सर्वसत्तावादी मनोवृत्तिमा सरकार

रणधीर चौधरी
रणधीर चौधरी

चौधरी समसामयिक राजनीतिक घटनाक्रम र मधेस मामलामा कलम चलाउँछन् ।

कुनै पनि देशमा सरकार प्रमुख मुलुकबाहिर रहेको बेला सरकारको वरिष्ठताक्रम अनुसार उपप्रमुखले सरकारको क्रियाकलापलाई अगाडि बढाउने स्वतः जिम्मेवारी पाउँछ । हाम्रो देशमा त झन् दुई उपप्रधानमन्त्री छन् । ईश्वर पोखरेललाई नियमतः कार्यवाहक प्रधानमन्त्री बनाइएको थियो । यस्तो अवस्थामा भिडियो प्रविधिको प्रयोग गरी स्वास्थ्य उपचारमा रहनुभएका प्रधानमन्त्रीले के देखाउन खोजे, उनी नै जानून् । तर मूलतः दुईवटा कुरा उनले सिद्ध गर्न खोजेको देखिन्छ । 

पहिलो, उनीबाहेक मुलुकप्रतिको माया अरू कसैलाई छैन । दोस्रो, उनको मन्त्रिमण्डलका आफ्नै सदस्यहरूप्रति विश्वासको खडेरी (ट्रस्ट डेफिसिट) रहेको छ । तर प्रमले के बिर्सनुहुन्न भने उपचारमा रहेका व्यक्तिले शारीरिक मात्र होइन, मानसिक रूपले समेत आराम गर्नु अति आवश्यक हुन्छ ।


Advertisement

प्रविधिको प्रयोग गर्नु राम्रो कुरा हो तर मन्त्रिपरिषद्कै बैठक भिडियो प्रविधिले गर्नु शोभनीय कदापि हुन सक्दैन । हामी प्रविधिमा कति खप्पिस छौं भने कुरा त हालै एटीएम ह्याकिङको घटनाले छताछुल्ल पारिदिएको छ । र भिडियो प्रविधिबाट गरिएको बैठकपश्चात् जसरी प्रमको तीव्र आलोचना भएको छ, त्यसले उनको स्वास्थ्यमा नकारात्मक असर नै पारेको होला । 


Advertisement

राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग समेत प्रधानमन्त्री कार्यालय मातहत ल्याइसकेको ओली सरकारले मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक लगायतका अन्य विधेयक जसरी ल्यायो त्यसले वर्तमान सरकारलाई आलोच्य बनायो । सरकार तानाशाही पथमा लम्किन लाग्यो भन्ने आरोप सरोकारवाला निकाय र नागरिक समाजका अगुवाका तर्फबाट आउन थालेको छ । 

वर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचारमा रहिरहँदा इन्टरनेटको माध्यमबाट जसरी मन्त्रिपरिषद्को बैठक सञ्चालन गरे त्यसले सरकारको आलोचना सरकार इतर समूहबाट मात्र नभई सरकारकै दल नेकपाका प्रभावशाली नेताबाट समेत आलोचना भयो । सरकारले चालेको कुनै आलोचनात्मक कदमउपर कसैले टिप्पणी गर्‍यो भने सरकारले पालेर राखेका अरिंगालले आक्रमण गर्छन् । 

माथि उल्लेखित विधेयक र सरकारभित्रको विश्वासको खडेरीलाई हेर्ने हो भने उदारवाद र उत्तरआधुनिक युगमा सर्वसत्तावादको मनोवृत्तिको दोहोरिएको देखिन्छ । 

जर्मनीमा हिटलरले स्थापना गरेको नाजी पार्टीमा स्टोर्म ट्रूपर्स (आँधी दल) नामको एउटा समूह थियो । उक्त समूहले दलको नाजी सिद्धान्तको प्रचार गर्न घुम्ने र अन्य दलको बैठकमा होहल्ला गरेर बाधाअवरोध गर्ने गरेको थियो । अर्को समूह भनेको विशिष्ट वर्गहरूको रक्षक थियो  । आफ्नो दलका नेताहरूको साथमा रक्षक भएर बस्ने अनि नेताको आदेश आँखा चिम्लेर पालना गर्ने कर्तव्य थियो उनीहरूको । हिटलरले शक्तिशाली शासनको स्थपना गर्ने दृढ आश्वासन दिएकाले जर्मनीका मध्यमवर्गका जनताले नाजीहरूको साथ दिएका थिए । 

