शी सफलताले जन्माएको प्रश्न : आर्थिक शक्ति मात्रै सार्ने कि विश्व व्यवस्था फेर्ने ?

पुष्प न्यौपाने
पुष्प न्यौपाने

वामपन्थी राजनीतिमा कलम चलाउने न्यौपाने प्रेस संगठन निकट पत्रकार हुन् ।

राजनीतिक विचारधारा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ : क. माओ ।

इतिहासदेखि वर्तमानसम्म चिनियाँहरू दर्शन र विचारधारालाई महत्त्वपूर्ण ठान्दछन् र सो अनुरुपको जीवन व्यवहार एवं आचरणहरू तय गर्दछन् ।


Advertisement

चीनका वर्तमान राष्ट्रपति शी चिनफिङले विचारधारामा जोड मात्रै दिएका छैनन्, आफैंले प्रतिपादन गरेको विचारधाराको कार्यान्वयन आफ्नै जीवनमा अभ्यास गर्न सो अनुसार विकासका लागि ‘पाइलट प्रोजेक्ट’ समेत अघि सारेका छन् । त्यसको प्रत्यक्ष उदाहरणका रुपमा बीआरआई, फाइभ जी लन्च, कृत्रिम सूर्य–चन्द्र निर्माण, आर्टिफिसियल इन्टेलिजेन्समा व्यापक लगानी र विज्ञानको विकास र प्रविधिको खोजमा शानदार सफलताको निरन्तर प्रयासलाई लिन सकिन्छ ।

बेइजिङको गतिमय प्रगतिका घमाइला दिनसँगै उसले विश्वव्यापी रुपमा गरीबी निवारणको तुवाँलो हटाउन सबै मुलुकसँग समानता र सहअस्तित्वका आधारमा विकास, प्रविधि र समृद्धिका मोडेलको आदानप्रदानमा जोड दिएको छ । शी नेतृत्वको कम्युनिस्ट पाटीले अघि सारेका यस्तै महत्त्वाकांक्षी परियोजनाको जगमा जब शी चिनफिङ विचारधाराले कम्युनिस्ट पार्टी अफ चाइनाको संविधानमा स्थान पायो, त्यसपछि शी चीनको महान् नेताको कोटीमा सामेल भए ।


Advertisement

खासगरी विदेश मामिलाका सन्दर्भमा अन्तर्राष्ट्रिय परिवर्तित घटना र परिघटनाबारे मौनतालाई आफ्नो प्रमुख हतियार बनाउँदै आएको चीनलाई शीले अन्तर्राष्ट्रिय फोरममा अरुले सुन्ने गरी स्पष्ट बोल्नुपर्ने कुरामा जोड दिए । यसको मतलब उनले प्रखर कुटनीतिलाई अँगाले । विदेशमा चीनको बढ्दो लगानी, चिनियाँको बाक्लो उपस्थिति र प्रखर कुटनीतिसँगै शीको व्यक्तित्वको उचाइ चीनका २ प्रभावशाली नेता हु जिन ताओ र ज्याङ जो मिनभन्दा माथि पुगेको छ । उनी माओ र देङको प्रभावशाली व्यक्तित्व–नेतृत्व पंक्तिमा उभिएका छन् । 

खासगरी चीन–अमेरिका ट्रेडवारलाई आधार बनाएर मिडिल इनकम ट्रयापको कुरा अगाडि आएको हुनसक्छ । त्यसको व्यावहारिक जवाफ चीनले कसरी दिनसक्छ ?

खासगरी चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं कांग्रेसले शी विचारधारा अनुमोदन गरेपछि शीलाई झण्डै माओकै उचाइमा पुग्ने सम्भावित महान् नेताका रुपमा चित्रण गर्न थालिएको छ । यद्यपि शीले केही राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतीको सामना गर्नुपर्ने छ । जसका लागि उनी अग्नि परीक्षाको घडीमा आफूलाई जाँचिरहेका छन् । चिनियाँ विशेषता सहितको समाजवाद नयाँ युगको चीनलाई आवश्यक छ भन्ने कुरामा उनले पार्टीमा स्थायी कमिटीदेखि राजनीतिक व्यूरोलाई गहिरोसँग अनुभूति गराउँदै सहमत बनाए । तर उनले आफूलाई एक असाधारण नेतृत्व क्षमता भएको र विश्वलाई नै नेतृत्व प्रदान गर्नसक्ने व्यक्तित्व भएको कुरालाई पुष्टि गर्न आफू अघिका २ कार्यभार पूरा गर्नुपर्ने छ । पहिलो कार्यभार वर्तमानको तीब्र आर्थिक वृद्धिदरलाई  निरन्तरतामा लैजानु हुनेछ । किनकि पश्चिमी संसारका अधिकांश अर्थ जानकारले अब चीन मध्यम आयको पासोले बाँधिने खतराबाट त टर्दैछ तर पनि धनी राष्ट्रको बिन्दुमा पुग्दा आयवृद्धिमा ह्रास आउन सक्ने अनुमान गरेका छन् । खासगरी चीन–अमेरिका ट्रेडवारलाई आधार बनाएर मिडिल इनकम ट्रयापको कुरा अगाडि आएको हुनसक्छ । त्यसको व्यावहारिक जवाफ चीनले कसरी दिनसक्छ ?

