बीपीका केही महत्त्वपूर्ण र सान्दर्भिक पक्ष

लोकनारायण सुवेदी
लोकनारायण सुवेदी

सुवेदी ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।

‘ठूलो मान्छे होइन, असल मान्छे होऊ’ भन्ने बीपीको मान्यता अत्यन्तै मननीय छ ।

देशमा राजनीतिक परिवर्तनपछि जसरी बीपीले पार्टी र सत्तालाई सुकिलामुकिला अवसरवादीले कब्जा गर्ने र इमान्दार पाखा पर्ने खतरा रहन्छ भन्ने औंल्याएका थिए, त्यो तीतो सत्यको अनुभव आज पनि तीब्ररुपमा भइरहेको छ ।


Advertisement

नेपालको पहिलो जननिर्वाचित राजनेता बीपी जन्मेको पनि १०५ वर्ष बितिसकेको छ । उहाँको प्रजातन्त्रप्रतिको अखण्ड निष्ठा र शतत् संघर्षको संकुचित र गलत अर्थ लगाएर फाइदा उठाउन खोज्नेहरू पनि धेरै छन् । प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा अटुट विश्वास राख्ने बीपी कोइरालाले नेपाली जनताको दीनहीन अवस्थामा परिवर्तन ल्याउन जस्तो किसिमको आर्थिक व्यवस्थाको परिकल्पना गरेका थिए, त्यसको आज कतै अत्तोपत्तो छैन । अनि आप्mनो जीवनका पछिल्ला पाका अनुभवका आधारमा रचित ‘जेल जर्नल’ र ‘आत्म वृतान्त’को सारतत्वलाई राम्ररी पक्रने र बुझ्ने हो भने बीपी कोइरालाले सामन्तवादबाट देशले मुक्ति पाउन नसकेको तथा सेनाको लोकतान्त्रिकीकरण र भूमिसुधार सही किसिमले हुन नसकेको हुँदा नै राजनीतिक प्रतिगमन हुने गरेको र देशको आर्थिक उन्नति पनि पछाडि परेको यथार्थ प्रस्टसँग औल्याएका छन् ।
तर नेपाली कांग्रेसको नेतृत्वभित्रै राजतन्त्रलाई परित्याग गरेको हुँदा कांग्रेस गलत बाटोमा गएको भन्ने रुढ मान्यताले अझै पनि घर गर्न छाडेको छैन ।

बीपीको जन्म पनि सन् १९१४ अर्थात् पहिलो विश्वयुद्धको आरम्भका दिनमा भएको थियो । उनी दूरगामी सोच भएका एक राजनेता मात्र थिएनन्, एक मूर्धन्य साहित्यिक स्रष्टा पनि थिए । उनको राजनीतिक यात्राको अधिकांश समय एउटा अथक संघर्षमय यात्रीको रुपमा बित्यो । त्यसले नेपाली जनआन्दोलनमा ऊर्जा र उत्साह प्रदान गर्‍यो ।

बीपीलाई भारतको स्वतन्त्रता संग्रामको छाप परेको थियो र उनको राजनीतिक यात्राको आरम्भ त्यसै आन्दोलनबाट भयो । त्यसक्रममा भारतमा उनलाई बृटिश सरकारले ३ महिना काराबासको सजाय पनि दियो । त्यसबाट जागरुप बनेका बीपीले नेपाली राष्ट्रिय कांग्रेसको गठन गरेर जहानियाँ राणा शासनललाई लल्कार्दै आन्दोलनलाई अघि बढाए । सन् १९४७ मा विराटनगरमा मजदूर आन्दोलनको नेतृत्व गरेको अभियोग लगाएर उनलाई राणा सरकारले १ वर्ष कैदको सजाय दियो ।

