वैदिक साहित्यमा मार्क्सवादी विवेचना भर्ने व्यक्तित्व दीक्षित

काठमाडौं – मदनमणि दीक्षित । वैदिक साहित्यलाई मार्क्सवादी विचारका आधारमा विवेचना गर्न सक्ने सीमित लेखकमध्ये अग्रपङ्क्तिमा लिइने नाम हो ।  रक्षाबन्धनका दिन बिहानै तिनै मूर्धन्य स्रष्टा दीक्षितको निधनको खबरले नेपाली राजनीति, साहित्य, पत्रकारिता र पाठक वर्ग स्तब्ध भएको छ । कृतिगत र समग्र योगदानको स्मरण गर्दै उनको निधनलाई बौद्धिक क्षेत्रमा अपूरणीय क्षतिका रूपमा लिइएको छ ।

पञ्चायतकालमा ‘समीक्षा’ पत्रिकाका माध्यमबाट उनले छरेको चेतना होस् वा ‘माधवी’ उपन्यासले खिंचेको वैदिक साहित्य दर्शनको चित्र होस्, सबैमा दीक्षितको व्यक्तित्व र सङ्घर्ष झल्कन्छ । ‘माड्साब’को त्यही योगदानलाई सम्झँदै मुलुकका शीर्ष नेता र स्रष्टाहरूले उनलाई उच्च सम्मान दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ‘प्राच्य साहित्य दर्शनका ज्ञाता’ का रूपमा लिँदै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।


Advertisement

लामो समयदेखि मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या भोगेका दीक्षितको ९७ वर्षका उमेरमा आज बिहान कमलपोखरीस्थित हिमाल अस्पतालमा निधन भएको थियो । गत साता उपचारका लागि ललितपुरको सुमेरू अस्पताल भर्ना गरिएका उनलाई बुधबार कालिकास्थानस्थित निवासमा ल्याएको थियो ।

साहित्य र पत्रकारिता जीवनका क्रममा उनीसँग राजा महेन्द्र र  वीरेन्द्र, नेताहरू विपी कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी, विश्वबन्धु थापा, डा तुल्सी गिरी आदिसँगका संवाद र उठबसलाई दीक्षितले अन्तर्वार्ता र स्मरणका माध्यमबाट समय–समयमा रोचक रूपमा सार्वजनिक पनि गर्दै आएका थिए ।


Advertisement

नेपाल प्रज्ञा –प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरिसकेका दीक्षितका ‘माधवी’, ‘द्रौपदी’, ‘अहिल्या’, ‘ग्यास च्याबरको मृत्यु’ जस्ता ४५ भन्दा बढी कृति प्रकाशित छन् । उनी पछिल्लो समयमा पनि आफ्ना सहयोगीमार्फत लेखनीमा सक्रिय थिए ।  उनले ‘माधवी’ उपन्यासको आठौँ संस्करणका लागि परिमार्जन पनि गरेका छन् ।

माधवीले विसं २०३९ का लागि मदन पुरस्कार प्राप्त गरेको थियो । उहाँका ‘चरैवेति’ (निबन्ध २०४४), ‘त्यो युग’ (निबन्ध २०४७), ‘हाम्रा ती दिन’ (निबन्ध, २०२९), ‘म रुँदै बिर्सन्छु’ (संस्मरण, २०२७), ‘बर्लिन डायरीका पाना’ (यात्रावर्णन, सन् १९८४), ‘लाखौंँ शिशुहरू लिफ्ट मागिरहेछन्’, ‘मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ’, ‘कसले जित्यो कसले हार्‍योे’ (कथा २०२१), ‘दश लाख हिरोसिमातिर’, ‘जीवन महाअभियान¬’, ‘ऋग्वेद: केही प्रमुख सूक्त (२०६५) ‘मेरी नीलिमा’ र ‘भूमिसूक्त’ आदि पुस्तक प्रकाशित छन् । विसं २०५२ मा तत्कालीन नेपाल राजकीय प्रज्ञा– प्रतिष्ठानको उपकुलपति भएपछि उहाँले ‘समीक्षा’ पत्रिका छोरा विनोदलाई हस्तान्तरण गरेका थिए । त्यसको केही समयपछि पत्रिकाले निरन्तरता पाउन सकेन । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उनलाई नेपाली साहित्य, पूर्वीय दर्शन, पत्रकारिता र राजनीतिक क्षेत्रका अग्रज तथा सम्मानित व्यक्तित्व लिँदै २००७ सालअघिको जहानियाँ राणाशासन विरोधी आन्दोलन तथा पञ्चायत विरोधी प्रजातान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको भूमिका सदा स्मरणीय हुने जनाएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको नेतृत्वमा कम्युनिष्ट आन्दोलनको विस्तारमा उनको सक्रियता प्रेरणादायी रहिरहने बताएका ५न् ।

