नेकपाको कार्यक्रम समाजवाद भन्न किन डराउने ?

बितिसकेको युगको कार्यक्रमलाई पार्टी कार्यक्रम बनाउनु ऐतिहासिक भौतिकवादी दृष्टिकोण अनुरुप हुँदैन

वामदेव गौतम
वामदेव गौतम

गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री हुन् ।

विषय प्रवेश

कम्युनिष्ट पार्टी वैज्ञानिक नियमहरूका आधारमा सञ्चालन हुने संस्था हो । पार्टीले समाजको परिवर्तन र विकास सचेत मानव समुदायको संलग्नता विना स्वतस्फूर्त हुन्छ भन्ने कुरा मान्दैन । समाजको परिवर्तन र विकास पनि वैज्ञानिक नियमहरूका आधारमा हुन्छ । यसको मार्गदर्शक सिद्धान्त प्रकृतिको परिवर्तनका नियमहरूमा आधारित व्यवहारसिद्ध वैज्ञानिक दर्शन द्वन्द्वात्मक भौतिकवाद हुन्छ । सिद्धान्त र व्यवहारका बीच अन्योन्याश्रित सम्बन्धबाट पार्टीको विकास हुने गर्छ ।


Advertisement

पहिले नै तय गरिएका नीति, योजना र कार्यक्रमका आधारमा कम्युनिष्ट पार्टी अगाडि बढ्छ । हजारौं वर्षको मानव जातिको इतिहासको अध्ययनबाट निकालिएको निष्कर्ष वर्ग संघर्षको सिद्धान्त हो । यही वर्ग संघर्षको सिद्धान्त अवलम्बन गरेर समाजवाद निर्माण गर्ने योजना यसले अगाडि सारेको छ । 


Advertisement

वर्ग संघर्षलाई अगाडि बढाउँदै कम्युनिष्ट पार्टीले समाजवाद निर्माण गर्दछ । समाजवादी व्यवस्थामा मात्र मान्छेद्वारा मान्छेको शोषण गर्ने व्यवस्था समाप्त हुन्छ । समाजवादमा मात्र सामाजिक न्याय, समानता र समृद्धि प्राप्त हुनुका साथै सबै किसिमका विभेदको अन्त्य हुन्छ । समाजमा वर्ग संघर्ष वैज्ञानिक नियमहरूकै आधारमा चलिरहेको हुन्छ । तिनै नियमहरूको अध्ययनबाट कम्युनिष्ट पार्टीले वर्ग संघर्ष संचालन गर्ने नीति, योजना र कार्यक्रम तयार गर्दछ । त्यही भएर भनिन्छ, कम्युनिष्ट पार्टी तलबाट हैन माथिबाट निर्माण हुन्छ । यसका संघर्ष र निर्माण संचालन सम्बन्धि नीति, योजना र कार्यक्रमहरू कम्युनिष्ट पार्टीको नेतृत्वले पहिले नै तयार गर्छ तथा कार्यान्वयका दौरान त्यसलाई परिमार्जन गर्दै अगाडि बढ्छ ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण, सञ्चालन र विकासको अवस्थामा छ । यसका वर्ग संघर्ष र निर्माण सञ्चालन सम्बन्धी आफ्ना नीतिहरू छन्, योजनाहरू तथा कार्यक्रमहरू छन् । यो पार्टीले पूर्व निर्धारित नीति, योजना र कार्यक्रमका आधारमा अगाडि बढ्ने कोसिस गरिरहेको छ । यो रचनामा पहिले प्रकाशित विधान भर्खरै प्रकाशित राजनीतिक प्रतिवेदनमा उललेखित कार्यक्रममा देखिएका सिद्धान्तसंगत नभएका कतिपय विषयहरूमा छलफल गर्ने कोसिस गरिएको छ । 

नेपाली समाजको सबभन्दा अग्रगामी वर्ग, श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली जनताको तात्कालिक कार्यक्रम समाजवाद हो भन्न जिब्रो लरबराउनुपर्ने र खुट्टा कमाउनुपर्ने आवश्यकता छैन ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच २०७५ जेठ ३ गते ऐतिहासिक एकीकरणको १५ महिना पछि राजनीतिक प्रतिवेदन प्रकाशित भएको छ । प्रतिवेदनमा धेरै विषयहरू समेटिएका छन् । तीमध्ये पार्टी कार्यक्रम एक महत्त्वपूर्ण विषयका रुपमा रहेको छ तर धेरै विरोधाभाषपूर्ण विश्लेषणसहित कार्यक्रमलाई प्रस्तुत गरिएको छ । प्रकाशन पूर्व विभिन्न कारणले केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालयमा समेत दफावार छलफल गर्न पाइएन ।

प्रतिवेदन प्रकाशनपूर्व कतिपय केन्द्रीय सचिवालय सदस्यले आफ्ना सुझावहरू लिखित रुपमा पनि दुवै अध्यक्षलाई प्रदान गरेका थिए तर प्रकाशित प्रतिवेदनमा गम्भीर प्रकृतिका सुझावहरू समेत नसमेटिएको पाउँदा सुझावका रुपमा यो रचना अगाडि सारिएको हो । छलफललाई कार्यक्रमको सैद्धान्तिक पक्षमा केन्द्रीत गरिएको छ । 

पार्टी कार्यक्रम के हो ?