१३ हजार डलर प्रतिव्यक्ति आय पुर्‍याउन चीनले कति समय लगाउला वा त्यसपछिको उसको आर्थिक गति कसरी अगाडि बढ्ला ? प्रतिव्यक्ति आयलाई आधार मानेर अर्थ विश्लेषण गर्दा अमेरिकासँग चीनको आर्थिक विकासको भिन्नता झण्डै ५ गुणाको देखिन्छ । अर्थात् चीन अमेरिकाभन्दा ५ गुणाले प्रतिव्यक्ति आयमा पछाडि छ । जसले नागरिकको जीवनस्तरमा फरक देखाउँछ । तर त्यहीँ अर्को मोडेल पर्चेजिङ पावरलाई आधार मान्दा चीनले अमेरिकालाई उछिनिसकेको छ । विकास निर्माणको गतिलाई हेर्दा बेलायतको प्रसिद्ध अखबार द गार्डियनले लेखेको छ – अमेरिकाले २० औं शताब्दीभर जुन संरचना निर्माण गर्‍यो चीनले हरेक २ वर्षमा त्यति संरचना निर्माण गर्न थालेको छ । गार्डियनको यस भनाईले चीनले भौतिक निर्माणका क्षेत्रमा सारा संसारलाई आश्चर्यचकित तुल्याएको छ । भर्खरै लन्च गरिएको स्टारफिस विमानस्थल त्यसको ज्वलन्त उदाहरण हो ।

शी अगाडिको दोस्रो कार्यभार समृद्ध चीनको रक्षा र विकासका साथै बाँकी विश्वलाई युद्धको विभिषिकाबाट जोगाउनु हो । विशाल विमानस्थलदेखि बीआरआईका महत्त्वाकांक्षी परियोजना सम्पन्न गर्न चीन सक्षम छ भन्नेमा विश्व विश्वस्त छ । तर निर्मित र निर्माणाधीन परियोजनाको सुरक्षा चीनसामु रहेको सबैभन्दा ठूलो चुनौती हो । कुनै पनि वस्तु निर्माणमा जुन समय, विवेक र लागत खर्च हुन्छ ध्वंशका लागि यी कुनै कुराको आवश्यक छैन । त्यो थोरै केही समयमा हुन्छ । वर्तमान विश्वको यथास्थितीवादी शक्ति (जो आफूभन्दा अरु अगाडि बढेको सुन्न समेत चाहँदैन) सँग ध्वंशात्मक प्रवृत्ति टड्कारो छ । जब शक्तिको केन्द्र स्थानान्तरणको अन्तिम समय आउने छ, त्यतिबेला एक थोपा रगत नबगिकन शक्ति स्थानान्तरणको कल्पना गर्नु व्यर्थ हो । हो शक्ति जहाँ छ त्यहीँ कायम राख्न शितयुद्ध मात्रै भएपनि पुग्ला तर शक्तिको ट्रान्सफरका लागि सम्भवतः युद्ध झेल्नैपर्ने होला । एक पटक विश्व आकाश अणु–परमाणुको धुँवाले रङमङिने खालको वातावरण त बन्छ बन्दैन तर व्यापार युद्धका कारण मुद्रा स्फीति, बजार अनियन्त्रण, बस्तुको मूल्यमा स्वेच्छाचारी यस्तै कुनै डरलाग्दो विकृत रुपले अहिलेको विश्व व्यवस्था भयानक समस्यामा पर्ने समय आउन सक्छ । 

हुवावेले आफ्नो मेट ३० सँग मिल्दोजुल्दो गरी सामसुङले नोट १० तयार पारेको आरोप लगाएको छ भने सामसुङले गुगल एप्स प्रयोग गर्न नमिल्ने हुवावेको मेट ३० सिरिजको मजाक उडाएको छ ।

