नोबेल साहित्य पुरस्कार विजेताद्वय : कथानकमा अब्बल पकड

Olga Tokarczuk (Left) and Peter Handke

काठमाडौं– पोहोर साल विवाद उठेर साहित्यतर्फको नोबेल पुरस्कार कसैलाई पनि नदिइएकाले नोबेल पुरस्कार दिने स्विडिश एकेडमीलाई यस वर्ष आफ्नो इज्जत जोगाउनुथियो र विश्वसनीयता दह्रो बनाउनु पनि थियो । 

त्यसैले बिहीवार उसले पोल्यान्डकी लेखिका ओल्गा टोकारचुकलाई सन् २०१८ को अनि अस्ट्रियाली लेखक पिटर हान्ड्कलाई सन् २०१९ को पुरस्कार दिएको घोषणा गर्दा त्यसले पुरस्कारको महत्त्व र आवश्यकता दुवैलाई उजागर गरेको छ । यो पुरस्कार युरोपकेन्द्रित भएको (धेरेजसो विजेता युरोपेली छन्, स्विडेन एक्लैले पूरा एसियाभन्दा बढी पुरस्कार जितेको छ) आरोप त लागिनैरहनेछ । तर फटाहाहरूले मात्र टोकारचुक र हान्ड्क यस पुरस्कारका हकदार थिएनन् भन्नेछ । 


Advertisement

सन्ताउन्न वर्षीया टोकारचुक पोल्यान्डमा निकै चल्तीकी लेखिका हुन् र उनले सीमा तथा पर्खालरहित सहिष्णु र विविधितापूर्ण समाजको समर्थन गर्दै ठाडठाडो कुरा गरेर पुराना तथा नयाँ उदारवादीहरूको मन जितेकी छन् । उनी सन् २०१८ मा अन्तर्राष्ट्रिय चर्चाको शिखरमा पुगिन् । त्यस वर्ष उनले आफ्नो उपन्यास फ्लाइट्स (जेनिफर क्रफ्टद्वारा अंग्रेजीमा अनुदित) का लागि म्यान बूकर अन्तर्राष्ट्रिय पुरस्कार जितिन् । उपन्यासमा २१औं शताब्दीको यात्रा र मानव शरीरविज्ञानलाई एक ठाउँमा ल्याइएको भनी प्रशंसा गरियो । 

उपन्यासले शताब्दियौं लामो यात्रा गर्छ र विभिन्न कथाहरू बुन्छ । गोडामा हुने तन्तु एकिलिज टेन्डोन पत्ता लगाउने फ्लेमिश शरीरवैज्ञानिक फिलिप भेरहेयेनको वास्तविक कथादेखि संगीतकार चोपाँको मुटु उनकी बहिनीको जामामुनि एउटा भाँडोमा राखेर लगिएको कथा पनि यसमा छ । त्यसपछि यसले न्युजील्यान्ड बसाईं सरेकी एक पोलिश महिलाको यात्रा कहन्छ । ती महिला स्कूल पढ्दाको प्रेमीलाई स्याहार्न पोल्यान्ड फर्किन्छिन् । 


Advertisement

टोकारचुकको लेखनी उनको देशको इतिहास झैं विच्छिन्न छ । उनी आफैंले फ्लाइट्सलाई ‘तारापुञ्ज उपन्यास’ भनी वर्णन गरेकी छन् । (अर्थात् उपन्यासका प्रत्येक कथा आफैंमा एक भिन्न तारा जत्तिकै सबल अस्तित्वमा छन् ।)

टोकारचुक आफ्ना जटा (ड्रेडलक) का कारण टाढैबाट चिनिन्छिन् । उनले शक्तिका अगाडि सत्य बोल्ने साहस गर्ने गरेकी छन् । 

सन् २००९ मा प्रकाशित उनको उपन्यास (अंग्रेजीमा एन्टोनिया लोयड–जोन्सद्वारा अनुदित) ड्राइभ योर प्लो ओभर द बोन्स अफ द डेडको अंग्रेजी संस्करण यसै वर्ष सार्वजनिक भएको छ । यो वातावरणवादी–नारीवादी उपन्यास हो । यसले पशु अधिकार र वातावरणीय चिन्ताको विषयलाई अपराधकथामार्फत उठाएको छ । ‘यो कस्तो संसार हो जहाँ हत्या र पीडा नै प्रतिमान बनेको छ ?’ उपन्यासकी कथावाचक दुस्जेज्को सोध्छिन् ।

‘हैन, हामीमा के समस्या छ ?’ लामो समयदेखि शाकाहार अपनाएकी, अभियन्ता तथा सार्वजनिक विदूषी टोकारचुक यो प्रश्न पाठकहरूले आफैंलाई सोधून् भन्ने इच्छा राख्छिन् । 