कम्युनिष्ट पार्टीको कार्यक्रम क्रान्तिको लक्ष्य हुन्छ र क्रान्तिमा संलग्न जनताको दिशा सूचक फहराइरहेको झण्डा हुन्छ । क्रान्तिको विकास कुन दिशामा हुनुपर्छ र क्रान्तिपछि राष्ट्रले के प्राप्त गर्छ भन्ने सम्बन्धमा कार्यक्रम मार्गदर्शक रहेको हुन्छ । क्रान्ति सम्पन्न गर्न सबभन्दा पहिले क्रान्तिका मित्रशक्ति र शत्रुशक्ति को हुन भन्ने स्पष्ट पार्दै मित्रहरूलाई गोलबन्द पार्ने र शत्रुलाई एक्लो पार्दै क्रान्तिद्वारा समाप्त गरी नयाँ उत्पादन व्यवस्था स्थापना गर्न समग्र योजनासहितको रणनीति तयार गर्नुपर्छ । त्यो रणनीतिलाई कार्यान्वयन गर्न विभिन्न कार्यनीतिहरू निर्धारण गरिन्छ । तदनुरुप पार्टीले कार्यनीतिहरू कार्यान्वयन गर्दै रणनीतिक लक्ष्य प्राप्त गर्दछ । क्रान्ति सम्पन्न गर्ने अन्तिम अवस्थाका निम्ति पनि कार्यनीति नै सफलतापूर्वक सम्पन्न गर्नुपर्छ । रणनीति, कार्यनीतिभन्दा छुट्टै नीति हुँदैन त्यो क्रान्ति सम्पन्न गर्ने संघर्षको समग्र योजनको रुपमा रहेको हुन्छ । 

नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनकालदेखि नै पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भएपछि लागू गर्ने नयाँ उत्पादन पद्धति निर्माणको कार्यक्रमलाई २ भागमा विभाजित गरी न्यूनतम् कार्यक्रमका रुपमा नयाँ जनवाद र अधिकतम कार्यक्रमका रुपमा समाजवादलाई अगाडि सार्‍यो । त्यसबेला नेपाल, निरंकुश राजतन्त्रात्मक व्यवस्था अन्तर्गत अर्धसामन्ती अवस्थामा रहेको र जनवादी क्रान्तिद्वारा त्यसलाई समाप्त गरी नयाँ उत्पादन पद्धतिका रुपमा पूँजीवादी उत्पादन पद्धति स्थापना गर्ने जनतालाई सबै किसिमका अधिकारले सम्पन्न गराउँदै सामाजिक आर्थिक क्षेत्रको रुपान्तरण समाजवाद उन्मुख गराउने नीति अगाडि सारिएको थियो । त्यसमा सम्भव क्षेत्रका उत्पादनका साधनमाथि सामाजिक स्वामित्व कायम गर्दै समाजवाद स्थापना गर्ने रणनीतिक लक्ष्य निर्धारण गरिएको थियो तर राजा, राणा र कांग्रेसका बीच भएको सम्झौताका कारण २००७ सालको क्रान्ति सफल हुन सकेन । क्रान्तिको सहउत्पादनका रुपमा कायम संवैधानिक राजतन्त्र पनि लामो समय टिक्न सकेन । विक्रम संवत् २०१७ सालको प्रतिगमन पछिको अवधिमा नेपाल कम्युनिष्ट पार्टी अनेकौं समूहमा विभाजित हुने तथा एकीकृत हुने पक्रियाबाट अगाडि बढ्न बाध्य भयो ।

नेपाल कम्युनिष्ट पार्टीका अधिकांश पार्टी समूहहरूले स्थापनाकालमा अगाडि सारिएको पार्टी कार्यक्रमलाई विभिन्न नाममा आफ्नो कार्यक्रमका रुपमा अगाडि सार्दै रहे । त्यही कार्यक्रमको मार्गदर्शनमा विक्रम संवत् २०३५/३६ र २०४६/४७ का जनआन्दोलनहरू सम्पन्न भएका थिए । त्यसैगरी २०५२ मा शुरू भएर १० वर्ष सञ्चालित जनयुद्ध पनि त्यही कार्यक्रमको मार्गदर्शनमा विकास भएको थियो । पटक–पटक पार्टीले सञ्चालन गरेका संसदीय संघर्षहरू पनि त्यही कार्यक्रम अनुरुप भएका थिए । 

नेपाल राष्ट्रमा भएको युगान्तकारी परिवर्तन पछि पनि बितिसकेको युगको कार्यक्रमलाई पार्टी कार्यक्रम बनाउनु ऐतिहासिक भौतिकवादी दृष्टिकोण अनुुरुप भएन ।

कम्युनिष्ट पार्टीहरूले नेपाली कांग्रेस पार्टीसहितका पूँजीवादी पार्टीहरूसित संयुक्त मोर्चा गरी २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिद्वारा निरंकुश राजतन्त्रलाई पराजित गर्दै संविधान सभाबाट राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपाल कम्युनिष्ट पार्टीले स्थापनाकालमा अगाडि सारेको नयाँ जनवादी क्रान्तिको रणनीतिक योजना अन्तर्गत प्राप्त भएको ऐतिहासिक महत्वको सफलता थियो । त्यसपछि क्रान्तिमा प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्दै स्थापनाकालमा निर्धारण गरिएको रणनीतिक लक्ष्य समाजवाद निर्माण गर्ने चरणमा नेपाली क्रान्ति प्रवेश गरेको छ । अहिले क्रान्तिको उपलब्धिका रुपमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट लोकतान्त्रिक मूल्य–मान्यतामा आाधारित समृद्ध समाजवाद निर्माण गर्ने मार्गदर्शन सहितको नेपालको संविधान प्राप्त भएको छ । 

