किन गर्छ मान्छेले आत्महत्या ?

- डा. विश्वबन्धु शर्मा 

असाधारण पीडा, तर अनुभूतिविहिन । पीडाको अनुभूति नहुने अवस्था पनि मानसिक रोगमा हुन्छ ।


Advertisement

कडा मानसिक रोगमा आत्महत्या एकदमै धेरै छ । उपचार नपाउने कडा मानसिक रोगी कि दुर्घटनामा मर्छ, कि आत्महत्या गर्छ, प्राकृतिक रुपमा कमैको मात्र मृत्यु हुन्छ भन्ने गरिन्छ । 


Advertisement

अहिलेसम्म सामान्य रुपमा डिप्रेसनमा मात्र आत्महत्या हुन्छ भन्ने चलन छ । तर त्यो सत्य होइन । डिप्रेसनका विरामी मध्ये झण्डै २० प्रतिशतले मात्र आत्महत्याको प्रयास गर्छन । । यसमा गम्भिर खालका रोगी पर्छन् ।

आत्महत्याका कुल संख्या लियो भने ८० प्रतिशत जति डिप्रेसनका हुन्छन् । दोस्रोमा सिजोफ्रेनियालाई लिइन्छ । 

सिजोफ्रिेनियाको विरामीले विभिन्न कारणले आत्महत्या गर्छ । कानमा आउने आवाजका कारणले पनि गर्छ । ‘मलाई मेरा शत्रुहरुले समाएर चिरेर, नुन खोर्सानी राखेर, यातना दिएर तड्पाइतड्पाई मार्छन, त्यो भन्दा सजिलोसँग आफैं मर्छु’ भन्ने भावना आएर पनि आत्महत्या गर्छन् ।

कुनै कुनै विरामीमा केही कारण नभई अचानक आत्महत्या गर्ने विचार आउँछ र आवेगमा आत्महत्या गरिदिन्छन् । सिजोफ्रेनियाको विरामीले कहिले आत्महत्या गर्छ भनेर भविष्यबाणी गर्न वा अनुमान गर्न सकिन्न । तर जव विरामीलाई उपचार शुरु गरेपछि फटाफट रोग निको हुँदैन, सुधार भएर पनि पहिला जस्तो काम गर्न सक्ने, जिम्मेवारी लिनसक्ने अवस्थामा आउँदैन र रोगको असर बाँकि रहन्छ, त्यस्तो अवस्थामा आत्महत्याको बढी खतरा हुन्छ । 

सिजोफ्रेनियाको विरामीले उपचार पाएर पनि मदिरा वा लागुपदार्थको दुव्र्यसनी छ भने आत्महत्याको खतरा अझ बढ्छ । घरमा वातावरण प्रतिकुल छ, जागिर छैन, परिवारमा राम्रो सहयोग छैन, घरमा अलि द्वन्द्व छ, समस्या छ भने पनि आत्महत्याको खतरा बढ्छ । डिप्रेसनमा रोगको गहिराइले बढी असर गर्छ भने सिजोफ्रेनियामा अरु कारणहरुले बढी असर गर्छ । डिप्रेसनमा मोटामोटी आत्महत्याको अनुमान लगाउन सकिन्छ, रोग जति गहिरो भयो उती आत्महत्याको सम्भावना बढी हुन्छ । डिप्रेसन भएको व्यक्तिले आप्mनो यी भावना व्यक्त पनि गर्छ, हाउभाउ, चालचलनबाट पनि देखिन्छ । तर सिजोफ्रेनियामा अनुमान लगाउन कठिन हुन्छ । 

डिप्रेसनले पेलेर उत्कर्षमा पुगेका वेला आत्महत्या गर्ने आँट हुँदैन । मनमा आत्महत्या गर्ने इच्छा भएर पनि आत्महत्या गर्ने हिम्मत्त हुँदैन, निर्णय गरेर पनि कार्यान्वयन गर्न सक्तैन । प्रवल इच्छा हुँदाहुँदै पनि इच्छालाई उसले कार्यमा उतार्न सक्तैन । रोगको कारणले आँटै नभएर त्यस्तो हुन्छ । 

