तुलसीको विवाहका लागि पुरोहितको अभाव

गलेश्वर – आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन । 


Advertisement

यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि (विष्णु)को विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने आजको दिनमा म्याग्दीमा भने पुरोहितको अभावमा तुलसीको विवाह गर्न व्रत बस्ने महिलाहरू अन्योलमा  परेका छन् ।

कर्मकाण्ड गर्ने ब्राह्मण (पुरोहित)हरूको अभाव हुँदै गएपछि अन्य धार्मिक कार्यहरूजस्तै तुलसीको विवाह गर्न पनि समस्या भएको बेनी नगरपालिका–२ की भीमकुमारी घिमिरेले बताउनुभयो ।

विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहुँदा योग्य पुरोहितको अभावमा म्याग्दी जिल्लामा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन् । ब्राह्मणकै अभावमा जन्म, चुडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन् ।

संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणहरूले पनि संस्कृत पढन् छाडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणहरूको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् ।

वेद, उपनिषद्, पुराण, रुद्री लगायतका ग्रन्थहरूलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्युपर्यन्त आवश्यक भए पनि पुरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको पण्डित भीमनाथ पराजुलीले बताए। 'हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो”, उहाँले भन्नुभयो, “संस्कृतको ज्ञान नभएका व्यक्तिहरूले कर्मकाण्ड गराउन नसक्ने हुँदा न्वारान, विवाह र मृत्युसंस्कार जस्ता नगरी नहुने कर्महरू गर्न पनि समस्या हुन थालेको छ ।'

संस्कृत शिक्षा हिन्दूहरूको जीवन पद्धतिसँग जोडिएको शिक्षा भए तापनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ ।

गाउँघरतिर संस्कृत नपढेका, बेरोजगार भएर बसेका, नैतिक रूपमा स्खलित भएका र अन्य कुनै उपाय नभएपछि कर्मकाण्डमा लागेका बाहुनहरूले आफूखुशी ‘धुपं समर्पयामी, नैवेद्यं चढायामी’ भनेर पूजा गराउने गरेको र सङ्कल्पमा सम्वत्सर, नक्षत्र, तिथिसमेत गलत उच्चारण गर्ने गरेका आफूले पाएको अर्का पण्डित नीलकण्ठ आचार्यले बताए। 'शुद्धसँग वेदका  ऋचा उच्चारण गर्न नसक्ने र आफ्नो आचारणमा नरहेका ब्राह्मणहरूले पनि अरू कुनै पेशा गर्न नसकेर कर्मकाण्डमा लाग्दा ब्राह्मणहरूको समेत बदनाम भएको छ', उनले भने।

कर्मकाण्ड गर्ने बूढापाका ब्राह्मणहरूको शेषपछि पुरोहितहरूको अभाव शुरू हुन थालेको हो । अहिले म्याग्दीमा पुराणवाचन गर्ने पण्डितको सङ्ख्या दुई–तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गर्नेहरू पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ ।

यस्तो छ क्षीर सागरमा सुतेका भगवान्लाई जगाउने विधान 

धर्मशास्त्रका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुन्छ । यसरी शयन गरेका भगवान् विष्णु (हरि) लाई ‘उत्तिष्ठोतिष्ठ गोविन्द त्यज निद्रां जगत्पते । त्वयि सुप्ते जगत्सुप्तमुत्थिते चोत्थितं जगत् ।। अर्थात् हे गोविन्द (विष्णु) भगवान्, हजुरले निद्रा छोडेर उठ्नुपर्‍यो । किनकि हजुरको सुताइमा संसार नै सुत्छ र हजुर जागा हुँदा यो चराचर जगत् नै उठ्छ (सक्रिय हुन्छ) । अतः हजुर उठ्नु पर्‍यो । यो मन्त्रले पूजा गरेर भगवान् विष्णुलाई उठाएपछि दामोदर (विष्णु) भगवान्सँग घरअगाडि मठमा सारिएको तुलसीको विवाह गर्ने विधान छ ।

हरिबोधिनी एकादशीको महत्व 

अरू एकादशीहरूको भन्दा हरिबोधिनी एकादशीको महत्व बढी भएको धर्मशास्त्रमा उल्लेख गरिएको छ । एकादशी महात्म्यमा वर्णन गरिएअनुसार आषाढ शुक्लपक्षको एकादशीदेखि चतुर्मास्यव्रत प्रारम्भ गरिन्छ भने कार्तिक शुक्ल पक्षको एकादशी व्रत सम्पन्न भएपछि विधिपूर्वक पारण गरी उक्त व्रत समापन गरिन्छ । सबै एकादशीभन्दा हरिबोधिनी एकादशी ठूलो भएकाले यो एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिएको पं आचार्यले बताए।

पं आचार्यका अनुसार सबै पाप एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन् । व्रत बस्दा मुख्यरुपले शारीरिक अवस्था विचार गर्नुपर्दछ । एकादशी व्रतले मन, वचन र कर्मको एकाकार गरी आफ्नो कर्तव्य सबल भएर अगाडि बढ्न सिकाउने हुँदा एकादशीको व्रत लिनुपर्ने धर्माचार्यहरूको भनाइ छ । धुर्वसागर शर्मा,रासस

कमेन्ट गर्नुहोस्