संविधानको रक्षा र कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी पूरा गर्न कम्युनिष्ट पार्टीबाहेक अरुबाट सम्भव छैन भन्ने महसूस हुन थालेपछि घनीभूत रुपमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरू पार्टी एकीकरणको ठोस प्रयत्नमा लागे । लामो समयदेखि शुरू भएको त्यो एकीकरण प्रक्रिया २०७४ जेठ ३ गते एकीकृत नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदयसँगै सम्पन्न भयो । त्यसबेलासम्म नेकपा (एमाले) को कार्यक्रम जनताको बहुदलीय जनवाद थियो र नेकपा (माओवादी केन्द्र) को कार्यक्रम माओवाद र एक्काइशौं शताब्दीमा जनवादको विकास थिए । पार्टी एकीकरणका निम्ति दुवै पार्टीका कार्यक्रमलाई एकताको महाधिवेशनमा टुंगो लगाउने गरी तत्काल स्थगन गरियो । पार्टी एकता संयोजन समितिले राजनीतिक प्रतिवेदन र पार्टी विधान निर्माण गर्न अलग–अलग २ कार्यदललाई जिम्मा दियो ।

समयमै दुबै कार्यदलले आफ्नो जिम्मेवारी अनुरुप राजनीतिक प्रतिवेदन र विधान तयार गरी संयोजन समितिमा प्रस्तुत गरे । तिनै राजनीतिक प्रतिवेदन र विधानका आधारमा जेठ ३ गते नै निर्वाचन आयोगको कार्यलयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दर्ता गरियो । 

निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा प्रस्तुत गरिएका राजनीतिक प्रतिवेदन र विधानलाई अध्ययनका निम्ति पार्टी केन्द्रीय सचिवालयका सदस्यहरूलाई वितरण गरियो । प्रस्तुत प्रतिवेदन र विधानमा अनेकौं विषयमा मत भिन्नता र सुझावसहित सदस्यहरूले दुबै अध्यक्षलाई परिमार्जन गरी सचिवालयमा पुनः प्रस्तुत गर्न र स्थायी कमिटीबाट पारित गराउन अनुरोध गरे । केही महिनापछि विधान प्रकाशित भयो र करीब १५ महिनापछि अनेकौं उल्झन, जटिलता र विरोधाभाषले भरिएको राजनीतिक प्रतिवेदन प्रकाशन गरियो ।

प्रतिवेदनका विरोधाभाषपूर्ण विचारहरू

विधानको प्रस्तावनामा ‘यस पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम् कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम् कार्यक्रम जनताको जनवाद हो र यो समाजवाद उन्मुख छ’ भनिएको छ । राजनीतिक प्रतिवेदनभित्रै अरु समग्र पार्टी कार्यक्रम समेटिएको छ । त्यसमा ‘तात्कालिक रुपमा समाजवाद होइन, समाजवादको आधार तयार पार्ने राष्ट्रिय औद्योगिक पूँजीको विकास अनिवार्य कार्यभार हुन जान्छ ।’ ‘नेपाली क्रान्तिको रणनीतिक लक्ष्य समाजवादको स्थापना हो ।’ ‘हाम्रो पार्टीको रणनीतिक लक्ष्य समाजवाद हो र आम रणनीति समाजवादको स्थापना गर्ने हो ।’ ‘आधारभूत रुपले जनवादीक्रान्ति सम्पन्न भइसकेकाले हामी आम रुपमा समाजवादी क्रान्तिको नयाँ ऐतिहासिक चरणमा प्रवेश गरेका छौं । तर अहिले नै हामी समाजवादमा संक्रमण वा रुपान्तरण गर्ने, समाजवाद निर्माण गर्ने वा समाजवादी क्रान्ति सम्पन्न गर्ने तहमा छैनौं’ जस्ता विरोधाभाषपूर्ण निष्कर्षहरू राजनीतिक प्रतिवेदनमा समावेश गरिएको छ । उपरोक्त विषयहरूले पार्टी कार्यक्रमका सम्बन्धमा ऐतिहासिक र सैद्धान्तिक भ्रमहरू सिर्जना गरेका छन् ।

विक्रम संवत् २०६५ जेठ १५ गते राजतन्त्रको उन्मूलन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा २००७ सालदेखि शुरू भएर ५८ वर्षपछि सम्पन्न भएको पूँजीवादी जनवादी क्रान्ति नै थियो । त्यो राजनीतिक क्रान्ति मात्र थिएन, नेपाली समाजमा क्रमिक रुपमा विकसित पूँजीवादीकरणको द्योतक पनि थियो । त्यही भएर नै संविधान सभाले गरेको गणतन्त्रको घोषणालाई अनेक पटक गरेको राजाको अनुरोधलाई निजामति प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनेकौं गैरराजनीतिक संस्थाहरूले अस्वीकार गर्दै गणतन्त्रलाई समर्थन गरेका थिए । पछिल्लो शान्तिपूर्ण जनक्रान्ति सम्पन्न हुनुभन्दा धेरै पहिले नै सामाजिक आर्थिक क्षेत्रमा अनेकौं सुधारका कार्यक्रमहरू लागू गरिए । ती कार्यक्रमहरूले भूदास प्रथामा आधारित सामन्ती अर्थतन्त्रलाई पूँजीवादी अर्थतन्त्रमा रुपान्तरण गराए । जाति भेद, छुवाछुत, उँचनीच जस्ता कुप्रथाहरू माथि अनेकौं कोणबाट प्रहार भए । 

