नेपाली अनुहारका विदेशीको दादागिरी : एयरपोर्ट तोडफोड गर्ने छुट कसले दियो ?

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

काठमाडौंको बौद्धस्थित पाँचतारे ह्यात रिजेन्सी होटलमा यतिबेला ‘नेपाली नागरिकता त्यागिसकेका’ पूर्व नेपालीहरूको पिकनिक चलिरहेको छ ।

विगत वर्षहरूमा सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा हुने पिकनिकस्थल यसपटक तारागाउँ सरेको छ । ह्यात होटल भएको ठाउँलाई काठमाडौंका स्थानीयहरू अहिले पनि तारागाउँ भन्छन् ।


Advertisement

सरकारी जग्गा भाडामा लिएर बनेको यो होटल बेलाबखत विवादमा पर्ने गर्छ, यसको जग्गाका कारण । जहाँ गैरआवासीय नेपाली संघ एनआएनएको सम्मेलन चलिरहेको छ । झण्डै-झण्डै राजनीतिक दलको भातृ संगठनको महाधिवेशनको झल्को त्यहाँ देख्न पाइन्छ ।

चिनियाँ राष्ट्रपति शी चिनफिङको भ्रमणको चर्चा सेलाउन नपाएकाले पनि होला एनआएनको सम्मेलनले नेपालीहरूको चासो खिच्न सकेको छैन । हुन पनि 'एलिट'को पिकनिकले आमसर्वसाधारणलाई खासै असर पार्ने कुरा पनि भएन ।

त्यसैमाथि उद्घाटन समारोहमा संस्थापक उपेन्द्र महतोको अनुपस्थितिले यो सम्मेलनलाई खल्लो बनाइदिएको छ, परन्तु सम्मेलनमा उपेन्द्रको अनुपस्थितिका अरू कारण हुन सक्छन् ।

स्वयं संस्थापक अध्यक्ष असन्तुष्ट रहेको एनआरएनको सम्मेलनप्रति आमसर्वसाधारणको कुनै चासो र सरोकार देखिएको छैन ।

आमनेपालीलाई त छुन सकेको थिएन, स्वयं एनआरएनएकै संस्थापक र क्रियाशील सदस्यहरू यो संगठनबाट आजित भइसकेका छन् ।

विश्वभर फैलिएका नेपालीको एकता र परोपकारी कामका लागि डेढ दशक पहिले एनआरएनको स्थापना भएको थियो ।

विदेशमा सिकेको सीप र लगानी भित्र्याउने आश्वासन बाँडेका कारण शुरूवाती दिनमा एनआरएनप्रति आम सर्वसाधारणको गहिरो चासो थियो ।

नेपालमै काम गरेर बसेका नागरिकहरूले यो जमातबाट केही अपेक्षा पनि गरेका थिए । मुलुक अप्ठेरो परेका बेलामा विदेशमा बसोवास गर्ने नागरिकको ठूलो योगदान रहन्छ ।

उत्तरी छिमेकी चीनका कयौं गाउँ र शहर छन, जुन विदेशमा बस्ने चिनियाँहरूले बनाइदिएका हुन् । यहाँको एनआरएनए जस्तो विदेशमा रहेका चिनियाँ नागरिकहरूको संस्था ‘ओभरसिज चाइनिज’ छ ।

उनीहरू दुई वर्षमा एकपटक पिकनिकका लागि स्वदेश फर्किने र गफ गर्ने मात्र गर्दैनन्, देशलाई आवश्यक परेका बेला ठोस सहयोग लिएर भित्रिन्छन् ।

एनआरएनले शुरुवाती वर्षमा दुईवटा शर्त राखे–लगानीको वातावरण र दोहोरो नागरिकता । दोहोरो नागरिकताको विषय यसरी उठ्यो कि मानौं यो संस्था नै दोहोरो नागरिकताका लागि स्थापना गरिएको हो ।

उनीहरूले संविधानसभामा लबिङ गरे, गैरआवासीय नेपालीलाई दोहोरो नागरिकताका लागि । नागरिकता नभई लगानीका लागि सरकारले विशेष परिचयपत्र दिने दलहरूबीच सहमति भयो ।

दोहोरो नागरिता उनीहरूको मुख्य विषय थियो त्यो नपाएपछि उनीहरू नेपालमा लगानी गर्ने कुराबाट लगभग बिमुख भए ।  

सशस्त्र द्वन्द्वको समाप्तिपछि विदेशमा कमाएको सीप र धन नेपालमा ल्याउने आशा धेरैले गरेका थिए ।

विगतमा लगानीको वातावरण नभएको भनेर बहाना गरेका उनीहरूले अहिले लगानीका लागि वातावरण हुँदा पनि लगानी गरेका छैनन् ।

साँच्चिकै देशका लागि केही गरौँ भनेर रोजगारी सिर्जना गर्ने खालका उद्योगमा लगानी गरेको भए भयाभह समस्या बनेको नेपालको बेरोजगारी समस्या समाधानमा केही योगदान पुग्थ्यो ।