पहिला आत्महत्या गर्न प्रयास भैसकेकोे, त्यस्तो गर्ने इच्छा आउँछ भनेर कुरा गरेको, तयारी गरेको पनि हुनसक्छ । यो थाहा पाएपछि घरका मानिस चनाखो हुन्छन् । तर जव उ हिंडडुल गर्न थाल्छ, टाठोबाठो फुर्तिलो देखिन थाल्छ, तब ‘अब सुधार भयो’ भनेर घरका मानिसले वास्ता कम गर्छन । अव ठिक हुनथाल्यो भनेर सन्तोष गर्छन । एकातिर उसको आत्मबल बढेर आएको हुन्छ र घरका मानिसले कम वास्ता गर्न थाल्छन भने अर्कोतिर आत्महत्या गर्ने विचार चाहिँ उस्तै रहेको हुन्छ ।

निको भएको जस्तो भान परिरहेका वेला गहिरो खालको डिप्रेसनका विरामीले रोग आंशिक निको भएको अवस्थामा आत्महत्या गरिदिन्छन् । निको हुने सिलसिलामा पूरा निको नभईसकेका अवस्थामा आत्महत्या बढी गर्ने हुनाले रोग पुरै निको नभएसम्म परिवार चनाखो भइरहनु जरुरी छ ।  

आत्महत्याको विचार आएको मानिसमा यसो नगर्न पाए पनि हुन्थ्यो भन्ने सोच पनि आएको हुन्छ । यसको संकेत पनि उसले गरेको हुन्छ । ती सारा संकेत हामीले झट्ट बुझ्दैनौं ।

आत्महत्या गर्ने मानिसले प्राय कुरा खोल्दैनन् तर पनि सकेसम्म मलाई कसैले उद्धार गरिदिए हुन्थ्यो भन्ने भित्री इच्छा हुन्छ । यसबाट उम्किन पाए हुन्थ्यो भन्ने हुन्छ । आत्महत्या गर्ने भनेको रहरले भन्दा भित्रको पीडाले गर्दा हो । पीडा मुक्त हुन पाए हुन्थ्यो भन्ने भई नै रहेका हुन्छ ।

आत्महत्या नै गर्छु भनेर सोच आएको वेला झुण्डिदा, हामफाल्दा, रेटिदा हुने पीडा त पीडा नै होइन । शारीरिक पीडा त कुनै मूल्य हुँदैन । भित्र मनमा उसलाई असह्य मानसिक पीडा हुन्छ । जसले गर्दा उसले आत्महत्या गर्न पुग्छ ।

लेटिनमा एउटा शब्दावली छ, ‘आनेस्थेजिया डोलोरोजा प्सिखिका’। यो पुराना कितावहरुमा पाइन्छ । प्सिखिका भनेको मानसिक, डोलोरोजा भनेको कठोर पीडायुक्त र आनेस्थेजिया भनेको अनुभूती नहुने अवस्था । कुनै अनुभूति नै नगर्ने अवस्था यति पीडादायक हुन्छ कि उसले सहनै सक्तैन । अनुभूति नै नहुने वेहोसी जस्तो अवस्थाको पीडा हो यो । दुःखविहिन पीडा वा यातना । ‘साइकिक पेनलेस टर्चर’ । मनले कुनै अनुभूति नै नगर्ने जुन अवस्था हो, त्यो आफैँमा सहन नसक्ने असह्य पीडा हो ।

यस्तो पीडा डिप्रेसन नभएको मानिसले कल्पनै गर्न सक्तैन । पीडा ज्यादै गहिरो भए पछि उनीहरुले अरुलाई कपडा पसलका पुतली जस्ता देख्छन् । साच्चैको मानिस हो कि प्लाष्टिकको मानिस हो छुट्याउनै सक्तैनन् । उनीहरुले जीवन्तता नै अनुभव गर्दैनन् । त्यस्तै उनीहरुले रङ्ग पनि अनुभव गर्दैनन् । पुरै ब्ल्याक एण्ड ह्वाइट जस्तो देखिन्छ । रातो, हरियो रंग त उसले देख्छ तर त्यसलाई अनुभूति गर्दैन ।  