शिक्षा स्वास्थ्य तथा सार्वजनिक यातायात लगायत अनेकौं पूर्वाधार विकासका संरचनाहरू खडा गरिए । यसबीचमा संसदीय संघर्षका अनेकौं रुपहरू परिचालित भए । जनस्तरमा शान्तिपूर्ण रुपमा अनेकौं वर्ग संघर्षहरू संचालन गरिए । १० वर्षसम्म चलेको जनयुद्धले ग्रामीण क्षेत्रको सामन्तवादलाई तहसनहस बनायो । सूचना–सञ्चार क्षेत्रमा भएको अभूतपूर्व क्रान्तिले नेपाली जनतालाई आफ्नो देशको सिमानाको घेरालाई तोड्दै विश्वव्यापी फैलन मद्दत गर्‍यो । 

यी सबै सुधारहरूले नेपाली समाजलाई राजतन्त्र कालमै पूर्ण पूँजीवादीकरणमा पुर्‍यायो । यद्यपी पूँजीवादीकरणमा औद्योगिक होइन, दलाल प्रकृतिको अनुत्पादक पूँजीको प्रभाव मुख्य रह्योे । त्यस प्रकारको पूँजी नेपालको विकासमा अहिले पनि मुख्य बाधक रहेको छ तर पनि राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले नेपाली सामन्तवादलाई सम्पूर्ण रुपले समाप्त गरेको छ ।

सामन्तवादका विरुद्ध क्रान्ति सफल हुँदा अग्रगामी वर्गको नेतृत्वमा समाजलाई पूँजीवादीकरणतर्फ लैजाँदै शान्तिपूर्ण रुपमा समाजवादमा रुपान्तरण गर्ने योजना अगाडि सारिन्छ तर नेपाली समाज पूँजीवादीकरणमा गइसकेको र त्यही कालमा राजतन्त्रको अन्त्य भएको अवस्थामा पनि समाजवाद लागू गर्ने परिस्थिति छैन भन्दै पूँजीवादीकरणलाई नै निरन्तरता दिनुपर्छ भन्नु परिवर्तित परिस्थिति अनुरुप अग्रगमनमान्न सकिन्न ।

आजको कार्यक्रम राजतन्त्र कालमा क्रान्तिको मार्गदर्शनका निम्ति अगाडि सारिएको होइन । राजतन्त्रको अन्त्य भइसकेको र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको परिवर्तित परिस्थितिमा समाजवाद निर्माणको मार्गदर्शनका निम्ति पार्टी कार्यक्रमलाई अगाडि सारिदै छ । मुलुकमा सम्पन्न भएको पूँजीवादी जनवादी क्रान्ति तथा पूँजीवादीकरणमा गइसकेको नेपाली समाजको वर्तमान सन्दर्भमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीसहित नेपाली विशेषताको समाजवाद निर्माणको समाजावादी कार्यक्रम नै पार्टीको कार्यक्रम हुनसक्छ ।

कार्यक्रम निर्धारणमा ऐतिहासिक सिंहावलोकन

पार्टीको कार्यक्रम निर्धारण गर्दा एक पटक मानव जातिको इतिहासतर्फ सिंहावलोकन उपयुक्त हुनेछ । भौतिकवादी द्वन्द्ववादका नियमहरूलाई इतिहासमा स्थापित गरेपछि मानव जातिको इतिहास सर्वथा नयाँ रुपमा देखापर्‍यो । मानव जातिको इतिहास अर्को अर्थमा उत्पादन पद्धतिको इतिहासका रुपमा संसार अगाडि प्रकट भयो । उत्पादनका साधनहरूको निरन्तर परिवर्तन र विकासले गर्दा एक खास चरणमा एउटा उत्पादन पद्धति र त्यसमा रहेको परिवर्तनका नियमहरूका कारण गुणात्मक परिवर्तन देखिने र पुन त्यसैगरी अर्को चरण देखा पर्ने, फेरि त्यसैगरी परिवर्तन हुँदा अर्को उत्पादनको चरण पैदा हुने गरी आजको अवस्थामा मानव जातिको विकास भएको देखियो । समाज विकासमा आर्थिक उत्पादनको शुरूकालमै मानवजाति विभिन्न विपरीत स्वार्थ भएका वर्गमा विभाजित भएको पनि पाइयो । साथै विपरीत स्वार्थ रक्षाका लागि वर्गहरूका बीच विभिन्न रुपका संघर्ष भएको र त्यसले समाजलाई निरन्तर अगाडि बढाइरहेको स्पष्ट भयो ।

मानव जातिको विकासको इतिहास अहिले ३० लाख वर्ष मानिन्छ तर समाजमा वर्गको उत्पति इसापूर्व करीब १० हजार वर्ष मात्र मानिएको छ । १० हजार वर्षभन्दा पहिले मानवजाति जंगली, आदिम र मातृप्रधान अवस्थामा थियो । विपरीत स्वार्थ भएका वर्गहरूको उत्पत्ति र तिनका बीचको संघर्षले नै मानवजातिलाई आजको अवस्थासम्म ल्याएको रहेछ भन्ने निष्कर्षले वर्ग संघर्षको सिद्धान्त प्रतिपादन भयो ।

