अनुगमनमा असहयोग गर्नेलाई जरिवाना, भाग्ने पसले २४ घण्टाभित्र सम्पर्कमा नआए पसल सिलबन्दी !

काठमाडौं– अनुगमनमा असहयोग गर्ने गोंगबुको बिजी मलका व्यापारीहरूलाई २०/२० हजारका दरले जरिवाना तिराइएको छ ।

आइतवार बिजी मलमा पुगेको अनुगमन टोलीलाई सहयोग गर्नुको सट्टा पसल बन्द गरेर अनुगमन टोलीलाई घेरा हालेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिजी मलका ४ व्यापारीलाई जरिवाना गरेको हो ।


Advertisement


Advertisement

बिजी मलमा मात्रै चारवटा अनुगमन टोली खटिएको थियो । टोली मलमा पुग्नेबित्तिकै पसलेहरूले पसल बन्द गरेर अनुगमन टोलीलाई घेरा हाल्न थालेका थिए ।

अनुगमन टोली व्यापारीको घेराबन्दीमा परेपछि विभागका महानिर्देशक योगेन्द्र गौचन समेत बिजी मल पुगेका थिए ।

महानिर्देशक गौचनले अनुगमनमा असहयोग गर्ने ४ वटा पसलको कारोवार रोक्का गर्नुका साथै २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको बताए ।

साथै असहयोग गरेको कसूरमा २० हजार रुपैयाँका दरले जरिवाना गरिएको समेत उनको जानकारी दिए ।

विभागले २४ घण्टाभित्र विभागमा उपस्थित नभएमा पसलमा सिलबन्दी गर्ने पनि जनाएको छ ।

कमेन्ट गर्नुहोस्