गणतन्त्रविरोधीले फिँजाएको गोरु ब्याउने हल्ला !

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

हो, अब राजा आउँछन् । तर नारायणहिटी दरबारमा आउँदैनन् । थाइल्यान्डतिर भ्रमणमा निस्किए भने एकदिन फर्केर नेपालमा चाहिँ राजा आउँछन् । यस्तो भने हुन सक्छ । अर्को महत्त्वपूर्ण कुरा के भने नारायणहिटी दरबार संग्रहालयमा परिणत भएको धेरैलाई मन परेको छैन । हो, वास्तवमा भन्ने हो भने मलाई पनि मन परेको छैन । हुनुपर्ने खास चिडियाखाना हो । दुर्लभ जनावरहरूलाई त्यहाँ लगेर राख्नुपर्ने हो । गैंडा हेर्न सौराहा जानुपर्ने स्थितिको अन्त्य गरेर नारायणहिटी परिसरमा गैंडा राख्नुपर्छ । यसो हुन नसके नेपालीहरूको एकबारको जुनी खेर जान्छ । यस विषयमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमत हुनुहोला भन्ने विश्वास छ । 

यो आलेखको शुरूआतमै नारायणहिटी र राजा शब्दको प्रयोग किन गरेको हो भने राजा आउँछन् भन्ने बजारमा व्यापक हल्ला चलेको छ ! हुन त यहाँ पूर्वराजा भन्नुपर्ने हो तर राजा भन्ने शब्द उपाधि हो, अतः पूर्व हुँदैन भन्ने लाग्छ । अस्ति फेन्सी पसलमा लुगा किन्न गएको थिएँ । व्यापारीले राजा आउने कुराको ठोकुवा गरे । चिया पिउन गयो, त्यहाँ पनि राजा आउने कुराको ग्यारेन्टी दिएर बसेकाहरू धेरै भेटिन्छन् । यसो मम खाम् त नि आज भनेर कतै निस्कियो, त्यहाँ पनि राजाले भित्रभित्रै गोटी चालेको र छिट्टै नारायणहिटी दरबार जाने विषयको कागजपत्र लाइसेन्स लिएर मानिस बसेका देखिन्छन् । यतिसम्म कि मैलै राजालाई भेटेर आएँ, राजाले यसो यसो भने मलाई भनेर आफूलाई निकै घगडान विश्लेषक ठान्ने एक यूट्युबे बाजेले नाकको पोरा फुलाउन लाज मानेनन् । नाकको पोरा फुलाउनेहरू उनी मात्र हैनन्, अरू पनि छन् । राउटे शाहीहरू राजा खलकको शाहीको अवतार लिएर कुर्लिरहेका छन् । तिनीहरू यसो चौतारातिर साँप्रा ठटाउँदै यस्ता कुरा गर्नुपर्ने हो, तर सामाजिक सञ्जाल नै आधुनिक चौतारी  बनेपछि बडो रमाइलो छ ।


Advertisement

कुनै युग थियो राजतन्त्रको । कम्तीमा २५० वर्षसम्म उनीहरूले एकछत्र शासन गरे । आज नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई केही तत्त्वहरूले हत्यारा भन्ने गरेका छन् । जननेता मदन भण्डारीलाई कस्ले मार्‍यो भनेर तिनै राजावादी जमात बडो भावुक भएर उफ्रिने गर्छन् । तर के तिनले राजतन्त्रकालको अध्ययन गरेका छन् ? हिजो आफ्नो हातमा शासनसत्ता ल्याउनका लागि दर्जनौंपटक हत्याकाण्डहरू भएका छन् । आफ्नै नातेदार मार्ने संस्कार राजतन्त्रकालमै फस्टाएको हो । कसैलाई विष खुवाएर मार्ने, कसैलाई मित लगाएर फकाएर मार्ने, कसैलाई के गर्ने । भण्डारखालपर्व, कोतपर्व केही चर्चित उदाहारण हुन् । शाहवंशका खलकहरूलाई आफ्नै दाजुभाइबाट जोगिन खतरा थियो । वीरेन्द्रको वंशनाश पनि युवराज दीपेन्द्रले नै गरे । हल्ला जे भए पनि दीपेन्द्रकै हात थियो भन्ने निचोड भयो । दीपेन्द्र हैनन् भने हाल जसलाई फलना आऊ, देश बचाऊ भनेर जयजयकार गर्ने गरिन्छ, उनको हात छ भन्ने जमात पनि ठूलो छ । तर महाराजाको दर्जा दिइसकेपछि जस्तो कुख्यात अपराधीलाई पनि दूधले नुहाइदिन तयार हुने रहेछन् भेडा प्रवृत्तिका मानिस । 

