घर बनाए ।

कमलकी पत्नी देवी श्रेष्ठ पनि सिजी मै काम गर्छिन् । कमलजस्ता धेरै जागिरेले यही ठाउँलाई स्थायी बसोबासको थलो बनाइसकेका छन् ।

रोचक कुरा बुवा आमासँगै छोरा कमल पनि अहिले सीजी बेभरेजमै काम गर्छन्, माइक्रोबायोलोजिस्टका रूपमा । 

‘रोजगारीका लागि बिदेसिनु परेन, स्वदेशमै बसेर अन्तर्राष्ट्रिय स्तरको कम्पनीमा काम गर्न पाउनु पनि मेरो लागि राम्रै भयो,’ सीजीको नेपाल आइस बीयरमा कार्यरत प्रकाश भन्छन्, ‘घरबाट पैदलै हिँडेर अफिस जान र आउन सकिन्छ । रमाइलै लागिरहेको छ ।’

२०५२ सालमा बुवासँगै नवलपरासी आएर १ कक्षामा भर्ना भएका प्रकाशले यहीँबाट एसएसली र प्लसटू सकेपछि चितवन भरतपुरबाट बीएस्सी र धरानबाट एमएस्सी सकेर उनी सीजीमै रोजगारी पाएका हुन् ।

श्रेष्ठ परिवार

सुदूरपूर्वी पहाड ताप्लेजुङबाट आएको श्रेष्ठ परिवार अहिले मध्यनेपालमा पर्ने तराइको जिल्ला नवलपुरमा पूरै घुलमिल भइसकेको छ ।

‘आफैं कमाउने भएपछि मुटु पनि दह्रो हुनेरहेछ, कसैको आशमा बस्नु नपर्ने,’ आमा देवी भन्छिन् ।

२४ वर्षको समयमा दुम्कौली क्षेत्रमा आएको परिवर्तन आश्चर्य लाग्ने कमलको अनुभव छ ।

‘राजमार्ग भएपनि यो क्षेत्र निकै पिछडिएको थियो । शुरू–शुरूमा कम्पनीले पाइन्ट दिएपनि यहाँका कामदार कर्मचारीले पाइन्ट लगाउँदैनथे,’ श्रेष्ठले भने, ‘अहिले धेरै नै परिवर्तन भइसक्यो, स्थानीयहरूले आफ्ना बच्चालाई छानीछानी बोर्डिङमा पढाउन थाले, आफ्नै कार चढ्ने भइसके ।’ 

औद्योगिक विकासको सीजीआईपी मोडेल 

नेपालका अधिकांश औद्योगिक क्षेत्रहरू अस्तव्यस्त र फोहर देखिन्छन छन् । चौधरी ग्रुप इन्डस्ट्रियल पार्क (सीजीआईपी) क्षेत्र भने अन्य औद्योगिक क्षेत्रभन्दा निकै भिन्न  छ ।

नेपालको अन्तर्राष्ट्रिय ब्राण्ड बनेको ‘वाइ वाइ’ चाउचाउका ८ फ्याक्ट्रीमध्ये ५ वटा यहीँ छन् । दैनिक ५० हजार कार्टुन वाइ वाइ चाउचाउ यहीँ उत्पादन हुन्छ । 

नेपाल आइस बीयर, सीजी इलोक्ट्रोनिक्स लगायतका फ्याक्ट्री यहीँ छन् । 

यति धेरै उद्योग भएपनि यहाँको वातावरण सफा देखिन्छ । पहिलोपटक भित्र छिर्दा रिसोर्टको झल्को आउँछ ।

सीजीआईपी

८० विगाह क्षेत्रफलमा फैलिएको सीजीआईपीमा यर्पाप्त ग्रीनरी र उद्योगभित्रै गल्फ क्लब समेत छ । ‘क्लीन सीजीआईपी, ग्रीन सीजीआईपी’ भन्ने नारा साथ पर्यावरणीय सन्तुलन कायम गर्न महत्त्व दिइएको देखिन्छ । 

उद्योगका लागि आवश्यक पर्ने तातो वाष्प उत्पादनका लागि धानको भुसमार्फत वाष्प र बिजुली उत्पादन गरिएको छ । केही वर्ष अघिसम्म डिजेल प्लान्ट जोडिएकोमा प्रदूषण घटाउन र पर्यावरणीय सन्तुलन कायम गर्न भन्दै धानको भुसमार्फत ऊर्जा उत्पादन र उद्योगका लागि आवश्यक तातो वाष्प उत्पादन गर्न थालिएको छ । 

उद्योग परिसरमै चर्चित शाश्वतधाम र आर्ट अफ लिभिङको उपस्थितिले यसलाई औद्योगिक सँगसँगै आध्यात्मिक क्षेत्रको रूपमा समेत विकास गर्न खोजेको देखिन्छ । शाश्वतधाम मध्यनेपालको पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । 

