समाजवादको नयाँ भर्जन सार्वजनिक गर्नुस् !

पुष्प न्यौपाने
पुष्प न्यौपाने

वामपन्थी राजनीतिमा कलम चलाउने न्यौपाने प्रेस संगठन निकट पत्रकार हुन् ।

समकालीन विश्वको बौद्धिक सार नै मार्क्सवाद हो : कार्ल मार्क्स । यसको सार कुरा कम्युनिस्ट दर्शनले आफूलाई डाइनोसर झैं लोप हुन दिने छैन र यो परिवर्तित परिवेशमा पनि नेतृत्वका लागि सक्षम हुनेछ भन्ने हो ।

तर हामी कहाँ कम्युनिस्ट दर्शन र समाजवादी राज्य व्यवस्थाको बहस क्याथोलिक र प्रोटेस्टेन्टजस्तै तोडमरोड र आफूअनुकूल व्याख्याको प्रचलनका रूपमा शुरू भइदियो । एउटा प्रवृत्तिले मार्क्सवादलाई ईश्वरीय वाणी सम्झने र अर्कोले त्यसको न्यूनतम आधार भत्काएर मार्क्सवादमा घुलित हुन नसक्ने दर्शन राजनीतिको ‘बायो ट्रान्सफर’का लागि कोशिश गर्ने । हामी यतिबेला यी दुवै अतिबाट आजित छौं र अब हामीले समाजवादमा आजको सामाजिक चरित्रलाई समाहित गर्ने उपायको खोजी गर्नैपर्छ ।  सन् १८४८ को कम्युनिस्ट घोषणापत्रदेखि १९१७ को बोल्शेभिक क्रान्तिसम्म आइपुग्दा समाजवादले तत्कालीन विश्वव्यवस्थामा एक नयाँ प्रकारको मोडल दियो ।


Advertisement

वर्गसंघर्षद्वारा पुरानो सत्ताको तख्तापलट, संघर्षरत वर्ग (सर्वहारा) सँग आफ्नै सेना, प्रशासन, कानून, राजनीति, अर्थनीति, कुटनीति र विश्व व्यवस्था सञ्चालनका आफ्नै मानक र मापदण्ड खडा गरी समाजवादी सत्ताको अभ्युदय भयो ।  समाजवादी खेमामा सर्वस्वीकार्य नभए पनि आंशिक दोस्रो भर्जनका रूपमा वर्गसमन्वय, सहअस्तित्व, शान्तिपूर्ण संक्रमण र प्रतिस्पर्धाद्वारा समाजको शान्तिपूर्ण रूपान्तरण को युरो–कम्युनिज्मको सुधारवादी मोडल अगाडि ल्याइयो । त्यस मोडेलमा विचार राजनीतिमा पूँजीवादको नयाँ कलेवर थपिए पनि अर्थनीति, सैन्यनीति र कुटनीतिको कुनै नयाँ आयाम थिएन र छैन पनि ।

आरामको सुविधाजनक बहुमतकै कारण समाजका अनगन्ती आशा र अपेक्षाको चाङ प्रत्येक पार्टी कार्यकर्तामाथि छन् र पार्टी कार्यकर्ताहरूको ठूलो हिस्सा आफैंमा बेरोजगार छ ।

Advertisement

समयसापेक्ष समाजवाद नवीकरण हुनुपर्छ

यतिबेला हामी दुई–तिहाइ नजिकको निकै सुविधाजनक बहुमतमा छौं । तर यो पुरै दुई–तिहाइ भने होइन, यसले हामीलाई संविधान परिवर्तन र एकलौटी निर्णयको अधिकार दिँदैन । तर यसो भनेर हामी उम्कनसक्ने ठाउँमा पनि छैनौं किनकि हामीसँग काम गर्नका लागि जनमत, समय र ढुक्कको सुनिश्चितता छ ।  आरामको सुविधाजनक बहुमतकै कारण समाजका अनगन्ती आशा र अपेक्षाको चाङ प्रत्येक पार्टी कार्यकर्तामाथि छन् र पार्टी कार्यकर्ताहरूको ठूलो हिस्सा आफैंमा बेरोजगार छ । एकातिर हामीसँग विकृत पूँजीवादको राज्य संरचना छ र अर्कोतिर हामी आफैं पनि यही विकृत संरचनाका जिम्मेवार सदस्य बनेका छौं ।