अब सीधा सीधा विषयतर्फ लागौं देशमा सानो घटना वा इस्यु हुँदाबित्तिकै मेरा बाबै नि हो, देश त खतम भयो, बर्बाद भयो भन्दै केही मानिसहरू बडो भावुक भएर फुत्त बाहिर निस्किन्छन् । म तिनलाई भेडा प्रवृत्तिका मानिस भन्छु । ती भेडा प्रवृत्तिका मानिस आफैं बाटो पहिल्याउन सक्दैनन्, अगुवा भेडा जहाँ जहाँ हाम्फाल्छन् त्यतै त्यतै हाम्फाल्छन् । जब देशमा केही सामान्य उचारचढाव आउँछ, यिनीहरू देशप्रेमले लुछुप्पै भिजेको कविता सुनाउन समेत पछि पर्दैनन् । मानौं कि देशलाई माया गर्ने, प्रेम गर्ने एक प्रकारको अलौकिक प्याटेन्ट राइट उनीहरूसँग मात्रै छ । सीधै भनांै, ती स्मरण गर्छन्, ‘अहो, राजाको पालामा त्यति राम्रो थियो, यी चोरहरूले देश खाल्डोमा हाले, लुटेर खाए’ यस्तै यस्तै । तिनीहरूको नजरमा राजतन्त्रको समय नेपाल स्वर्ग थियो र हाल यो नर्कसमान भएको छ । यस्तो हुनुमा हाम्रा नेताहरूको,कर्मचारीहरूको कमजोरी छ । जुन जनताले अपेक्षा गरेका थिए, त्यो पूरा हुन सकेको छैन । तर केही नेताहरू, केही थान सरकारहरूको प्रश्न हैन यो । यो प्रश्न व्यवस्थाको हो । यो प्रश्न राज्य सत्तामा जनताको छोराछोरीको प्रतिनिधित्वको प्रश्न हो । समान हक, अधिकार र देशप्रतिको चिन्तासम्बन्धी आधारभूत कुरा हो यो ।

तमाम समस्याहरूको बीचमा पनि गणतन्त्रको विकल्प खोज्न मिल्दैन, बरू सरकार र यसको नेतृत्वको विकल्प खोज्नुपर्छ  हुटिट्याउँको जस्तो आवाज निकालेर गणतन्त्रविरोधीहरूले आकाश थाम्न सक्दैनन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र जनताको आधारभूत अधिकारको जग हो । यो कुनै वंशीय, नश्लीय, जातीय सम्राटको कुर्सी हैन । न त यो श्रीपेच नै हो । यो जनताको अधिकार कुनै एलिट, सम्राट वा तिनका मतियारहरूको निगाहाबाट बक्सिस हुने प्रसाद हैन । यो त जनताको जीवनसँग जोडिएको हाँगा हो, जरा हो । जस्तो कि कुनै कालखण्डको सरकार वा दल असफल होलान्, अक्षम होलान् तर तिनको विकल्प राजनीतिभन्दा बाहिर गएर खोज्नु सामान्य लोकतान्त्रिक सिद्धान्तको पनि भद्दा मजाक हो । जनताहरू सचेत छन् । राजनीतिको विकल्प राजनीति नै हो । गणतन्त्रको विकल्प गणतन्त्र नै हो । सरकारको विकल्प सरकार नै हो । संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा राजतन्त्र वा अर्को कुनै अलोकतान्त्रिक पद्धति अंगीकार गर्न मिल्दैन । जनता सार्वभौम भएको अवस्थामा त्यही दासयुगको वकालत गर्नेहरू मानिस हैनन्, न देशप्रेमी नै हुन् । तिनीहरू त केवल मसान हुन् ।  हाम्रा नेताहरूको कमजोरीका कारण, जनप्रतिनिधि र सरकारको उदासीनताका कारण मसान जाग्ने मौका पाउँछन् कहिलेकाहीँ । यी सामानहरू फुकफाक गरेर हराउने खालका मसान हैनन्, बरू पितृ जगाउने नाममा स्वर्गीय राजाहरू महेन्द्र, त्रिभुवन र वीरेन्द्रसम्मको आत्मा जगाउने गर्छन् । चोकहरूमा राजा फर्कन सक्ने हल्ला चल्दै गर्दा नारायणहिटी दरबार संग्रहालय बनेको छ । कतिपयको माग छ– राजा आउने बेला भयो, दरबार खाली गर । मानौं कि राजा १५ दिने विदेश भ्रमणमा गएका थिए अब स्वदेश फिर्ता हुने कुरा जस्तो । 

