यस्तो छ जापानको निजामती सेवा र कर्मचारीको कार्यशैली, हामीले के सिक्ने ?

– भानुभक्त भट्ट/विकास बोहरा

कर्मचारीतन्त्र कुनै पनि देशको स्थायी सरकार हो । जसले सरकार र जनताबीच सेतुको काम गर्दछ । कुनै पनि मुलुकले अब्बल र असल कर्मचारीतन्त्र विना विकासमा फड्को मार्न सक्दैन । किनकि यो सरकारको फैलिएको अंग हो ।


Advertisement

सरकार टाउको हो भने कर्मचारीतन्त्र यसका हातखुट्टा हुन् । सरकारको इच्छालाई प्रकटीकरण गर्ने तथा सोच र सपनालाई साकार पार्ने काम कर्मचारीतन्त्रको हो ।

सरकारलाई नीति निर्माण गर्न आवश्यक प्राविधिक सुझाव दिइरहने विज्ञको जमात पनि हो कर्मचारीतन्त्र ।


Advertisement

घाम जत्तिकै छर्लङ्ग छ कि कुनै पनि सरकारले आफ्नो काम कारवाही नियमित गर्न कर्मचारीतन्त्रमा भर पर्नुपर्छ । जसरी एउटा टेलरले कंैचीको सहायताले आफ्नो आवश्यकता अनुसार कपडालाई काट्छ, त्यसरी नै एउटा सरकारले आफ्ना नीति, कार्यक्रम, योजना कार्यान्वयन गराउने काम कर्मचारीतन्त्रमार्फत गर्दछ । 

जापानमा कर्मचारीतन्त्र आफ्नो काममा निकै दक्ष, अनुशासित, कटिवद्ध, तटस्थ, उत्तरदायी, इमान्दार, विनम्र, लगनशील र मेहनती छ । जसले गर्दा जापानी सरकारप्रति जनताको विश्वास छ, अपनत्व छ ।

वास्तवमै जनताले महसूस गर्ने गरी जनताको घरदैलोमा समेत सरकारको उपस्थितिलाई अक्षुण राख्न कर्मचारीतन्त्रले अहम भूमिका निर्वाह गरेको छ ।

जापान एक अतिविकसित मुलुक हो । रोबोट लगायत अत्याधुनिक प्रविधि र भौतिक पूर्वाधार, सुशासन, अनुशासन, नैतिकता, विनम्रता, इमान्दारिता, मेहनत, सरसफाइ, दीर्घायू र स्वास्थ्य सुविधा, गुणस्तरीय सामान, समय परिपालनाका लागि जापान संसारभर प्रख्यात छ ।

लेखक बोहरा र भट्ट

आजको विश्वमा जापानको जुन अद्वितीय र लोभलाग्दो छाप रहेको छ, त्यसको श्रेय यहाँको अनुशासित, इमान्दार, कर्मठ, चेतनशील जनता एवं दूरदर्शी र आदर्श नेतृत्व वर्ग र दक्ष, पेशाप्रति कटिवद्ध, बफादार, इमान्दार तथा अनुशासित कर्मचारीतन्त्रलाई जान्छ । 

द्वितीय विश्व युद्धपछि तहसनहस भएको जापानलाई छिट्टै नै विकासको गतिमा हिँडाउन कर्मचारीतन्त्रले निभाएको अहम भूमिका पनि मननयोग्य छ ।

जापानमा निजामती कर्मचारीको भर्ना

जापानमा केन्द्र सरकारले नियुक्त गरेका कर्मचारी र स्थानीय सरकारले नियुक्त गरेका कर्मचारी छन् । करीब १२ करोड जनसंख्या रहेको जापानमा कर्मचारीको संख्या सन् २०१८ को तथ्यांक अनुसार करीब ३३ लाख रहेको छ, जसमध्ये केन्द्रीय सरकारका कर्मचारीको संख्या (राष्ट्रिय निजामती कर्मचारी) करीब १७.५ प्रतिशत रहेका छन् भने ८२.५ प्रतिशत कर्मचारी (स्थानीय निजामती कर्मचारी) स्थानीय सरकार मातहत छन् ।

