बिमा क्षेत्रमा हुने ठगीका नियन्त्रण गर्न बिमा सूचना केन्द्र

काठमाडौं –  बिमा क्षेत्रमा हुने गरेका ठगीका घटनालाई नियन्त्रण गर्न बिमा समितिले बिमा सूचना केन्द्र स्थापना गर्ने भएको छ ।

बिमा समिति र बिमा कम्पनीको सहकार्यमा बिमा सूचना केन्द्र स्थापना गर्न ४३ लाख रुपैयाँबराबरको पुँजी राखिने भएको छ । प्रारम्भमा बिमा समितिले ३ लाख रुपैयाँ र सबै बिमा कम्पनीहरूले १–१ लाख रुपैयाँ लगानी गर्ने बिमा समितिका निमित्त कार्यकारी निर्देशन राजुरमण पौडेलले बताए । ‘सुरुवातमा सोही पुँजीबाट केन्द्र सञ्चालन हुनेछ । पछि कार्यविधि बनाएर केन्द्र सञ्चालन गरिनेछ,’ उनले भने । 


Advertisement

बैंक तथा वित्तीय संस्थामा हुने ठगीलाई नियन्त्रण गर्न केन्द्रीय बैकले कर्जा सूचना केन्द्रको स्थापना गरेको छ ।

त्यसैगरी, बिमा क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्न बिमा सूचना केन्द्रको स्थापना गर्न लागिएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । बिमा समितिले संघीय संसद्मा प्रस्तुत गरेको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ को दफा १५६ मा बिमा सूचना केन्द्रको व्यवस्था गरेको छ । सूचना केन्द्रको सञ्चालनका लागि प्राधिकरणले थप व्यवस्था गर्ने विधेयकमा उल्लेख छ । नयाँ पत्रिकामा खबर छ । 
 

कमेन्ट गर्नुहोस्