यसकारण सानो निहुँ पाउँदाबित्तिकै राजावादी मण्डलेहरूको प्रेत जाग्ने गर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको जसले विरोध गर्न सक्छ या थितीको जसले हुर्मत काड्न सक्छ उसैका पछाडि केही बथान वा जत्थाहरूको भीड देखिन थालेको छ । नशामा लट्ठ पारसलाई युवराज भन्दै खुट्टामा ढोग्न कुनै हीनताबोध नगर्नेहरू कुनै जुझारु गणतन्त्रविरोधीका पछाडि त लाग्ने नै भए । हालैका दिनमा देखिएको भीड जसले केही दिन सडकमा नाटक मञ्चन गरे, ती ९० प्रतिशत राजावादी मण्डलेहरूको भीड थियो किनभने नाराहरू त्यस्तै किसिमको लागेको थियो । जस्तो कि फलाना कुनै अमुक व्यक्तिलाई केन्द्रमा राखेर फलाना आऊ, देश बचाऊ तथा फलाना प्राणभन्दा प्यारो छ । यस्तो नारा गणतन्त्रविरोधी, परिवर्तनविरोधी मण्डलेहरूले मात्र लगाउन सक्छन् । यिनीहरूले जनताको व्यवस्था, जनता मालिक हुने व्यवस्था मन नपरेर कुनै हुकुम प्रमांगीबाट राम्रो राम्रो ठाउँको जग्गा आफ्नो नाममा लिएको मीठो सपना देख्छन् । सेनाको डर देखाएर गणतन्त्रविरोधीहरूले फिँजाएको गोरु ब्याउने हल्ला चलाएका छन् । ढुक्क हुनुहोस्, गोरु ब्याउँदैन । यो सेना शाही नेपाली सेना हैन, नेपाली जनताको सेना हो । र यो सेना सचेत छ । युग अनुसार चलेको सेना हो । जनताको सेना हो । कथा रचिएको छ, राजाले सजिलै दरबार छोडे, कोही मरेनन् । यस्तो कुरा सुन्दा हाँसो लाग्छ । राजाले सेना प्रयोग गर्न नखोजेको हैन, अन्तिमसम्म प्रयास गरेको हो, तर सेनाले नमानेको हो । सेनाले त्यतिखेर विवेक पुर्‍याएको हो । 

हालसालैको परिस्थितिका बारेमा केही चर्चा गरौं, हिजोको दिनमा पनि राजाको नजिक रहेर काम गरेका, गणतन्त्र नेपालको मन्त्री पद पाए नछाड्ने तर राजा ल्याउनुपर्छ, यो सिस्टम नै गलत भयो भन्न पनि नछाड्ने राप्रपाका अध्यक्ष 
कमल थापाले ट्वीट गरेका थिए, ‘विदेशी गुप्तचर संस्थाले नेपालमा राजसंस्था अन्त्य गर्न योजना बनाएको र सो कार्यमा पूर्वप्रधानमन्त्री र सत्तारूढ दलका वर्तमान अध्यक्षलाई प्रयोग गरेको भन्ने आरोप राष्ट्रिय सुरक्षा र प्रजातन्त्रको भविष्यका लागि गम्भीर र संवेदनशील भएको हुँदा संसदीय छानबिन समितिले यसबारे अनुसन्धान गर्नु जरूरी छ ।’ 

