उत्तम शर्मा : सरकारी कर्मचारीदेखि कलाकारसम्म

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

सुर्खेत – भनिन्छ, कला साहित्य यस्तो क्षेत्र हो जसले पीडा, माया, मोह, संवेदना परिवर्तन एक पटकमा गर्न सक्छ ।

रुने मान्छेलाई हँसाउन सक्छ भने हाँसेको मान्छेलाई कला साहित्यले उतिबेलै रुवाउन पनि सक्छ । कला साहित्यमा रुचि राख्ने, कला क्षेत्रलाई माया गर्ने कलाकर्मीहरू बरू साथसाथै अर्को पेशा सम्हाल्लान् तर अँह आफूले मन पराएको कलाकारिता क्षेत्र छोड्नै चाहँदैनन् ।


Advertisement

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक त्यस्ता कलाकार छन्, जसको कार्यालय समयबाहेक अन्य सबै समय सांस्कृतिक कार्यक्रम, कला, साहित्यमा बित्ने गरेको छ । ती त्यस्ता व्यक्ति हुन जसलाई सरकारी औपाचारिक कार्यक्रमको उद्घोषण गर्न प्रदेश सरकारले प्राय: जिम्मा दिँदै आएको छ, जो हाल जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी समेत हुन् । वीनपा २ ढोडेखालीमा जन्मिएका उत्तम शर्मा हुन् उनी ।

कला क्षेत्रमा त्रिपुरेश्वर मावि ढोडेखालीबाट शुरूआत गरेका हुन् उनले । उसो त शर्माले इगरब्रीज बोर्डिंगमा आयोजना हुने दौड, ककफाइटमा धेरै शिल्ड जितेका छन् । उनको बाल्यकाल खेलकुद तथा माध्यमिक तह कविता लेखनमा बित्यो । उनी माध्यमिक तहमा अध्यययन गर्दै गर्दा गजल पनि लेख्थे । ‘उतिबेला म माध्यमिक विद्यालयमा पढ्ने बेलामा वीरेन्द्रनगर बजार आउन धेरै समय लाग्थ्यो,’ उनी सम्झन्छन्, ‘कला साहित्यमा जीवन बिताउने मेरो सपना भ्याली भित्रैको विकट बस्ती भएका कारण समस्या भयो । अर्थात् माध्यमिक तहमा उक्त सपनाले फड्को मार्न पाएन ।’

वीरेन्द्रनगर बहुमुखी क्याम्पसको रजत जयन्ती २०६१ मा खुला कविता प्रतियोगिता आयोजना भयो । त्यसबेला उनलाई अध्ययन गराउने शिक्षकले समेत प्रतियोगितामा भाग लिएका थिए । ‘मैले कविता प्रतियोगितामा द्वितीय स्थान हासिल गरेँ । कल्पनै नगरेको सफलता पाउँदा आफूलाई भाग्यमानी ठानेँ,’ उनी भन्छन्, ‘उतिबेला द्वन्द्वको समय थियो । मैले शान्ति सम्बन्धी गौतम बुद्ध फेरि आउँछन् भन्ने कल्पनासहितको कविता वाचन गरेको थिएँ । उक्त कविता दोस्रो भएको हो ।’

कविताबाट नृत्य तथा नाट्य क्षेत्रमा प्रवेश

उनी माध्यमिक तहपछि क्याम्पसमा भर्ना भए । क्याम्पस भर्ना उनी भइसकेपछि कविताभन्दा नाट्य क्षेत्र तथा नृत्य क्षेत्रमा उनको आगमन भयो । नाट्य क्षेत्रमा आवाज संस्थाबाट शुरूआत गरेका थिए २०६१ सालमै ।

‘भित्रै देखिको बेपत्ता चाहना र भविष्य देखेर चर्चित हुन मन लागेको थियो । विद्यालय तीर नृत्य निर्देशन गरेको छु । ठूलो प्रतिस्पर्धामा नृत्य निर्देशनमा हात हालेको छैन । क्षेत्रीय नृत्य प्रतियोगितामा सुर्खेत, बर्दिया, गुलरिया, बुटवलमा प्रथम भएको छु,’ उनी त्यो बेलाको एक कथा सम्झन्छन्, ‘सडक नाटक प्रस्तुत गर्न हामी बुटवल गएका थियौं । बुटवलबाट आउँदा बीबीएस प्रथम वर्षमा परीक्षा नै छुटेको थियो । छापामार नै भएर नाट्य क्षेत्रमा लागिएको थियो । त्यतिबेला महिनाको १० वटा भन्दा बढि नाटक प्रस्तुत गर्ने गरेको थिएँ । मम्मी खुशी बाबा दुःखी हुनुहुन्थ्यो ।’

