पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
काठमाडौं– २०७० सालको संविधानसभा निर्वाचनमा पहिलो दल बनेपछि नेपाली कांग्रेसले बुद्धिजीवीहरूसँग चुनावी समीक्षा कार्यक्रम राखेको थियो, पार्टी कार्यालयमा । कांग्रेसको निष्कर्ष थियो– नेकपा एमालेको संगठन आगामी चुनावको लागि कांग्रेसको मुख्य चुनौती हुनेछ ।
बलियो संगठनकै कारण कांग्रेस र माओवादीबीच घोषित र अघोषित तालमेलका बीच तत्कालीन नेकपा एमालेले २०७४ सालको स्थानीय निर्वाचनमा धेरै ठाउँमा एकल बहुमत हासिल गर्यो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म आइपुग्दा माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भयो । एमाले र माओवादीबीच चुनावी तालमेल, संयुक्त सरकार हुँदै पार्टी एकीकरणसम्म आइपुग्दा समेत एमालेको संगठनको अहिलेसम्म पनि चर्चा हुन्छ ।
साबिकको एमाले र हाल माओवादी सहितको नेकपाको संगठनलाई बलियो बनाउने श्रेय भने हालै संगठन विभाग इञ्चार्जको जिम्मेवारी पाएका नेकपाका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णु पौडेललाई जान्छ ।
२०५० सालमा चितवनको दासढुंगा दुर्घटनामा महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएपछि संगठन विभागको नेतृत्व गौतमले पाए । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा तत्कालीन एमाले ठूलो दल बन्नुको कारण संगठन विभागमा गौतमको उपस्थिति एउटा प्रमुख कारण मानिन्छ ।
गाउँसम्म व्यवस्थित संगठनका कारण एमालेले २०५४ सालको स्थानीय निकाय निर्वाचनमा आफूलाई अग्रस्थानमा राख्न सफल भयो । तत्कालीन एमालेको संगठन विभागलाई जुझारू बनाएका गौतमले एकीकृत पार्टीको संगठन विभागको जिम्मा पाएका छन् ।
कम्युनिस्ट पार्टीहरू संगठनलाई पार्टीको जीवन मान्छन् । एमाले र माओवादीबीच मिलेर नेकपा गठन भएको १५ महिना बित्दासम्म नेकपाको संगठन अस्तव्यस्त र ध्वस्त जस्तै बनेको थियो । दुई पार्टीका साबिकका संगठनलाई मिलाएर एक बनाउने चुनौती गौतमको काँधमा आइपुगेको छ ।
हाइड्रोजन र अक्सिजनको अन्तरघुलन
३ जेठ २०७५ मा दुईपार्टी एकीकरण समारोहमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए– ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यौं, अब छुट्याउन मिल्दैन, अर्कै कम्पोनेन्ट बनेका छौं ।’
सोही कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए– ‘हामी मिसिएको होइन, अन्तरघुलन भएका छौं, हिन्द महासागरमा गएर कहाँको पानी भनेर छुट्याउन सकिन्छ र ?’
कार्यकर्तालाई निराश बन्न नदिन प्रचण्ड र ओलीले मञ्चबाट दाबी गरेपनि पार्टी एकताको गाँठो फुक्न वर्षदिन लाग्यो ।
संगठनको नेतृत्व र जिम्मेवारीको विषयलाई लिएर वर्षभरी विवाद चलिरह्यो । भर्खरै मात्र नेकपाले विभागका प्रमुख, जनवर्गीय संगठनका अध्यक्ष र जिल्ला इञ्चार्जको टुंगो लगाएको छ । अझै पनि नेकपा कार्यकर्ताबीच जिम्मेवारी बाँडफाँडको विषयलाई लिएर सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप र रोदन चलिरहेको छ । जिम्मेवारी नपाएकोमा चरम असन्तुष्टि छ ।