केन्द्रीय सरकारका कर्मचारीमध्ये नियमित सेवातर्फ ४८.९ प्रतिशत र विशेष सेवातर्फ ५१.१ प्रतिशत कर्मचारी छन् । नियमित सेवातर्फ तलबभत्ता ऐनबाट निर्देशित कर्मचारी, प्रशासनिक कार्यसम्पादनमा संलग्न निकायका कर्मचारी र सरकारी वकिल पर्छन् भने विशेष सेवातर्फ मिनिस्टर, सिनियर भाइस मिनिस्टर (नेपालका मन्त्रालयका सचिव जस्तो), संसदका सचिव, राजदूतहरू, न्यायाधीशहरू, अदालतका कर्मचारी, संसदका कर्मचारी, रक्षा मन्त्रालयका कर्मचारी लगायत छन् ।

जापानमा कर्मचारी भर्ना गर्ने काम केन्द्रीय सरकारका कर्मचारीको हकमा राष्ट्रिय कर्मचारी प्राधिकरण (नेसनल पर्सोनेल अथोरिटी) ले निश्चित परीक्षा सञ्चालन गरी सम्बन्धित मन्त्रालयको सहकार्यमा उत्कृष्टता र वरियताको आधारमा गर्छ भने स्थानीय सरकारका कर्मचारीको हकमा हरेक स्थानीय सरकारले आ–आफ्नै कानून र प्रक्रिया अनुसार उत्कृष्टता र वरियताको आधारमा कर्मचारी भर्ना गर्छन् ।

नेसनल पर्सनल अथोरिटीले कर्मचारी भर्नाको लागि प्रवेश परीक्षा सञ्चालन गर्छ । परीक्षा उत्तीर्ण हुने उम्मेदवार मात्र अन्तर्वार्ताको लागि योग्य हुन्छन् । केन्द्र सरकारकाे अधिकांश कर्मचारी भर्ना प्रक्रियामा लिखित परिक्षालाई प्रवेश परीक्षाको रूपमा लिइन्छ, जसअनुसार केवल २ वटा सेवासम्बन्धी निबन्धात्मक प्रश्न र ४० वटा तार्किक र सामान्य ज्ञान सम्बन्धी एवं २० देखि ३० सेवा सम्बन्धी बहुवैकल्पिक (५ वटा वैकल्पिक उत्तर सहितका) प्रश्न सोधिन्छन् तर पूर्णरूपमा योग्य, इमान्दार, मेहनती, विनम्र, सहयोगी, सेवाप्रति कटिवद्ध उम्मेदवार छनौट गर्न विभिन्न मन्त्रालयमा विभिन्न चरणका र धेरै दिन लाग्ने (करीब १० दिनसम्म प्रत्येक दिन बिहानदेखि साँझसम्म) अन्तर्वार्ता लिइन्छन् । अन्तर्वार्तामा सोधिने प्रश्न क्याम्पसको पढाइ वा सरकारी जागिर खानको लागि पढ्नुपर्ने विषयवस्तु नभइ उम्मेदवारको सामाजिक मनोवैज्ञानिक गुण मापन गर्ने खालका हुन्छन् । उनीहरूले पढ्दाखेरी गरेको संघर्ष वा जीवनमा गरेको संघर्ष, समाजमा गरेको कुनै स्वयंसेवा, पढाइको अलावा विद्यालय वा क्याम्पसमा गरेको कुनै उल्लेखनीय कार्य, भविष्यमा राज्यलाई दिन सक्ने योगदान आदि सोधेर अन्तर्वार्ताबाट सेवा प्रवाहको लागि चाहिने आवश्यक ज्ञान, सीपमा निपूर्ण र इमान्दार, मेहनती, विनम्र, सहयोगी, धैर्यता, मानवता, आत्मनिर्भरता, नैतिकता, सदाचारिता जस्ता महत्त्वपूर्ण मूल्य मापन गरी वरियता र उत्कृष्टताको आधारमा कर्मचारी छनौट गरिन्छन् ।

यसरी सफल हुने कर्मचारीको मेरिट र अंक सम्बन्धित कर्मचारीबाहेक अरुलाई सार्वजनिक गरिँदैन । अनुत्तीर्ण उम्मेदवारले आफ्नो अंक वा मेरिटबारे जान्न चाहेमा आवश्यक जानकारी दिने व्यवस्था गरिएको हुन्छ ।