समाजवादी सिद्धान्तले हामीलाई पूर्णतः जनमुखी अर्थात् लोककल्याणकारी कार्यका लागि निर्देश गर्छ, राज्य मशिनरीले हामीलाइ विकृत लोकतन्त्रभन्दा दायाँ–बायाँ नजान चेतावनी दिन्छ । समाजले हामीलाई वाचा पूरा गर भन्छ । त्यही समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूले त्यो असम्भव हो, हात नहाल्नुस्, तपाईं फस्नुहुन्छ भन्छन् । राजकीय मर्यादा ख्याल गरेर सरकारले यो कुरा बोल्न मिल्दैन, हामीले बोल्दा अर्थ हुँदैन तर अहिलेको मूल समस्या यही हो । यस समस्यालाई समाधानका लागि पनि अब हामीले विकृत लोकतन्त्रविरुद्ध र जडवत् समाजवादविरुद्ध उभिनैपर्छ । त्यसका  लागि समाजवादको नवीकरण अपरिहार्य छ ।  

गएका ६०, ७० वर्षयता कम्युनिस्ट आन्दोलनले समाजवादको नयाँ संसकरण शुरू गर्नु त कता हो कता त्यसको सामान्य नवीकरणमा आवश्यकता पनि नठान्नु दुर्भाग्य हो । एक समाजवादी नेताले गएका झण्डै एक दशकमा आईफोनको आठवटा अपडेटेड भर्जन प्रयोग गरिसक्यो । सामसुङ, एप्पल वा हुवाबेका नयाँ–नयाँ भर्जन बजारमा आउनेबित्तिकै खरिद गर्ने समाजवादी आफैंले बोकेको राजनीतिक दर्शन, विचारधारा र शासनप्रणालीमा नयाँ अपडेटको खोजी नगर्नु विवेकशून्य अवस्था जस्तै हो । संसार बूकबाट फेसबूकमा आइसक्यो, टेलिफोनका तारबाट मोबाइलको स्क्रीन टचमा आइसक्यो, किताबबाट आईप्याड, टीभीबाट ग्याजेट जस्ता अत्याधुनिक प्रविधिसामु उसले सिंगो संसारका ज्ञान, इतिहास, तथ्य र दृश्यलाई केयरिङ र शेयरिङ गरिरहेको छ । 

नेपालमा पहिलोपटक प्रधानमन्त्रीले भिडिओ कन्फरेन्समार्फत सिंगापुरबाट सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । यो प्रविधिको उच्चतम प्रयोग हो । हालै गूगलले आफ्नो परम्परागत एन्ड्रोइड अपरेटिङ सिस्टमलाई नयाँ भर्जनमा ढाल्दै एन्ड्रोइड १० नामकरण गरेको छ । गूगलले एन्ड्रोइडको नामकरण मात्र होइन, लोगो पनि परिमार्जन गर्दैछ । लोगो पनि सन्दर्भ सामग्री झैं अपडेट हुनुपर्ने मान्यताले त्यसलाई अत्याधुनिक बनाउने तयारी गरिएको हुनुपर्छ । आईफोनले हरेक वर्षजसो नयाँ–नयाँ भर्जन बजारमा ल्याउँदै आएको छ । हरेक बजारले एप र एप्लिकेसनमा आफूलाई निकै जोडतोडका साथ अग्रपंक्तिमा राखेका छन् । विद्यमान बजारका आधारभूत आवश्यकतालाई माथ गर्ने गरी उपभोक्ताका चाहनाहरूको निर्धारण गर्ने र त्यसपछि त्यस्ता चाहनाहरूको सम्बोधन गर्ने पर्फेक्ट डेभलपरहरू आईटी संसारको गतिशील होडमा छन् । 