राणाशासनको अन्त्यको लागि शुरू भएको आन्दोलन २००७ सालमा दिल्ली सम्झौतापछि रोकियो । राणाशासनको अन्त्य भएपछिको पहिलो प्रधानमन्त्री अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेर नै भए भने त्यस सरकारको गृहमन्त्री बीपी कोइरालाइ बने तर त्यस्तो सरकारमा बीपीको पटरी खाने कुरै थिएन । त्यहीँबाट एकातिर कांग्रेसमा फूटको बिजारोपण भयो भने दरबारिया षड्यन्त्र पनि शुरू भयो । यद्यपि राणा शासन विरुद्धको सशस्त्र संघर्षमा नेतृत्व प्रदान गरेको पार्टीको नाताले दरबारले जतिसुकै षड्यन्त्र गरेपनि २०१५ सालको संसदीय निर्वाचनमा बीपी नेतृत्वको नेपाली कांग्रेसले दुईतिहाइ मतले विजयी बन्यो । त्यो कुरा राजा महेन्द्रजस्ता धूर्त र चलाख राजालाई एकदमै पचिरहेको थिएन ।

उनी जननिर्वाचित सरकारलाई के कसरी बर्खास्त गर्न सकिन्छ भन्ने दाउमा थिए नै । उनैले दिएको संविधानमा जुन धारा ५५ राखिएको थियो, त्यसैको आड लिएर विभिन्न आरोप लगाउँदै जननिर्वाचित सरकारलाई मात्र विघटन गरिएन, सम्पूर्ण राजनीतिक दल र तिनका जनवर्गीय संगठनमाथि प्रतिबन्ध लगाइयो । अनि विक्रम संवत् २००७ सालका उपलब्धीलाई समाप्त पार्दै पञ्चायती प्रजातन्त्रको नाममा राजाको एकछत्र सामन्ती अधिनायकवाद झण्डै ३ दशकसम्म चलाइयो ।

बीपी, गणेशमान लगायत कांग्रेस र कम्युनिस्ट पार्टीका सयौं नेता र हजारौं कार्यकर्ताले जेलनेल भोगे प्रवासिन वा भूमिगत अवस्थामा जान बाध्य भए । यसैक्रममा ८ वर्षको काराबासपछि बीपी जेलमुक्त भए तर उनमा प्रजातन्त्रप्रतिको निष्ठा र हुट्हुटीमा कुनै कमी थिएन । पुनः भारतमा निर्वासित भएर पञ्चायती व्यवस्था विरुद्धको संघर्षलाई सक्रिय नेतृत्व दिन थाले । ८ वर्ष निर्वासित बसेका बीपी कोइरालामाथि ८–८ वटा फाँसीका मुद्दा थिए तर उनीमाथि अन्तर्राष्ट्रिय कारणले भारतको दबाब बढ्दै गएपछि राष्ट्रियता खतरामा परेको मुद्दा उठाएर राजासँग राष्ट्रिय मेलमिलापको नारा अघि सार्दै निर्वासन त्यागेर स्वदेश फर्किए । 

उनलाई पुनः पक्राउ गरियो र थुनामा राखियो । तथापि उनले राजा र प्रजाबीचको पर्खाल भत्काएर जानुपर्ने कुरामा आजीवन सघर्ष गरे तर राजतन्त्रले बीपीको कुरालाई पटक्कै सुन्न चाहेन । अन्ततः राजाको पञ्चायती व्यवस्थाविरुद्ध २०३६ सालमा जुन संयुक्त विद्यार्थी आन्दोलन छेडियो, त्यसलाई जनताको व्यापक समर्थन हुन थालेपछि निर्विकल्प भनिएको पञ्चायती व्यवस्था जनमत संग्रहको कठघरामा उभियो । अस्वस्थ र असक्त हुँदाहुँदै पनि बीपी संवैधानिक राजतन्त्रको आफ्नो सैद्धान्तिक परिधिभित्र रहेर जनमत संग्रहमा बहुदलको पक्षमा नेतृत्व दिँदै राष्ट्रिय राजनीतिको परिचालन गर्न जोडतोडले लागे । त्यसबेला उनले वाम लोकताान्त्रिक सहकार्यलाई आवश्यक ठानेनन्, पञ्चायती व्यवस्थालाई समाप्त पार्नका लागि जुन कुरा नेपालका सर्वोच्च कम्युनिष्ट क्रान्तिकारी नेता क. पुष्पलालले अघि सरेका थिए । त्यस्तो अवस्थामा पनि जनमत संग्रहमा बहुदलको पक्षमा जुन ४४ लाखभन्दा बढी मत आयो, त्यो प्रजातन्त्र पक्षधको मनोबल बढाउने ठूलो ऊर्जा बन्यो र त्यो आगामी आन्दोलनको पूर्वाधार तयार गर्न र संयुक्त आन्दोलन चलाउने वातावरण बनाउन मद्दतगार पनि बन्यो ।

