विद्युतीय बस खरिदमा ढिलाइ

फाइल तस्वीर

काठमाडौं–  साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले बजेट निकासा दिएर खरिद गर्न लागेको विद्युतीय बस मन्त्रालयले तोकेको मापदण्ड (स्पेसिफिकेसन)भन्दा फरक परेको छ ।

यसअघि काठमाडौँमा सञ्चालन गर्न उद्घाटन गरेका पाँचवटा विद्युतीय बस पनि सम्झौताविपरीत भएकाले सिंहदरबारमा थन्किएका छन् ।


Advertisement

साझाले पहिला तोकेको भन्दा फरक मापदण्डमा बस खरिदको बोलपत्र आह्वान गर्न लागेपछि मन्त्रालयले यसलाई तत्कालका लागि रोकेको बताएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तीन सय विद्युतीय बस खरिद गर्न साझा यातायातलाई गत असारमा तीन अर्ब रुपियाँ निकासा दिएको थियो । तर चार महिना लाग्दा पनि काममा प्रगति नभएको र स्पेसिफिकेसन पनि फरक पार्न थालेको भन्दै मन्त्रालयले गत असोजमै पत्रमार्फत प्रक्रिया स्थगन गराएको थियो ।

तोकेको मापदण्डभन्दा फरक बोलपत्रमा जाने हो भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने भन्दै मन्त्रालयले तत्कालका लागि रोकेको हो । तीन महिनाको परियोजना प्रतिवेदन पनि सन्तोषजनक नभएको मन्त्रालयले जनाएको छ । प्रवक्ता राजेश्वर ज्ञवालीले भने, 'तोकेको स्पेसिफिकेसन अनुसार भएन, स्पेसिफिकेसन परिवर्तन गरेर ल्याएपछि त्यसलाई नियमपूर्वक अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ त्यसैले अहिले स्थगन गर्नु भनेको हो ।'

उनका अनुसार तोकिएको स्पेसिफिकेसनमा धेरै कम्पनी प्रतिस्पर्धामा आउन सक्ने अवस्था थियो तर त्यसलाई सीमित गर्न खोजिएको छ । 'तोकेको स्पेसिफिकेसनभन्दा साझाले फरक पार्न खोजेपछि तत्कालका लागि स्थगन गरिएको तर दिएको तीन अर्ब पैसा फिर्ता ल्याउने होइन तर तीन महिना ढिला भइसक्यो,' प्रवक्ता ज्ञवालीको भनाइ छ ।

तर साझा यातायातले भने मन्त्रालयले दिएको स्पेसिफिकेसन पर्याप्त नभएकाले परिमार्जन गरिएको जनाएको छ । साझाका कार्यकारी सञ्चालक भूषण तुलाधरका अनुसार मन्त्रालयले साझालाई स्पेसिफिकेसनको खाका पठाएको थियो । तर यो प्रारम्भिक खाका हो यसमा थप्न सकिन्छ भनेर पठाएको थियो । मन्त्रालयका प्रतिनिधिसहित छलफल गरेर परिमार्जन गरिएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्