दाबी गरिएको तर मिलिनसकेको ‘हाइड्रोजन र अक्सिजन’ मिलाउने काम अहिले वामदेवको काँधमा आएको छ । ‘संगठन विभागको जिम्मा बादलजीलाई दिने कुरा पनि आएको थियो तर दुवै पक्षलाई मिलाउन सक्ने र दुवै पक्षलाई स्वीकार्य हुने एकमात्र नेता गौतम हो भनेर संगठन विभागको प्रमुख उहाँलाई बनाइएको हो,’ प्रचण्ड निकट एक नेताले लोकान्तर डट्कमसँग भने ।
वामदेव संयोजक रहेको संगठन विभागको उपप्रमुखमा जनार्दन शर्मा छन् । ‘दुवै जनाको केमेस्ट्री मिल्छ र संगठनले गति लिन्छ भन्ने अध्यक्षद्वयको विश्वास छ,’ प्रचण्ड निकट ती नेताको विश्वास छ । नेकपा एकीकरणमा गौतम, शर्मा र महासचिव विष्णु पौडेलले विशेष भूमिका खेलेका थिए ।
पार्टी एकताका सूत्रधारको सम्मान
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि दशक अघिसम्म एमाले र माओवादी एकले अर्काको अस्तित्व स्वीकार गर्दैनथे ।
माओवादीलाई एमालेले उग्रवामपन्थी भड्काव भएको अतिवादी शक्तिको रूपमा चित्रण गरेको थियो भने माओवादीले एमालेलाई पश्चगामी र दक्षिणपन्थीको आरोप लगाउँदै आएको थियो ।
२०७० सालको चुनावसम्म यी पार्टी एकअर्काविरुद्ध भिड्ने रणनीतिमा थिए । कतिपय ठाउँमा यी दुई दलका कार्यकर्ताबीच झडप भइरहन्थ्यो । माओवादीको वाईसीएललाई काउन्टर दिन एमालेले ‘युथ फोर्स’ नै गठन गर्नुपरेको थियो ।
कार्यकर्ताहरू भौतिक रूपमा भिडेको त्यो प्रतिकूल समयमा पनि वामदेवले दुई पार्टीबीच सहकार्य र एकताका लागि पहल गरिरहे । माओवादीसँग मिल्ने प्रस्ताव गर्दा गौतमलाई ‘एमालेभित्रको माओवादी’ को ट्याग समेत लाग्यो ।
पार्टीमा अपमानित भएर पनि गौतमले पार्टी एकताको पहल छाडेनन् । बेलाबखत प्रचण्डले भन्ने गरेका छन्, ‘धेरै जनालाई प्रधानमन्त्री बनाइसकें, कति जनालाई बनाएपछि गिनिज बूकमा नाम लेखिने हो ?’
प्रचण्ड स्वयंलाई प्रधानमन्त्री बनाउन भने गौतमको भूमिका थियो । २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा पाएको मतको ‘दम्भ’का कारण माओवादीले कांग्रेस/एमालेलाई हरूवा पार्टीको संज्ञा दियो ।
चुनाव जितेपनि सरकारको नेतृत्व पाउन माओवादीले ४ महिना कुर्नुपर्यो । ‘कुनै पनि दल हतियार नत्यागी सरकरामा जान मिल्दैन’ भन्ने विदेशी शक्तिकेन्द्रको उक्साहटमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीलाई सत्ता हस्तान्तरणमा आलटाल गरिरहे ।
माओवादी एक्लैको बहुमत नपुग्ने तर माओवादीसँग सरकार बनाउन कांग्रेस/एमाले अनिच्छुक देखिएको समयमा गौतमले प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको जानकारहरू बताउँछन् ।
‘जनमत माओवादीको पक्षमा भएकाले सरकारको नेतृत्व उसैलाई दिनुपर्छ’ भन्ने वामदेवको अडानले काम गर्यो ।
पहिलो संविधान सभामा सरकार गठन र विघठनको चक्र चलिरहेको थियो । १७ औं पटक मतदान गर्दा समेत देशले निकास नपाएको समयमा गौतमले निकासका लागि पहल कदमी लिए ।
गौतमको प्रयास र प्रचण्डको निर्णय क्षमताका कारण झलनाथ खनाल प्रधानमन्त्री बने ।
२०७२ सालमा दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन पनि गौतमले नै प्रमुख भूमिका खेले । माओवादी–एमाले तिक्त सम्बन्धलाई सत्ता गठबन्धनमा सहमत गराउन गौतमको भूमिका अहम् रह्यो ।
मुलुक बनाउने सपना बोकेका नेता