जे होस्, २ महाशक्ति बीचको आर्थिक प्रभूत्वको लडाइमा शीलाई जित्नैपर्ने दबाब छ । शीले अमेरिकी आर्थिक प्रभूत्वलाई चुनौती दिन वाशिङ्गटनले बेइजिङमाथि तेर्साइदिएको बिजनेस गन अर्थात् ट्रेड वार जित्नैपर्छ । जब चीनले ट्रेडवार जित्ने छ, त्यसपछि वास्तविक युद्ध जित्न चीनका लागि बाटाहरू प्रशस्त हुनेछन् । विश्वकै भयानक चुनौतीबीच चीनले ५ जी लाई सफलतापूर्वक लन्च गर्नुपर्नेछ । हुवावेले मोबाइल फोनको संसारमा सिंहझैं उपस्थिति बनाएका एप्पल र सामसुङलाई आफ्नो लोकप्रियताद्वारा विस्थापन गर्नुपर्ने छ । हुवावेले आफ्नो मेट ३० सँग मिल्दोजुल्दो गरी सामसुङले नोट १० तयार पारेको आरोप लगाएको छ भने सामसुङले गुगल एप्स प्रयोग गर्न नमिल्ने हुवावेको मेट ३० सिरिजको मजाक उडाएको छ ।

पछिल्ला रेकर्डले विश्वको स्मार्ट फोन बजारमा सामसुङलाई हुवावेले पछ्याइरहेको छ । हुवावेको अपरेटिङ सिस्टम हङमिङ प्रयोगकर्ताका लागि कति लोकप्रिय बन्न सक्छ ? त्यो पनि चिनियाँ प्रविधि परीक्षणको महत्त्वपूर्ण कसी बन्ने छ । रोबोटिक्समा उसको लगातार प्रगति कति प्रभावशाली बन्छ र बीआरआईलाई चिनियाँले सफलतापूर्वक लागू गर्न सक्छन् वा सक्दैनन् ? यिनै विषयमा चीनको भविष्य निर्भर रहने छ ।

यसका साथै एसियाको विशाल जनसंख्या भएको मुलुक भारतलाई एसियाली भविष्यका लागि सुरक्षा, विकास, पर्यावरण र वैकल्पिक विश्व व्यवस्थामा संयुक्त कदम चाल्ने कुरामा सहमत गराउन सके चीनलाई थोरै समयमा धेरै लाभ हासिल हुनेछ र शक्तिको केन्द्र पश्चिमबाट पूर्व सर्न धेरै समय लाग्ने छैन ।

वर्तमान चीनको पहिलो पुस्ताका संस्थापक अध्यक्ष माओत्सेतुङलाई चिनियाँले आज पनि त्यत्तिकै श्रद्धापूर्वक चेयरम्यान माओ भन्ने गर्छन् । १९४९ को क्रान्ति सम्पन्नपछि माओले चीनलाई कुनै दिन विश्वको शक्ति राष्ट्र बनाउने चाहना राखेका थिए । माओकालमै सांस्कृतिक क्रान्तिताका केही मानवीय क्षति र सामाजिक क्षति व्यहोर्नुपरेपछि चीन आफ्नो यात्रालाई फरक ढंगले मोड्ने ठाउँमा आइपुग्यो । माओपछि देङस्याओ फेङको उदयसँगै उनले आर्थिक सुधारमा जोड दिए । बिरालो कालो होस् वा सेतो उसको काम मुसा मार्ने हो  । उनको यो भनाई अर्थतन्त्रको वृद्धिमा केन्द्रीत थियो ।

