घाँसमा रमाउँदै टीकापुरका यूवराज, सरकारी निकाय नै ग्राहक

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

धनगढी –अधिकांश नेपाली यूवा जमात विदेशी भूमीमा भविष्य देखिरहँदा कैलाली टीकापुरका एक यूवाको भने खेतबारीको घाँसमै भविष्य रंगिएको छ ।

घाँस खेतीमै कम्मर कसेर लागेका टीकापुर नगरपालिका–१ टीकापुरका ३५ वर्षीय यूवराज शर्मा घाँस खेतीमै भविष्य सजाएका हुन् । अन्य पेशा व्यवसायमा बजार नपाइने, ठगिनेलगायत समस्याले उठ्न नसकिरहेको अवस्थामा यूवराजको घाँस खेतीको व्यवसाय निकै फस्टाएको छ । बजार तताएको छ । उनलाई बजार माग धान्न हम्मे–हम्मे भएको छ ।


Advertisement

घाँस खेतीबाट निकै उत्साहित यूवराज भन्छन, ‘धान उत्पादन गरे बजार मूल्य नपाइने समस्या छ । तरकारी उत्पादन गरे बजार नपाइने र बारीमै सडेर जाने समस्या छ, तर घाँसको विया उत्पादन गरे माग अनुसार पूर्ति गर्न भ्याइनभ्याई छ । बजार मूल्य पनि उच्च छ ।’

यूवराजले टीकापुरमै व्यवसायिक रुपमा घाँसको बिउ उत्पादन गर्दै आएका छन् । २०७१ मा टीकापुर बहुमुखी क्याम्पसको जग्गा भाडामा लिई घाँस खेती थालेका यूवराजले हाल क्याम्पसको १७ बिघा, आफ्नो र केही निजी जग्गा गरि हाल ४० बिघा क्षेत्रफलमा घाँस खेती विस्तार गरेका छन् ।

वर्षातमा मकै चरी घाँस र हिउँदमा बर्सिन र जै घाँसको खेती गर्दै आएका उनले मकै चरी घाँसको बिउ प्रतिबिघा ८ क्वीन्टल, बर्सिन प्रति विघामा ५ क्वीन्टल र जै प्रतिबिघा १८ क्वीन्टलसम्म उत्पादन गर्दै आएको बताउँछन् ।

सरकारी निकाय नै ग्राहक

घाँसको बिउको बजारको अवस्था सुनाउँदै उनले भने, ‘वर्षमा २५० क्वीन्टल जति मकै चरीको बिउ उत्पादन हुन्छ । मकै चरीको बजार मूल्य प्रति किलो एक सय रुपैया भएपनि ८० रुपैयामा दिदै आएको छु । ३ सय क्वीन्टल जति जैको बिउ उत्पादन हुन्छ, जैको बजार मूल्य १२० रुपैया भएपनि प्रति केजी भएपनि ५० रुपैयाँमा बिक्रि गरिहेको छु । मोटामोटी वर्षमा ५० लाखसम्मको कारोबार गर्दै आएको छु ।’

शुरूवाती चरणमा ६० क्वीन्टल बिउ उत्पादन गरेको उनलाई सोचे जस्तो सफलता नपाएको महसुस भयो । तर पछिल्लो दिनहरूमा थप अनुभव, सीप र दक्षता बढ्दै गएपछि र सरकारी तथा गैरसरकारी निकायबाट केहि आर्थिक तथा प्राविधिक सहयोग मिलेपछि भने उनी सफलता शिखरमा छन् ।

शुरूवाती अवस्थामा जिल्ला पशुु सेवा कार्यालय कैलाली तथा चरन तथा घाँसे बाली बीज बृद्धि फर्म बाँकेबाट २ लाख ५० हजार अनुदान, आव ०७५/०७६ मा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाईले घाँसको स्रोत केन्द्र विकास गर्ने कार्यक्रम अन्तर्गत ३ लाख अनुदान, सुदूरपश्चिम प्रदेश सरकारको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घाँसको बिउमा गुणस्तरीयताको लागि २ लाख पर्ने घाँसको बिउ छर्ने मेसिनमा ५० प्रतिशत अनुदान पाएको सुनाउँछन् । साथै सांसद हरि ज्ञवालीको संसद विकास कोषबाट ०७२ मा घाँसको बिउ उत्पादनको लागि १ लाख सहयोग अनुदान पाएको बताउँदै उनले सोही अनुसार आफुले पनि सहुलित दरमा उत्पादित बिउ बिक्रि वितरण गर्दै आएको दाबी गर्छन् ।

भारतीय बजारको बिउ भन्दा ५० प्रतिशत सहुलित दरमा बिक्रि गर्दै आएको दाबी गर्दै आएका उनले उत्पादित बिउ सुदूरपश्चिम प्रदेशभरिका साथै प्रदेश नं. ५, प्रदेश नं. ३ र प्रदेश नं. ६ स्थित सरकारी निकाय, व्यावसायिक पशु पालक कृषक आफ्नो मूख्य खरिदकर्ता रहेको बताउँछन् ।

उनले अगाडी थपे, ‘बजार मूल्य पनि उच्च हो । कृषि क्षेत्रमा कार्य गर्ने सरकारी तथा गैरसरकारी निकायले किसानलाई अनुदानमा बिउ वितरण गर्नलाई थोकमै खरिद गर्नुहुन्छ । बजारको कुनै समस्या छैन । व्यवसायमा निकै सन्तुष्टि मिलेको छ ।’

घाँसमा पाएको सफलताले उनको सामाजिक प्रतिष्ठा समेत बढाएको छ । उनलाई २०७३ मा जिल्ला पशु सेवा कायालय कैलालीले र २०७५ मा पशु सेवा विभाग हरिहर भवन ललितपुरले उत्कृष्ट कृषकको रुपमा सम्मानित गरेको थियो ।

स्वास्थ्य विषयमा स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका यूवराजले अब भने, नोकरी तथा सरकारी जागिर गर्ने मानसिकता त्यागेको बताउँछन् । बरु थप रोजगारी सिर्जना गर्ने अवस्थामा पुगेका छन् । उनले घाँस खेतीमा पत्यक्ष रुपमा ५ जनालाई नियमित रोजगारी प्रदान गर्दै आएको बताउँछन् ।

घाँस खेतीमा उच्च सम्भावना भएपनि पछिल्लो समय छाडा चौपायाले हैरानी खेप्ती परेको उनी बताउँछन् । आधा रातभरि घाँसको पहरेदारी गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै उनले जुनसुकै प्रकृतिको किसानको पेशालाई उकास्न सरकारले छाडा चौपाया व्यवस्थापन गर्न तर्फ ध्यान दिन जरुरी रहेको औल्याउँछन् ।

कमेन्ट गर्नुहोस्