उनले नाटक लेखन तथा निर्देशन गरेको मुक्ति सोह्र दिने महिला हिंसा विरुद्धको अभियान २०६६ सालमा प्रदर्शन गरिएको र पूर्व प्रधानमन्त्री माधव कुमार नेपालबाट एक लाख पुरस्कार समेत ग्रहण गरेका कलाकार हुन् । ‘विशाल वर्षा’,  ‘बुद्धिमान’, ‘अनन्त विजय’, ‘बिहानी’, लागूऔषधविरुद्धको अभियान लगायत १५० ओटा भन्दा बढि नाटकको लेखन तथा निर्देशन गरेका छन् ।

उनले गीत पनि लेखेका छन् । सरर हावा चल्यो वनमा पाँच वर्षसम्म निकै चर्चित भएको थियो । यो गीतमा उनले मोडलिङ पनि गरे । ‘सो हजुर’ झा्याउरे गीत, लोकगीत यो मायामा जादु के रै'छ, मैले त के जानौंलगायतका दर्जन बढी स्थानीय तथा राष्ट्रिय गीतमा अभिनय गरेका छन् । गजल पनि लेख्ने गरेका उनीसँग अहिले एक सय भन्दा आफ्नै नामका गजल छन् ।

उनी सडक नाटकको तालिम दिने वा प्रदर्शन गर्ने भनेपछि हुरुक्कै हुने व्यक्ति हुन् । यतिसम्म कि उनले ज्यानको बाजी लगाएर दैलेखको पिलाडी भन्ने स्थानमा सडक नाटक तीन दिन थला परेर भएपनि प्रदर्शन गरेर सुर्खेत फर्किए । ‘सडक नाटकको तालिम दिन भनेर पैदल दैलेखको पिलाडी भन्ने स्थानमा साँझको नौ बजे भीउचुलेबाट पिलाडी पुग्दै गर्दा हरायौं । दाँया लाग्ने ठाउँमा भदौको झरीमा पानी परिरहेको बेला, खर पलाएको, जुका लागेको, अनकन्टार भीरमा परेका रहेछौं,’ उनी सम्झिन्छन्, ‘बाँचिन्न भन्ने कुरा हरि कंडेल र मलाई लागिसकेको थियो । नौ बजे हराएका हामी राति दुई बजेसम्म जंगलमा भौंतारिरह्यौं । पछि एक घर भेट्टायौं । बाँच्ने आश पलायो ।

पहिलो कमाई प्रतिस्थान २५ रुपैयाँ

उनको नाट्य क्षेत्रमा प्रवेश गरेको केही समय मात्रै भएको थियो । शुरूशुरूमा निःशुल्क सिक्न पाएको भए हुने अपेक्षासहित नाट्य क्षेत्रमा हाम्फालेका उनले प्रति स्थान २५ रुपैयाँ पहिलो कमाइको रूपमा प्राप्त गरेका थिए २०६४ सालमा । ‘पहिलो पटकको सडक नाटकबाट चार ओटा स्थानमा नाटक देखाए बापत एक सय रुपैंया पाएको थिएँ । उल्टो तिरेर जानुपर्छ भन्ने लागेको थियो, पहिलो कमाई आमालाई लगेर दिएको थिएँ । तर आमाले भने फिर्ता नै दिनुभयो,’ उनले भने ।

नाटय क्षेत्रमा बर्दिया, दैलेख, कम्तीमा २०० जनालाई प्रवेश गराएका छन् उनले । दैलेखमा २०६४ सालमा नाटक प्रशिक्षण गराउँदा विभिन्न रसमध्ये करुण रसको कक्षा दिँदादिँदै प्रशिक्षार्थी बेहोस भएका थिए । स्ट्रेचरमा राखेर अस्पताल लिनुपर्ने अवस्था आयो । उक्त कुरा मिडियामा पनि आएको थियो ।

उनलाई आनन्द कला क्षेत्रमै आउने गर्छ । आफ्नो जीवन यापनका लागि उनले निजामती सेवा क्षेत्रमा २०६८ सालमा खरदारको रूपमा हुलाकमा, २०६९ सालमा सुब्बाको रूपमा सुर्खेत जिल्ला अदालतमा सेवा दिइसकेका शर्मा २०७१ सालमा सर्वोच्च अदालत काठमाडौंमा जागिरे थिए । २०७२ सालमा अधिकृत भएका उनी अहिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत छन् ।

एभरेष्ट नेपाल कल्चरल ग्रूपमार्फत उनी युरोपका धेरै देश घुमेका छन् । संयुक्त अरब इमिरेट्सको शारजहाँ, पोल्याण्ड, फ्रान्स र स्वीटजरल्याण्डमा समेत प्रस्तुति दिइसकेका छन् । नाटककै क्षेत्रमा झापा, गण्डकी, लुम्बिनी, धौलागिरी, सुदुरपश्चिमका केही गरी ४० भन्दा बढी जिल्लामा नाटक प्रदर्शन गरेका छन् ।

दिपासा विसी, निरुता शाही, सगुन शाही, चिरञ्जीवी सापकोटा, बेदन थापालगायतलाई उनले अभिनय क्षेत्रमा यथेष्ट सहयोग गरे रे !