उत्पादनका साधनको विकास र उत्पादन सम्बन्धको परिवर्तनमा वर्ग संघर्षले मुख्य भूमिका निर्वाह गरेको पाइयो । यसरी इतिहासको विश्लेषण गर्दा आजसम्म मानव जातिको विकासका ५ चरणहरू देखापरेका छन् । माक्र्सवादीले यी सबै चरणलाई युगका रुपमा चित्रण पनि गरेका छन् । त्यसअनुसार सबैभन्दा पहिलो वर्गविहीन आदिम मातृप्रधान युग, दोस्रो मानवजाति कृषि उत्पादनमा प्रवेश गरेपछि पहिलो वर्गीय समाजको रुपमा दास युग, तेस्रो भूदास प्रथा सहितको सामन्ती युग, चौंथो पूँजीवादी युग र पाँचौ समाजवादी युगका रुपमा चित्रण गरियो । पहिलो मातृप्रधान समाज छोडेर अरु सबै युगमा २ विपरीत स्वार्थ भएका मुख्य वर्गहरूको भूमिका प्रधान देखियो । त्यसमध्ये दासयुगमा दास र मालिक २ विपरीत स्वार्थ भएका प्रमुख वर्ग देखिए, त्यसपछि सामन्ती युगमा जमिन्दार र भूदास विपरीत स्वार्थ भएका वर्ग, त्यसैगरी पूँजीवादी युगमा पूँजीपति र सर्वहारा श्रमजीवी वर्ग र समाजवादी युगमा सत्तासिन श्रमजीवी वर्ग र साम्राज्यवादी पूँजीपति वर्ग मुख्य देखिए ।

तत्काल नेपालमा आधारभूत चरणको समाजवाद कायम गर्दै अगाडि बढ्ने नीति लिनुपर्छ । त्यो चरण पुरा गरेपछि नेपाली समाज मान्छेद्वारा मान्छेमा हुने शोषणबाट मुक्त हुँदै मध्यमस्तरको समाजवादी चरणमा प्रवेश गर्नेछ ।

नेपाली समाज अहिले कुन युगमा विकसित भएको छ भन्ने निष्कर्षबाट नै आज पार्टीको कार्यक्रम के हुनुपर्छ भन्ने प्रश्नको उत्तर प्राप्त हुन्छ । संसारको सबभन्दा अग्रगामी उत्पादन पद्धतिका आधारमा समाज कुन युगमा पुग्यो भन्ने निष्कर्ष निकालिन्छ । यस आधारमा संसार समाजवादी युगमा पुगेको भन्नुपर्ने हुन्छ तर हरेक राष्ट्र विकासको कुन चरणमा छ भन्ने निष्कर्षले त्यो राष्ट्रको युगीन अवस्थाको टुंगो लाग्छ । संसारको अग्रगामी समाज पूँजीवादमा पुग्दा नेपाली समाज इलाकीय जरजर सामन्ती युगमा, संसारमा समाजवाद पहिलो पटक उदय हुँदा नेपाली समाज केन्द्रीय सामन्ती युगमा र समाजवादले संसारको एक मुख्य व्यवस्थामा विकास गर्दा यहाँको समाज अर्धसामन्ती अवस्थामा थियो । त्यही अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको जन्म पनि भयो । कम्युनिष्ट पार्टीले आफ्नो कार्यक्रम समाज विकासको भावि अवस्थाका लागि बनाउँछ । त्यसो भएर त्यो अनुमानित योजनाका रुपमा रहेको हुन्छ । नेपाल कम्युनिष्ट पार्टीको जन्म २००६ सालको सामन्ती युगमा भएपनि भावि समाज व्यवस्थामा कार्यान्वयन हुने नयाँ जनवादी अथवा पूँजीवादी जनवादी कार्यक्रमलाई न्यूनतम् र समाजवादलाई अधिकतम् कार्यक्रमका रुपमा अगाडि सार्‍यो ।

नेपालको पूँजीवादी जनवादी क्रान्तिको लामो समयावधिमा जनताका अनेकौं सघर्षका सहउत्पादनका रुपमा सम्पन्न भएका सुधारहरूले नेपाली समाज अर्धसामन्ती अवस्थाबाट पूर्ण पूँजीवादीकरणमा रुपान्तरण भयो । अहिले नेपाली समाज पूँजीवादबाट समाजवादमा रुपान्तरण हुने युगमा रहेको छ । यस परिस्थितिमा फेरि पार्टी कार्यक्रम जेसुकै नाममा भएपनि पूँजीवादी जनवाद हुन सक्दैन । 

क्रान्तिकालमा अगाडि सारिने पार्टी कार्यक्रम नयाँ उत्पादन पद्धति निर्माण सम्बन्धी समग्र योजनाको ठोस रुप हुन्छ । क्रान्ति पछि निर्माण गरिने उत्पादन पद्धति पूरानो उत्पादन पद्धतिलाई कतिपय पक्षमा विस्थापन गरेर र कतिपय पक्षमा रुपान्तरण गरेर निर्माण गर्नुपर्ने हुन्छ । क्रान्तिले राजनीतिक क्षेत्रमा आमुल परिवर्तन गरी नयाँ राजनीतिक प्रणाली स्थापना गर्दै सामाजिक आर्थिक क्षेत्रमा रुपान्तरणको कामलाई तीब्रगतिमा अगाडि बढाउँछ । त्यसबेला वर्ग संघर्षको मुख्य रुप शान्तिपूर्ण र वैधानिक तरिकाले राष्ट्रको पुनर्निर्माणमा प्रकट हुन्छ । नेपालमा केही भिन्न तरिकाले पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो । क्रान्तिको काल आधा शताब्दीभन्दा लामो भयो । जनताका दबाब र विभिन्न रुपका संघर्षले पूरानो सत्ताधारी वर्गलाई कतिपय सामाजिक आर्थिक क्षेत्रमा अग्रगामी परिवर्तन र सुधार गर्न बाध्य गर्‍यो । त्यसकै कारण राजतन्त्रकालमा नै नेपाली समाजमा पूँजीवादीकरण सम्पन्न भयो । शान्तिपूर्ण जनक्रान्ति पूर्व सामन्तवादको अवशेषको रुपमा मात्र राजतन्त्र जीवित थियो । त्यसो भएर नै त्यसलाई वैधानिक रुपमा समाप्त गर्न पनि सकिएको थियो । 