टोकारचुकको एक उपन्यास तारापुञ्ज जस्तो छ भने हान्ड्कको काम त झन् आफैमा एक सम्पूर्ण तारापुञ्ज हो किनकि यसको विस्तार अथाह छ । नोबेल पुरस्कारले हान्ड्कको जीवनीमा उल्लेख गरेअनुसार, विगत ५० वर्षमा उनले विभिन्न विधामा थुप्रो काम गरेका छन् । उनले आफूलाई दोस्रो विश्वयुद्धपछिको युरोपका सर्वाधिक प्रभावशाली लेखकमध्ये एकका रूपमा आफूलाई स्थापित गरेका छन् ।
उनका कृतिहरूमा उपन्यास, निबन्ध, नोटबूक, नाटक र फिल्मका स्क्रीनप्ले पर्छन् । 

अमेरिकी लेखक जोन अप्डाइकले उनलाई जर्मन भाषाका सर्वोत्कृष्ट लेखक भनी द गार्डियन पत्रिकामा सन् १९९९ मा लेखेका थिए । उनको जर्मन भाषामा निस्केका कृतिहरूमा आफूवरिपरिको विश्वको गहिरो अवलोकन तथा संवेदनशीलता झल्किन्छ । उनी प्रायः भन्ने गर्छन्– सबभन्दा ठूलो गुण भनेको ‘जे कुराका लागि पनि अनुकूल हुनु हो ।’

उनका कृतिहरूको सार यस्तो छ– हाम्रा दैनिकीहरूले हामीलाई कसरी भुत्ते बनाउँछन् अनि सबै विनम्र तथा कम विनम्र सतहका पछाडि पागलपन तथा विवेकहीनता पाइन्छन् । 

यी ७६ वर्षीय लेखक सन् १९६६ मा आएको नाटक अफेन्डिङ दी अडियन्स (दर्शकलाई चिढ्याउने काम) बाट चर्चामा आएका हुन् । उक्त नाटकमा मञ्चमा रहेका अभिनेताहरूले दर्शकलाई अपमान गर्छन् अनि आफ्नो प्रस्तुतिको गुणगान गर्छन् । उनका नाटकहरूमा परम्परागत कथानक वा संवादको अभाव हुन्छ र त्यसैका लागि ती प्रशंसित छन् । 

हान्ड्कका उपन्यासहरू पनि गैरपरम्परागत छन् । ती उपन्यासमा सामान्य विषयवस्तुलाई चरममा पु¥याइएको हुन्छ । सन् १९७० मा आएको उनको प्रसिद्ध उपन्यास द गोलीज एंग्जाइटी याट द पेनाल्टी किकमा अमेरिकी कठोर अपराधकथालाई युरोपेली आधुनिकतावादी संवेदनशीलतासँग जोडिएको छ । उपन्यासमा एक पूर्व फूटबल खेलाडीले हत्या गर्छन् अनि प्रहरीले गर्ने अनुसन्धान कुरिबस्छन् । 

सन् १९७२  मा प्रकाशित ए सरो बियोन्ड ड्रीम्स चाहिँ बेग्लै खालको थियो । त्यो अर्ध आत्मकथा थियो र त्यसमा लेखककी आमाको जीवन र मृत्युको वर्णन गरिएको थियो । उनका पछिल्ला कृतिहरू (सन् २०११ मा आएको) द ग्रेट फल ः ए स्टोरीमा शहरमा घुमिरहेका एक बूढा अभिनेताको जीवनको एक दिनलाई कथा बनाइएको छ ।

हान्ड्कको करीयर विवादमा घेरिएको छ । उनलाई विवादमा बस्न मन पनि पर्छ । उनी जर्मनीका अब्बल लेखकहरू टमस मान, रोबर्ट मुसिल र फ्रान्ज काफ्कालाई तुच्छ मान्छन् । उनलाई उग्रदक्षिणपन्थी सर्बियाली राष्ट्रवादका प्रतिरक्षकका रूपमा वर्णन गरिएको छ किनकि उनले युगोस्लाभ युद्धहरूका बारेमा लेखेका छन् र उनले कोसोभो नरसंहारका आरोपित स्लोबोदान मिलोसेभिचको अन्त्येष्टिमा भाषण गरेका थिए । 

तर नोबेल कमिटीले उनलाई ‘शहर तथा गाउँका’ लेखक जसले ‘नदेखिएका कुरालाई लेखनीमा समात्छन् र हामीलाई त्यसको एक अंग बनाउँछन्’ भनी प्रशंसा गरेको छ । ओपन म्यागजिनमा प्रकाशित नन्दिनी नायरको आलेख

कमेन्ट गर्नुहोस्