यो कमल थापाको कल्पना मात्र हो । हुन त उनी रहस्यमयी कुरा बुझ्न माहिर खेलाडी हुन् । तर अब उनले बुझ्नपर्ने तुक्का के हो भने नेपाली राजनीति पाको भइसक्यो, काँचोकलिलो रहेन । अन्तिम समयमा संविधान जारी हुनबाट रोक्नका लागि मोदीले दूतका रूपमा पठाएको भारतीय टोलीलाई अमिलो मुख हुने गरी फिर्ता पठाइदिएको यही देशको राजनीतिले हो, यिनै नेताले हुन् । 

पक्कै पनि विदेशी चलखेल बढेको छ । त्यो कुरा शीर्ष  नेताहरूले पनि बुझेको कुरा हो । नेता ईश्वर पोखरेललाई पनि ज्ञानेन्द्र भेटेको आरोप लाग्यो । उनले त्यस आरोपको खण्डन गरे । भेटेकै भए पनि त्यो के ठूलो विषय भयो र ? एक नागरिकसँग नेताको भेट हुन सक्ने कुरा सामान्य भयो । राजाहरू कुनै अदृश्य बलशाली शक्ति थिएनन्, हैनन् । भेट्दैमा प्रलय जाँदैन । बरू धेरै चुराफुरी गरे नागार्जुनबाट पनि बिदा गरेर सरकारी सेवासुविधा खोस्नुपर्ने हुनसक्छ । राजाहरूले जनताको दुःखमा कालो चश्मा लगाएर मुन्टो हल्लाउने बाहेक अरू के गरे र ? गरेको भए १० दिन हिँडेर नूनको ढिक्का लिन बटौली जाने युगमा के हेरेर बसेको थियो दरबार ? जनताहरूलाई सामन्ती शासकहरूले मानवदास बनाउँदा, शोषण र विभेद गर्दा कहाँ थियो श्रीपेचको शान ? 

त्यसैले गणतन्त्रविरोधको नाममा गोरु ब्याउने हल्ला गणतन्त्रविरोधीहरूको पिसाबको न्यानो मात्र हो । राजाहरू हिजो भाग्दै दूतावासमा शरण लिएर प्रजातन्त्रको दुहाई दिएको इतिहास पनि छ । पढौं, राम्रोसँग पढौं । इतिहास बुझौं । हचुवाको तालमा त तन्त्रमन्त्र जानेको छु भन्दै अद्भुत क्षमताको हौवा दिएर भविष्यवाणी गरिदिने ठगहरू मात्रै बोल्छन् । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट पराजित गरिएको तानाशाहीलाई केही थान रअका भरौटे आएर हामीले राजतन्त्र फालिदिएका हौं पनि भन्थे । तर तिनको कुरा कसैले पत्याएन । अब ल्याउँछौं भन्ने पनि पत्याउनु हुँुदैन । पशुपतिनाथमा पूजा गर्न आएकाहरू पूजा गरेर फर्के हुन्छ । सचेत नेपालीहरूको दिमाग चाट्ने काम नगरे हुन्छ । त्यो सामन्ती राजतन्त्र नेपाली जनताको बलिदानबाट अन्त्य भएको हो ।  हुन त त्रिभुवनलाई ज्वाइँ जस्तै बनाएर राखेर २००७ सालको प्रजातन्त्र पनि भारतले ल्याइदिएको हो भनिन्छ । तर मूलतः त्यो पनि नेपाली जनताकै प्रयासबाट स्थापित भएको हो । त्यसो त अंग्रेजका विरुद्ध नेपालीहरू कहाँ कहाँ लडेनन्, अनि के भारतलाई नेपालीहरूले आजादी दिए भन्न मिल्छ ? नेपालीहरू भारतीय सेनामा छन्, के त्यो नेपालको सैन्य हस्तक्षेप हो त ? 

