चालू आवभित्रै अँध्यारो मुक्त हुँदै कैलारी

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

धनगढी – कैलालीको कैलारी गाउँपालिकाले अँध्यारोमुक्त पार्न पू्र्ण विद्युतीकरण अभियान थालेको छ ।

गाउँपालिकाको अधिकांश वस्ती अझै पनि विद्युत्को पहुँचभन्दा बाहिर रहेको छ । ती वस्तीसहित गाउँपालिकालाई चालू आर्थिक वर्षभित्रै अँध्यारोमुक्त पर्ना अभियान थालेको हो ।


Advertisement

अभियानको क्रममा सो गाउँपालिकाले हालै ३ दिन लगाएर प्रत्येक वस्तीहरुको स्थलगत अनुगमन गरी विद्युतीकरणको लगत तयार गरेको छ । पूर्णरुपमा विद्युत् विस्तारको लागि सो गाउँपालिकालाई ५६६ थान पोलसहित १५ हजार ३५० मिटर तार आवश्यक पर्ने जनाइएको छ ।

३ थान ५० केभीए, १ थान १ सय केभीए र १ थान २५ केभीए क्षमता भएको ४ थान ट्रान्सफार्मर आवश्यक रहेको गाउँपालिकाको पूर्वाधार विकास समितिका संयोजक प्रेमबहादुर चौधरीले बताए ।

संयोजक चौधरीले गाउँपालिका–७ स्थित विपतपुर, हौसलपुर र मिलनपुर वस्तीमा अझैसम्म विद्युतको पहुँच नपुगेको बताए । बाँकी क्षेत्रमा आंशिक रुपमा विद्युत् विस्तार भएको उनले बताए । 

वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहेका संयोजक चौधरीका अनुसार वडा नम्बर ७ मा विद्युत् आपूर्तिको लागि १ थान २५ केभिए क्षमताको ट्रान्सफार्मर, वडा नम्बर २, ३ र ४ मा १/१ थान ५० केभीए क्षमताको ट्रान्सफार्मर र वडा नम्बर ६ को खरुवाखेरामा १ सय केभीए क्षमताको ट्रान्सफार्मर आवश्यक रहेको छ । 

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकालाई चालू आर्थिक वर्षभित्रै अँध्यारोमुक्त बनाउने दाबी गरे । विद्युत् विस्तारको लागि आवश्यक बजेटको व्यवस्था गरेको बताउँदै अध्यक्ष चौधरीले नेपाल विद्युत् प्राधिकरण, प्रदेशसभा सदस्यको संसद विकास कोष र गाउँपालिकाको आन्तरिक बजेटबाट विद्युतीकरण गर्ने बताए ।

गाउँपालिकाको वडा नम्बर ८ मा घोडाघोडी विद्युत सहकारी संस्थामार्फत विद्युतीकरण भइरहेकोले गाउँपालिकाबाट विद्युतीकरण नहुने पनि अध्यक्ष चौधरीले स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्