म्यान्माबाट नेपाललाई बुद्धका ३० मूर्ति प्रदान

म्यान्मा – यङ्गोनस्थित सितागु अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ ।

प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यमार्फत बुद्धका विभिन्न मुद्राका मूर्ति हस्तान्तरण गरेका हुन् ।


Advertisement

सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्त (म्यान्मा)को योगदान भुल्न नसकिने बताउँदै ती मूर्ति नेपाल म्यान्मा दिगो सम्बन्धको प्रतीक भएको स्पष्ट गरे ।

उनले साझा संस्कृति र दर्शन बोकेका नेपाल र म्यान्माबीच सम्बन्ध अझ प्रगाढ हुने पनि बताए । बुद्धका शान्ति, करुणा, मैत्री, अहिंसाका सिद्धान्त अझै सान्दर्भिक भएको बताउँदै नेपाल भ्रमण  वर्षमा नेपाल र खासगरी लुम्बिनी आउन म्यान्मालीलाई आग्रह गरे ।

म्यान्माका धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा आङ कोले बुद्धका मूर्ति नेपाल म्यान्मा सम्बन्धका प्रतीक हुने बताए । प्रतिष्ठानका संस्थापक भिक्षु सायदले बुद्धले बुद्धत्व प्राप्त गरेपछि विभिन्न ठाउँमा बौद्धधर्मको प्रचारप्रसारका लागि बुद्ध जान नसकेका स्थानमा बुद्धका मूर्ति लगिएको र ती मूर्तिका प्रतिकृति फिर्ता गरी पुनः नेपाललाई दिने काम भएको जानकारी दिए ।

कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यले बुद्धका ती मूर्ति लुम्बिनीस्थित संग्रहालयमा संरक्षण गरी राखिने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदास तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्