‘द हन्ड्रेड बल'मा सन्दिपको 'इन्ट्री', कति पाउँछन् पारिश्रमिक ?

काठमाडौं –नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने करिअरकै उच्चतम मूल्यमा ‘द हन्ड्रेड बल’ क्रिकेट प्रतियोगिताका लागि आबद्ध भएका छन् ।

इंग्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा हुने ‘द हन्ड्रेड बल’ क्रिकेट प्रतियोगितामा सन्दीपलाई इंग्लिस क्लब ओभल इन्भिसिब्लेसले एक लाख पाउन्डमा अनुबन्ध गरेको हो । 


Advertisement

नेपाली रुपैयाँअनुसार सन्दीपलाई भित्र्याउन ओभलले एक करोड ४६ लाख रुपैयाँ खर्चिएको छ । विश्वकै चर्चित फ्रेन्चाइज लिग खेलिसकेका सन्दीप एकै लिगमा एक लाख पाउन्डमा बिक्री भएको यो पहिलोपटक हो । गत बुधबार मात्रै सन्दीपलाई युएईमा हुने टी–१० लिगमा कर्नाटकले ४५ हजार डलरमा अनुबन्ध गरेको थियो । 

दोस्रो चरणमा अनुबन्ध 
सन्दीपका लागि दोस्रो चरणमा ओभलले एक लाख पाउन्ड बोली लगायो । अन्य सात क्लबले दाबी नगर्दा सन्दीप ओभलमा आबद्ध भए । सन्दीपले द हन्ड्रेड बलको ड्राफ्टमा आफ्ना लागि एक लाख पाउन्ड मूल्य तोकेका थिए । ओभलले विदेशी खेलाडीका रूपमा सन्दीपसँगै वेस्टइन्डिजका सुनिल नारिन र फावियन एलानलाई अनुबन्ध गरेको छ । ओभलको मार्की खेलाडीका रूपमा साम कुरान रहेका छन् । १२औँ एकदिवसीय विश्वकपको उपाधि विजेता इंग्ल्यान्डका क्रिस उड र ज्यासन रोय पनि सन्दीप आबद्ध ओभलमै छन् । 

गेल र मालिंगा अटेनन्
क्रिकेटको छोटो फर्म्याटमा विस्फोटक ब्याटिङ गर्ने वेस्टइन्डिजका क्रिस गेल तथा श्रीलंकाली तीव्र गतिका बलर लसिथ मलिंगा भने पहिलो संस्करणको द हन्डे«ड बलमा अटाउन सकेनन् । दुवै खेलाडीले ड्राफ्टमा आफ्नो मूल्य एक लाख २५ हजार पाउन्ड राखेका थिए । दक्षिण अफ्रिकी बलर कागिसो रवाडालाई पनि कुनै पनि टोलीले अनुबन्ध गरेनन् । 

बंगलादेशका सकिब अल हसन, वेस्टइन्डिजका किरन पोलार्ड पनि पहिलो संस्करणबाट बाहिरै रहे । यता टी–२० फम्र्याटका पाकिस्तानका नम्बर एक ब्याट्सम्यान बाबर आजम, वेस्टइन्डिजका अलराउन्डर ड्वाने ब्राभो, दक्षिण अफ्रिकाका क्विन्टन डी कक तथा तमिल इक्वालजस्ता विश्व चर्चित खेलाडी पहिलो संस्करणबाट बाहिर रहे । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्