हातमा जीवनभरि मार्कोनीको जीवनी बोक्दै उनले आविष्कार गरेका रेडियो फ्रिक्वेन्सीका सिद्धान्तहरूको भजन गाउँदै हिँड्ने कामलाइ मात्रै प्राथमिकता दिइएको भए आज मार्क जुकरवर्गका फेसबूक र स्टिभ जब्सका आईफोनको स्वर्गीय मज्जा लिन पाइँदैनथ्यो । हुआवेको आनन्दसँगै ५ जीको परिकल्पना गर्न पाइँदैनथ्यो । यी तमाम परिदृश्यसँग साक्षात्कार भइरहँदा वाष्प इन्जिनकालीन कम्युनिस्ट घोषणापत्र एवं बोल्शेभिक क्रान्तिका सिद्धान्तहरूको हुबहु अन्धनक्कलद्वारा आज पनि समाजलाई दिशानिर्देश गर्न सकिन्छ भन्ने अडानमा हामी छौं भने त्यो केवल वामपन्थी बालरोग हो ।   

तपाईंलाई ब्लकचेनको आवश्यकता पर्छ, बिगडाटामा सहभागी हुनुपर्छ, इन्टरनेट अफ थिंग्स भन्दा बाहिर जान सक्नुहुन्न, मशिन लर्निङ आवश्यकता हो र कृत्रिम बौद्धिकतालाई अस्वीकार गर्न असम्भव छ भने ती चीजहरूकै व्यापक उपयोग, विकास र नागरिकको जीवनलाई अझ बृहत्तर बनाउन समाजवादमा नयाँ भर्जन किन नथप्ने ? 

कृषि, यातायात र स्मार्ट मोबिलिटी लगायत मानव जीवनका सबै क्षेत्रमा प्रविधि निर्णायक बनेर उदाएको छ । तर हामीसँग युवाशक्तिलाई प्रविधिको निर्माण र त्यसमा निपुण बनाउने कुनै राष्ट्रिय योजना छैन । फेसबूकका लाइक, कमेन्ट र शेयर नै हाम्रो प्रविधिमैत्री व्यवहार बनेको छ ।

तपाईंलाई लाग्नसक्छ, यो सूचना प्रविधिको क्रान्तिमा आएको एउटा परिवर्तन हो । यसले कतिपय उद्यमका क्षेत्रमा प्रभाव पार्नसक्छ तर समाजविकासको गति, नियम र त्यसको सञ्चालन गर्ने राजनीतिक प्रणालीसँग यसको के साइनो छ र ? बिल्कुल गलत सूचना प्रविधिमा आएको तीव्र परिवर्तनको लहरले सबैभन्दा पहिले सामाजिक परिवर्तनमा अहम भूमिका निर्वाह गर्छ । चौथो औद्योगिक क्रान्तिले संसारमा निकै ठूला संगठनात्मक र संरचनात्मक परिवर्तनको लहर ल्याउने क्षमता राख्छ, त्यसबाट कम्युनिस्ट दर्शनलाई टाढा राखियो भने त्यो डाइनोसरको हालतमा पुग्छ । दर्शनलाई समयसापेक्ष परिवर्तन ल्याउने र समाजको नेतृत्वदायी भूमिकामा उभ्याउने काम त्यसका फलोअरहरूको व्यवहारले निर्धारण गर्छ । फलोअरहरू दर्शन र विचारधाराको उत्थानभन्दा रटानमा केन्द्रित भए भने तिनको भागमा कर्मकाण्ड पर्छ र कर्मकाण्डीहरू बिस्तारै पाखण्डी बन्छन्, हामी यस प्रवृत्तिबाट जोगिनैपर्छ । 