राजाहरूले जनताको दुःखमा कालो चश्मा लगाएर मुन्टो हल्लाउने बाहेक अरू के गरे र ? गरेको भए १० दिन हिँडेर नूनको ढिक्का लिन बटौली जाने युगमा के हेरेर बसेको थियो दरबार ?

शुरूमै भनियो, यसो केही इस्यु भेट्यो कि फलाना आऊ, देश बचाऊ भन्ने थेगो आजभोलि लोकप्रिय हुन थालेको छ । हुन त यो कुनै जमानाको लोकप्रिय नारा हो । तर यो नारा कम र थेगो धेरै हो । यस थेगोले आजभोलि फेरि यो देश मर्नै त लागेको छैन भन्ने प्रश्न जन्माएको छ किनभने फलाना आऊ, देश बचाऊ भन्ने थेगोको अर्थ हुन्छ, लौ न यो देश अन्तिम प्राण भर्दैछ, घिटीघिटी भइसक्यो, कृपया आउनुहोस् र यो देश बचाइदिनुहोस् न हजुर भन्ने । मानौं ती यस देशको अन्तिम प्राण जोगाउने जिम्मा कसैले लिएर बसेको छ, ठेकेदारी जस्तो तर त्यो अदृश्य छ । एउटा धार्मिक वचन थियो, पूरै त थाहा छैन, आशय के थियो भने खै के भएर छट्पटाइरहेका के नामको भगवानले संजीवनी बुटी लिएर गएका थिए रे । यस्तो लाग्छ, यहाँ देश बचाउने कोही माईकालाल अदृश्य शक्तिका रूपमा रहस्यमय ढंगले बसेको छ र उससँग संजीवनी बुटी पनि छ । 

केही दिनअघि एकजना विश्लेषकले निकै गर्वका साथ भनेका थिए, मैले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर आएँ । यस समयमा उनी मात्र हैन, पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर आएँ भन्दै नाक फुलाउनेहरू अरू पनि छन् । तर तिनको चमकधमक अलिक धेरै नै थियो । पहिलोपटक ब्युटीपार्लर छिरेका महिलाहरू निस्केपछि चमकधमक धेरै नै देखाउँछन्, त्यस्तै तिनको चमकधमक धेरै थियो । मानांै कि उनीहरू ज्ञानेन्द्रका देवदूत हुन्, भारदार हुन् । ज्ञानेन्द्रका उपदेशवाचक हुन्, ज्ञानेन्द्रका सन्देशप्रसारक हुन् । ज्ञानेन्द्रलाई भेटेको आरोप त नेकपाका एकजना प्रभावशाली नेतालाई पनि लागेको थियो तर तिनले भेटेको छैन, आमा कमस, पाथीभरा कसम भेटेको छैन भनेर आफूलाई गणतन्त्रवादीको कित्तामा समावेश गराइरहे । कहिलेकाहीँ गाँजाको तालमा गणतन्त्रको विरोध हुने गरेको छ, यसको कडा प्रतिवाद गर्नु अपरिहार्य छ । 

यिनै शंकाका बीच भारतीयहरूको केही चलखेलका बीच प्रचण्डले एक भाषणमा  भनेका थिए, ज्ञानेन्द्र बढी भए भने निर्मल निवासबाट पनि लखेटिनेछन् । वास्तवमा हावा नचली पात हल्लिन्न भने ज्ञानेन्द्रले केही विदेशी शक्तिहरूलाई हालैका मितिहरूमा भेटघाट तीव्र बनाएका थिए । त्यो काम जारी नै छ । नेता खरिद गर्ने प्रयास पनि हुँदैछ । यतिसम्म कि सामाजिक सञ्जालमा समेत राजावादी शक्तिहरूको चहलपहल बढिरहेको छ । केही युट्युब च्यानलहरूलाई त निर्मल निवासले प्रत्यक्ष लगानी गरेको छ । एउटा अन्लाइनले त विगतमा खासै फेसबूक लाइभ नगर्ने तर हालसालैको बहुचर्चित काण्डमा उपस्थित आन्दोलनको लाइभ गर्ने काम गरिरह्यो । यस्तो जोश कसरी आर्जन गरे उनीहरूले, त्यो प्रस्ट छ । 