 ‘मैले नाट्य क्षेत्रमा गुरुको रूपमा कुलमान नेपाली, टिकाराम चपाई, गणेश गौतमलगायतबाट सिकेको हुँ,’ उनी भन्छन्, ‘मैले कसैलाई खासै गुरु भने मानेको थिइनँ । अग्रजबाट सिक्दै यो क्षेत्रमा प्रवेश गरेको थिएँ ।’ उनी यो क्षेत्रमा लागेको १५ वर्षभन्दा बढि भइसकेको छ । यो अवस्थासम्म आइपुग्दा उनले केही सम्मान र पुरस्कार पनि पाएका छन् ।

गृह त्याग गरी लोकसेवा पास

उनले २०६७ सालमा नाट्य क्षेत्रबाट मात्रै जीवनयापन गर्न नसक्ने निष्कर्ष निकाल्दै लोकसेवा आयोगको तयारी गर्ने योजनामा लागे । उनले आफूसँगै कला क्षेत्रमा लागेका कलाकारलाई लिखितम् माइन्यूट नै गराएर गृह त्याग गर्दै लादे भन्ने स्थानमा तीन महिना भूमिगतसमेत भए । उनका साथमा अन्य दुई जना कलाकार पनि भूमिगत भए । ‘मसँगै नाटक खेल्ने साथीहरूलाई लिएर २०६७ साल माघ महिनामा सुरेन्द्र गिरीलगायतका कलाकार साथीहरूसहित सुर्खेतको लादे भन्ने स्थानमा परिवारलाई समेत जानकारी नदिइ अध्ययन गर्न थाल्यौं ।’ उनले स्मरण गर्दै भने, ‘तीन महिना माइन्यूट नै गरेर पढियो । गृह त्याग नै गरेर तीन जना गएका थियौं । २०६८ जेठमा परीक्षा भयो, तिनै जनाको नाम निस्कियो । अर्को वर्ष अर्को टोली पनि गयो । त्यो सिकाइ भएको थियो । उदाहरणको रूपमा मैले यसलाई लिएको छु ।’

उनी एक त्यस्ता कलाकार हुन जो राज्यको जिम्मेवार पदमा बसेर दुई ओटा नाउमा खुट्टा राखेर यात्रा गर्न सफल भएका छन् । ‘मेरो बुवा नेपाल सरकारको लेखा अधिकृत हुनुहुन्थ्यो । त्यसैले पनि होला मलाई बुवाले निजामति सेवामा प्रवेश गरोस् भन्ने चहाना राख्नुहुन्थ्यो । मेरो आमालाई भने छोरो कलाकार भइदेओस् भन्ने ठूलो चहाना थियो । त्यसैले मैले बुवाआमा दुवैको चहाना पूरा गरेको छु जस्तो लाग्छ ।’ आफूले अभिनय गरेको नृत्य वा नाटक टेलिभिजनमा आयो भनेपनि मेरो आमा धेरै खुशी हुने गरेको उनको भनाइ छ । पछिल्लो समय उनको जीवन साथी आरती ढकालले समेत मलाई कलाकारितामा धेरै सहयोग गरेको उनी बताउँछन् ।

‘मेरो बालापनको सपना सेनामा जागिर खाने थियो । तर विद्यालय उमेरमा एकजनाले गुलेलीले हानेर मेरो आँखामा समस्या भयो । अनि मेरो सेनामा जागिर खाने सपना पूरा हुन सकेन । तर मलाई त्यसमा कुनै पछुतो छैन । कलाकार कर्मचारीको पहिचानबाटै म सन्तुष्ट छु । आफूलाई कर्मचारी मात्रै पनि भन्न रूचाउँदिनँ र कलाकार मात्रै पनि । म आफूलाई कलाकार कर्मचारी भन्न रूचाउँछु । कर्मचारी हुँदा मेरो आर्थिक समृद्धि भएको छ भने कलाकारिताले मेरो शौख पूरा गरेको छ । जसका कारण मलाई आर्थिक संकट छैन ।’

जीवन कलाकारितामै सर्मपण गर्छु

उनले सरकारी सेवाबाट अवकाश लिइसकेपछि बाँकी जीवन कलाकारिता क्षेत्रमा नै खर्च गर्ने बताउँछन् । आफू विशुद्ध कलाकर्मी भएको बताउँदै राजनीतितर्फ ध्यान नदिने उनको प्रतिबद्धता छ । कलासाहित्य क्षेत्रको बारेमा राज्यले सोच्न पर्ने देखिन्छ । सम्पूर्ण कलाकारको दायित्व राज्यले लिनुपर्छ । प्रज्ञा प्रतिष्ठानहरू प्रादेशिक स्तरमा र सांस्कृतिक विकास समिति जिल्ला स्तरमै कार्यालय संचालन गर्न जरुरी छ । सामान्य सरकारले खर्चको व्यवस्था गर्नुपर्ने मैले देखेको छु ।

कमेन्ट गर्नुहोस्