विश्वभर पूँजीवादको विरोध, भविष्यमाथि प्रश्नचिह्न

तस्वीर स्रोत : गेट्टी इमेजेज

हामीहरू अहिले मानवजातिको इतिहासको सबभन्दा नाटकीय प्राविधिक र आर्थिक परिवर्तनको युगमा छौं । अनि अहिले संसारभरि पूँजीवादले समर्थन पाउन छोडेको छ । यी दुई प्रवृत्तिहरू जोडिएका छन् त ? छन् भने, कसरी ? 

पूँजीवाद अलोकप्रिय हुँदै जानु भनेको लुड्डिजमको लक्षण हो भन्न मन लाग्छ । लुड्डिजम भनेको त्यो अभियान हो जसमा औद्योगिक क्रान्तिको आरम्भमा मजदूरहरूले आफ्नो जागिर खोस्ने यन्त्रहरूको तोडफोड गर्ने गरेका थिए । तर पूँजीवादविरुद्ध अहिले चलिरहेको अभियानको जटिलतालाई लुड्डिजमले व्याख्या गर्न सक्दैन । अहिलेको अभियानको नेतृत्व चिन्तित मजदूरहरूले नभई बौद्धिक वर्ग र राजनीतिकर्मीहरूले गरिरहेका छन् । 


Advertisement

नवउदारवादी खुला बजार तथा विश्वव्यापीकरणलाई संसारभरि नै निन्दा गरिएको बेलामा पूँजीवादविरोधी लहर चलेको छ । नवउदारवादको विरोध मूलतः वामपन्थीहरूले गरेको भए पनि अहिले यसलाई जोडतोडका साथ लोकरञ्जनवादी दक्षिणपन्थीहरूले विरोध गरिरहेका छन् । 

बेलायतकी पूर्व प्रधानमन्त्री टेरिजा मेले सन् २०१६ मा एउटा भाषण गर्ने क्रममा भूमण्डलीकृत ‘विश्वका नागरिक’ लाई ‘अनागरिक’ भनी आलोचना गरेकी थिइन् । अनि उनका उत्तराधिकारी बहालवाला प्रधानमन्त्री बोरिस जोनसनले यसलाई झन् प्रस्ट पार्दै भने, ‘व्यापारलाई लोप्पा ।’ यसैगरी अमेरिकामा दक्षिणपन्थी फक्स न्युजका प्रस्तोता टकर कार्लसन ट्रम्पवादी दक्षिणपन्थीहरूको पीडालाई अभिव्यक्ति दिँदै पूँजीवादको खोइरो खन्ने गरेका छन् । उनले ‘जनताप्रतिको दीर्घकालीन उत्तरदायित्व निर्वाह नगर्ने भाडाका शासक’ तथा ‘हाम्रा समस्या बुझ्न समेत नचाहनेहरू’ भन्दै गुनासो गर्ने गरेका छन् ।


Advertisement

यो नयाँ विश्वव्यापी सोचको एक आंशिक व्याख्या यसप्रकारको छ : यो आर्थिक अस्थिरतामाथिको पूर्वानुमान गर्न सकिने प्रतिक्रिया हो । पहिलो विश्वयुद्धपछिको मौद्रिक स्थिति अन्यायपूर्ण देखिएपछि कठोर प्रतिक्रिया उब्जेको थियो अनि सन् २००८ को आर्थिक संकटपछि यो प्रणाली नै धनीहरूको पक्षमा छ भन्ने धारणाले व्यापक विस्तार पायो । त्यतिखेर सरकार र केन्द्रीय बैंकहरूले वैश्विक आर्थिक प्रणालीलाई धराशायी हुनबाट बचाउनका लागि ठूला आर्थिक प्रतिष्ठानहरूको उद्धार गरे । तर लाखौं मानिसले घर र जागिर गुमाउन पुगे अनि आफ्नो जोहो आफैं गर्न बाध्य भए । 

तर आर्थिक मन्दी मात्र पूँजीवादविरोधी भावको बीजारोपणका लागि पर्याप्त थिएन । यससँगै बृहत्तर प्राविधिक र सामाजिक परिवर्तन पनि आयो । स्मार्टफोन जस्ता नयाँ आविष्कारहरू तथा इन्टरनेटका नयाँ प्ल्याटफर्महरूले मानिसहरूबीचको सम्पर्क र व्यापारमा आमूल परिवर्तन ल्याएका छन् । व्यापारको नयाँ विधि पूँजीवादविरोधी किसिमको छ किनकि यो अप्रत्यक्ष भुक्तानी र द्विपक्षीय बजारमा आधारित छ ।

तर आर्थिक मन्दी मात्र पूँजीवादविरोधी भावको बीजारोपणका लागि पर्याप्त थिएन । यससँगै बृहत्तर प्राविधिक र सामाजिक परिवर्तन पनि आयो । स्मार्टफोन जस्ता नयाँ आविष्कारहरू तथा इन्टरनेटका नयाँ प्ल्याटफर्महरूले मानिसहरूबीचको सम्पर्क र व्यापारमा आमूल परिवर्तन ल्याएका छन् । व्यापारको नयाँ विधि पूँजीवादविरोधी किसिमको छ किनकि यो अप्रत्यक्ष भुक्तानी र द्विपक्षीय बजारमा आधारित छ । अहिले हामी आफ्नो व्यक्तिगत सूचना बेचेर सेवा प्राप्त गरिरहेका छौं । तर वास्तवमा हामी बजार विनिमयमा संलग्न छौं भन्ने कुराको हामीलाई पत्तो छैन किनकि हामीले पहिलेको विनिमयमा हुने जस्तो मूल्य उल्लेख गरिएको कागज देखेका छैनौं । खासमा हामीले अहिले आफ्नो निजता तथा व्यक्तिगत स्वायत्तताको मूल्य चुकाइरहेका छौं ।