दुई दशक लामो पत्रकारिता दौरानमा मैले थुप्रै पार्टीका धेरै नेता/कार्यकर्तासँग भेटघाट र अन्तरक्रिया गरेको छु । पत्रकारिता अभ्यासका क्रममा थुप्रै नेतासँग अन्तर्वार्ता गरेको छु । लामालामा कुराकानी भएका छन् । नेताहरूसँग भेट्दा मेरो ध्यान यो व्यक्तिमा देश बनाउने रणनीति, मिसन, भिजन, गोल कत्तिको छ ? भनेर बुझ्नमा धेरै खर्च हुन्छ ।
पछिल्लो समयमा नेपाल बनाउने खाका, भिजन र रणनीति बनाएर बसेको नेता नेपालमा कोही छ भने त्यो वामदेव गौतम नै हो । गौतमले ‘नेपाल नवनिर्माण महाअभियान’ नामक पुस्तक नै प्रकाशन गरेका छन् ।
शंका गर्ने, निराशा/हल्ला फैलाउने परपीडकहरूको बाहुल्यता रहेको मेरो समाजमा नकारात्मक कुराको बढी चर्चा हुन्छ, वामदेवको त्यो पुस्तकको बिरलै चर्चा भएको छ ।
उक्त पुस्तकमा गौतमले समयतालिका नै तोकेर यो–यो काम यसरी गर्न सकिन्छ र त्यसका लागि आर्थिक स्रोत यसरी जुटाउन सकिन्छ भनेर गहिरो, अध्ययन र विश्लेषण गरेका छन् । मुलुक बनाउने खाका पस्केका छन् ।
समकालीन राजनीतिमा गौतमले जुन अध्ययन, मेहेनत र भिजनका साथ त्यो पुस्तक लेखेका छन्, त्यति मेहेनत अरू नेताले गरेको मैले पाएको छैन । यद्यपि पुस्तक लेखन क्षमता भएका नेता भने नेपालमा अरू पनि छन् र अन्य विभिन्न विषयका पुस्तक आइरहेका पनि छन् ।
नेपाल कसरी बनाउने भन्ने बारेमा गौतमपछि मैले विभिन्न कालखण्डमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्थमन्त्रीका रूपमा सफल कार्यकाल बिताएका नेकपाका महासचिव विष्णु पौडेलसँग पनि लामो कुराकानी गरेको छु, र दुवैमा समृद्ध मुलुकको विकासप्रति गम्भीर सोच र भिजन पनि देखेको छु । तर त्यस्ता सोचलाई पुस्तककै आकार दिने नेता भने गौतम मात्रै हुन् ।
२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेलको सूत्रधार समेत रहेका गौतम संयोजकत्वको समितिले वामपन्थी गठबन्धको संयुक्त चुनावी घोषणापत्र तयार गरेको थियो । संयुक्त वामपन्थी घोषणालाई अनुमोदन गरेर नेकपालाई जनताले भारी बहुमत दिए । ओलीको नेतृत्वमा सरकार गठन भयो । तर गौतम भने लामो समय भूमिकाविहीन बनाइए ।
आठ लाख कार्यकर्ता परिचालनको जिम्मेवारी
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका गरी करिब ८ लाख संगठित सदस्य छन् । संगठन विभागको हैसियतले उनीहरूको परिचालनको जिम्मा अब वामदेवको काँधमा आएको छ । शिथिल अवस्थामा रहेका नेकपाका संगठनलाई गतिशील तुल्याउने जिम्मेवारी पनि गौतमकै काँधमा छ ।
‘कम्युनिस्ट पार्टीको शक्ति संगठनमा हुन्छ, जीवन सक्रियतामा हुन्छ । त्यो भनेको नेता कार्यकर्ता सबैले चौबीसै घण्टा काम गरिरहेका हुन्छन्, सरकारमा जानेले त्यसै गरिरहेका हुन्छन् । कुनै व्यवसाय गर्दा पनि उनीहरूले दिमागमा कम्युनिस्ट आन्दोलन गरिरहेका हुन्छन् । तर अहिले एक वर्षसम्म सबै रित्तो !’ ३ जेठ २०७६ मा लोकान्तर डटकमलाई दिएको अन्तर्वार्तामा गौतमले भनेका थिए ।
नेकपाभित्र गौतम अध्ययनशील, क्रियाशील, सिद्धान्तको व्याख्या गर्न सक्ने र जुझारू नेताको रूपमा परिचित छन् । पार्टीको सिद्धान्तका बारेमा लामालामा लेख लेख्ने गौतमले देश विकास र समृद्धिको खाका कोर्ने, ‘नेपाल नवनिर्माण महाअभियान’ नामको पुस्तक लेखेर दलका नेताहरू अध्ययन गर्दैनन् भन्ने आरोपको व्यावहारिक रूपमै खण्डन गरिदिएका छन् । देशको आर्थिक विकासको फड्को मार्न परम्परागत कृषिको आधुनिकीकरण तथा पूर्वाधार विकासबारे पुस्तकमा नयाँ अवधारणा अगाडि सारिएको छ ।