विवेकहीन अवस्थामा उभिनुभन्दा सैद्धान्तिक ज्ञान राम्रो हो तर वास्तविकता के हो भने दशहजार किताब पढ्नुभन्दा दशहजार माइलको यात्रा कता हो कता धेरै श्रेयस्कर हुन्छ । हिँडाइमा भोगाइ हुन्छ र भोगाइमा जीवनको अनुभव हुन्छ । किताबले हामीलाई इतिहासको पाठ सिकाउँछ जो वर्तमानमा आंशिक रूपमा मात्रै काम लाग्छन् तर मानिस वर्तमानमा जिउनुपर्छ । वर्तमानमा जिउने कला र संघर्ष मात्रै किताबको सहारामा आर्जन गर्न सकिँदैन । जहाँसम्म ज्ञानको कुरा छ, ज्ञान आर्जन आज इतिहासकै सरल विन्दुमा छ । हाम्रा सामु आर्टिफिसियल इन्टेलिजेन्स उपस्थित छ बरू त्यसमा हाम्रो आवश्यकता र रुचिको कुरा के हो ? आजको युगमा आफ्नो सशक्त उपस्थिति चाहने हो भने कृत्रिम बौद्धिकताको अनुसन्धानका लागि एउटा राम्रो संरचना र दक्ष जनशक्तिको समूह निर्माण गरी राष्ट्रिय रणनीति तयार हुनुपर्ने हो तर त्यसो हुन सकेको छैन । 

चौथो औद्योगिक क्रान्ति र कृत्रिम बौद्धिकताले स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन ल्याउनेछ । संभवतः अबका केही वर्षभित्र यस क्षेत्रको खर्चमा कटौती हुनेछ । मानिस प्राथमिक उपचारका लागि स्वास्थ्य संस्थामा जाने छैन । त्यस्ता उपकरणहरू उसको मोबाइलको एपमै आइपुग्नसक्छन् । शिक्षाका लागि महत्त्वपूर्ण कक्षाहरू कहलिएका प्रोफेसरहरूले भिडिओ कन्फरेन्स जस्ता डिजिटल शैली वा एपहरूबाटै सञ्चालन गर्नसक्छन् । 

कृषि, यातायात र स्मार्ट मोबिलिटी लगायत मानव जीवनका सबै क्षेत्रमा प्रविधि निर्णायक बनेर उदाएको छ । तर हामीसँग युवाशक्तिलाई प्रविधिको निर्माण र त्यसमा निपुण बनाउने कुनै राष्ट्रिय योजना छैन । फेसबूकका लाइक, कमेन्ट र शेयर नै हाम्रो प्रविधिमैत्री व्यवहार बनेको छ । व्यक्तिगत रूपमा आईटीमा रुझान राख्नेहरूले बाहेक सूचना प्रविधिलाई राष्ट्रिय कार्यक्रमका रूपमा ल्याउन सकिएको छैन । हामी आफूलाई भौतिकवादी, वैज्ञानिक दृष्टिकोण राख्ने र समाजका अब्बल संवाहक ठान्छौं भने चौथो औद्योगिक क्रान्तिलाई समाजको न्यून आयमा बाँचेको वर्गको पक्षमा कसरी ढाल्नसक्छौं ? वा चौथो औद्योगिक क्रान्तिमा न्यून आयको विश्वको विशाल जनसंख्यालाई कसरी माथि उकास्नसक्छौं र नेपालकै हकमा पनि मानविय सूचकांकको पुछारमा रहेका व्यक्ति, समुदाय र क्षेत्रलाई कसरी लाभान्वित गर्नसक्छौं ? के हामीसँग कुनै खाका छ ? 

अर्थशास्त्री एरिक ब्रायन जोल्फसन र एन्ड्रयु म्याकफीले यस क्रान्तिले व्यापक असमानता पैदा गर्ने संकेत गरेका छन् । पहिलो, यसले श्रमबजारका लाखौं करोडौं मजदूरहरूलाई निरुत्साहित गर्नसक्छ । स्वचालित मशिनहरूले श्रमिकको विस्थापन हुन्छ । तर अर्को सम्भावना पनि जीवितै छ, त्यो के भने श्रमिकको बिदाइ र अनवरत खट्ने मशिनको स्वागतले उद्यम क्षेत्रबाट ठूलो संख्यामा पूँजी रिटर्न हुन्छ किनकि त्यहाँ दैनिक ज्यालाका अतिरिक्त फूड अलावेन्स, ओभरटाइम, सञ्चयकोष, जीवनबीमा, ट्रान्सपोर्टेसन चार्ज, आवास खर्च आदि बेहोर्नुपर्ने झन्झट नहुँदा उद्यमीहरूले ठूलो मात्रामा शीघ्र पूँजी रिटर्न पाउँछन् र त्यस पूँजीलाई चलायमान बनाउँदा नयाँ क्षेत्रका लागि मशिन ह्यान्डल गर्ने मानिसहरूको व्यापक आवश्यकता पर्नसक्छ । समग्रमा मशिनको निगरानी, नियन्त्रण र सहयोगीहरूको माग बढ्नसक्छ । त्यसले श्रमबजारमा रोजगारीको सृजना गर्न पनि सक्छ । 