‘खाद्य पदार्थ उत्पादन गर्ने कम्पनी भएकाले यसको सरसफाइ त प्रधान कुरा भयो । हामी ग्लोबल्ली रिनाउन कम्पनी बन्दै गएकाले उत्पादनको क्वालीटी सँगसँगै यहाँको ग्रीनरी कायम गरेका छौं,’ सीजीआईपीका वरिष्ठ जीएम रामभक्त केसीले भने । उद्योगका कारण आसपासको क्षेत्रमा आर्थिक र सामाजिक विकास भएको उनी बताउँछन् । 

प्रशासकीय प्रबन्धक सुरेन्द्र अधिकारीका अनुसार सीजीआईपीमा काम गर्ने कामदारका लागि दुर्घटना बिमा, पारिवारिक स्वास्थ्य बिमा, लेबर रिलेसन कमिटी लगायतको व्यवस्था गरिएको छ ।

‘यसका अतिरिक्त यहाँ काम गर्ने कामदारका लागि टीभी, फ्रीज, वासिङ मेसिन, माइक्रो ओभन लगायतका सामग्री मासिक न्यून किस्ताबन्दीमा उपलब्ध गराउने गरिएको छ,’ अधिकारीले भने । 

नमूना नवलपुरको 'विनोद सपना' !

२०६५ सालमा पहिलोपटक सांसद बनेको समयदेखि नै विनोद चौधरीले पूर्वी नवलपरासी (नवलपुर)लाई नमूना जिल्ला बनाउने भनेर अभियान सञ्चालन गर्दै आइरहेका छन् । आफूलाई नवलपुरले चिनाएकाले नवलपुरलाई नमूना जिल्ला बनाउने चौधरीको अभियान छ । चौधरी नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् ।

स्थानीयलाई आर्थिक क्रियाकपालमा जोडेर उनीहरूको जीवनस्तर उकास्नका लागि सीजीआईपी बाहेक अन्य क्षेत्रमा पनि उनले लगानी बढाइरहेका छन् ।

महिलाहरूलाई आर्थिक क्रियाकलापमा जोड्न र नेपालको मौलिकता बचाइराख्नका लागि गैंडाकोटको हर्कपुरमा अहिले ‘क्राफ्ट भिलेज’ सञ्चालनमा आउँदैछ ।

चौधरी फाउण्डेसनले ‘उन्नति’ नाम दिएर हस्तकला उद्योग र प्रदर्शनी केन्द्र सञ्चालनमा ल्याउँदैछ । हस्तकला उद्योग सँगसँगै यहाँ थारू नेवारी र थकाली मौलिक खानाको रेस्टुराँ सञ्चालनमा आउँदैछ ।

विनोद चौधरी

‘नेपाल भ्रमण वर्ष सन् २०२० को अवसर पारेर यो भिलेज शुरू गर्ने योजना बनाएका छौं,’ सीजीआईपीका कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी म्यानेजर रामचन्द्र धितालले भने, ‘क्राफ्ट भिलेज सञ्चालनमा आएपछि नेपाली मौलिक कला संस्कृतिको संरक्षणका साथसाथै नेपालका हस्तकला तेस्रो मुलुकमा निर्यात गर्नेगरी महिलालाई आर्थिक क्रियाकलापमा जोड्ले लक्ष्य छ ।’

लिची, आँप, अम्बाजस्ता बोटले घेरिएको ६ विगाह क्षेत्रमा फैलिएको भिलेजमा कलाकारले आवासीय रूपमा बसेर पेन्टिङ गर्न सक्नेछन् । स्थानीय मगर र थारू जातिले हातले बुनेका कपडा र हस्तकलाका सामग्री शाश्वतधाम लगायतका ठाउँमा स्टलमार्फत बेच्न राखिने छ ।

उन्नति हस्तकला प्रदर्शनी केन्द्र

अहिले पनि शाश्वतधाम परिसरमा यस्ता हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको छ । हस्तकलाको तेस्रो मुलुकसम्म पनि मार्केटिङ गर्ने योजना उन्नतिको छ । 

चौधरी फाउन्डेसनको सहयोगमा नवलपुरको गैंडाकोटमा सबल सेन्टर स्थापना गरिएको छ । सबल सेन्टरमार्फत हातखुट्टा नभएका विकलांगका लागि कृत्रिम हातखुट्टा जोड्दिने काम शुरू भएको छ ।

‘अहिलेसम्म ५९ जिल्लाका ५ सय ८ जनाले सहज ढंगले नयाँ हात खुट्टा पाइसकेका छन्,’ धितालले भने ।

कमेन्ट गर्नुहोस्