जापानमा कर्मचारीको कार्यशैली

जापानमा कर्मचारी निकै विनम्र, अनुशासित, सहयोगी, सहिष्णु, कर्तव्यनिष्ठ, इमान्दार, परिणाममुखी, काममा कटिवद्ध भएको पाइयो । ढोकामा पुग्ने बित्तिकै झुकेर अभिवादन गर्ने, हाँसेर बोल्ने, कहिल्यै नरिसाउने, कामलाई पूजा गर्ने, हरेक सेवाग्राहीलाई समान दृष्टिकोणले व्यवहार गर्ने, काम पूरा नगरी नछोड्ने, तटस्थ र पूर्वाग्रह रहित रूपमा सेवा प्रदान गर्ने, काममा पूर्णता, प्रायः शून्य त्रुटि, सेवा प्रवाहमा प्रभावकारिता र गुणस्तरीयता, सेवाग्राहीलाई पूर्ण सम्मान र आदर गर्ने प्रवृत्ति यहाँका कर्मचारीका विशेषता हुन् । सेवा प्रवाहको लागि टोकन प्रणाली, नागरिक वडापत्रको प्रभावकारी प्रयोग (दृष्टिविहीनको लागी ब्रेललिपीमा लेखिएको), अपाङ्गमैत्री सेवा र संरचना, ज्येष्ठ नागरिकमैत्री सेवा र संरचना, बालमैत्री पूर्वाधार, अशक्त र असहायको लागि विशेष व्यवस्था, विद्युतीय शासन र कागजी प्रक्रियाको मिश्रण लगायत जापानको सरकारी कार्यालयमा देखिने विशेषता हुन् । 

जापानमा कर्मचारीलाई सेवासुविधा र तालिम

जापानमा कर्मचारीलाई उमेर, पारिवारिक स्थिति, काममा निपूर्णता, काममा कटिवद्धता, वरिष्ठता, बहाल रहेको पद लगायतका आधारमा तलबभत्ता र अन्य सेवासुविधा प्रदान गरिन्छ । समान पदमा समान मितिमा नियुक्त भएका समान उमेरका कर्मचारीमध्ये अविवाहित कर्मचारीको तलबभत्ता कम हुन्छ । 

विवाहित तथा छोराछोरी भएको अर्को कर्मचारीको तलबभत्ता बढी हुन्छ । किनकि उसको आधारभूत तलब एउटै भएपनि पति/पत्नी र छोराछोरीको भत्ता थप पाइन्छ । यसका साथै समान पदमा कार्यरत कर्मचारीमध्ये पनि जसको उमेर बढी छ, उसको तलब बढी हुन्छ अर्थात् उमेर बढ्दै जाँदा हरेक वर्ष तलब पनि बढ्दै जान्छ तर अवकाश पाउनुभन्दा करीब ५ वर्ष पहिलेदेखि अवकाश पाउञ्जेलसम्म तलब स्थिर रहन्छ । 

कर्मचारीलाई विभिन्न खालका भत्ताको व्यवस्था गरिएको हुन्छ । जस्तैः पारिवारिक भत्ता, आवास भत्ता, यातायात भत्ता, काममा व्यस्त भइरहने अर्थात कहिल्यै नथाक्ने भत्ता (डिलिजन्स अलाउन्स), कठिन कार्य गरेबापत दिइने भत्ता, अतिरिक्त काम गरेबापत दिइने भत्ता, काम गर्ने ठाउँबाट परिवार टाढा भएमा परिवार भेट्न जाने भत्ता, व्यवस्थापकीय भत्ता (कार्यालय प्रमुखहरूका लागि), निश्चित क्षेत्र भत्ता (जहाँ निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब भत्ता सरकारी कर्मचारीको भन्दा बढी हुन्छ) आदि । 

कर्मचारीहरूको वृत्ति विकास गरी उनीहरूलाई काममा अझ निपूर्ण बनाउन स्वदेशमा विभिन्न प्रकारका तालिमहरूको व्यवस्था गरिएको हुन्छ र उनीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न विकसित मुलुकहरू जस्तैः अमेरिका, बेलायत, फ्रान्स, जर्मनी आदिमा छोटो अवधिको अध्ययन अवलोकनका लागि पठाइन्छ भने स्नातकोत्तर तथा विद्यावारिधी गर्न समेत उक्त मुलुकहरूमा पठाइन्छ ।

