वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान

काठमाडौं–    उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान र प्रविधि क्षेत्रमा विदेशमा अध्ययन गरेका नेपाली वैज्ञानिकहरूलाई स्वदेश फर्कन आह्वान गरेका छन् । उनले देशको समृद्धि र विकासका लागि युवा वैज्ञानिकको योगदान अर्थपूर्ण रहेको भन्दै यस्तो आह्वान गरेका हुन् ।

तीनदिने युवा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनको सोमबार राजधानीमा उद्घाटन गर्दै उनले नवीन आयाम आरम्भ गरेकोमा खुसी व्यक्त गरे।


Advertisement

नेपालमा पहिलो पटक युवा वैज्ञानिकको यस्तो सम्मेलन आयोजना गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा सोमबारबाट सम्मेलन सुरु भएको हो । उपराष्ट्रपति पुनले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनबाट नै समृद्धि सम्भव हुने स्पष्ट पारे।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि अन्तरसम्बन्धित रहेको भन्दै मुलुकले समृद्धिका लागि अत्यावश्यक भएको बताए। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि विज्ञान र प्रविधिको उपयोग हुनुपर्ने बताए।

‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपाली तथा विदेशी युवा वैज्ञानिकको सीप र क्षमतालाई देश विकासमा उपयोग गर्ने उद्देश्यसहित युवा वैज्ञानिक सम्मेलन आयोजना गरिएको हो । स्वदेश तथा विदेशमा विज्ञान, प्रविधि र अन्वेषणमा काम गरेका नेपाली तथा विदेशी गरी तीन सय वैज्ञानिक सम्मेलनमा सहभागी भएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्