नयाँ संविधानको मार्गदर्शन 

ऐतिहासिक संविधान सभाले गरेको राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणाबाट संसारका अरु कुनै पनि देशमाभन्दा फरक तरिकाले मुलुकमा पूँजीवादी जनवादी क्रान्ति मात्र सम्पन्न गरेन कि नेपाल राष्ट्रले समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्दै लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने प्रगतिशील संविधान प्राप्त गर्‍यो । यतिबेला यो संविधानको कार्यान्वयन, संरक्षण र विकास गर्दै नेपाल राष्ट्र शान्तिपूर्ण र वैधानिक बाटोबाट समाजवादी उत्पादन पद्धति निर्माण गर्ने युगीन कार्यभारको चरणमा प्रवेश गरेको छ । उपरोक्त वस्तुगत यथार्थमा उभिएर विश्लेषण गर्दा नेपाली श्रमजीवी वर्गको अग्रगामी राजनीतिक प्रतिनिधिका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्तमान कार्यक्रम समाजवादभन्दा अर्को हुन सक्दैन । 

नेपाली विशेषतामा आधारित समाजवाद निर्माणका लागि नेकपाले सिंगो राष्ट्रलाई एकतावद्ध गर्ने युगीन अवसर अहिले प्राप्त गरेको छ । संविधान सभाको अत्याधिक बहुमत र नेपाली जनताको अपार शक्तिको समर्थन रहेको नेपालको संविधानले नै मार्गदर्शन गरेपछि पनि तत्काल समाजवाद निर्माण गर्न सकिन्न भन्ने विचारअग्रगामी हुन सक्दैन । त्यसो भएर नेपाल कम्युनिष्ट पार्टीको मात्र हैन सिंगो राष्ट्रको तात्कालिक कार्यभार लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गरी नेपाली जनतालाई विकसित देशका जनताको समकक्ष पुर्‍याउनुभएको छ । यस्तो अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यक्रम समाजवाद नै हो भन्न हिचकिचाउनु पर्ने आवश्यकता छैन ।

समाजवादी उत्पादन पद्धति अन्तर्गत रहेका राज्य व्यवस्था, शासन प्रणाली, सामाजिक सम्बन्ध र अर्थतन्त्रका सम्बन्धमा पनि संविधानले मार्गदर्शन गरिसकेको छ । त्यति मात्र हैन, सामाजिक–आर्थिक रुपान्तरण समाजवाद उन्मुख मात्र हुनुपर्छ भनेर सो संविधानले नेपालका कुनै पनि जिम्मेवार राजनीतिक पार्टीलाई समाजवाद निर्माणमा पनि मार्गदर्शन गरेको छ । अहिले नेपाल राष्ट्रका सबै पक्षमा गरिने आर्थिक र सामाजिक रुपान्तरण अरु बढी पूँजीवादी जनवादीकरण पनि भन्न सकिन्थ्यो, त्यो रुपान्तरण उदारवाद र नवउदारवादतर्फ पनि भन्न सकिन्थ्यो तर संविधानले किटानी गरेर सामाजिक–आर्थिक रुपान्तरण समाजवाद उन्मुख नै भन्यो । के यो संविधानमा भूलवश लेखिएको हो, के यो बाध्यताले लेखिएको हो वा लहडमा लेखिएको हो ? होइन भने नेपाली समाजको सबभन्दा अग्रगामी वर्ग, श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली जनताको तात्कालिक कार्यक्रम समाजवाद हो भन्न जिब्रो लरबराउनुपर्ने र खुट्टा कमाउनुपर्ने आवश्यकता छैन ।

सामन्तवाद र साम्राज्यवादका विरुद्ध हुने पूँजीवादी जनवादी क्रान्तिका निम्ति अगाडि सारिने कार्यक्रमको नाम हो जनताको जनवाद, राष्ट्रिय जनवाद, नयाँ जनवाद र जनताको बहुदलीय जनवाद आदि । क्रान्ति सम्पन्न गर्न, क्रान्तिका पक्षमा जनमत सिर्जना गर्न कम्युनिष्ट पार्टीले आ–आफ्ना देशको विशेषतामा कार्यक्रमको नामाकरण गर्दा यी विभिन्न नामहरू अगाडि आएका हुन् । वर्गीय दृष्टिकोणले र राजनीतिक दृष्टिकोणले यी सबै नामका कार्यक्रमहरू एउटै वर्गीकरणमा पर्छन् । पार्टी विधानमा समाजवाद उन्मुख जनताको जनवादलाई पार्टीको न्यूनतम् कार्यक्रम भनिएको छ ।

