प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे ग्राण्डी अस्पताल

फाइल फोटो

काठमाडौं – स्वास्थ्य उपचारका अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् ।

बिहीवार अपराह्न प्रचण्ड ग्राण्डी पुगेका हुन् । बुधवार प्रधानमन्त्री ओलीलाई आईसीयूमा भर्ना गरिएको थियो । मृर्गाैलामा समस्या देखिएपछि ओलीलाई दोस्रोपटक डायलासिस गरिएको छ । 


Advertisement

यसअघि प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावलले डायलासिसका क्रममा रहेकाले आफूले भेट्न नपाएको बताएका थिए । 

प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे औपचारिक रूपमा प्रधानमन्त्रीको सचिवालय र अस्पताल प्रशासनले केही बताएको छैन । बिहीवार जारी एक विज्ञप्तिमा स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको भएपनि रगतमा ‘क्रिटेनाइन’ बढी देखिएपछि डाक्टरहरूले डायलासिस गर्नुपर्ने सुझाव दिएका थिए । 


Advertisement

प्रधानमन्त्रीको बुधवार अपराह्न पहिलो चरणको डायलासिस सम्पन भएको छ भने बिहीवार करीब ३ बजेसम्म डायलासिस हुँदै गरेको स्रोतले बतायो । ‘एक पटक डायलासिस गर्न ३ देखि ५ घण्टा लाग्छ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘यस्तो डायलासिस हप्तामा कम्तिमा ३ पटक गर्नुपर्ने हुन्छ । तेस्रो चरणको डायलासिस केही दिनको अन्तरालमा गर्ने तयारी छ ।’ 

हालसम्म प्रधानमन्त्रीमा अन्य संक्रमण नदेखिएको स्रोतले दाबी गर्‍यो । ‘उहाँको परीक्षण रिपोर्टहरू आउने क्रम जारी छ,’ स्रोतले भन्यो, ‘रिपोर्टहरू सामान्य देखिएमा आजै डिस्चार्ज गर्ने तयारीमा अस्पताल रहेको छ ।’

कमेन्ट गर्नुहोस्