आज नेपाली कांग्रेसभित्र बीपीले जीवनभर गरेको अथक संघर्ष र त्यसको सारलाई गलत अर्थ लगाएर बीपीको संवैधानिक राजतन्त्रको नीति छोडी वाम शक्तिसँग सहकार्य गर्दा नै आप्mनो स्थिति खस्किँदै गएको गलत निष्कर्ष समेत निकाल्ने गरिँदैछ । वास्तवमा बीपीको राष्ट्रिय मेलमिलापको नीति राजा मेलमिलाप चाहँदैनन् भन्ने कुरा दर्शाउनलाई अघि सारिएको थियो र त्यो प्रमाणित पनि भयो । त्यसैले बिपी जीवित छँदा नै २०३६ सालको ऐतिहासिक संयुक्त विद्यार्थी आन्दोलन भएको र त्यसलाई नेपाली किसानको आन्दोलनले समर्थन जनाउन र अझ अगाडि बढाउन थालेपछि जनमत संग्रहको घोषणा भएर आन्दोलन एक चरण अझ अगाडि बढेको कुरामाथि नै पनि औंल्याइसकिएको छ । त्यसैले राजासँग निरपेक्ष मेलमिलापको नीति बीपीको थिएन भन्ने कुरा पनि प्रष्ट छ । यो प्रवृत्तिले बीपीको वास्तविक मान्यतालाई अंगीकार र आत्मसात गर्नेभन्दा पनि तत्कालीन अवस्थामा के गर्दा फाइदा हुन्छ भन्ने उपभोक्तावादी र उपयोगितावादी बाटो अख्तियार गर्दछ ।

विश्वव्यापी प्रजातान्त्रिक मूल्य, मान्यताको कुरा गर्न नथाक्ने नेपाली कांग्रेसले सामन्ती राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनालाई एक वा अर्को रुपमा यथास्थितिमा कायम राखेर लोकतन्त्र कदापि फस्टाउँदैन भन्ने कुरा हालसम्ममा बुझ्ने हो अझै यकिन छैन । नेपाली जनताको व्यापक ऐतिहासिक संंयुक्त जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भइसकेपछि कमल थापाको नीतिलाई सही ठहराउन कांग्रेसीहरूको एउटा जमात प्रत्यक्षपरोक्ष रुपमा लाग्नु र वर्तमान वस्तुगत अवस्थाबाट पछि फर्कने प्रतिगामी सोचले काम गर्न अग्रसर हुनुले बीपी चिन्तन र दूरगामी उद्देश्यको पटक्कै प्रतिनिधित्व गर्दैन ।

बीपीको सोच गतिशील र समयानुकूल किसिमको थियो र उनको कार्यनीति लचिलो प्रकारको थियो भन्ने बुझ्न जरुरी छ । बीपीको जन्मदिवसको आजको सन्दर्भमा लोकतान्त्रिक मूल्य, मान्यता, पद्धति र विश्वव्यापी परम्पराका आधारमा देश र व्यापक जनताको हितमा संघीय गणतन्त्रात्मक लोकतन्त्रप्रेमी कांग्रेसीको घैंटोमा कतै घाम लाग्ला कि ?

कमेन्ट गर्नुहोस्