पार्टीले खटाएको जिम्मेवारी निष्ठा र इमान्दारीपूर्वक सम्पन्न गर्ने गौतमको पहिचान छ । खरो स्वभावका गौतम पार्टीले आन्दोलन गर्ने निर्णय गर्दा ‘कमरेडहरू माइन्युट गर्दै गर्नुस्, म आन्दोलनमा हिँडे’ भनेर तत्कालै एक्सनमा उत्रिने गरेको समकक्षीहरू बताउँछन् ।
पार्टीमा संगठनको महत्त्वबारे हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृति सभामा गौतमले भनेका थिए– ‘संगठनमा नबसेको व्यक्ति नेतृत्वमा पुग्न सक्दैन, हाम्रो सिद्धान्तले यही भन्छ । पढेर मात्र कम्युनिस्ट बनिँदैन, विद्वानहरू पढेर पीएचडी गरेका विद्वान हुन सक्छन्, तर कम्युनिस्ट पार्टीमा छैनन् भने विश्व दृष्टिकोण बुझेको भएपनि ती कम्युनिस्ट हुन सक्दैनन् ।’
भित्री यथार्थ र बाहिरी बुझाइ
नेपालमा नेता, कर्मचारी, न्यायाधीश, पुलिस, पत्रकार, व्यापारी या यस्तै विभिन्न पेशा व्यवसायमा राम्रा/नराम्रा दुवै मानिस छन् । तर हाम्रो समाज र अधिकांश हामी नेपालीको चरित्र के छ भने सबैलाई जनरलाइज्ड (सामान्यीकरण) गर्ने र कि राम्रैराम्रो मात्र देख्ने कि नराम्रैनराम्रो मात्र देख्ने ।
सन्तुलित ढंगले कुनै पनि विषय, पात्र र प्रवृत्तिको गहन विश्लेषण नगर्ने, अरूले भनेको वा बजार हल्लाको पछि कुँद्ने या बजार हल्ला तत्काल पत्याएर त्यही आधारमा धारणा बनाउने ।
उदाहरणका लागि कसैले सानो त्रुटि गर्यो भने उसले गरेका सयवटा राम्रा काम ओझेलमा पर्ने गरी सार्वजनिक रूममा गाली-बेइज्जती गर्ने, खुइल्याउने । यस्तो पीडा र व्यथाबाट नेपालमा धेरै व्यक्ति र संस्था शिकार भएका छन् । यो लेखक स्वयं पनि त्यसको शिकार भएको छ र त्यस्तै व्यक्ति मध्येमा वामदेव गौतम र पछिल्लो समय नेकपाका महासचिव विष्णु पौडेल पनि पर्छन् ।
वास्तविकता एकातिर हुन्छ, तर त्यसको खोजी नगरी एकोहोरो प्रहार गर्ने प्रवृत्ति समाजमा व्याप्त छ ।
केही महिनाअघि मिडिया काउन्सिल विधेयकको व्यापक विरोध भयो । त्यसलाई सच्याएर पारित गर्नुपर्ने आवाज उठे ।
नेता गौतमले त्यही सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै भने– ‘प्रेस स्वतन्त्रता खोसिने गरी विधेयक ल्याइनु हुँदैन । प्रस्तावित विधेयकलाई सच्याएर सर्वस्वीकार्य बनाउनु पर्छ । तर पत्रकाहरू पनि समाजप्रति जिम्मेवार हुनुपर्छ । यद्यपि म आफैँ पटक–पटक पित पत्रकारिताको शिकार भएको व्यक्ति हुँ ।’
पटक–पटकका भेटघाटमा मैले गौतममा पाएको अर्को विशेषता भनेको उनको इमान्दारिता हो ।
उनी जे देख्छन्, ठान्छन् वा बुझ्छन्, त्यही बोल्छन् । मनमा एउटा कुरा, बाहिर अर्को ढोंगी कुरा गर्दैनन् । गौतम यथार्थवादी र प्रस्ट कुरा गर्छन् । व्यवहारमा पनि त्यही लागू गर्ने प्रयास गर्छन् ।
भूमिका पाए काम गरेर प्रमाणित गर्ने छवि बनाएका गौतमसामु अब नेकपाको अन्यौलग्रस्त संगठनलाई चुस्त र प्रभावकारी बनाएर जीवनको अर्को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने चुनौती थपिएको छ ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...