कबड्डी कबड्डी कबड्डी : 'अर्ग्यानिक' कथामा सरल प्रस्तुति [फिल्म समीक्षा]

प्रदिप अधिकारी
प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

काठमाडौं- हिमाली परिवेशमा खिचिएको फिल्म हो- कबड्डी कबड्डी कबड्डी । कबड्डीको तेस्रो सिक्वेलको रूपमा ल्याइएको यस फिल्ममा पनि सोल्टिनीको हक जमाउन गरिएका अनेकन प्रयासहरूलाई प्रस्तुत गरिएको छ । तर फिल्ममा पात्रहरू र कथामा भन्ने शैलीमा भने त्यतिसारो भिन्नता छैन । केही पात्रहरू थपघट छन् भने कथाको भाव उस्तै छ ।

फिल्मले माया पाउन गरेको संघर्ष र पर्खाइबारे खुलस्त पारेको छ । आफूले चाहेको मान्छे रिश्मा गुरुङ (मैंया) ले छोडेर गएपनि वीरकाजी (दयाहाङ राई)ले अझै कुरिरहेका छन् । उनले मायाको परिभाषालाई फरक ढंगले दिने प्रयास गरिरहेका छन् ।


Advertisement

फिल्ममा वीरकाजी (दयाहाङ राई), काशी (उपासना सिंह ठकुरी), धनकाजी (विल्सन विक्रम राई) तथा माओत्से गुरुङ मुख्य भूमिकामा छन् ।

मैंयाको यादमा जीवन बिताएर कहिल्यै बिहे नगर्ने वीरकाजीको सिद्धान्त छ । तर आमाबा छोरालाई बिहे गर्न कर गरिहरेका छन् । छोरोको सुर भने १० लाख जम्मा गरेर व्यवसाय गर्ने छ । यसैबीच उनको जीवनमा काशीको इन्ट्री हुन्छ । उनी पनि वीरकाजीको सोल्टिनी पर्छिन् ।

बिहे नगर्ने अड्डी कसेका वीरकाजीको जीवनमा काशीको इन्ट्रीले कस्तो असर गर्छ ? उनीहरूको सम्बन्धले कुन रूप लिन्छ ? यसकै पेरिफेरीमा फिल्मको कथा घुमेको छ । धनकाजीको पनि काशीमाथि सोल्टिनी हक लाग्छ ।  

छोरी काशी कसलाई सुम्पिने भन्नेमा आमा (लुनिभा तुलाधर) र बाबु (माओत्से गुरुङ)बीच कलह छ । आमाको चाहना धनकाजी हुन् भने बाबुको छनोट वीरकाजीमा छ ।

कसले मार्छन् त बाजी ? यसका लागि तपाईंले फिल्म हेर्नैपर्छ ।

रामबाबु गुरुङ अर्ग्यानिक कथालाई भिन्न शैलीमा प्रस्तुत गर्न माहिर छन् । उनको फिल्ममा सामाजिक परिवेश र संस्कारहरूको छायाँ पाउन सकिन्छ । फिल्ममा उनले ग्रामीण वस्तीको 'सोल्टिनी संस्कृति'लाई लोभलाग्दो ढंगले पस्केका छन् । फिल्मको अर्को राम्रो पक्ष भनेको प्रत्युप्पन्नमति 'रिपार्टी' हो । रिपार्टीले पनि संवादलाई आकर्षक बनाउँछ । त्यो 'कबड्डी कबड्डी कबड्डी'मा देख्न सकिन्छ । अझ छुटाउने नहुने त यसको कथा नै हो । हलमा ताली बज्नुमा अर्को सुन्दर पक्षनै उपेन्द्र सुब्बाको स्क्रीप्ट हो । उनको स्क्रीप्टलाई खोट लगाउनु मुखर्ता जस्तै हुनेछ ।

हिमाली परिवेशमा छायांकन गरिएकाले दृश्यहरू अति सुन्दर छन् । स्याउ फलेका केही सीनले पनि दर्शकको मन लोभ्याउन सक्छ ।

फिल्म तब बलियो हुन्छ जब सुन्दर प्लटहरू देखाइन्छ । पहिलो हाफका केही प्लटहरूलाई दर्शकले  बिर्सन सक्दैनन् । वीरकाजीले पर्समा राखेको मैंयाको तस्वीर खोलामा बगाएको सीनले मन कटक्क खान्छ ।

अब अभिनयका कुरा गरौं, अर्ग्यानिक कथामा बनेको फिल्ममा अभिनय गर्न पाउनु दयाहाङको लागि सौभाग्य हो । उनले उक्त सौभाग्यलाई खेर जान दिएका छैनन् । पात्रलाई न्याय दिनेगरी अभियन गरेका छन् । सधैं उही ढर्राको फिल्म, उस्तै पात्र गरेको भन्दै लाग्न गरेको आरोप यस फिल्मका लागि गलत सावित हुन्छ । उनको अभिनयलाई दर्शकले 'बोर' मान्दैनन् ।

लगातार हिट फिल्म दिएका अभिनेत्रीहरूको स्तरको अभिनयको स्तर भेटिन्छ भर्खर दोस्रो फिल्ममा काम गरेकी उपासना सिंह ठकुरीमा । यसको अर्थ उत्पातै राम्रो भन्ने होइन । जे होस्- उनको अभिनयमा दम छ । विजय बराल र बुद्धि तामाङको अभिनय पुराना फिल्ममै जस्तो छ । माओत्से गुरुङ र लुनिभा तुलाधरले अभिनयमा न्याय गरेका छन् ।

मौलिक कथावस्तु बोकेको फिल्मको रूपमा उभ्याइएको 'कबड्डी कबड्डी कबड्डी'लाई सधैं उस्तै परिवेश, लवज, पात्र, शैलीको दाग लाग्ने गरेपनि पहिलो हाफमा त्यो भान हुन्न । तर दोस्रो भागमा कथाले फरक मोड लिन्छ र दर्शकले अपेक्षा गरेअनुसार नपाउन पनि सक्छन् ।

ध्वाँसे (कर्मा)को इन्ट्रीले पनि फिल्ममा नयाँ मोड लिन्छ । उनी काशीकी प्रेमी हुन् । उनको नौरीकोट आगमन र उनको भूमिकालाई निर्देशकले फिल्म लम्ब्याउन गतिलो हतियार बनाएको प्रतित हुन्छ । खासमा ध्वाँसे भूमिका नै 'बोरिङ' छ ।

जात्रैजात्रापछि सुस्ताएको फिल्म बजार 'कबड्डी कबड्डी कबड्डी'ले उकास्ने निश्चित छ । यदि तपाईंलाई मौलिक कथामा बनेको फिल्म मन पर्छ भने 'कबड्डी कबड्डी कबड्डी' गतिलो खुराक बन्न सक्छ ।

फिल्म :कबड्डी कबड्डी कबड्डी

निर्देशक : रामबाबु गुरुङ

कलाकारहरू : दयाहाङ राई, उपासना सिंह ठकुरी, विजय बराल, कर्मा, माओत्से गुरुङलगायत

अवधि :  १ घण्टा ५५ मिनेट ।

कमेन्ट गर्नुहोस्