बरू नेपालका कम्युनिस्टहरूले त्यतापट्टि ध्यान दिन जरूरी देखेकै छैनन्, मात्र उनीहरू वर्तमानको सत्ता दाउपेचमै सीमित छन् ।

अर्थशास्त्रीहरू पनि यस कुराको स्पष्ट भविष्यवाणी गर्नसक्ने अवस्थामा छैनन् कि चौथो औद्योगिक क्रान्तिले श्रमबजारलाई विस्थापन गरी करोडौं श्रमिकहरू सडकमा झार्छ वा शुद्ध श्रमिकको विस्थापन र पूँजी रिटर्नको अन्तरले नयाँ रोजगारीका अवसरहरूको सृजना गर्छ ? यी दुईमध्ये कुन परिदृश्य अगाडि आउँछ, ग्यारेन्टी गर्न सकिँदैन तर सामाजिक सन्तुलनका लागि पनि मानिसले यान्त्रिकीकरण सँगसँगै नयाँ रोजगारीका अवसर सृजनाको लागि ढोका खोल्ने आशा गरौं । धेरैजसो वैज्ञानिकहरू के कुरामा आश्वस्त छन् भने भविष्यमा पूँजीभन्दा प्रतिभा सामाजिक गतिको शक्तिशाली र प्रभावशाली तत्त्व बन्नेछ । अझ भनौं समाजमा पूँजीभन्दा प्रतिभा हावी हुनेछ । प्रतिभाले नै पूँजीको संकलन, परिचालन र वितरण गर्नसक्ने छ । त्यसकारण पूँजीको नियन्त्रणमा प्रतिभा रहेको वर्तमानको अवस्था उल्टिनेछ र प्रतिभाको नियन्त्रणमा पूँजी रहनेछ । समग्रमा प्रतिभाले उत्पादनको महत्त्वपूर्ण कारकको प्रतिनिधित्व गर्नेछ । 

के त्यसपछि समाजका अन्तर्विरोधहरू समाधान होलान् त ? हुँदैनन् । त्यसले कम दक्ष कम ज्याला र उच्च दक्ष उच्च ज्यालाको मोडालिटीलाइ तीव्र रूपमा छुट्ट्याउनेछ र फेरि सामाजिक तनावमा वृद्धि हुनेछ । भनाइको मतलब पूँजी र प्रतिभा जुनसुकै हावी हुँदा पनि समाजमा वर्गविभाजन कम हुने छैन र असमानताको खाडल पुरिने छैन । असमानता चौथो औद्योगिक क्रान्तिसँग जोडिएको सबैभन्दा सामाजिक चिन्ताको विषय बन्नेछ, त्यसबेला कम्युनिस्टहरूको भूमिका के हुन्छ ? उनीहरू त्यस परिस्थितिको सामनाका लागि आजैदेखि दर्शन, राजनीति र विचारधारात्मक तयारीका साथै चौथो औद्योगिक क्रान्तिमा वर्गीय खाडल कम गर्ने रणनीतिक सूत्रहरूको खोजीमा छन् त भन्दा अवस्था त्यस्तो छैन बरू नेपालका कम्युनिस्टहरूले त्यतापट्टि ध्यान दिन जरूरी देखेकै छैनन्, मात्र उनीहरू वर्तमानको सत्ता दाउपेचमै सीमित छन् । यसले ठीक ठाउँमा लैजाँदैन । 

कमेन्ट गर्नुहोस्