व्यापारी वर्ग र उद्योगपति नाजी दलको साम्यवादविरोधी भावनाबाट प्रसन्न थिए । साथै नाजीको यहुदीविरोधी नीतिको घोषणाले पनि उनीहरूलाई अत्यधिक प्रसन्न बनायो । हिटलर इटालेली राजनीतिक दार्शनिक मेकियावेलीका सिद्धान्तबाट प्रभावित थिए । उक्त सिद्धान्तअनुसार, आफ्नो उद्देश्यपूर्तिका लागि सबै प्रकारका राम्रा तथा नराम्रा उपाय अपनाउनुपर्छ । 

अहिले समाजिक संजालमा जसरी अरिंगालहरू खटाइएको छ, त्यसले हिटलरको आँधी समूहको झझल्को दिन्छ । त्यसैगरी वर्तमान सरकारले चालेका आलोच्य कदमहरूलाई वैधानिकताको लेप लगाउन एउटा बौद्धिक जमात तयार गरिएको छ, नाजी पार्टीले विशिष्ट वर्गहरूको रक्षाका लागि तयार गरेजस्तो । त्यसैगरी मेडिकल शिक्षाको क्षेत्र होस् या अन्य, सत्तासँग सामीप्य रहेको व्यापारीवर्ग वर्तमान सरकारबाट बेखुशी हुने कुरै आएन । समाजवादको आवरणमा चाकर पूँजीवादीहरूले सरकारबाट प्रश्रय पाएको कसैबाट लुकेको छैन । 

सिंगापुरबाट देश सञ्चालन गरी प्रधानमन्त्रीले आफू देशका लागि मरिमेटेको देखाउन खोजेको उनका पार्टी कार्यकर्ताका लागि जयकार गर्ने कृत्य होला तर यसले प्रमको एकलवादलाई समेत दर्शाएको छ । के उपप्रधानमन्त्री लगायत मन्त्रिमण्डलका सदस्यलाई देश चलाउन सक्ने सामर्थ्य छैन ? या इमान्दारिताको खाँचो छ उहाँहरूमा ? 

पछिल्लो समय नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका विदेशमन्त्री एस जयशंकर र प्रधानमन्त्री ओलीको एक घण्टासम्मको कोठेवार्ता (कनक्लेव) ले ओलीको नियतलाई धेरै हदसम्म प्रस्ट्याएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिकता बाहेकको समय समेत पाउन सकेनन् समकक्षी जयशंकरसँग संवाद गर्नका लागि । भारतका विदेशमन्त्रीप्रति नेपालका प्रधानमन्त्रीको मोह बडो मनमोहक देखियो । आमसञ्चारमा ओली र जयशंकरको वार्ताबारे खासै विश्लेषण आएको छैन । कोठेवार्ताको औचित्य, आवश्यकता र महान् राष्ट्रवादीको स्वनिर्मित छवि बनाएका ओलीको राष्ट्रवादिताको चर्चा हुनु आवश्यक छ । जयशंकरलाई सके जति इन्गेज गरेर राख्नु ओलीको एकलवादको स्वार्थको थप पुष्ट्याइँ हो भन्दा अतिशयोक्ति नहोला । 

त्यसैगरी नेकपा सरकारका सञ्चारमन्त्रीले केही दिनपहिले मात्र संविधान दिवस बीयर खान र बिदा मनाउनका लागि होइन भनी उर्दी जारी गरेका थिए । उनले कुन अभिप्रायले यस्तो भनेका थिए उनै जानून् तर विवादित संविधानप्रति असन्तुष्टि राखेका ठूलो हिस्सालाई उनले परोक्ष रूपमा धम्की दिएको आकलन गर्न गाह्रो छैन । संविधान संशोधनका लागि दुईबुँदे सम्झौताका कागज लिएर उनको सरकारमा शेयरधनी रहेको समाजवादी पार्टीले पनि सञ्चारमन्त्रीको अस्वाभाविक वक्तव्यबारे सोच्दै होलान् । हुन त सञ्चारमन्त्रीको परपीडक प्रकृतिका प्रतिक्रियाले आम जनतालाई पीडासहितको हाँसो दिन सफल भएकै हो । 

हिटलरको समयमा पनि शक्तिको भोक थियो हिटलर एन्ड कम्पनीमा । उसले देशको स्वाभिमानको कम्बल ओढाएर राष्ट्रवादको घिउ पिउने काम गर्थ्यो । नेपाल त्यस्तो पथमा किमार्थ लम्किनुहुँदैन ।

कमेन्ट गर्नुहोस्