राजकीय संरचनाबाट होस् वा खुला बजारबाट देशलाई पूँजी आर्जनको भोक छ, त्यो भोक मेटाउन हामी जुनसुकै बाटोबाट पनि अघि बढ्न तयार छौं भन्ने उनको आशय प्रष्ट थियो । आफूलाई २४ क्यारेटको क्रान्तिकारी ठान्ने संसारका शास्त्रीय माक्र्सवादीले देङको जतिसुकै आलोचना गरेपनि उनी आफ्नो भोक मेटाउन अर्थात् पूँजी निर्माणमा चिनियाँको अतृप्त चाहनालाई पूरा गर्न सम्पूर्ण रुपले केन्द्रित थिए । त्यसपछि चीनको तेस्रो पुस्ताका शक्तिशाली नेताको रुपमा आफूलाई उभ्याउन जियाङ जो मिन र हो जिन्ता ओले पनि निकै मेहनत गरे । तर उनीहरूको उचाइलाई हुका उत्तराधिकारीका रुपमा परिचित शीको अथक मेहनत, खारिएको राजनीतिक अनुभव, स्पष्ट वैचारिक दृष्टिकोण र कठिनाइ एवं चुनौतीसँग खेल्ने कटिवद्ध एवं प्रतिवद्ध स्वभावले उनलाई तेस्रो पुस्ताका शसक्त र समकालीन विश्वको प्रभावशाली नेताको पंक्तिमा उभ्याइदियो ।  हुन त जियाङ जो मिन र हु जिन ताओले पनि आर्थिक विकास र जनताको जीवनस्तर उकास्न हरसम्भव प्रयत्न गरे । रुस–चीन मित्रताको पुनर्ताजगीमा भूमिका खेले, विज्ञान–प्रविधिका क्षेत्रमा चीनलाई माथि उठाउने अभ्यास गरे तर वर्तमान राष्ट्रपति शीका महत्वाकांक्षी योजना, प्रखर विदेशनीति, मस्कोसँग बलियो अलाइन्स, अफ्रिकादेखि युरोपसम्म लगानी विस्तार, मध्यपूर्वमा चासो र दक्षिण चीनसागरमा इन्डोप्यासिफिक रणनीति विरुद्धको मोर्चामा एक्लै पनि टिकेर लड्नसक्ने क्षमताको विकास लगायत प्रगतिले उनी माओ र देङको कदको छेऊमा आइपुगे । शी पूरै विश्व व्यवस्था बदल्न चाहन्छन् वा शक्तिकेन्द्र मुख्यालय मात्रै । यही कुरा पश्चिमाको मुख्य चासो हो र बाँकी विश्वले पनि यही कुरालाई गम्भीरतापूर्वक नियालिरहेको छ । 

वर्तमान विश्व व्यवस्था र पश्चिमा शक्तिको नेतृत्वकर्ता अमेरिकासँग बेलायत, जर्मन, इटाली, स्पेन, फ्रान्सजस्ता मुलुक पनि सन्तुष्ट छैनन् ।

बीआरआई, सांघाइ को–अपरेसन, ब्रिक्स जस्ता संरचना र विश्वका सबै मुलुकलाई विकासको अवसर प्रदानमा योगदान पुर्‍याउने रणनीतिक लक्ष्यजस्ता कुराले पृथक खालको विश्व व्यवस्थाको परिकल्पनाको अनुमान गर्न सकिन्छ । यद्यपि विश्व व्यवस्था सञ्चालनका तौरतरिका तिनको आर्थिक, सामाजिक ढाँचा, राजनीतिक पद्धति, आतंकवाद र अपराध नियन्त्रणका प्रभावकारी फोरम, विश्वको सर्वस्वीकार्य फोरमका लागि कुनै संकेतमूलक अभ्यास शुरू नभएकाले एकाध संरचनाकै भरमा विश्व व्यवस्था परिवर्तनको तयारी भन्न मिल्ने अवस्था छैन तर यही व्यवस्थालाई जस्ताको त्यस्तै त्राण दिएर आर्थिक शक्तिको केन्द्र मात्रै सार्दैमा सन्तुष्ट भइहाल्ने स्वभाव शीको देखिँदैन । तसर्थ यो दशकभर महाशक्तिका अस्तित्व र प्रभुत्वका लडाइहरू मूलतः अर्थको केन्द्र मात्रै सर्ने वा विश्व व्यवस्था नै हेरफेर हुने भन्ने विषयमै केन्द्रीत रहनेछन् ।

इतिहासले पनि पूर्व र पश्चिमका सभ्यता, दर्शन र प्रभूत्वबीच समानता नदेखाएकाले यस पटक पनि अर्थको केन्द्र सर्ने क्रममा सभ्यता, विश्व व्यवस्था र दर्शन एवं विचारधारामा पनि परिवर्तनको सम्भावना रहन्छ । सम्भवतः शीले विश्व व्यवस्था परिवर्तनका लागि अथक मेहनत गर्नेछन् र परिवर्तित विश्व व्यवस्थाको केन्द्र पूर्वलाई बनाउने प्रयत्न हुनेछ ।

वर्तमान विश्व व्यवस्था र पश्चिमा शक्तिको नेतृत्वकर्ता अमेरिकासँग बेलायत, जर्मन, इटाली, स्पेन, फ्रान्सजस्ता मुलुक पनि सन्तुष्ट छैनन् । खासगरी घाटा र जोखिमको हिस्सा सबैले व्यहोर्नुपर्ने मुनाफा तथा लोकप्रियताको श्रेय अमेरिकाले आफैसँग राख्ने वाशिंगटनको आधा शताब्दी बढी लामो अभ्यास ती मुलुकले पनि रुचाएका छैनन् ।

कमेन्ट गर्नुहोस्