चितवनले देश विकासको नमूना दिनुपर्छ : अध्यक्ष प्रचण्ड

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनले देशको विकासमा नमूना प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन् ।

राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघले बिहीवारदेखि पूर्वी चितवनमा आयोजना गरेको प्रथम राप्ती महोत्सवको उद्घाटन गर्दै उनले देशको केन्द्रबिन्दुमा रहेको यस जिल्लाले विकासमा देशलाई नेतृत्व गर्नुपर्ने बताएका हुन् ।


Advertisement

विकासका लागि चितवनमा प्रचुर सम्भावना रहेको बताउँदै उनले भने, ‘विभिन्न आन्दोलनमा चितवनले खेलेको भूमिकालाई महसूस हुने गरी विकास गर्नुपर्छ । देशलाई यस जिल्लाले विकासको नमूना देखाउनु जरुरी छ ।’

सरकारले देशलाई समृद्धिको यात्रातर्फ अघि बढाएको बताउँदै उनले यस्ता मेला महोत्सवले त्यसमा सहयोग पुर्‍याउने बताए ।

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष दाहालले भरतपुरको गोन्द्राङमा रहेको सडक दस्तुर संकलन केन्द्र (ढाट) स्थानान्तरणका लागि सरकारसँग आवश्यक पहल गर्ने बताए । ‘एउटै जिल्लावासीले पनि कर तिर्नुपर्ने यो विडम्बना हटाउन प्रयत्न गर्छु,’ उनले भने । चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका दाहालले जिल्लामा धान खेतीमा देखिएको समस्या समाधान गर्न आवश्यक पहल गरिने बताए ।

कमेन्ट गर्नुहोस्