एनआरएनका सबै सदस्यको त्यो हैसियत छैन होला, भएकाले पनि मन गरेनन् । गैर आवासीय नेपाली संघले देशमा लगानी सीप भित्राएर देश समृद्ध बन्ला भन्नु अब मृगतृष्णा मात्र हुनेछ ।

गैर-आवासीय नेपालीहरू स्वदेश फर्किंदा उत्साहित देखिन्नन् । उनीहरूमा नेपालमा केही छैन र केही हुँदैन भन्ने खालको अनौठो अभिमान छ । विमानस्थलमा तोडफोडमा उत्रिन्छन् ।

एनआरएन सम्मेलनमा सहभागी हुन आएका नेपाली मूलका व्यक्ति रमेशकुमार थापाले अध्यागमन कार्यालयको टेबल फुटाएपछि अध्यागमन कार्यालयले सुरक्षाकर्मीको जिम्मा लगाउनुपर्ने परिस्थिति आयो ।

यो घटना नौलो होइन । अध्यागमन कार्यालयले विज्ञप्ति नै प्रकाशित गरेर नेपाली मूलका विदेशी व्यक्तिबाट पटक-पटक यस्ता क्रियाकलाप हुने गरेको भन्दै ध्यानाकर्षण गरायो, नेपालमा सम्मेलन चलिरहेको समयमा ।

युरोप, अमेरिका र अष्ट्रेलियाजस्ता देशमा बस्ने नेपालीले त सभ्यता र नम्रता देखिउनुपर्ने हो । अरब, कतार जस्ता खाडी मुलुकमा काम गर्ने नेपालीले बरू त्यो भन्दा बढी विनम्रता देखाउने गर्छन् ।

कुनै सिद्धान्त नभएको र रंगीबिरंगी जमातको गुटले क्रमश यो संगठन राजनीतिक दलको भातृ संगठनको भूमिकामा रूपान्तरित गरिरहेको छ ।

स्थापनाकालमा राखिएको उद्देश्यबाट विचलित भएर यो संगठन नितान्त गफाडीहरूको क्लबमा सीमित बन्दैछ ।

नयाँ नेतृत्व चयनका लागि भइरहेको पैसाको होडबाजी, खाडी मुलुकमा मतदाताको किनबेच जस्ता कारणले भद्दा क्रियाकलापले यो संस्था मानवीय सेवा र समाजसेवी संस्थाबाट क्रमश ठेकेदारको संस्थामा रुपान्तरित हुँदैछ । एनआरएनका सच्चा अभियानकर्ताको लागि यो चुनौतीको विषय हो ।

पक्कै पनि विदेशमा नेपालप्रति माया गर्ने नेपालीको संख्यामा कमी छैन । राजनीतिक दलका ‘होलटाइमर’का अगाडि उनीहरू छायाँमा परेका छन् । हाँसीहाँसी नेपाली नागरिकता त्यागेका, सरकरको छात्रवृत्तिमा पढेर उतै पलायन भएका तर आफूलाई अब्बल दर्जाको नागरिक ठान्नेहरूले अब नेपालमा आएर सस्ता कुरा नगरेकै राम्रो । दुई वर्षमा एकपटक नेपाल आएर ठाँट नदेखाएकै ठीक ।

चुनावमा भइरहेका भद्दा क्रियाकलापले यो संस्थाले राजनीतिक दलको भातृ संगठनभन्दा पनि तल गिरेको आभास दिलाएको छ । आजकल राजनीतिक दलका भातृसंगठनमा बरू प्रचुर मात्रामा अनुशासन देखिने गरेको छ ।

स्थापनाको दुई दशक बित्नै लाग्दा समेत एनआरएनले प्रशंसा गर्नलायक कुनै काम गरेको देखिएको छैन ।

लाखौं सदस्य रहेको संस्थाले देशका दूरदराजमा कति ठाउँमा अस्पताल खोल्यो ? कतिवटा सरकारी स्कूलको भवन बनाइदियो ? कति ठाउँमा खानेपानीका आयोजना बनायो या कति गाउँमा एम्बुलेन्स खरिद गर्‍यो ?

यति ठूलो नेटवर्क भएको संठगनले भन्दा धुर्मस-सुन्तलीले देखिने गरी काम गरेका छन् । एनआरएनसँग नेपालीका धेरै अपेक्षा थिए, तर उनीहरूले गर्न सक्ने काम पनि गरेनन् ।

एनआएनए सम्मेलनका नाममा तारागाउँमा भइरहेको जमघटले दुनियाँ हँसाउने कामबाहेक केही भएको छैन ।

एनआरएन सम्मेलनको एउटा देखिने उपलब्धिलाई भने नजरअन्दाज गर्न मिल्दैन । त्यो हो, पर्यटकको सिजन शुरू हुँनै लाग्दा नेपाली नागरिकता त्यागेका नेपाली पर्यटकले पर्यटन उद्योगमा झिनो नै भएपनि योगदान गरेका छन् ।

नेपाली नागरिकता त्यागिसकेकाहरूलाई पर्यटककै रूपमा भनेपनि नेपाल आउँदा कुनै पनि बहानामा गरीब देशको एयरपोर्टमा तोडफोड गर्ने छुट छैन ।

 

कमेन्ट गर्नुहोस्