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित शुरुदेखि नै अत्यन्तै अध्ययनशील  र मार्क्सवादी विचारयुक्त व्यक्तिका रूपमा दीक्षितलाई सम्झन्छन् ।

प्रश्रित भन्छन्, “सोही विचारका आधारमा उहाँले प्राचीन साहित्य र इतिहासको व्याख्या गर्नुभयो । इतिहास, संस्कृति र विज्ञान सबैलाई समेटेर लेख्न सक्ने पुरानो पुस्ताको एक हस्तीका रूपमा उहाँलाई लिनुपर्छ ।”

समालोचक प्रा डा अभि सुवेदीले नेपालमा विचारप्रधान र वामपन्थी पत्रकारिता गर्ने अग्रणी व्यक्तिका रूपमा लिँदै कुनै पनि पार्टीमा प्रत्यक्ष संलग्नता नरहेकाले दीक्षितका विचारमा कहिले वामपन्थ तथा कहिलेकाहीँ पञ्चायत र राजतन्त्रका कतिपय कामबारे प्रशंसा गरेको पाइने जनाए ।

वरिष्ठ कवि एवं राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले दीक्षितको निधनले नेपाली साहित्यमा वैचारिकताको पक्षमा हुने बहसको शृङ्खलामा एक प्रकारको रिक्तता महसुस हुने प्रतिक्रिया दिए ।

उनको मत छ, “राजनीति, पत्रकारिता र साहित्यका त्रिवेणी दीक्षित हाम्रो अग्रपुस्ताका एक मनीषी हुनुहुन्थ्यो । उहाँको महाप्रस्थानसंँगै बहस र विवादबाट विचारमा निखार ल्याउन चाहने पुरानो पुस्ताको अब लगभग अन्त्य भयो ।”

प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष मातृका पोखरेल आफ्नो पहिलो कविता ‘सूर्य उदाऊ अब’ लाई¬ २०४५ साल वैशाखमा ‘समीक्षा’ पत्रिकामा छापिदिएर आफूलाई प्रेरणा दिएको स्मरण गरे ।

उनले भने, “दीक्षितको निधन ठूलो बौद्धिक क्षति हो ।”

एकेडेमीमा शव राखिएन

दीक्षितलाई श्रद्धाञ्जलिका लागि उनको शव कमलादीस्थित  प्रज्ञा प्रतिष्ठानमा राख्ने तयारी भए पनि निवास कालिस्थानमै श्रद्धाञ्जलिका लागि दिइयो ।

उनको परिवारका केही सदस्य र शुभेच्छुकले प्रतिष्ठानको परिसरमा शव राख्न पहल गरेका थिए तर दीक्षितले जीवित छँदा आफ्नो शव त्यहाँ नराख्नू भनेकाले कमलादीमा नराखिएको हो ।

प्रतिष्ठानले केही वर्षअघि कुनै पनि दिवङ्गत स्रष्टाको शव आफ्नो परिसरमा नराख्ने निर्णय गरेको थियो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले दीक्षित प्रतिष्ठानकै पूर्वउपकुलपति भएको र प्रधानमन्त्री ओलीबाटै शव सो परिसरमा राख्न निर्देशन दिए पनि परिवारको चाहनाबमोजिम नराखिएको जानकारी दिए । प्रकाश सिलवाल/रासस

कमेन्ट गर्नुहोस्