कर्मचारीहरूको कामको मूल्यांकन

कर्मचारीहरूलाई मूल्यांकन उनीहरूको कार्यक्षमता र कार्य सम्पादनको आधारमा गरिन्छ । समग्रमा कार्यक्षमताको मूल्यांकन वार्षिक रूपमा र कार्य सम्पादन मूल्यांकन अर्धवार्षिक रूपमा गरिन्छ । सामान्यतया कर्मचारीको निरन्तर मूल्यांकन पद्धतिलाई जोड दिइन्छ । 

काम शुरू गर्नुपूर्व कर्मचारीलाई निश्चित लक्ष्य र जिम्मेवारी दिइन्छ । सो अनुरूप भए/नभएको हेर्न वर्षको बीचमा मूल्यांकन गरिन्छ र वर्षको अन्तमा समेत मूल्यांकन गरिन्छ । कर्मचारीको मूल्यांकन विभिन्न स्केलमा गरिन्छ, जस्तैः अति उत्कृष्ट, उत्कृष्ट, असल वा औसत र खराब गरी विभाजन गरिन्छ । कूल १०० पूर्णाङ्कमा ११० वा सोभन्दा माथि र १८० वा सोभन्दा कम ल्याउने कर्मचारीलाई अति उत्कृष्ट भनिन्छ र सोही अनुसार अतिरिक्त भत्ताको समेत व्यवस्था गरिन्छ भने १०० पूर्णाङ्कमा ८७ ल्याउनेलाई औसत र ८७ भन्दा कम अंक ल्याउनेलाई असल नभएको अर्थात् कमजोर कर्मचारी भनिन्छ । जापानमा सिर्जनशीलता, कडा मेहनत गरेर मूल्यांकनमा पूर्णाङ्कभन्दा बढी अंक समेत ल्याउने गरिएको छ । यसरी अति न्यून कार्यसम्पादन भएका कर्मचारीलाई घटुवा गर्ने वा जागिरबाट हटाउनेसम्मका प्रावधान समेत रहेका हुन्छन्, तर हालसम्म अति न्यून कार्यसम्पादन हुने कर्मचारी नगन्य अर्थात बिरलै वा अपवाद मात्रै छन् । 
   
अन्त्यमा, जापानका कर्मचारीहरूको लोभलाग्दो आनीबानी र काम गर्ने शैली हाम्रा लागि निकै अनुकरणीय छ । अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्दै मध्यम आय भएको मुलुकको पहिचान बनाउन कर्मचारीतन्त्रको भूमिका महत्त्वपूर्ण र अतुलनीय हुने भएकाले जापानका कर्मचारीको सेवाग्राही मैत्री व्यवहार, सेवाग्राहीलाई भगवान जस्तै सम्मान गर्ने दर्शन, परिणाममुखी कार्यशैली, कामलाई पूजा ठान्ने पद्धति, अनवरत काममा लागिरहने मेहनती बानी एवं इमान्दारिता, उच्च अनुशासन, सदाचारिता, नैतिकता, अति विनम्र व्यवहार जस्ता अमूल्य मानवीय मूल्यहरू हामी नेपाली कर्मचारीहरू एवं सेवाप्रदायकका लागि आदर्श छन् र यदि हामीले पनि यस्ता मूल्यहरू आफ्नो कार्यक्षेत्रमा अवलम्बन गरेमा सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा गर्न रामबाण सावित हुनेछन् ।

सन्दर्भ सामग्रीहरूः

Profile of National Public Employees in Japan, 2018
www.googlescholar.com
https://www.sciencedirect.com/
https://www.jinji.go.jp/en/index.html
Class lectures of Professors of Ritsumeikan University, Japan
Class lectures of Professors of Hiroshima University, Japan

(लेखकद्वय नेपाल सरकारका शाखा अधिकृत हुन् ।  हाल जापान सरकारको मानव संशाधन विकास छात्रवृत्तिमा जापानमा अध्ययनरत छन् ।)

कमेन्ट गर्नुहोस्