प्रतिगामीलाई बल पुर्‍याउने कर्म नेताहरूबाट समेत हुँदै आएको छ । यो सत्य हो । यस सयमया केपी ओली सरकारप्रति चरम  निराशा छ ।

तर प्रतिगामीलाई बल पुर्‍याउने कर्म नेताहरूबाट समेत हुँदै आएको छ । यो सत्य हो । यस सयमया केपी ओली सरकारप्रति चरम  निराशा छ । के सोचें मैले के भयो अहिले भने जस्तो जनताहरूले मनमा सजाएका उन्नतिका कैयौं सपनाहरू सम्भवतः जीवन र मरणको दोसाँधमा छन् भन्दा अन्यथा नहोला । दुईतिहाइ जनमतका साथ गठन भएको केपी ओली सरकारले सोचेजस्तो काम गर्न नसक्दा किसानहरू एकदमै दुःखी छन् । किसान भनेका देशका अन्नदाता हुन्, जीवनदाता हुन् । तर देश निर्माणको कुनै पनि डिस्कोर्समा किसानका विषयप्रधान हुने गरेका छैनन् । किसानहरू मात्रै हैन, सडक किनारमा चटपटे, पानीपुरी बेच्नेहरूदेखि लिएर ठूलाठूला कम्प्लेक्स हाउसमा व्यापार गर्नेहरू पनि यस सरकारसँग दुःखी नै छन् । यो दुईतिहाइ सरकार र सरकार चलाउने मानिसहरू पनि यी दुःखहरूसँग परिचित नभएका पनि हैनन् । तर खै किनकिन कहाँनेर छ डेडलक, बुझ्न सकिएको छैन । कुरा मात्रै ठूला, हिँड्न खोज्दा खुट्टा लुला भने जस्तै यो सरकारले ठूला ठूला कुरा त गरेको छ तर व्यवहारतः जनहितका कामहरू गर्न सकिरहेका छैनन् । यसकारण पनि प्रतिगामीहरूको चलखेल बढिरहेको छ । 

तर नेपाली जनतासँग रहेको यो दुःखको भकारी नयाँ नौलो भने हैन । दुःखको भकारीसँग आम नेपालीको मितेरी साइनो जुनी जुनी नछुट्टिने कसम जस्तै प्रगाढ छ जस्तो लाग्छ । सडकमा हिँडेका मानिसको अनुहार हेर्नुहोस्, तिनको अनुहारमा यस देशको सप्रसंग व्याख्या देख्न सकिन्छ । भरियाको निधारमा हेर्नुहोस्, यस देशको दुःख अजर अमर बनेर तिनको केशमाथि डामिएका छन् । जीडीपीका आँकडा किन चाहियो ? किन चाहियो प्रतिव्यक्ति आयदरको आँकडा ? यहाँ चोक चोक र गल्लीगल्लीमा दुःखी युवाहरू झोलामा एकथान जीडीपी जस्तै राहदानी बोकेर भौंतारिएकै छन् । आम युवाहरूको समस्या हिजो र आजमा फरक रहेन । तर यी तमाम समस्याहरूको बीचमा पनि गणतन्त्रको विकल्प खोज्न मिल्दैन, बरू सरकार र यसको नेतृत्वको विकल्प खोज्नुपर्छ  हुटिट्याउँको जस्तो आवाज निकालेर गणतन्त्रविरोधीहरूले आकाश थाम्न सक्दैनन् । लगभग कहिल्यै चुप नलागेर कराइरहने हुटिट्याउँलाई कराउन दिऊँ तर कृपया गोरु ब्याउने हल्ला फिँजाउने काम नगरौं ।

कमेन्ट गर्नुहोस्