त्यसैगरी अधिकतम् कार्यक्रम वैज्ञानिक समाजवाद भनेर अगाडि सारिएको छ । प्रतिवेदनमा नेपालमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको उल्लेख छ र नेपाली समाज समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको पनि भनिएको छ । समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको भएपनि अहिले नै समाजवाद लागु गर्न सकिन्न भन्नु अहिले पूँजीवादी सुधारमै सीमित रहनुपर्छ भन्नु हो । समाजवाद उन्मुख जनताको जनवाद अर्को शब्दमा समाजवादतर्फ मुख फर्काएको पूँजीवाद भन्ने बुझिन्छ । यसमा समाजवाद उन्मुख प्रमुख होइन, जनताको जनवाद प्रमुख बनेको छ । एकातिर अहिले समाजवाद लागू गर्न सकिन्न भन्ने अर्कोतर्फ समाजवाद उन्मुख जनताको जनवादलाई न्यूनतम् कार्यक्रमको रुपमा अगाडि सार्नुले प्रष्ट के गर्छ भने अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को न्यूनतम् कार्यक्रम पूँजीवादी जनवाद नै हो । यस्तो कार्यक्रम विक्रम संवत् २००६ सालमा सामन्ती निरंकुश राजतन्त्र र राणाशाही जहानिया शासनका विरुद्ध न्यूनतम् कार्यक्रमका रुपमा नयाँ जनवादलाई नेपाल कम्युनिष्ट पार्टीले अगाडि सारेको थियो र त्यसबेला पनि पार्टीको अधिकतम् कार्यक्रम समाजवाद नै थियो । नेपाल राष्ट्रमा भएको युगान्तकारी परिवर्तन पछि पनि बितिसकेको युगको कार्यक्रमलाई पार्टी कार्यक्रम बनाउनु ऐतिहासिक भौतिकवादी दृष्टिकोण अनुुरुप भएन ।

पूँजीवादी जनवादी क्रान्तिकालमा पार्टी कार्यक्रमलाई न्यूनतम् र अधिकतम भने जस्तै समाजवाद निर्माणको कालमा पनि न्यूनतम् कार्यक्रम र अधिकतम् कार्यक्रम भन्न मिल्दैन । समाजवाद निर्माणको कालमा कार्यक्रमलाई न्यनतम् र अधिकतम भनि वर्गीकरण गर्ने हो भने साम्यवादलाई अधिकतम कार्यक्रम भन्नुपर्ने हुन्छ तर साम्यवाद कम्युनिष्ट पार्टीले निर्माण गर्न सक्दैन । किनकि त्यसबेला कुनै अरु राजनीतिक पार्टी समेत कम्युनिष्ट पार्टीको पनि अस्तित्व समाप्त भइसकेको हुन्छ । माक्र्सवादी साहित्यमा स्वयम् मार्क्स, एंगेल्स र लेनिन तथा त्यसपछिका कम्युनिष्ट आन्दोलनका शीर्षस्थ नेताहरूले समाजवादलाई साम्यवादको प्रारम्भिक अवस्था र साम्यवादलाई समाजवादको उच्चस्तरको अवस्था उल्लेख गरेका छन् । यहाँ साम्यवादलाई सामान्य रुपमा बुझाउनका निम्ति समाजवादको उच्चस्तरको अवस्था भनिएको हो । साम्यवाद जहाँ कुनै आर्थिक वर्ग हुँदैनन्, वर्ग संघर्ष हँुदैन, राज्य बिलुप्त भएको हुन्छ र विभेद, शोषण अत्याचार आदि जस्ता अवस्थाका बारेमा कल्पना पनि गर्न नसकिने स्थिति उत्पन्न भएको हुन्छ, त्यसबेला मानवजाति आफ्ना सम्पूर्ण आवश्यकता पूरा गर्ने संसारमा पुगेको हुनेछ । त्यसबेला समाजमा न राजनीतिक क्रान्ति आवश्यक पर्नेछ, न त कम्युनिष्ट पार्टीको नै अस्तित्व रहनेछ । त्यसो भएर साम्यवाद कुनै क्रान्तिको कार्यक्रम हुने छैन । त्यो कसैको अधिकतम र कसैको न्यूनतम पनि हुने छैन ।

समाजवाद निर्माणको चरणमा एउटा मात्रै कार्यक्रम हुन्छ र त्यसको नाम समाजवाद मात्र हुन्छ । साम्यवाद कार्यक्रमका रुपमा अगाडि सारिने विषय हैन त्यो त समाजवादको विकासमा आफै प्राप्त हुने अवस्था हो । त्यही भएर त्यसलाई कार्यक्रम भनिँदैन ।

अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था रहेका मुलुकमा क्रान्ति सम्पन्न गर्दा अगाडि सारिने कार्यक्रमको चरित्र पूँजीवादी जनवादी हुन्छ तर कम्युनिष्ट पार्टी जस्तोसुकै क्रान्तिमा संलग्न भएपनि उसको मुख्य अभिभारा समाजवाद निर्माण गर्नुहुन्छ । त्यस्तो अवस्थामा क्रान्तिको कार्यक्रमलाई अधिकतम र न्यूनतम् गरी २ भागमा बाँडिन्छ । किनकि क्रान्ति पछिको समाजलाई मान्छेद्वारा मान्छेको शोषण गर्ने अवस्थाबाट मुक्त गर्नका निम्ति समाजवाद चाहिन्छ तत्काल सामन्ती अवस्थाबाट समाजलाई रुपान्तरण गर्नका लागि पूँजीवादी जनवाद चाहिन्छ । कम्युनिष्ट पार्टीले शोषण रहित अवस्थामा समाजलाई विकसित गर्ने लक्ष्यमा जनतालाई सहमत गराउन जनवादी क्रान्तिकै कालमा अधिकतम कार्यक्रमकै रुपमा समाजवादलाई अगाडि सार्नुपर्छ । पूँजीवादी जनवादी क्रान्तिकालमा पार्टी कार्यक्रमलाई अधिकतम र न्यूनतम भनेर जनताबीच प्रस्तुत गर्ने चलन चल्यो । पार्टी कार्यक्रमलाई यसरी पहिलो पटक चिनियाँ क्रान्तिको विशेषतामा माओत्सेतुङले अगाडि सारेको पाइन्छ ।