अगाडि मानिस बोलिरहेको छ तर त्यसको जीवन्तता नै अनुभूती गर्दैन । सवै उसका लागि निर्जीव जस्तो हुन्छ । समय गएको जस्तो नै हुँदैन, समय रोकिए जस्तो हुन्छ । समय जाँदै जाँदैन । संसार नै रोकिए जस्तो हुन्छ । नयाँपन भन्ने हुँदैन । सवै रित्तो जस्तो हुन्छ ।

आफैँमा पनि जीवन्तता देख्दैन । म जीउँदै छु र भनेर चिमोट्ने स्थिति आउँछ । यो ज्यादै पीडादायक हुन्छ । कुनै अनुभूति नै नहुँने यस्तो पीडादायक अवस्था उसले सहन सक्तैन । यो पीडा शारीरिक पीडाभन्दा धेरै कठिन हुन्छ । यो डिप्रेसनको चरम रुप हो ।

यो अवस्थामा मानसिक रुपले कुनै अनुभूति नै गर्दैन । डर, खुसी, रमाइलो, दुःख,शंका, रिस, अत्यास कुनै पनि किसिमको भावनाको अनुभूती नै हुँदैन । शुन्य अवस्थामा पुग्छ । अनुभूतीविहिन पीडाको अवस्था हो । यस्तो चरम अवस्थामा उसले आत्महत्यालाई अंगाल्छ ।

बाँच्ने प्रयास गर्दै आत्महत्या 

पञ्चायत कालमा राजा महेन्द्रले एकदमै विश्वास गरेका र दरबारले निकै प्रयोग गरेका एकजना व्यक्ति रिटायर्ड भएपछि समाज सेवामा लागे । मानसिक स्वास्थ्य सेवामा पनि केही योगदान दिए । 

उनलाई मानसिक रोग लाग्यो । उनी कुनै वेला एकदम सक्रिय बन्ने, कुनै बेला पुरै झोक्राउने । एक्टिभ भएका वेला फुर्तिलो हुने, गफ बढी गर्ने, जसलाई पनि गल्ति गर्दा एकदमै गाली गर्ने, राम्रो हुँदा एकदमै मायाँ गर्ने, स्वागत पनि गर्ने गर्थे । कुनै वेलामा चाहिँ एकदम निरास र खिन्न हुने । कुरा पनि गर्न नचाहने, गरे पनि निरासाका मात्र । धेरै जसो झोक्राएरै बस्ने । ‘तपाईँलाई एक्टिभ बनाएको पनि रोगले नै हो, निरास बनाएको पनि रोगले नै हो भन्थेँ । 

उनलाई यस प्रकारको श्रृङखला दुई तीन पटक भयो । यो ‘हाई’ भएका बेला जता पनि एक्टिभ हुने, धेरैतिर काम गर्ने । ‘लो’ भए पछि घरबाटै बाहिर ननिस्कने । हाई(लो, हाइ(लो भइरहने । यसलाई ‘बाइ पोलार डिजिज’ भनिन्छ । उनलाई हाइ हुँदा हल्का हाइपोमेनिया हुने, तर लो हुँदा कडा डिप्रेसन हुने ।  

उनलाई मैले हेरेर हाई लो दुवैलाई रोक्ने औषधि दिएको थिएँ । अलि कम भए पछि म ठिक छु भनेर औषधि नखाने उनको बानी थियो । मैले काम गर्ने संथामा उनी पनि सम्लग्न थिए । प्राय: उनीसँग भेट भइरहन्थ्यो ।  सम्पन्न र दिलदार थिए । झपार्न पनि पछि नपर्ने । मलाई मायाँ गरेर गुरु-गुरु भन्थे ।

उनलाई हेर्न थालेको केही महिना भएको थियो, विशेष कामले म बाहिर जानुपर्‍यो ।  उनलाई जानकारी दिँदा कहाँ जान लागेको गुरु ? भनेर सोधे । जाडो छल्न बनारस जान लागेको भनेँ ।

मैले उनलाई यो दिन काठमाडौ आइपुग्छु पनि भनेको थिएँ । तर विभिन्न कारणले दुई दिन ढिलो भयो । 