यससँगै जोडिएको अर्को कुरा छ : आर्थिक विश्लेषणमा अर्कोलाई सिध्याएर आफूले जित्ने चिन्तन हावी भएको छ । यसको जरो पनि आर्थिक मन्दीमै भेटिन्छ । तर यसलाई नयाँ सूचना प्रविधिले हुर्काइबढाइ गरिरहेको छ । विशेषगरी सामाजिक सञ्जालमा आधारित अर्थतन्त्र तथा कृत्रिम बौद्धिकताको उदयसँगै जित्नेले सबै लैजाने किसिमको बजारमा सञ्जालको शक्तिले यस चिन्तनलाई बढाइरहेको छ । सञ्जालमा जति बढी मानिस जोडिन्छन्, प्रत्येक प्रयोगकर्तालाई त्यो त्यति नै मूल्यवान हुन्छ अनि बजारमा अर्को खेलाडीका लागि कम अवसर प्राप्त हुन्छ । सन् १९६२ मा आएको एभिस कम्पनीको विज्ञापनमा भनिन्थ्यो, ‘तपाईं दोस्रो नम्बरमा हुनुहुन्छ भने अझै कडा मेहनत गर्नुस् ।’ तर अहिले तपाईं कुनै कुरामा दोस्रो नम्बरमा हुनुहुन्छ भने त्यसको अर्थै छैन । तपाईंले हारिसक्नुभएको छ ।

अझ, नयाँ सूचना प्रविधि तथा कृत्रिम बौद्धिकतामा आधारित पूँजीवादको आफ्नै विशिष्ट भूगोल छ । यसले अमेरिका र चीनमा जरो गाडेको छ तर चिनियाँहरूले सन् २०३० सम्ममा आधिपत्य कायम गर्ने लक्ष्य लिएका छन् ।

पूँजीवादले जहिले पनि भूराजनीतिक परिवर्तनलाई अघि बढाएको हुन्छ तर अहिले चीनसँग बढी नै जोडिन थालेपछि अमेरिकाको पर्यायवाची बनेको पूँजीवादले पहिलेको भन्दा फरक स्रोतबाट आपत्तिको सामना गरिरहेको छ । 

भविष्यको कुरा गर्दा आर्थिक मन्दीपछिको व्यापक परिवर्तन अझै बढ्दै जानेछ । सूचना प्रविधि/कृत्रिम बौद्धिकता क्रान्तिले अधिकांश आर्थिक गतिविधिको प्रकृति नै परिवर्तन गर्नेछन् । बैंकहरू अब बन्द हुँदै जानेछन् । उनीहरू खराब वा खतरनाक भएकाले नभई नयाँ विकल्पको तुलनामा उनीहरू कम प्रभावकारी भएकाले बन्द हुनेछन् । विद्युतीय सञ्चारमा निकै सुधार आएको भए पनि बैंकको लागत खर्च र शुल्कहरू खासै घटेका छैनन् । शून्य वा ऋणात्मक व्याजदर भएका क्षेत्रका ग्राहकलाई समेत शुल्कवृद्धि गरिएको छ । निकट भविष्यमै अधिकांश बैंकिङ सेवाहरू खारेज गरिनेछन् वा अन्लाइन प्ल्याटफर्ममार्फत नयाँ तथा सुधारिएको विधिअनुसार व्यक्तिगत रूपमा उपलब्ध गराइनेछन् । 

पूँजीवादको विशेषता भनेकै अभाव र स्रोत बाँडफाँडका समस्याको मौलिक उत्तर दिने क्षमता हो । बजारहरूले सामान्यतया अत्यधिक उपयोगी अवधारणालाई पुरस्कृत गर्ने गर्छन् र बेकामे व्यवहारलाई दण्डित गर्छन् । विशाल संख्याका व्यक्तिहरूको व्यवहारलाई मूल्य संकेत अनुरूप परिवर्तन गरेर राज्यले ल्याउन नसक्ने बृहत्तर परिणाम उनीहरूले ल्याउँछन् । 

अहिले विश्वको तापक्रम वृद्धि भइरहेको अवस्थामा हरितगृह ग्यास उत्सर्जनलाई सीमित गर्नका लागि प्रभावकारी उपाय ल्याउनुपर्ने अवस्था छ । तर जलवायु परिवर्तन जस्तो जटिल समस्यालाई कर्मचारीको हातमा छोड्नु हुँदैन ।

हामी सबैजना नागरिकका रूपमा तथा बजार उपभोक्ताका रूपमा जलवायु परिवर्तन न्यूनीकरणमा संलग्न हुनुपर्छ । पूँजीवादका प्रतिरक्षकहरूले पूँजीवादप्रति जनताको समर्थन पुनः हासिल गर्नका लागि प्रणालीलाई कसरी थप समावेशी बनाउन सकिन्छ भनी उपाय पत्ता लगाउनुपर्छ ।

प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित ह्यारोल्ड जेम्सको विश्लेषण
 

कमेन्ट गर्नुहोस्