नेपालले निर्माण गर्ने समाजवाद

सोभियत संघ र पूर्वी युरोपका देशहरूमा कम्युनिष्ट आन्दोलनको असफलता र पूँजीवादको पुनःस्थापना तथा सन् १९६० को दशक पछि संसारका विभिन्न भागमा कम्युनिष्ट आन्दोलनले खाएका धक्काबाट शिक्षा लिँदै विभिन्न देशका कम्युनिष्ट पार्टीहरूले अहिले नयाँ किसिमले क्रान्ति र समाजवाद निर्माणको कार्यलाई अगाडि बढाउने प्रयत्न गरेका छन् । कतिपय देशका कम्युनिष्ट पार्टीले विश्व कम्युनिष्ट आन्दोलनको सिंहावलोकन र समिक्षा शुरू गरेका छन् । कतिपय देशका कम्युनिष्ट पार्टीले दोस्रो विश्वयुद्ध पछि विकसित राष्ट्रिय स्वतन्त्रता, लोकतन्त्र र समृद्धिको अन्तर्राष्ट्रिय प्रवृतिलाई बुझेर तदनुरुप आफ्ना सिद्धान्त, नीति र कार्यक्रमलाई परिमार्जन गर्न नसक्दा नै २० औं शताब्दीको शुरूमा विकसित समाजवादले त्यसै शताब्दीको अन्त्यतिर ऐतिहासिक धक्का खान परेको हो भन्ने निष्कर्ष निकाल्दै तदनुरुप आफ्ना सिद्धान्त, नीति र कार्यक्रमहरूलाई परिमार्जन गरेका छन् । 

तीमध्ये नेपालको कम्युनिष्ट आन्दोलनको एउटा सशक्त पार्टी पूर्व नेकपा (एमाले) को नाम लिन सकिन्छ । तदनुरुप संसारमा पूँजीवादको अस्तित्व रहँदासम्म समाजवादलाई पनि बजार अर्थतन्त्रमा आधारित गराएर मात्र अगाडि बढ्न सकिन्छ भन्ने एउटा निष्कर्ष अगाडि आएको छ । त्यसैगरी राज्य सञ्चालनमा पनि पूँजीपति वर्गसँग सहकार्यको नीति अनुरुप बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली समाजवादमा पनि अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । आजको परिवर्तित युगीन अवस्थामा पूँजीवादसित शान्तिपूर्ण प्रतिस्पर्धा र सहकार्य गर्दै मात्र समाजवादलाई स्थापित, संरक्षण र दीगो गराउन सकिने छ । यस्तो अवस्थामा राष्ट्रिय पूँजीवादको पनि विकास र संरक्षणको नीति लिनुपर्छ । कतिपय क्षेत्रमा पूँजीवाद भएपनि समग्र देशको अवस्था समाजवादी हुनेछ ।

तत्काल नेपालमा आधारभूत चरणको समाजवाद कायम गर्दै अगाडि बढ्ने नीति लिनुपर्छ । त्यो चरण पुरा गरेपछि नेपाली समाज मान्छेद्वारा मान्छेमा हुने शोषणबाट मुक्त हुँदै मध्यमस्तरको समाजवादी चरणमा प्रवेश गर्नेछ । त्यसपछि नेपाली समाज उच्चस्तरको संस्कृतिले युक्त समृद्ध समाजवाद निर्माणको चरणमा प्रवेश गर्नेछ । त्यसपछि पनि नेपाली समाज अझ उच्चस्तरको अवस्थामा पदार्पण गर्दै अगाडि बढि रहनेछ र पूँजीवादको अन्त्यसँगै नेपाली समाज पनि साम्यवादमा रुपान्तरित हुनेछ ।

उत्पादनका साधनमाथि समाजको स्वामित्व कायम नभई समाजवाद निर्माण हुन सक्दैन तर राष्ट्रिय विशेषतामा आधारित गरेर मात्र समाजवाद निर्माण र विकास गर्न सकिने छ । सबै पक्षलाई विचार गर्दा रुस, चीन र अन्य समाजवादी मुलुकहरूमाभन्दा फरक किसिमले नेपालमा समाजवादको विकास हुनेछ । समाजवाद र पूँजीवाद खासगरी राष्ट्रिय पूँजीवादका वीच स्वस्थ प्रतिस्पर्धा र एकअर्काको सहयोगीका रुपमा लैजानुपर्ने हुन्छ । यसरी हेर्दा नेपालमा राजकीय, सार्वजनिक, सामूहिक, निजी र निजी–सार्वजनिक–साझेदारीको स्वामित्वमा नेपाली समाजवादी अर्थतन्त्रको विकास हुनेछ । अब नेपाल समाजवाद निर्माणको आधारभूत चरणबाट अगाडि बढ्ने छ ।

समाजवाद निर्माणको योजना बनाउँदा सबै चरणलाई समयावद्ध गराउन पनि सकिनेछ । समाजवाद निर्माण सम्बन्धि योजना र ठोस कार्यक्रमलाई यसपछि आउने रचनामा प्रस्तुत गरिने छ । सारांशमा भन्नुपर्दा अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यक्रम समाजवाद मात्र हो । यो नेपाली विशेषतामा आधारित भएर विकसित हुनेछ । यसको मुख्य उद्देश्य बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली सहितको समृद्ध र सुसंस्कृत समाजवाद निर्माण गर्नु हो ।

पढ्नुहोस्, यो पनि :
सिद्धान्तका रूपमा मान्न सकिए पनि जबज अहिले पार्टी कार्यक्रम हुन सक्दैन

कमेन्ट गर्नुहोस्