म जुन दिन आउँछु भनेको थिएँ, त्यही दिन ‘गुरु खोइ हँ ? बोला’, भनेका रहेछन् । म आइपुगेको थिइनँ । भोलिपल्ट पनि फोन गरेर, ‘खोज त, आइपुग्यो कि आइपुगेन’ भनेका रहेछन् । त्यो दिन पनि म आइपुगेको थिईँन । त्यसको भोलिपल्ट पनि दिउँसो मलाई खोजेछन् । म राती अलि अबेला मात्र आइपुगेँ । उनले त्यही रात झुण्डिएर आत्महत्या गरिसकेका रहेछन् । भोलिपल्ट विहान मैले आत्महत्या गरेको खवर पाएँ ।

मानसिक रोग लागेको मानिसले आत्महत्या गर्नु अघि पनि केही न केही साहारा खोज्दछ । भित्र गाह्रो भइरहेको हुन्छ, पीडाले ग्रस्त हुन्छ । असह्य भएर छटपटी हुन्छ । यो पीडाबाट मुक्त हुन पाए हुन्थ्यो भन्ने खोज्छन् । 

उनलाई पनि यस्तो पीडाबाट मुक्त हुन औषधि दिइएको थियो । औषधिले राम्रोसँग  छुन्थ्यो । तर उनले औषधि नियमित गरेनन् वा के भयो भन्न सक्तिन ।

खाना नखाएर आत्महत्या

म रुसमा अध्ययन गरिरहँदा एकजना ६० वर्ष जतिकी महिला विरामी थिइन, खादै नखाने समस्या थियो । विरामी पर्दै पटकपटक अस्पताल आउने । कुरा चाहिँ राम्ररी गर्ने । किन नखाको भन्दा खानु हुँदैन, खान्न, म भोकले मर्ने हो भन्थिन । केही नखाई आत्महत्या गर्छु भन्थिन् ।

आत्महत्या गर्न त अरु सजिला उपाय छन् नि, किन यो गाह्रो उपाय रोजेको भन्दा ‘म एकदम नालायक मानिस हुँ, मेरो आत्मा दुष्टआत्मा हो, यसले सजिलो तरिकाले मर्न पाउँदैन । यसले तड्पीइ तड्पीई मर्नुपर्छ ।

मैले जिन्दगीमा यति धेरै पाप गरेँ कि जिन्दगी नै गल्ति गल्ति र पाप नै पापले भरिएको छ । त्यसलाई सही सजाय भनेको नखाई नखाई तड्पाएर मार्ने हो । अनि मात्र न्याय हुन्छ ।’ यस्तो भन्ने अनि खाना, पानी केही नखाइदिने ।

अस्पतालका स्वास्थ्यकर्मीहरु हातखुट्टा बाँधेर जवर्जस्ती खुवाउँथे । ‘तपाईँहरुले पापमाथि पाप बोकाउनु भयो’ भन्थिन । तपाईँहरुले पापी आत्मालाई बचाइरहनु भएको छ भन्थिन । नाकबाट पाइप लगाएर खुवाइन्थ्यो । औषधि पनि खान नमान्ने । त्यही भएर हामी विद्युत उपचार (शक) नै लगाउँथ्यौँ । 

त्यहाँ यस्तो समस्या भयो भने शक थेरापी दिइहाल्थे ।यो सवैभन्दा सुरक्षित मानिन्छ र निको पनि राम्रोसँग हुने । शक विशेषगरी कडा खालको डिप्रेसनमा उपयोगी हुनाले खाँदै नखाने, आत्महत्याको खतरा भएको अवस्थाको गम्भिर डिप्रेसनमा लगाइन्छ । आत्महत्याका विचार दिमागबाट हटाउन यो नै सवैभन्दा राम्रो विधि हो । आत्महत्या रोक्नका लागि यो भन्दा राम्रो विधि आजसम्म विकास भएको छैन । तर आज व्यापक  प्रयोगमा ल्याउन भने सकिएको छैन । उनलाई पनि शक थेरापीले राम्रो सुधार हुन्थ्यो ।

(मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको पुस्तक ‘मान्छेको मन’बाट)

कमेन्ट गर्नुहोस्